कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

शासनपद्धति सुधारापेक्षी कृति ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’

गणेश राई

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धुमविद् बैरागी काइँलाले हालैमात्र कृष्णविक्रम नेम्बाङकृत ‘लिम्बू इतिहास’ किताब सार्वजनिक गर्दै इतिहास लेखन एकाधिपत्यविरुद्ध कटाक्ष गरेको प्रसंग उप्काए ।

शासनपद्धति सुधारापेक्षी कृति ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’

‘यहाँ इतिहासको बारेमा अध्ययन, अध्यापन कार्य कम हुन थालेको धेरै भएको छ । नेपालमा बहुदलीय संसदीय व्यवस्था पुनःस्थापित भएर सुरु भयो । राजनीतिक विकासका लागि नयाँ चरण सुरु भयो । त्यसले हाम्रो शिक्षा प्रणाली नै प्रभावित भएको छ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विषयमा विद्यार्थी चाप थेग्नै नसक्ने गरी भर्ना हुन्छन् ।

अर्कोतिर इतिहास विभागमा विद्यार्थी शून्यप्रायः भएको सुनिन्छ । इतिहास पढेर जागीर नपाउने तर समाजशास्त्र पढे काम पाउने अवस्था छ । विश्वविद्यालयले पैसा आउने विषयमात्र पढाउन थालेमा हाम्रो इतिहास, महानताको रक्षा कसले गर्छ ? इतिहास विषयलाई पाठ्यक्रमबाट हट्न थालेपछि पढ्ने कसले ? अनि लेख्ने कसले ? कवि, साहित्यकारले चासो राखेर इतिहासको अध्ययन, अनुसन्धान गर्न थाले । किताब प्रकाशन गर्न थाले । तर, सम्बन्धित विषयका पढेका प्राध्यापकले साहित्यकारको अध्ययन कृतिलाई आधिकारिक मान्न रुचाउँदैनन् । एकजना विद्वानसँग मेरो झगडा भयो । र भनें, हामीसँग हाम्रो समाजको शास्त्र छ । विकासको शास्त्र छ । त्यो लेख्नलाई त्यो विषयमा मैले एमए नै गर्नुपर्छ ? (समारोहमा सँगै रहेका मदनपुरस्कारप्राप्त ‘लिम्बुवानका ऐतिहासिक दस्तावेज संग्रह’ लेखकतर्फ इंगित गर्दै) त्यसो भए भगिराज इङनामलाई किन इतिहास लेखिस् । इतिहासमा किन लागिस् भनेर प्रश्न गरेर मुन्ट्यायो भने ठूलो नोक्सान हुन्छ ।

यसरी इतिहासप्रति रुचि कम हुँदै गएको बेलामा हामीले आफ्नो पहिचानको लागि लड्न थाल्नु परेको हो नेपालमा । पहिचानको लागि लड्नु भनेको आफ्नो इतिहासको खोजी गर्नु हो ।’ काइँलाले भनेजस्तै मुलुकको इतिहास लेखन विषयगत डिग्रीभन्दा रुचि, चाहना र गहन अध्ययनले मात्र हुनसक्छ । विश्वविद्यालयले बनाएको मानक र सीमामात्र पर्याप्त होइन ।

उनै बैरागी काइँलामा समर्पित पुस्तक कृति ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ (२०८० साउन) भरखरै सार्वजनिक भएको छ । पत्रकार तथा इतिहास अध्यता राजकुमार दिक्पाल (वास्तविक नाम राजकुमार सुब्बा)ले उक्त कृति प्रकाशनमा ल्याएका हुन् । पुस्तक मञ्जरी पब्लिकेसन्सले प्रकाशित गरेको हो । अध्यता दिक्पालको यो पाँचौं कृति हो । यसअघि उनका ‘आतङ्कको छायामुनि’ कथा संग्रह तथा ‘आदिवासी विद्रोहको इतिहास’, ‘मगर इतिहास’ र ‘जङ्गबहादुरको युग’ इतिहास कृति प्रकाशित छन् ।

२०२८ माघ १३ धनकुटा नगरपालिकामा जन्मिएका दिक्पाल तीन दशकयदेखि पत्रकारिता र अध्यापनमा छन् । उनी हाल पोर्चुगलमा छन् ।

यस ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ कृतिभित्र २२ वटा शीर्षकमा आलेख समेटिएका छन् । ‘जायजन्मका लागि बौद्ध पूजा’, ‘युवराज छँदै द्वारेको सफाया बनारस गई गोत्र परिवर्तन’, ‘विराज बखतीले पारेको प्रभाव’, ‘नेवार्नीतिरका छोराको उपेक्षा’, ‘जयन्त रानाको अमानवीय हत्या’, ‘बिसे नगर्चीको धोती’, ‘सुन कारोबार’, ‘कालु पाँडेको अपमान’, ‘ज्यान जोगाइदिने पुतुवार’ छन् । यसैगरी ‘बन्दुकको बलमा निर्दोषको संहार तिमालकोटको युद्धमा छलकपट’, ‘गरिबलाई जोगी पाल्ने भार’, ‘कीर्तिपुरेको काटिएको नाक र ओठ’, ‘जहानबच्चा पत्री कमाराकमारी’, ‘मितबाको राज्यमा नरसंहार’, ‘इसाई धर्मावलम्बीलाई देश निकाला’, ‘नगरकोटीहरूको संहार’, ‘माझकिरातमा अत्याचार’, ‘लिम्बुवानमा नुनपानीको थिति’, ‘अर्काको हात्तीमा आँखा’ र ‘पृथ्वीनारायण शाहको उपदेश’ शीर्षकमा बाँधिएका छन् । जम्मा २६४ पृष्ठमध्ये ७२ पाना सन्दर्भग्रन्थ, परिशिष्ट र अनुक्रमणिका समेटिएका छन् ।

लेखकले सुरुमै यो कृति तयार गर्नुको उद्देश्यबारे स्पष्ट पारेका छन् । हो, पृथ्वीनारायण शाह नेपाल एकीकरणका अभियन्ता हुन् र उनको योगदान नेपालको इतिहासमा महत्वपूर्ण छ । तर, इतिहासविद्हरूले उनै पृथ्वीनारायण शाहलाई गुणवान, बलवान, दूदर्शी (अझ त्रिकालदर्शी) राजाका रूपमा देवत्वकरण गर्दै आएकाले उनको आलोचनात्मक पक्ष केलाउनु परेको दाबी गरेका छन् । ‘ऐतिहासिक व्यक्तिलाई देवता बनाउन खोज्दा वास्तविक इतिहासका पाना अधुरो र अपुरो मात्रै होइन, मैला पनि हुन पुग्छन्,’ लेखकले भूमिकामा भनेका छन्, ‘नेपालमा सक्रिय वा संवैधानिक राजतन्त्र रहुन्जेलसम्म त इतिहासकारहरूले पृथ्वीनारायण शाहका आलोचनात्मक पक्षहरूलाई ढाकछोप गर्ने वा यसबारे मौन बसिदिने निर्णय गरे होलान् भन्ठान्न सकिन्छ ।

तर राजतन्त्र नै इतिहास भएर मुलुक गणतन्त्रमा पुगिसकेको अवस्थामा पनि भय वा लोभबाट मुक्त भएर इतिहासकारहरूले पृथ्वीनारायण शाहको आलोचनात्मक पक्षहरूको बारेमा कलम चलाइदिएको भए नेपाली इतिहास सम्यक् मार्गबाट अगाडि बढिरहेको छ भन्ने विश्वास गर्न सकिन्थ्यो ।..’

विषयक्रमको थालनी पृथ्वीनारायण शाहको जन्मका निम्ति बौद्धपूजाबाट भएको छ । गोरखाका राजा नरभूपाल शाहले चारजना विवाह गरेका थिए । पहिलो रानी चन्द्रप्रभावती, दोस्रो रानी कौशल्यावती, तेस्रो रानी बुद्धिमति र चौथो रानी शुभद्रावती थिए । उनको बाइस–तेइस वर्षको उमेरमा पनि सन्तान नभएको कारण गोरखा दरबारमा चिन्ता फैलियो । उनकी माहिली रानी कौशल्यावतीले देवा धर्मा (भुटान)बाट एकजना लामालाई ल्याएर उपाय गरे सन्तान हुनेछ भन्ने सपना आफूले देखेको दरबारमा बताइन् । बौद्धपूजा गरेपछि कौशल्यावतीको गर्भ रह्यो । पहिलो सन्तानका रूपमा विसं. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

इतिहासविद्ले गोरखाली राजवंशको पूर्खा भारततिरबाट नेपाल पसेको उल्लेख गरेका छन् । पृथवीनारायण शाहभन्दा माथि पन्ध्रौं पुस्तामा जैन खान देखिएका छन् । त्यहाभन्दा माथिका उनीहरूको पुस्ता अन्धारमा लीन छन् । जैन खानका तेस्रो पुस्तामा मिचा खान, छैटौं पुस्तामा द्रव्य शाह, आठौं पुस्तामा राम शाह र चौधौं पुस्तामा नरभूपाल शाह थिए ।

गोरखा राज्यको विस्तार गर्दा सगोत्रीहरूको राज्य पनि आक्रमण गर्नुपर्ने हुँदा पृथ्वीनारायण शाहले पुस्तौंदेखि चलाएको भारद्वाज गोत्र बनारस गई काश्यप गोत्र कायम गरेको उल्लेख छ ।

पृथ्वीनारायण सानैदेखि निक्कै रिसाहा स्वभावका थिए । त्यही रिसको झोंकमा किशोरावस्थामै एकजना द्वारेलाई उनले मारिदिएको वंशावलीमा लेखिएको छ । उनका बुवा राजा नरभूपाल शाहले राजकाजमा त्यत्ति रुचि नहुनु र त्यसको बागडोर जेठीआमा चन्द्रप्रभावतीको साथमा राजकाजको कर्ताकर्ता पृथ्वीनारायणले दरबारका चौतारा केशव द्वारे, जसकर्ण पाँडेलगायतको हत्या गरेका थिए । जुत्ता नफुकाली सलाम गर्नेको हत्या गरेका थिए । युद्धबन्दी शत्रु राजालाई कोर्रा लगाएका थिए ।

पृथ्वीनारायण शाहका छोराका रूपमा प्रतापसिंह र बहादुर शाहमात्र उल्लेख गरिएको पाइन्छ । तर उनकी नेवार भित्रिनीतर्फका एक छोरा नरसिंह (रणसिंह) पनि थिए, जो प्रतापसिंह शाहको राज्यकालमा दरबारको एक चौतरियाका रूपमा सक्रिय थिए ।

पृथ्वीनारायण शाहको गोरखा दरबारमा नगरा बजाउने बिसे नगर्ची थिए । राजा नरभूपाल शाहकै पालादेखि सक्रिय बिसे नगर्चीको पृथ्वीनारायणको पालामा नुवाकोट र सिह्रानचोकजस्ता प्रारम्भिक कालीन युद्धमा सहभागिता थियो । २०७५ सालमा उनै ऐतिहासिक व्यक्ति बिसे नगर्चीको सालिक गोरखाको गितारडाँडाभन्दा अग्लो भिरमुनि पाखोतिर फर्काएर बनाइएको छ । उक्त सालिकमा बिसेको जन्म विसं. १७४६ र मृत्यु विसं. १८२८ अंकित गरिएको छ । त्यसमा उल्लेख गरिएको छ, ‘अन्ततः गोरखा र लमजुङबिच युद्ध भएरै छड्यो । सिह्रानचोकको लडाइँमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारेलगायतको मृत्यु भयो । विसं.१८१२ साउन १५ गते शनिबार भएको यस युद्धमा गोरखालीको जित भयो । र सरदार दलभञ्जनबाहेक लमजुङको महिधरसमेत अरु सबै चौबिसीलाई गोरखालीहरूले बिसे नगर्चीको धोती टाँगी धोतीमुनि छिराइ बेइज्जत गरेका थिए ।’

यस कृतिभित्र ऐतिहासिक पात्रहरूमाथि तत्कालीन शासकले गरेको अन्याय, क्रुरता, वर्वरताको उजागर गरिएको छ । ती ऐतिहासिक पात्रहरूमाथि वर्तमान शासक तथा शासनपद्धतिले उपेक्षित व्यवहार गर्दै आएको ज्वलन्त उदाहरण गोरखा नगरपालिकाको भिरजंगल छेउमा स्थापित बिसे नगर्चीको सालिक स्थापनाले पुष्टि गर्छ ।

नेपालमा सबैभन्दा पहिलो विसं. १६८५ मा जेव्राल नामका पादरी आएका थिए । समुद्री मार्गबाट आएका पादरीले इसाई धर्मको प्रचार गरेका थिए । पृथ्वीनारायण शाहले विसं.१८२६ मा भक्तपुर कब्जा गरिसकेपछि पादरीहरूमाथि आँखा लगाए । त्यतिखेर नेपालबाट ६० जना जति इसाई निकालामा परेका उल्लेख गरिएको छ ।

कान्तिपुरका राजा जयप्रकाश मल्लले सहरका नवयुवाहरूलाई सैनिक शिक्षा दिएर गोरखालीलाई रोकन सक्ने गराउन काँगडाबाट नगरकोटी सैन्य उस्तादहरू झिकाएका थिए । नगरकोटीहरूले मगुललाई धपाई त्यहाँ ठकुरीराज्य स्थापना गरिदिएका हुनाले उनीहरू बहादर कहलाएका थिए । ..पृथ्वीनारायण शाहल विसं.१८२७ मा देवीदासलगायत ललितपुरका छ जनै प्रधानहरूलाई कटाइदिए । घरघरै मानिस पठाइ अढाइ सय नगरकोटीलाई पनि कटाइदिएका थिए । गोरखालीको नरसंहारबाट बचेखुचेका नगरकोटीहरू आज नेवारको एक थरका रूपमा अस्तित्व बचाइरहेका छन् ।

गोरखालीले माझकिरातमा गरेको घातक हमला र क्रुस हत्या भएको प्रसंग उल्लेख छ । ‘माझकिरातमा त जीवित शिशुहरूलाई ओखलमा हालेर किचिएको मात्र होइन पुरुष सन्तान जन्माउने आशंकामा गर्भवती महिलाको गर्भ तहाइदिइएको थियो ।’ पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई माझकिरात विजयबारे विसं. १८३० मा लेखेको पत्रमा ‘..अरुण साँध लाग्यो, हजार वैरी काटिए । सये चार वैरी नदीमा वगी मरे । चौध सय जहान बच्चा पकडिया’ भन्ने उल्लेख पाइन्छ । यसैगरी लिम्बुवानका लिम्बूहरूले गोरखासँग मिसिएर अस्तित्वविहीन हुन नचाहेपछि विसं.१८३१ साउनमा लालमोहर जारी गरेर पृथ्वीनारायण शाहले सम्झौता गरेका थिए । कालान्तरमा उनकै सन्तानले २०२१ सालमा तत्कालीन राजा महेन्द्रले भूमिसुधार लागू गरी लिम्बूहरूको किपट खोसिएयता भूमिमाथिको जातीय अधिकार खोसिएको विशृंखलता आजपर्यन्त जारी छ ।

यस्तै, विजयपुरको ‘राजभार सामर्थ’ उपाधि लिएरका बृद्धिकर्ण राय गोरखालीहरूका निम्ति निक्कै खतरनाक थिए । पृथ्वीनारायणले बृद्धिकर्णको ज्यान लिनमात्र नभई उनी चढेका हात्तीको समेत प्राप्त गर्ने लोभ गरेका थिए । उनलाई मार्नेलाई बिर्ता दिने घोषणा गरेका थिए । उनी भागेको तीन वर्षपछि गोरखालीहरूबाट समातिएर निष्ठुर ढंगले मारिएका थिए । बृद्धिकर्ण रायलाई समाउन सफल अभिमानसिंह बस्नेतले पारितोषिक स्वरूप बारा जिल्लामा बिर्ता पाएका थिए ।

पृथ्वीनारायण शाहको राजहठ अर्थात् सनकी घमण्डीपनले गर्दा कालु पा“डेजस्ता अनुभवी सैन्य कमाण्डर र योद्धाहरूले विसं. १८१४ जेठ १९ गते कीर्तिपुरको युद्धमा जबरजस्त ज्यान गुमाउनु परेको बुझ्न सकिन्छ । सोही युद्धमा रहेका पृथ्वीनारायण शाहलाई हम्मेहम्मे अवस्थामा पुतुवारले बचाएका थिए । दोस्रो पटक विसं. १८२१ मा कीर्तिपुर आक्रमण गर्दा शूरप्रताप शाहले देब्रे आँखा गुमाएका थिए भने दलजित शाह सख्त घाइते भएका थिए । गोरखालीले त्यसपछि विसं. १८२२ मा तेस्रो पटक कीर्तिपुर आक्रमण गरी विजय पाए । दुई पटक हारसँगै सैन्य क्षति व्यहोरिसकेका गोरखालीले विजयोन्मादमा ८ सय ६५ जनाको नाक तथा ओंठ काटिदिएका थिए । त्यतिबेला कीर्तिपुरको जनसंख्या दुई हजार जतिमात्र थियो ।

झट्ट सुन्दा प्रतिशोधको भावनाले यो पुस्तक तयार पारिएको भ्रम पैदा हुनसक्छ । अति देवत्वकरणविरुद्ध दानवीकरण गरिएको छैन । अध्यताले हरेक शीर्षकलाई तथ्यपरक ढंगले विषयवस्तुको पुष्टिसहित विश्लेषण गरेका छन्, जसले गर्दा देश नेपालको भूगोल एकीकरणकर्ता पृथ्वीनारायण शाहको मनोविज्ञान बुझ्न सघाउ पुर्याउँछ ।

भूमिकामा वसन्त महर्जनले लेखेका छन्– ‘पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार वर्षअघि नै नेपाल र नेपाली थियो । ऐतिहासिक प्रवाह प्रवाहित थियो । बरु यो पक्का हो, उनले गोरखालगायत ठूलो भूभाग तत्कालीन नेपालमा गाभ्न ल्याएर आफू र अरुलाई पनि नेपाली बनाए । तबैदेखिको समयलाई आधुनिक नेपाल भन्ने गरिएको छ । यो उनको योगदान हो ।’

इतिहास निर्माताहरूको उज्यालो पाटोमा मात्र रमाउँदा त्यसको अँध्यारो पक्षलाई बिर्सिन मिल्दैन । इतिहासको अँध्यारो पक्षलाई कोट्याएर इतिहास निर्माताहरूलाई नाङ्गेझार तुल्याउने भन्दा पनि यो देश निर्माणका क्रममा भएगरिएको कमजोरीलाई केलाएर वर्तमान शासन पद्धतिलाई सही ढंगले अघि बढोस्, बढ्नु पर्छ भन्ने कोणबाट यो ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ कृति प्रस्तुत गरिएको हो भनेर बुझ्न सकिन्छ । यसभित्र इतिहासमात्र कोट्याएर छ्यालब्याल गरिएको छैन । जतिखेर पृथ्वीनारायण शाह युवराज थिए, त्यसपछि राजकाज सम्हाले त्यतिखेरदेखि यता (झण्डै तीनसय वर्ष) वर्तमानसम्म देश नेपालको शासनपद्धतिलाई केन्द्रमा राखेर विश्लेषण गरिएको छ । इतिहासको पाठलाई लिएर वर्तमान देश नेपालको भूगोल, बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक पक्षलाई केन्द्रमा राखेर शासनपद्धतिलाई ‘सम्यक् बनाउन जरुरी’ ठानिएको छ ।

प्रकाशित : कार्तिक ६, २०८० ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?