२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अभिनय नै सौगातको आराधना

पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । ‘समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।
दयाहाङ राई

मेरा लागि सौगात मल्ल असाध्यै प्रिय अभिनेता हो । ऊ एकदमै ‘पर्फेक्ट एक्टर’ हो । उसले जुन चरित्रको निर्माण गर्छ, त्यसको रिदममै ऊ काम गरिरहेको हुन्छ । चरित्र निर्माणमा उसको लामो र लोभलाग्दो साधना छ । त्यसैले पटक–पटक भन्छु, सौगात एक पर्फेक्ट एक्टर हो । 

अभिनय नै सौगातको आराधना

यहाँ मैले ‘रिदम’ शब्द उल्लेख गरें । त्यो के मानेमा भने सौगातले निर्माण गरेको चरित्रको हिँडाइ, बोलाइ र पूरै हुलियाको आवरण यस्तो हुन्छ कि त्यो चरित्र पूरै ‍विश्वसनीय लाग्छ । त्यो चरित्र हेर्ने दर्शकलाई साह्रै आनन्द आउँछ । आफ्नो चरित्र–निर्माणमा अथक मिहेनत गर्छ सौगात । कुनै पनि फिल्ममा काम गर्नुअघि चरित्र बन्नकै लागि कम्तीमा १५ दिन त उसले लिएकै हुन्छ । उसको त्यो शैली मलाई खुब मनपर्छ ।

सबै कलाकारको काम गर्ने आ–आफ्नै मौलिक तरिका हुन्छ । तर, सौगात शारीरिक (फिजिकल्ली) पक्षको गहिराइमा गएर काम गर्न खोज्छ । यदि कुनै चरित्र खाली खुट्टा हिँड्छ भने सौगात १५ दिनदेखि नै त्यसको अभ्यासमा हुन्छ । खाली खुट्टा हिँड्दा कस्तो अनुभव–अनुभूति हुन्छ ? जमिनमा, माटोमा वा बालुवामा हिँड्दा हिँड्नेको हाउभाउ कस्तो हुन्छ ? सौगातको शरीर त्यो पक्षमा अभ्यस्त भइसकेको हुन्छ । उदाहरणका लागि यदि सौगात खलासीको रूपमा फिल्ममा देखिँदै छ र त्यो पात्रको एक हातमा समस्या छ भने ऊ त्यो चरित्रमाथि अभ्यस्त बन्न मिहिनेत थालिहाल्छ । त्यो खलासी कुन हातले बसको ढोका समात्छ ? कुन हातले पैसा समात्छ ? र, कुन औंलाले पैसा कसरी च्याप्छ ? त्यसमा सौगातले पहिल्यैदेखि लामो अभ्यास गरिरहेको हुन्छ । त्यसैले सौगात अभिनयमा एकदमै फोकस छ । अभिनयबाहेक अरू काम ऊ रोज्दैन, अरू काम उसलाई आउँदैन पनि होला ।

हरबखत अभिनयकै लागि ऊ घोत्लिरहेको हुन्छ । असलमा ऊ अभिनयको होलटाइमर हो । अभिनयबाहेक अरू विषयमा चासो छैन, कसैसँग कुनै गुनासो पनि छैन । फिल्म नै उसको काम, अभिनय नै उसको मुख्य पेसा, अभिनय नै उसको आराधना ।

म चाहिँ मन्डला थिएटरमा विद्यार्थीसितै व्यस्त हुन्छु । तर, आफ्नो अघि खडा भएको चरित्र गर्नु नै सौगातको मूल उद्देश्य हो । एउटा चरित्र बाँचिसकेपछि लगत्तै ऊ अर्को चरित्रमा काम गर्न थालिसकेको हुन्छ । सौगातझैं मिहिनेती कलाकार नेपालमै अर्को छैन । ऊ सधैं मेथोड एक्टिङ पहिल्याइरहेको हुन्छ ।

000

हामीले सँगसँगै थुप्रै फिल्ममा मसिना–मसिना भूमिकामा काम गरेका छौं । ‘आचार्य’ फिल्ममा सौगात र मैले सानो–सानो भूमिका गर्‍यौं । त्यतिबेला बरु छोटै होस् फुत्त आउने–जाने, तर मस्तिष्कमा लामो समय रहिरहने चरित्र हामीलाई गर्न मन लाग्थ्यो । मैले ‘आचार्य’ मा डाक्टरको भूमिका गरें । सौगातले भक्तराज आचार्यलाई कुट्ने व्यक्तिको भूमिका गर्‍यो । ‘दासढुंगा’ मा पनि साना–सानै भूमिका छ, हाम्रो । त्यतिबेला पनि त्यो फिल्मको एउटै फ्रेममा चाहिँ हामी देखिएनौं । ‘हाइवे’, ‘फन्को’ पनि हामी सँगसँगै देखिएका छैनौं ।

एकैचोटि ‘लुट’ मा लामो समय फ्रेममा सँगै देखियौं । हामी दुईको किस्सा त यस्तो पनि छ– एउटै फिल्ममा भए पनि एउटै फ्रेममा थिएनौं । धेरै फिल्ममा यस्तो भएको छ । ‘कबड्डी कबड्डी’, ‘लप्पन छप्पन’ मा चाहिँ हामी सँगै देखिएका छौं, तर बीचतिर गरेको फिल्ममा सँगै एउटै फ्रेममा छैनौं । ‘लुट’ को समयमा हामी धेरै नै रिहर्सल गर्थ्यौं, इम्प्रोभाइज गर्थ्यौं । ‘लुट’ अघि हामी ‘हाइवे’ को सुटिङमा इलाममा थियौं । ‘लुट’ का निर्देशक निश्चल बस्नेतले हामीलाई स्क्रिप्ट दिएर पठाएका थिए । ‘हाइवे’ को सेटमा पनि हामी ‘लुट’ माथि कुरा गर्थ्यौं । काठमाडौं फर्केर २ महिना रिहर्सल गर्‍यौं । हामी दैनिक संवाद लेख्थ्यौं, परिमार्जन गर्थ्यौं । त्यसमा सुरुमा सौगातको चरित्र ‘काले’ को मात्रै थियो । उसलाई एउटै अर्थ दिने दुई शब्द मनपर्ने ! त्यसपछि त्यही नामबाट चरित्र खोज्दा–खोज्दै हाकु–काले बन्यो । त्यो चरित्र नेवार हो भन्ने पहिल्याइसकेपछि उसले ‘ट’ र ‘ठ’ अक्षरमाथि खुबै ध्यान पुर्‍याएर लवजमा काम गरेको सम्झना अझै ताजै छ ।

000

आरोहण गुरुकुल नाट्य आराधनाको स्थल थियो । हामी समकालीन हौं । गुरुकुलमै हो, सौगातसँग मेरो पहिलो भेट भएको । त्यतिबेला उसको कुन नाटक हेरें ? सम्झना छैन । तर, हाम्रो साथी समूहबीच सौगातकै अभिनयको चर्चा हुन्थ्यो । म त्यतिबेला गुरुकुलभन्दा बाहिरै रहेर अभिनय सिक्दै थिएँ । हामीले खासमा एकअर्काको नाम पहिल्यै सुन्यौं, तर काम अलि पछि मात्रै हेर्‍यौं । पछि मात्रै हाम्रो चिनाजानी भयो । हाम्रो समूहमा खुब सुनिन्थ्यो, ‘सौगात खतरै अभिनय गर्छ ।’ तर, कसरी चिन्ने ? मैले उसको नाटक हेरेको थिइनँ, उसले पनि मेरो नाटक हेरेको थिएन ।

एकअर्कामा ‘फलानो यस्तो छ’ भन्ने चर्चा चले पनि चिनाजानी चाहिँ पछि मात्रै भयो । मैले उसको अभिनय हेरेको धेरै पछि सौगातले मेरो अभिनय हेरेको हो । मैले खेलेको नाटक ‘बुर्की’ हेरेपछि सौगातले भनेको याद छ, ‘तिम्रो काम कत्ति पछाडि हेरें यार, अभिनयको चर्चा सुन्दा सुन्दा बल्ल हेर्न पाएँ ।’ पछि मैले उसको नाटक निरन्तर हेर्न थालें । यस अर्थमा नाटकबाटै मैले सौगातलाई हेरेको हुँ । सौगात स्टेजमा पस्नेबित्तिकै दर्शकमा अर्कै भाइव्स आउँथ्यो । स्टेजमा उसले गरेको छोटोदेखि सबै लामो भूमिकाको नाटक हेरेको छु । थिएटरमा डरलाग्दै अभिनय गर्थ्यो ऊ । अहिले पनि ऊ थिएटरमै गज्जबको काम गर्छ भन्ने सोच्छु ।

000

सौगातलाई थिएटरमा हेर्दा जति चित्त बुझ्छ, फिल्ममा हेर्दा उति चित्त बुझ्दैन । किन ? ऊ आफ्नो चरित्र यसरी विकास गर्छ कि त्यो पर्दाले धान्न सक्छ जस्तो लाग्दैन । खासमा फिल्ममा सहकार्य नहुँदा यस्तो अभाव खट्किएको हो । फिल्म त सहकार्यमा बन्छ । तर, सौगात जुन स्तरबाट काम गर्न खोज्छ, त्यो स्तरको फिल्म नेपालमा बनेकै छैन । ऊ जसरी आफ्नो चरित्रलाई शतप्रतिशत नै दिन खोज्छ, त्यो हिसाबको फिल्म हाम्रो सोचमै छैन । त्यसैले उसको मिहिनेत खेर गा’को छ । जसरी म चरित्र बनाइरहेको छु, ‘यसरी पनि फिल्म बनाउने सकिन्छ’ भन्नेतर्फ फिल्मकर्मीलाई सौगातले दबाब दिइरहेको छ ।

अहो ! ऊ त्यो सबै कसरी गर्छ ? अजिब–अजिब लाग्छ । ‘लुकामारी’ मा उसले आँखै छड्के पारेर काम गरेको थियो । ‘छड्के’ मा उस्तै मिहिनेत गरेको थियो । ‘अगस्त्य’ मा पनि उस्तै डरलाग्दो काम गरेको छ उसले । ‘अगत्स्य’ को ट्रेलरले नै उसको काम र मिहिनेत बताउँछ । हरेक फिल्ममा ऊ असाध्यै मिहिनेत गर्छ । तर, उसको जत्ति मिहिनेत अरू फिल्मकर्मी किन गर्दैनन् ? प्रश्न यो छ ।

पूरै फिल्ममा एउटै रिदममा संवाद बोलिरहेको हुन्छ सौगात । संवादमा जे हो त्यो ठ्याक्कै बोल्छ, परिमार्जन गरेर बोल्दैन । जुन संवाद उसले बोल्नुपर्ने हुन्छ, हरेक टेकमा ट्याक्क–ट्याक्क उस्तै नै बोल्छ । नाटकमा लामो अभ्यासले होला, संवाद बोल्दा उसको रिदम त्यही हुन्छ । तर, पटकथामा लेखिएकै संवाद हुबहु रटेर बोलिरहेको हुन्छ, त्यो नै सौगातको कमजोरी हो । ऊ किन त्यस्तो गर्छ ? खासमा सौगात संवाद चाँडै बिर्सन्छ, यो कुरा उसैले मलाई भनेको हो । त्यसैले छोटो समयमै पढेर संवाद भन्नु भन्दा लामो समयदेखि अभ्यास गरेको संवाद नै ऊ बोलिरहेको हुन्छ । उसले संवादको रिहर्सल आफैं गरिरहेको हुन्छ, सह–कलाकारलाई रिहर्सल गराएर खासै दु:ख दिँदैन । हुन त सह–कलाकारसँगको संवादमा रियाक्ट मज्जाले नै गरिरहेको हुन्छ ऊ । उक्त दृश्यमा संवादको अभ्यास जसरी गरेको छ त्यसरी नै बोलिरहेको हुन्छ । ‘तिमी कतिबेला आयौ ?’ भन्ने संवादमा उसले अभ्यास गरेर आएको छ भने हरेक पटकको सटमा एउटै रिदममा त्यो संवाद बोलिरहेको हुन्छ । त्यसमा तल–माथि हुँदै हुन्न ।

000

खासमा उसले आफ्नै कल्पनामा चरित्रको संसार बनाइरहेको हुन्छ । परिवार, साथीभाइ, राजनीति, समाजभन्दा टाढा बसेर ऊ काम गर्छ । उसको आदत त्यस्तो छ । त्यो कारणले ऊ एकदमै कल्पना गरेर फिक्सन चरित्र निर्माण गर्छ । उसले अभिनय गर्दा निर्देशकले ‘कट’ भन्न बिर्सेको मैले धेरै पटक सुनेको छु । त्यस्तो किन हुन्छ ? किनभने निर्देशकले उसको अभिनय क्षमता बुझ्न नसकेका हुन् ।

सौगातले सुधार्नुपर्ने पक्ष एउटै छ, त्यो हो– समसामयिक विषयवस्तुमाथिको ज्ञान । उसले त कल्पना गरेर एउटा चरित्र निर्माण गरिसकेको हुन्छ, तर हामीकहाँ फिल्ममा अर्कै संसार निर्माण गर्न सक्ने फिल्ममेकिङ भइरहेको छैन । हाम्रोमा ‘यस्सो सापट लिएर’ फर्मुला फिल्म बनिरहेका छन्, ती फिल्ममा त्यो स्तरको चरित्र निर्देशकले कल्पेकै हुँदैन ।

यहाँ सामाजिक विषयवस्तुका फिल्म बनिरहेका छन्, त्यसमा पनि समसामयिक विषयवस्तु राखिएका हुन्छन् । त्यो विषयवस्तु कलाकारले पनि बुझनुपर्छ । सौगात धेरै पुस्तक पढ्छ, अनि चरित्र पनि कल्पना गरेरै सिर्जना गर्छ । त्यसो गर्दा त्यो चरित्रसँग दर्शकको कनेक्सन टुट्छ । र, फिल्म एकातिर बग्छ, चरित्र अर्कोतिर बग्छ ।

समसामयिक विषयलाई सौगातले नजरअन्दाज गरेको छ । उसले समाज बुझ्नुपर्छ । कुनै समय मैले उसलाई ‘समसामयिक विषय बुझ्नु जरुरी छ है सौगात’ भनेको पनि थिएँ । त्यतिबला उसले भनेको थियो, ‘यस्तो विषयले मेरो टाउको दुख्छ यार ।’ तर, हाम्रोमा यस्ता फिल्मकर्मी आएनन्, जसले सौगातलाई यी विषयको महत्त्व बुझाइदियोस् । ऊ फिल्मको कथाभन्दा पनि चरित्रसँग धेरै प्रभावित भइरहेको देख्छु ।

म उसलाई सोध्छु बेलाबेला– कुनै फिल्ममाथि काम गर्दा त्यसमा के मज्जा लाग्यो ? ऊ सधैं भन्छ, ‘यो चरित्र रमाइलो छ यार ।’ हो, कलाकारका लागि हरेक चरित्र लोभलाग्दो हुन्छ । तर, म चरित्रभन्दा पनि कथा हेरिरहेको हुन्छु । ऊचाहिँ चरित्रमै लोभिइरहेको हुन्छ, म सोच्छु– कथा पनि त त्यही अनुसारको बन्नुपर्छ । त्यसैले सौगातले स्क्रिप्ट छनोटमा पनि विशेष ध्यान दिनुपर्छ । उसले स्क्रिप्टतर्फ ध्यान नपुर्‍याउनुको खास जवाफ रोचक छ । ऊ प्राय: भनिरहेको हुन्छ, ‘स्क्रिप्टको काम लेखकको हो, कलाकारको काम त चरित्र चित्रण हो ।’ ऊ सेटमै पनि चरित्रमाथि नै खुबै रमाइरहेको हुन्छ, तर कथा कता दौडिरहेको छ ? त्यतातिर उसको ध्यान हुँदैन । उसको अहिलेको समस्या नै त्यही हो । ऊ आफू साह्रै मिहिनेत गर्छ, तर मिहिनेतको फल खान पाइरहेको छैन ।

000

सौगात एक इमानदार व्यक्ति हो– नम्र, मायालु र दयालु । ऊ जनावरप्रेमी पनि हो । एकपटक उसले घरमा बाँदर पालेको थियो । फिल्ममा करिअर सुरु गरेदेखि नै हामी नजिक हुन थाल्यौं । ‘हाइवे’ बाट हामी बढी नजिकिन थाल्यौं । हामीले सँगै थुप्रै उट्पट्याङ काम गरेका छौं । हामी काठमाडौं भन्दा उपत्याकाबाहिर हुँदा अक्सर गफिन्छौं । सुटिङका बेला घण्टौं गफ हुन्छ । विदेश यात्रामा हुँदा होस् कि सुटिङमा, फरक–फरक विषयमा घण्टौंसम्म गफ हुन्छ, कहिले पारिवारिक गफ हुन्छ त कहिले जोक मात्रै गरेर दिन बित्छ ।

हामीले एक पटक वर्कसप गर्ने योजना पनि बनाएका थियौं । हामीमा अभिनयको भोक छ, तर त्यो गर्ने तौरतरिका बिर्स्यौं भन्ने लाग्यो । त्यसैले निश्चित समयका लागि सँगै बसेर आवासीय वर्कसप गर्ने छलफल भयो– अनुप बराललगायतका शिक्षकलाई बोलाउने, आ–आफैं खर्च उठाउने अनि अन्य युवा कलाकारसँगै वर्कसप गर्ने ! मैले उसलाई ‘ल तिमी योजना बनाएर आउ’ भनें । उसले योजना त बनायो, तर तीन महिनाको– तीन महिनासम्म कहिले कता, कहिले कता गएर वर्कसप गर्ने । बजेट पनि एकदमै ठूलो निस्कियो । ‘एकअर्काबाट सिक्नुपर्छ’ भन्ने सोचेर त्यस्तो योजना बनायौं, जुन अझै पूरा हुन सकेको छैन ।

बेलाबेला सौगात र मेरो भनाभन पनि हुन्छ । फिल्म हेरेपछि ‘काम मन पर्‍यो/परेन’ सिधै भनिरहेका हुन्छौं एकअर्कालाई । हामी दुवैजना देखिने फिल्ममा अधिकांश समय ऊ संवाद तयार पारेर आउँछ, कण्ठ गरेर आएको संवाद बोल्छ, त्यसमा म इम्प्रोभाइज गरेर प्रतिक्रियामा बोल्छु । ऊ भन्छ, ‘यस्तो अभ्यास तिमीसँग गर्न रमाइलो लाग्छ ।’ ऊ सानोतिनो संवाद त तुरुन्तै परिमार्जन गर्छ, तर सबैमा परिमार्जन गर्दैन । मचाहिँ तुरुन्तै परिमार्जन गरिदिन्छु ।

फिल्म क्षेत्रमा उसको योगदानको कदर हामीले गर्नुपर्छ । अभिनयको एउटा शैलीलाई सौगातले मार्गनिर्देश गरेको छ । विपिन कार्कीको काम गर्ने तरिका अर्कै छ, सौगातको बेग्लै ।

सूक्ष्म ढंगले हेर्ने हो भने समकालीन कलाकारको काम गर्ने तरिकामा अन्तर देखिन्छ । त्यसमध्येमा सौगातको छुट्टै विशेषता छ । उसको शैली मात्रै समातेर पनि अभिनयमा अन्य कलाकार आउन सक्ने सम्भावना छ । उसले अभिनय गरेको फिल्मको नाम सबैलाई थाहा नहुन सक्छ, तर उसले त्यसमा निभाएको चरित्र सबैलाई थाहा हुन्छ ।

सौगातले आफ्नो तर्फबाट भयंकर मिहिनेत गरिरहेको छ । उसको क्षमता बुझ्ने भिजनसहितको निर्देशक सौगातले पाउनुपर्छ । मलाई सौगातको मिहिनेत र अभिनय–शैली देख्दा डाहा लाग्छ । त्यो स्तरको काम म गर्न सक्दिनँ, त्यसमा ढुक्क छु ।

प्रकाशित : वैशाख १, २०८१ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?