टीकापुरमा २१ दिनदेखि कर्फ्यू

गणेश चौधरी

टीकापुर — टीकापुर घटनापछि लगातार कर्फ्यू जारी छ। जनजीवन कफ्र्युको कठघरामा कैद छ। टीकापुरमा कर्फ्यू लाग्न थालेको २१ दिन पुगेको छ। बन्द भएको त ३४ दिन पुगिसक्यो। भदौ ४ गते अखण्ड पक्षधर र थरुहट पक्षधरबीच दुर्गौली गाविसको तोरैयापुरमा झडप भएपछि स्थानीय प्रशासनले राति कफ्र्यु र दिनमा निषेधित क्षेत्र घोषणा गरेको थियो।

टीकापुर घटनापछि लगातार कर्फ्यू जारी छ। जनजीवन कफ्र्युको कठघरामा कैद छ। टीकापुरमा कर्फ्यू लाग्न थालेको २१ दिन पुगेको छ। बन्द भएको त ३४ दिन पुगिसक्यो। भदौ ४ गते अखण्ड पक्षधर र थरुहट पक्षधरबीच दुर्गौली गाविसको तोरैयापुरमा झडप भएपछि स्थानीय प्रशासनले राति कफ्र्यु र दिनमा निषेधित क्षेत्र घोषणा गरेको थियो। भदौ ७ गते निषेधित क्षेत्र तोडेर थरुहट पक्षधरले प्रदर्शन प्रयास गरेपछि भएको टीकापुर घटनापछि २४ सै घण्टा कर्फ्यू सुरु भएको हो।


एक सातासम्म २४ सै घण्टा टीकापुर नगरपालिका, दुर्गौली, पथरैया, मुनवा, धनसिंहपुर र नारायणपुर गाविसमा कर्फ्यू लगाएको हो। कफ्र्यु खुला गरेर जनजीवन सहज बनाउन यहाँका नागरिकले माग गरेपछि एक सातापछि दिनको बिहानपख कर्फ्यू खुला गर्दै आएको छ। लगातारको कर्फ्यू र बन्दको मारमा छ टीकापुर। सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। शान्ति सुरक्षाको असहज परिस्थितिका कारण कर्फ्यू लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताउँदै आएका छन्।

लगातारको कर्फ्यू र बन्दको मारमा सबभन्दा धेरै मजदुरहरू परेका छन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले काम गर्न नपाउँदा उनीहरूलाई छाक टार्न पनि समस्या परेको छ। दैनिक छाक टार्न समस्यमा रहेका मजदुर के गरौं, कसो गरौं, कता जाऊँ भन्ने छटपटीमा छन्। टीकापुर नगरपालिकाको विजयनगर मुक्त कमैया बस्तीमा बस्दै आएका बाबुराम चौधरीले कर्फ्यूका कारण कतै निस्कन पनि नपाएपछि उकुसमुकुस भएको बताए। उनले भने, ‘हामी आर्थिक अवस्था कमजोर भएकाहरू हौं। काम गरेर आर्थिक रूपमा सबल बनौं भन्ने चाहना हो। तर कर्फ्यूले काम गर्न पनि नसकेकाले आर्थिक स्थिति झन् कमजोर भएको छ।’

विद्यालय खुले
लगातारको कर्फ्यूका बीचमा पनि टीकापुरका विद्यालय खोलिए पनि आंशिक रूपमा मात्र कक्षा सञ्चालन भएका छन्। कर्फ्यूका कारण विद्यालयमा पूरै विद्यार्थी पनि आउन नसकेका र कर्फ्यू खुला समय पनि छोटो भएकाले पूरै पिरियड पढाउन सक्ने अवस्था नरहेको शिक्षकहरूले बताएका छन्। विद्यालय बिहान १० बजे खुल्दै आएकोमा कर्फ्यू खुला समय बिहान भएकाले विद्यालय पनि बिहान सञ्चालन गरिएका छन्। विद्यालय खोल्ने वातावरण बनाउन इलाका प्रशासन कार्यालय टीकापुरमा आइतबार छलफल कार्यक्रम भएको छ। कार्यक्रममा सुरक्षा स्थितिलाई विचार गरी पहिलो चरणमा क्याम्पस तथा उच्च मावि एवं कक्षा १० को पढाइ सञ्चालन गर्ने निर्णय भएको छ। स्थानीय प्रशासनले लगातार कफ्र्यु लगाएपछि कुनै अप्रिय घटना भएको भने छैन। टीकापुर घटनाको आरोपमा प्रहरी प्रशासनले थारू समुदायका व्यक्तिहरूलाई पक्राउ गर्न थालेपछि गाउँमा सुरक्षाकर्मीको सवारी साधन देख्नेबित्तिकै गाउँमा रहेका मानिसहरू खेतबारीतिर निस्कने गरेका छन्।

कोही नयाँ मान्छेसित उनीहरू कुरा गर्न चाहँदैनन्। जोशीपुर गाविस २ का सुरज चौधरीले सुरक्षाकर्मीले घटनामा संलग्न आरोपमा समात्छ भन्ने त्रासका कारण गाउँमा युवाहरू नरहेका बताए। उनले भने, ‘टीकापुर घटनापछि भजनीबाट आएको सुरक्षाकर्मीले दिउँसो सद्भाव कायम गर्ने भनेर थापापुरमा छलफल चलायौं। राति आएर त्यही गाउँबाट पक्राउ गर्‍यो। त्यसले गर्दा गाउँमा त्रास छ।’ बन्द र कर्फ्यूको मारमा टीकापुरका व्यापारी व्यवसायी निकै संकटमा परेको उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष आनन्द हमालले बताए। एकथरी व्यापारी व्यवसायी बन्द र कर्फ्यूको मारमा छन्। अर्कोतिर थारू समुदायका व्यापारी व्यवसायीको पसलमा आगजनी तोडफोड भएको छ। यसले टीकापुरको व्यापार व्यवसायको हालत आफैं अनुमान गरे हुन्छ। ‘बजारमा व्यापार व्यवसाय गर्नेहरूको पसलमा आगजनी भएको छ। यसको क्षतिपूर्तिको व्यवस्था राज्यले गर्नुपर्छ,’ उनले भने।

प्रकाशित : भाद्र २४, २०७२ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

छोटकरी

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालगन्ज – चिडीमार समुदायका बालबालिका अध्ययनरत नेपालगन्जको बेलासपुरस्थित वागेश्वरी प्राथमिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ। बुधबार २ लाख २० हजार रुपैयाँका कम्प्युटर लगायत सामाग्री सहयोग गरिएको हो। सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको एकीकृत परियोजना अन्तर्गत विद्यालयलाई तीन सेट कम्प्युटर, प्रिन्टर र टेलिफोनलगायतका सामाग्री सहयोग गरिएको छ।

विद्यालयलाई कम्प्युटर सहयोग

नेपालगन्ज – चिडीमार समुदायका बालबालिका अध्ययनरत नेपालगन्जको बेलासपुरस्थित वागेश्वरी प्राथमिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ। बुधबार २ लाख २० हजार रुपैयाँका कम्प्युटर लगायत सामाग्री सहयोग गरिएको हो। सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको एकीकृत परियोजना अन्तर्गत विद्यालयलाई तीन सेट कम्प्युटर, प्रिन्टर र टेलिफोनलगायतका सामाग्री सहयोग गरिएको छ।

होटल व्यवसायीमा नयाँ नेतृत्व
प्यूठान– होटल व्यवसायी संघ प्यूठानमा नयाँ नेतृत्व चयन भएको छ। मंगलबार सम्पन्न संघको सातौं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले चन्द्रलाल न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघमा आबद्ध आठ बजार इलाकालाई समेटेर नयाँ समिति चयन गरिएको संघका वरिष्ठ उपाध्यक्ष गञ्जबहादुर थापाले बताए। संघका द्वितीय उपाध्यक्ष डिलाराम सुवेदी, महासचिव जुद्धबहादुर कुावर, सचिव भूपेन्द्र श्रेष्ठ, सहसचिव गिरिराज अधिकारी र कोषाध्यक्ष वसन्तप्रसाद भण्डारीलगायत सदस्य चयन भएका छन्।

डोल्पामा मदिरा नियन्त्रण अभियान
डोल्पा (कास)– मादकपदार्थ सेवन गरी हुने होहल्ला र आपराधिक कृयाकलापलाई रोक्न डोल्पामा घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरिएको छ। स्थानीय प्रशासनले घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरेको २ दिनमै ठूलो मात्रामा मदिरा बनाउन प्रयोग हुने मर्चा बरामद गरेर नष्ट गरेको छ। रुकुमको रम्ना मैकोटतर्फबाट शहरतारा हँुदै डोल्पाको सदरमुकाम दुनै ल्याउने उद्देश्यले शहरताराको एक बारीमा लुकाई राखेको करिब ६ क्विन्टल मर्चा बरामद गरेको प्रहरीले जनायो।बरामद गरी दुनै ल्याएर नागरिक समाज, पत्रकार, जिल्ला विकास समितिका प्रतिनिधिलगायतका कार्यालय प्रमुखहरूको रोहवरमा प्रहरीले नष्ट गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवराज रावतले मदिरा सेवनले आपराधिक घटना, महिला तथा बालबालिकामाथि हिंसा बढाउने र आर्थिक समस्यामा समाजलाई धकेल्ने बताए।

प्रकाशित : भाद्र २४, २०७२ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×