टीकापुर घटनामा पूर्वलडाकु संलग्न : मानवअधिकार आयोग

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा ८ जना प्रहरीको हत्या भएको घटनामा माओवादीका पूर्व लडाकुहरुको संलग्नता देखिएको जनाएको छ ।



‘जोशीपुर गाविसबाट आएका आन्दोलकारीहरूमा तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरू पनि समावेश भएको बुझिएको छ । आन्दोलनमा अधिकांश युवा उमेर समूहका व्यक्तिहरू सहभागी रहेको बुझिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तीमा घरेलु हतियार भाला, खुकुरी र बन्चरो प्रयोग गरी एसएसपी लक्ष्मण न्यौपाने सहितका सुरक्षाकर्मीको हत्या गरिएको उल्लेख गरेको छ ।

‘प्रहरीतर्फबाट प्रदर्शनकारीहरूमाथि अश्रुग्याँस र गोली प्रहार हुन थालेपछि आक्रोशित हुँदै प्रदर्शनकारीहरूले प्रहरीको हत्या गरेको बुझिएको छ,’ आयोगका सदस्य एवं प्रवक्त मोहना अन्सारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘सामाजिक सद्भाव बिग्रिन नदिन थरुहटका कार्यकर्तालाई आग्रह गर्दा गर्दै एसएसपी न्यौपाने सहितका सुरक्षाकर्मीमाथि आक्रमण भएको छ ।’

‘आफनै घरआँगनमा बसिरहेको समयमा खेतबारीबाट गोली प्रहार भई डेढ वर्षीय दुधे बालकको हत्या भएको अनुगमनका क्रममा पाइएको’ आयोगले जनाएको छ ।

आयोगले उक्त घटनापछि सभासद्सहित सर्वसाधारणको घरमा भएको आगजनी सुरक्षा संवेदनशीलता विपरीत देखिएको भन्दै घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, जनताको सुरक्षा गर्न, मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिन, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै आयोगले टीकापुर जस्तो घटनाको पुनरावृति हुन नदिन तर्फ सजग रहन सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।

 

प्रकाशित : भाद्र २४, २०७२ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्

तीन दलको वार्ता आह्वान मधेसी मोर्चाद्वारा अस्वीकार

वुटबलमा मोर्चाको बैठक, बातावरण बनेपछि मात्रै वार्ता गर्ने निश्कर्ष
माधव ढुंगाना

भैरहवा — संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन राजनीतिक दलले वार्तामा आउन गरेको अपिललाई अस्वीकार गरेका छन् । भैरहवामा आज बसेको मोर्चाको बैठकले वार्ताको वातावरण तयार नभएको निश्कर्ष निकालेको छ ।बिहान साढे ९ बजे बसेको मोर्चाको बैठक दिउँसो १ बजे टुंगिएको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन राजनीतिक दलले वार्तामा आउन गरेको अपिललाई अस्वीकार गरेका छन् । भैरहवामा आज बसेको मोर्चाको बैठकले वार्ताको वातावरण तयार नभएको निश्कर्ष निकालेको छ ।
बिहान साढे ९ बजे बसेको मोर्चाको बैठक दिउँसो १ बजे टुंगिएको थियो । बैठकमा उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।

वार्ताका लागि यसभन्दा अघि मोर्चासँग भएको ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयनका वारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने, संविधान निर्माण प्रकृयालाई तत्काल स्थगन गरिनुपर्ने, आन्दोलन भएका स्थानमा खटाइएका नेपाली सेनालाई ब्यारेकमा फिर्ता गरिनुपर्ने, आन्दोलनमा गरिएको प्रशासनिक दमन बन्द गरिनुपर्ने, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको उपचार सरकारले गरेमा मात्रै बार्ताको बातावरण तयार हुने मोर्चाले जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा वार्ता बिरोधी नभएको र पहिला पनि वार्ताको माध्यमबाटै धेरै बिषय र समस्याको टुंगो लगाइएको उल्लेख गर्दै वार्ताका लागि उपयुक्त वातावरण नबनेसम्म वार्ताका लागि गरिएको आव्हानको कुनै औचित्य नभएको बताए ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि बन्दुकको छायाँमा वार्ता हुन नसक्ने टिप्पणी गरे ।
तमलोपाका प्रबक्ता तथा महामन्त्री सवेन्द्रनाथ शुक्लले वीरगञ्ज, सप्तरीको भारदह र जलेश्वरको घटनाले वार्ताको बातावरण बिग्रिएको बताए ।
मोर्चामा सहभागी अर्का नेता तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारले नै वार्ताको वातावरण बिगारेको आरोप लगाउदै मोर्चाको पुरानै अडान कायम रहेको जनाए ।

प्रकाशित : भाद्र २४, २०७२ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×