२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

संस्कृतका केस्रा छोडाइरहेका डच प्रोफेसर

लाइडन विश्वविद्यालयका प्राध्यापक पिटर विशोप संस्कृत, एसियाका प्राचीन सभ्यता र पुराणहरूमाथि गहिरो अध्ययन गरिरहेका छन्

भाषिक विविधता भएको नेपाल र भारतमा संस्कृत भाषासँग राजनीति यति बलियोसँग किन जोडिएको छ ? यही उत्सुकताले भेटाएको थियो, प्राध्यापक पिटरसँग । पिटर भन्छन्, ‘नेपाल र भारतको आधुनिक इतिहासमा संस्कृत एउटा भाषामा मात्रै सीमित थिएन र होइन, तर संस्कृत सामान्य मानिसको माध्यम भाषा कहिल्यै भएन ।

संस्कृतका केस्रा छोडाइरहेका डच प्रोफेसर

जस्तो कि बजारमा गएर कसैले संस्कृत भाषामा बोलेर सामान किनमेल गरेको होस् वा वेन्डी डोनिगरले भनेजस्तो कसैले भान्सामा बटर माग्न संस्कृत भाषाको प्रयोग गरेको होस् ।’ संस्कृत भाषामा पारंगत पण्डितले घरमा आफ्नै परिवारसँग बोल्न दोस्रो भाषाको प्रयोग गर्नुपर्थ्यो । तर पनि संस्कृत भाषा सधैं राजनीतिको केन्द्रमै रहेको सन्दर्भमा पिटर भन्छन्, ‘त्यसो हुनुको पछाडि यस भाषासँग गाँसिएको मानिसको वर्ग, इतिहास, सभ्यता र एउटा सिंगै हिन्दु धर्म–संस्कृति नै हो । साथै संस्कृत भाषा शासक र सम्भ्रान्तले प्रयोग गर्ने भएकाले यसको विरासत यति बलियो भयो । तर, यति मात्रै भनियो भने संस्कृत भाषाको विराटता, सुन्दरता र भव्यतामाथि अन्याय हुन जान्छ । यसले सिंगै हिन्दु संस्कृति र दर्शनको प्रतिनिधित्व गर्छ ।’

लाइडन विश्वविद्यालय नेदरल्यान्ड्सका प्राध्यापक पिटर विशोप संस्कृत, एसियाका प्राचीन सभ्यता र संस्कृत भाषामा लेखिएका पुराणहरूमा गहिरो अध्ययन गरिरहेका छन् ।

संस्कृत भाषामाथिको रुचि

संसारकै प्राचीनमध्यको एक भाषा भएकाले लाइडन विश्वविद्यालयमा संस्कृतको अध्ययन–अनुसन्धान गरिन्छ । संस्कृत अंग्रजी वा डचजस्तै अन्य युरोपियन भाषा इन्डो–युरोपेली भाषा परिवारबाटै विकसित भएको हुनाले पनि पिटर संस्कृतको अध्ययनप्रति आकर्षित भएका हुन् । स्नातकोत्तर तहमा पूर्वीय दर्शन विशेष गरी भारतीय दर्शनको अध्ययन सुरु गरेपछि संस्कृत भाषाले उनलाई आकर्षित गरेको थियो । यही रुचि पछ्याउँदै विद्यावारिधिसम्मको अध्ययन पूरा गरेपछि लाइडन विश्वविद्यालयको इन्स्टिच्युट फर एरिया स्टडिजमा संस्कृत भाषा र दक्षिण एसियाका प्राचीन संस्कृति पढाइरहेका छन् पिटर । भन्छन्– ‘संस्कृत भाषा विराट सभ्यता, हिन्दु धर्मव्यवस्था, प्राचीन काव्य परम्परा र संस्कृतिको विशाल क्षितिज चियाउने एउटा झ्याल हो ।’

वर्षौंदेखि संस्कृतमा लेखिएका पौराणिक श्लोकका केस्रा–केस्रा केलाउँदै व्याख्या गरिरहेका प्राध्यापक पिटर नेपालमा भएको भए नामी पण्डित कहलिन्थे होलान् । उनको कार्यालयमा संस्कृतका किताब यत्रतत्र छरिएका थिए । तिनै किताबबीच कैयौं नेपाली सन्दर्भका किताब पनि थिए । संस्कृत भाषाका काव्य, पुराण पढ्दै गएपछि प्राचीन संस्कृतिप्रति प्राध्यापक पिटरको रुझान झनै प्रगाढ भएको रहेछ । उनको शोधको निर्दिष्ट मार्ग प्रारम्भिक हिन्दु धार्मिक परम्परा विशेष रूपमा शैववादको ऐतिहासिक विकास तथा प्रसारसँग सम्बन्धित छ, जुन संस्कृत ग्रन्थहरूको भाषाशास्त्रीय अध्ययनमा आधारित छ । पौराणिक साहित्यको रचना तथा प्रसारण र पौराणिक कथाहरूको ऐतिहासिक, धार्मिक तथा सामाजिक सन्दर्भको अध्ययनमा विशेष रुचि राख्ने पिटर स्कन्दपुराणको आलोचनात्मक संस्करण तयार गर्ने अन्तर्राष्ट्रिय अध्ययन टोलीको सदस्य पनि हुन् । संस्कृत साहित्यका काव्यशास्त्र तथा तन्त्रशास्त्र लगायतका विधामा पनि उनको गहिरो रुचि छ । यिनै विषयसँग सम्बन्धित उनका झन्डै दर्जन पुस्तक प्रकाशित छन् ।

संस्कृत भाषा र राजनीति

नेपालमा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेपछि संस्कृत भाषालक्षित भएका आक्रमण वा संस्कृत भाषाको विरोधमा भएका विद्रोहलाई प्राध्यापक पिटर जायज ठान्छन् । शासक वर्ग, ब्राह्मण तथा सम्भ्रान्त वर्गर्सँग संस्कृत भाषाको प्रगाढ साइनो, राज्यको यसप्रतिको अतिरिक्त प्रेम तथा अन्य भाषाको विकासप्रतिको उदासीनताका कारणले निम्त्याएको भाषिक विद्रोहका रूपमा हेर्दछन् उनी त्यसलाई । पिटर भन्छन्, ‘जसरी आज अंग्रेजी भाषाले आफ्नो साम्राज्य जमाएको छ, संस्कृत भाषाले उसैगरी आफ्नो समयमा एउटा साम्राज्य खडा गरेको थियो । गाउँमा जन्मे–हुर्केको मानिसले अहिले संसारसँग प्रतिस्पर्धाका निम्ति जसरी अंग्रेजी भाषामा पोख्त हुनु अनिवार्य छ, त्यसरी नै त्यतिबेलाको भारतीय उपमहाद्वीपका विभिन्न राजा रजौटा, सभ्यताहरू, ब्राह्मणहरू वा मन्दिरका उपल्लो तहका पुजारी पण्डितहरूले आफ्नो पद वा यश जोगाइराख्न संस्कृत भाषामा पोख्त हुनु अनिवार्य थियो ।’

सबैभन्दा महत्त्वपूर्ण कुरा सबै मानिसलाई संस्कृत पढेर यसमा उपाधि प्राप्त गर्ने वा महारथ हासिल गर्ने सुविधा थिएन । त्यसैले यो भाषा विभेदको जगमा उभिएको भाषा थियो । संस्कृत कहिले पनि कामकाजको भाषा रहेन, न कहिले आम मानिसको बोलीचालीको भाषा थियो तर पनि संस्कृत सधैंभरि नेपाल र भारतमा राजनीतिक वा भाषिक बहसको केन्द्रबिन्दुमा रहनुलाई संस्कृत भाषाको स्थापनाको पृष्ठभूमिसँग जोडेर हेर्नुपर्ने जिकिर गर्छन् पिटर । उनी थप्छन्– ‘त्यसै कारण संसारले अनेकन राजनीतिक उतारचढाव देखिसक्दा पनि वा राजनीतिको बाहिरी आवरण फेरिँदा पनि राजनीतिको मूल सिद्धान्तमा यिनै दर्शनको मिहिन प्रभाव रहेकाले संस्कृत भाषा बहसको केन्द्रमा रहन सफल भएको हो ।’

नेपालमा संस्कृत भाषाको राजनीतिबारे कुरा गर्दा भारतमा भइरहेको राजनीतिक विकास र नेपालको पूर्वराजसंस्थालाई बिर्सन नसकिने बताउँछन् पिटर । भन्छन्, ‘कुनै पनि समुदायको मातृभाषा नरहेकाले संस्कृत बोल्न विशेष तालिम वा शिक्षाको आवश्यकता पर्थ्यो, जसका लागि मानिसले निश्चित सामाजिक योग्यता पूरा गरेको हुनुपर्थ्यो ।’ संस्कृत भुइँमान्छेले बोल्ने भाषा नभएकाले संस्कृत भाषाको विकास एउटा तप्कामा मात्रै सीमित भयो र यसले समाजको एउटा आयामको मात्रै बयान गर्छ । धर्मसँग नगाँसिएको भए संस्कृत यति बलियो हुन्थ्यो ? पिटर भन्छन्, ‘यो धेरै जटिल प्रश्न हो । संस्कृत भाषाकै रूपमा धेरै वैभवशाली र अब्बल दर्जामा विकसित भाषा हो । प्राचीनकालमा संस्कृत धर्मसँग मात्रै सम्बन्धित थिएन । झन्डै पाँच हजार वर्ष लामो इतिहास बोकेको भाषालाई यति संकुचित गर्नु न्यायोचित होइन तर सत्य हो कि यति काव्यिक र सुन्दर भाषा यदि हिन्दु धर्म, संस्कृति र दर्शनसँग नगाँसिएको भए संस्कृत भाषालाई लिएर यति धेरै राजनीति पक्कै हुने थिएन ।

स्कन्दपुराण परियोजना

प्राध्यापक पिटर मानविकी संकायमा अध्ययन अनुसन्धान गर्ने विद्वान्हरूको टोली सम्मिलित अन्तर्राष्ट्रिय स्कन्दपुराण परियोजनाका एक सदस्य पनि हुन् । स्कन्दपुराण संस्कृत भाषाको एक महत्त्वपूर्ण ग्रन्थ हो, जुन नेपालबाट नवौं शताब्दीमा ताडको पातमा लेखिएर पाण्डुलिपिका रूपमा भारत पुगेको थियो । स्कन्दपुराण परियोजनाले हिन्दु पौराणिक साहित्यको सबैभन्दा महत्त्वपूर्ण र मूलभूत कार्यको महत्त्वपूर्ण संस्करण तयार गर्नेछ । उक्त अध्ययन परियोजनामार्फत उनीहरू भारतीय उपमहाद्वीपको इतिहासको महत्त्वपूर्ण कालखण्डमा धार्मिक समुदायहरूको उदय र विकास बुझ्न त्यस समयको पाठ्य परम्पराको गतिशीलता अनुसन्धान गरिरहेका छन् ।

सन् १९९० को दशकको सुरुवातसँगै रब एडियान्सन, हान्स टी बेकर र हारुनागा इसाकसनद्वारा आरम्भ भएको स्कन्दपुराण परियोजनामा निकै ठूलो परिमाणमा काम भइसकेको छ । स्कन्दपुराणका धेरै खण्ड र पुराणमाथि धेरै व्याख्यात्मक शोध प्रकाशित भइसकेका छन् । परियोजनाले आधारभूत विद्वतापूर्ण सिद्धान्त प्रयोग गर्दै र शास्त्रीय इन्डोलोजीको पहिचान गर्दै भाषाशास्त्र, पाठ्य आलोचना तथा पाण्डुलिपि स्रोतको अध्ययन गर्छ । परियोजनाको केन्द्रबिन्दुमा नवौं शताब्दीदेखि १९ शताब्दीसम्म पाण्डुलिपिका रूपमा संरक्षित पाठ छ । आलोचनात्मक सम्पादनको माध्यमबाट परियोजनाले पाठ्य प्रसारणको प्रक्रियाको पुनर्निर्माण गर्दै उक्त पाठलाई त्यस समयको ऐतिहासिक सन्दर्भमा व्याख्या गर्ने काम भइरहेको छ । तर, स्कन्दपुराण मात्र एउटा पाठभन्दा कैयौं गुणा अधिक हिन्दु धर्मको परम्परा र इतिहास अध्ययनका लागि ज्यादै समृद्ध क्षेत्र हो किनकि यसको कल्पना र अभ्यास प्रारम्भिक भारत वर्षमा गरिएको थियो । यसै परियोजनाअन्तर्गत शैव र वैष्णव धर्म परम्पराको अन्तर्घुलनको विषयमा पनि अध्ययन भइरहेको छ ।

त्यसो भए संस्कृत भाषामा लेखिएका यी ग्रन्थहरूको अध्ययन गरेर त्यतिबेलाको सामाजिक संरचना वा सामाजिक आर्थिक अवस्थाबारे कुनै निष्कर्ष निकाल्न सकिन्छ ? सकिँदैन । पिटरको सिधा जवाफ थियो । किनभने संस्कृत कहिले पनि आम मानिसको प्राथमिक भाषा थिएन । शासन सत्तामा भएका र त्यसकै सेरोफेरोमा रहेका केही ब्राह्मण लगायतका उपल्लो जातका मानिस मात्रै संस्कृत बोल्थे र ती मानिस पनि आफ्ना दैनन्दिनीमा दोस्रो भाषा बोल्थे । संस्कृत भाषाले सधैंभरि भगवान्, धर्म वा तिनकै वरिपरि रहेर शासन चलाउनेको महिमा मात्रै लेख्यो । जात वा लिंगका आधारमा रहेर पालना गर्नुपर्ने सामाजिक नियम बनायो । ब्राह्मणवादी संस्कृतिको महिमा–मण्डन गर्‍यो, त्यसकै इतिहास लेख्यो, त्यसैले संस्कृत भाषामा लेखिएको कुनै पनि ग्रन्थले तत्कालीन समाजको वास्तविक अनुहार चिन्दैन । यसले भगवान्को भाषा बोल्छ । संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थ वा पुराणले एउटै मात्र दृष्टिकोणबाट समाजलाई हेर्छन् । यी पुस्तकबाट आम मानिसका, तिनका संस्कृतिका, संघर्षका, दुखका, समुदायबीचका घर्षणका इतिहास बुझ्न सकिँदैन । अर्को महत्त्वपूर्ण कुरा यी ग्रन्थमा ज्ञानलाई भगवान् वा देवीदेवताको कथाका रूपमा मात्रै जगेर्ना गरिएको छ । तर, दक्षिण एसियाली सामाजिक वा भाषिक इतिहासको अध्ययन गर्ने अध्यताले यो इतिहासलाई बाहेक गरेर कुनै निष्कर्ष निकाल्न सक्दैन । वर्तमान पनि इतिहासकै एउटा धर्को हो ।

नेपाल साइनो

प्राध्यापक पिटर भन्छन्, ‘संस्कृत भाषाको मात्रै अध्ययन गर्न नेपाललाई बाहेक गरेर पनि सकिन्छ किनभने संस्कृत भाषामा प्रशस्तै पुस्तक वा ग्रन्थ लेखिएका छन्, तर शिव धर्मको इतिहास र शिव पुराणको अध्ययन गर्न नेपाल प्राथमिक स्रोत भएकाले नेपाललाई बाहेक गर्न सकिन्न ।’

प्रत्यक्ष रूपमा नेपाल नपुगे पनि उनले नेपालसँग सम्बन्धित धेरै पाण्डुलिपि अध्ययन गरेका छन् । शताब्दीयौं पुरानो पाण्डुलिपि नेपालमा भेटिनु र नेपालबाट ताडको पातमा लेखिएर अन्यत्र प्रसार हुँदै जानु उनका लागि रोमाञ्चक विषय थियो । त्यसपछि उनले यस्ता धेरै प्राथमिक स्रोतको अध्ययन गरेका छन्, जसमा नेपाली विद्वान् पनि सामेल छन् । शिव पुराणका अध्येता पिटरलाई पशुपतिनाथको मन्दिर पुग्ने, काठमान्डुका मठमन्दिर, देवीदेवताका किम्बदन्तीबारे अझै जान्ने र तिनलाई नजिकबाट हेर्ने रहर छ । उनलाई नेपालमा पढिने स्वस्थानीको सामाजिक अध्ययन गर्ने धोको छ । यसै वर्ष २०२४ मा काठमान्डुमा हुने विश्व संस्कृत भाषा सम्मेलनमा काठमान्डु जाने योजना बनाइरहेका प्राध्यापक पिटरको नेपालसँग ज्ञानको साइनो भने पहिल्यै गाँसिइसकेको छ ।

प्रकाशित : चैत्र १७, २०८० १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?