२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

ऐतिहासिक रसुवागढी भत्कियो

रसुवागढी — नेपाल-तिब्बत युद्धताका बनेको सीमास्थित ऐतिहासिक रसुवागढी भत्किएको छ । मिलेरी पुल निर्माणका क्रममा गढीमाथि दख्खल परेकाले भत्किन थालेको स्थानीयवासीले बताए ।

नेपाल-तिब्बत लडाइँको समय डेढ शताब्दीअघि ४७ वटा प्वालयुक्त गढीपर्खाल, देवीथान, भीमसेन मन्दिर, कमान्डिङगढी, दुई पर्खालले घेरिएको गढी विसं १९१२ मा तीन महिना लगाएर बनाइएको मान्यता छ ।
तत्कालीन समयमा युद्ध गर्दा फायर गर्ने ढुंगैढुंगाको पर्खाल लगाएको माथिल्लो गढी चार ठाउँमा भत्किएको छ । यहाँका ढुंगा पल्टिँदै सीमाक्षेत्र लेङ्दे खोला किनारमा पुगेका छन् । फायरिङका लागि राखिएका ४७ प्वाल छन् । त्यही गढी भत्किएको हो । टिमुरे १ मा पर्ने गढी समुद्री सतहदेखि १ हजार ७ सय ६० मिटर उचाइमा छ ।
सदरमुकाम धुन्चेबाट उत्तरी क्षेत्रमा पर्ने गढी एक दिनको पैदलमा पुगिन्छ । गढी पश्चिमोत्तर केरुङ खोला र पूर्वोत्तर लेङदेको दोभानमा
छ । यही दोभान र वरिपरि रहेका विशाल ढुंगाका पहराको खोंचमा तत्कालीन समयमा युद्ध गर्दा नेपाली पक्षले आफ्नो सुरक्षाका लागि गढी बनाएका थिए ।
पुरातत्त्व विभागले गढीसम्बन्धी सानो पुस्तकमा रसुवागढीलाई एक नम्बरमा राखेको छ । तर यही भत्केर लड्दा विभाग चुप लागेर बसेकामा स्थानीयवासी दुःखी छन् । 'गढी किन भत्काएको भनेर चीनका ठेकेदारलाई गाली गर्न भएन,' उनले भने, 'हाम्रैले बेवास्ता गरेपछि के लाग्छ ।'
गढी पुनर्निर्माणका लागि सम्बन्धित निकायमा ताकेता गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी गौतम रिमालले बताए । 'गढी भत्किसक्यो संरक्षण गर्नुपर्‍यो भनेर चिठी पठाएका छौं,' उनले भने, 'सबै पक्षले आआफ्ना क्षेत्रबाट पहल गर्न जरुरी छ ।'


भत्किएको रसुवागढी ।       तस्बिर: कृष्ण थापा/कान्तिपुर    


 

प्रकाशित : वैशाख ३१, २०७१ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?