१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

देशको परिभाषा बदल्ने मान्छे

सन्दुकको गाउँ थियो– सारा सुविधाबाट वञ्चित, धर्तीको एक कुनामा आदिम युग बाँचिरहेको । दैलोको सिमानामा रमाइरहेको बालक सन्दुक आदिम गुफाबाट फुत्त निस्किए । अप्ठेरा बाटोहरू हिँडे र पुगे अनौठो संसारमा ।
सरला गौतम

हिउँदको मध्यरात ! चुपचाप थियो संसार ! मस्त निदाइरहेको मानिसजस्तै रात ! हातमा भएको पुस्तकको पाना बन्द गरें, एक्लोपनको उचाइको एक्लोपन । कोही यति एक्लो कसरी हुन सक्छ !
अस्पतालको शय्यामा एक बालक एक्लै थियो, यही घना रातजस्तो निख्खर एक्लो उसको नियतिको साथमा ।

देशको परिभाषा बदल्ने मान्छे

घाउको अपरेसनपछि बाँधिएको पट्टीले लुकाउन सकेको थिएन दुखाइ । ऊ एक्लै दुख्दै थियो पर कतै भूगोलमा, आफ्नाहरूबाट बिल्कुल अलग्गिएर । कोर्दै थियो ऊ आफ्नो भाग्यको सीमारेखा ।

मध्यरातको शान्ति खलबल्याउँदै थिए, सन्दुक रुइतको जीवनीका पानाहरू । अलि ग्रिपरले रुइतका जिन्दगीका मोतीजस्तै क्षणहरू समेटेर लेखेको पुस्तक थियो त्यो । छालहरूको माझमा पौडिरहेको हाँसको चाल थियो मेरो । पुस्तकका पानाहरूमा कतै तैरिँदै, कतै डुब्दै बगिरहें । दन्त्य कथाजस्तो लाग्दै थियो उनको जीवन । ‘द्रौपदीको महाभारत’ पढ्दै गर्दा लागेको थियो, महाभारतमा फुत्त पस्न पाए ! एक पटक द्रौपदीसँग भेट्न पाए ! यो त फगत कल्पना भयो ।

मध्यरात, घामको साथ, मिनीबसको झ्याल अनेक ठाउँमा पढेको पुस्तकको अन्तिम पाना बन्द भयो– सँगै बसिरहेको आत्मीय मित्रको साथ छुटेजस्तो । द्रौपदी पो मिथक थिइन् । सन्दुक त मेरै छेउछाउ बस्छन् । अनि चल्दिएँ एक दिन पुस्तकका पात्र भेट्न । सन्दुकको अफिसमा ध्यानमग्न अवस्थामा म उनलाई कुर्दै थिएँ । उनी वातावरणमा करुणाको सुवास छर्दै आइपुगे । मेरो मस्तिस्कमा वालुङको सानो बालक नै थियो ।

त्यही बालकको प्रौढ स्वरूप सामुन्ने खडा थियो, आँखाहरूमा ज्योति भर्ने सुनौला हातहरूको साथमा । दार्जिलिङको अस्पतालको शय्यामा कसैको एक स्पर्स पर्खिरहेको बालकलाई यी प्रौढ डाक्टरले कसरी सम्झिँदा हुन् ? कुराकानीको सुरुवात मैले यही जिज्ञासाबाट गरें ।

सन्दुकको अनुहारमा गहिरो भाव देखियो ।

सहरको कोलाहल चिरेर हामी त्यही एक्लो बालकलाई सँगै भेट्न गयौं । एक स्पर्सको अभावमा कल्पिरहेको बालकलाई सम्झनाले स्पर्स गर्‍यौं । बाल्यकालको सम्झनामा डुबेका सन्दुकको करुणामयी अनुभूति सुनिरहँदा मलाई आफ्नै भाग्यसँग सन्देह भयो । के यो पल म साँच्चै बाँच्दै छु ? रुइतका दुई आँखा ओसिला देखिन्थे । आफ्ना आँखाहरूलाई बग्न नदिन म कोसिस गर्दै थिएँ । यो पल साँच्चै दिव्य थियो ।

आदिम गुफाबाट फुत्तै निक्लियो केटो

सन्दुकको गाउँ तमोरखोलाको शिर ओलाङचुङगोला पनि त्यही बालकजस्तै एक्लो थियो । दुनियाँका सारा सुखसुविधाबाट वञ्चित । धर्तीको कुनै कुनामा आदिम युग बाँचिरहेको । सुख भन्नु त्यही थियो, हजुरआमाको लोरी, आमाले पकाएका खाना अनि अगेनामा बलिरहेको रापिलो आगो ।

आफ्नै दैलोको सिमानामा रमाइरहेको बालक आदिम गुफाबाट फुत्त निस्कन्छ । आमाको ममता चटक्कै छोडेर बाउको हात समाउँछ । अप्ठेरा बाटोहरूसँग जोरी खोज्दै हिँडिरहन्छ । अनि पुग्छ एक अनौठो संसारमा । टिङटिङ घन्टी बजाउँदै बत्तिएका फुर्तिला साइकलहरू । विश्वकर्मा पूजाको दिन सयपत्रीको मालामा मख्ख परेका मोटरहरू । रंगीन कपडा र टीका लगाएका अप्सराजस्ता महिलाहरू । नीला आँखा, खैरा कपाल भएका अग्ला गोराहरू । होइन यो कस्तो विचित्रको संसार हो ? कताको वालुङ कताको दार्जिलिङ सहर ! त्यो बालक सन्दुकलाई लाग्छ, कतै फुत्तै बिलाइदिउँ । यो अद्भुत सहरमा त उनको हाल ‘तेरा क्या होगा कालिया’ हुने जस्तो पो देखियो !

चौरीका रौंले बुनेका घरबुना दौरा–सुरुवालमा बालक सन्दुक दार्जिलिङको सेन्ट रोबर्ट्स स्कुलमा हााजिर भए । छात्रवासको कोठामा उनी मूर्तिझैं उभिए । ढोकै छेकेर उभिएका आफ्ना बालाई अँगालो मार्न मन लाग्यो । बालकले ठान्यो, यो पदयात्राले मलाई बलियो पारिसक्यो । मेरा आँसु देखिनुहुन्न । देखिनुहुन्न मेरो आत्तिएको मन ।

त्यो अत्यास, एक्लोपन र बिमार हुँदा अस्पतालमा बिताएका कहालीलाग्दा एक्ला दिनहरू । मानिसको कर्मको विस्तार कहाँसम्म हुन्छ, कसलाई थाहा हुन्छ । सन्दुक भन्छन्, ‘त्यही कठोर बालपनले जीवनभरिका लागि आत्मविश्वास र शक्ति भरिदियो ।’ बोर्डिङ स्कुलका सुरुवाती दिनमा कसैसँग नबोली मौनतामा उनले एक महिना बिताए । मनमा आउने घरको सम्झना, नदी र लालीगुराँसको चित्र उनको सहारा बने । ‘भोटे’ भनेर जिस्क्याइने बालक सन्दुकका शिरमा भनसुनको आशीर्वाद थिएन । उनले त्यही बेला ठहर गरे, कठोर मिहिनेत मात्र उनको बाटो हो ।

सन्दुकको स्कुले एक्लोपनको कुराकानीपछि मैले उनलाई उनकी बहिनी याङलाको सम्झना गराएँ । उनकी प्रिय बहिनी, जोसँग उनी असाध्यै नजिक थिए । काठमाडौंका डेरामा याङला गीत गाउँदै पकाउँथिन् । सुकुमेलको बासना फिँजाउने मसला–चिया दाजुलाई खुवाउँथिन् । लामो एकलकाटे जीवनपछि बहिनीसँगको उनको समय निकै प्यारो चल्दै थियो । दैव कठोर भयो । क्षयरोगले याङलालाई गलाउँदै लग्यो । उपचार खर्चको अभावमा सन्दुकले आफ्नी अति प्रिय बहिनी गुमाए । बयान गरिनसक्नुको यो चोट किशोर सन्दुकको शिरमा बज्रसरी बजारियो ।

क्षयरोगका कारण बहिनीको अनुहारको त्यो घना अँध्यारो उनी अझै सम्झन्छन् । छातीभित्र कतै अझै दुख्छ त्यो घाउ । उज्यालो कथा उज्यालोले मात्र बोक्दैन, घनघोर अँध्यारोले प्रकाशको खाका कोर्दै हुन्छ । याङलाको अनुहारको अँध्यारो सन्दुकले नियालिरहे । यो त पक्का थियो, त्यही अँध्यारोले बाँकी संसारको दृष्टिमा प्रकाश भर्दै थियो । उपचार गराउन नसकेर बहिनी गुमाउनुको चोटले उनलाई डाक्टर बनायो ।

सन्दुकको एक्लोपन र अपमानको कोटा सकिएको थिएन । लखनउमा चिकित्सा पढ्दा पनि ‘पाखे भोटे’ भनेर हेपिन्थे । एकाध साथीसँग रिक्सा चढी सहर सयर गरेका बखत उनको न्यास्रोपनको बादलमा इन्द्रेणी छाउँथ्यो । अपमानको विष घाँटीमै राखेर उपमहाद्वीपका प्रतिभासँग उनी कुम जोडेरै उभिए । वालुङको भोटेले डाक्टरको उपाधि लिएर जब आफ्नो भूमिमा टेक्यो, दुनियाँले सुन्ने गरी उसलाई भन्न मन लाग्यो, ‘लु अब मलाई हेर ।’

कर्म र प्रेम

१९८० को दशकमा नेपालमा अन्धोपनको सर्भेले ०.८ मानिसमा समस्या देखायो । ०.४ प्रतिशत त मोतियाबिन्दुको खराब अपरेसनका कारण अन्धोपनमा बाँचेका थिए । सन्दुकको कोमल हृदयमा यो सत्य बिझायो ।

पहिलो पटक गुरुको निगरानीमा जब उनले आँखाको अपरेसन गरे, आँखामा उज्यालो फर्केका मानिसहरूमा असाधारण परिवर्तन देखे । यही मोडबाट उनको जीवनको दिशा बदलियो । आँखाको उपचारमै विशेषज्ञता हासिल गर्ने उनको अठोट बन्यो । अथक मिहिनेतले उनलाई पुर्‍यायो– अल इन्डिया अफ मेडिकल इन्स्टिच्युट । एक दुर्लभ अवसर त्यो समयको । एक गरिब तन्नेरीका लागि यो सानो कुरै थिएन । आफ्नो भाग्यसँग उनी आफैं जिल खाए र क्याम्पस वरिपरि तीन फन्का लाए । अनगिन्ती घण्टा प्रयोगशालामा बिताए । बाँदरहरूका चौकीदारलाई भोड्काको घूस पिलाए । बाँदरहरूमा अनवरत परीक्षण गरे । यसैले त आज पनि भन्छन् बाँदर देख्नेबित्तिकै– ‘धन्यवाद !’ वालुङे ठिटाले आँखाको डाक्टरको ताज पहिरियो । अनि फर्कियो देश, दृढ निश्चय र संकल्पसहित ।

आफ्नै सुरमा हिँडेको रुइतको जीवनमा प्रेमले चिहायो । सहकर्मी नन्दाको प्रेममा उनी दिवाना भए । फकाउन अनेक गरे । आँखाको चित्र बनाए । मुसुक्क हाँसे । नेवार समुदायकी नन्दा, भोटे समुदायको सन्दुक । जातको पर्खाल भिलेन बनेर उभियो । नन्दाको प्रेममा उनी यति बेकावु भएकी प्रयोगशालामा राखेको सिसाको टुक्राले आफ्नो हात चिरिदिए । भारतमा बसेर हेरेका हिन्दी सिनेमाको आशिकगिरीको करामत देखाए । एक दिन नन्दाको प्रेम आफ्नो पोल्टामा पारेरै छोडे । एकातिर प्रेम चलिरह्यो, अर्कोतिर काम । जीवनभर नन्दाले सन्दुकको सफलताको पुकार गरिरहिन् । उनको जीवनका अप्ठेराहरूमा अनगिन्ती दियोहरू बालिरहिन् । यही प्रेमको न्यानो प्रकाशको आड लिएर हर विपत्तिसँग सन्दुक लडिरहे ।

प्रेमको आगमनपछि मित्रताले दस्तक दिँदै थियो । एक दिन एउटा पश्चिमा डाक्टरलाई लिन एअरपोर्ट गए, खोजेको हुलिया भेटिएन । फ्याङ्ले ज्याकेट भिरेका, हातमा सुर्ती माड्दै गरेको मान्छे फेला पारे । नपत्याई सोध्दा उनै थिए खोजेका मान्छे । न्युजिल्यान्डबाट आएका डा. फ्रेड हलोज । पहिलो विश्वका डाक्टर साहेबहरू तेस्रो मुलुक आउँदा देखाउने रवाफ थिएन, कुनै पारा थिएन । फ्रेड थिए, एक असाधारण आत्मा । संसारका अति विपन्न मानिसको सेवामा जीवन अर्पण गरिरहेका सन्त । पहिलो भेटपछि नै उनी सन्दुकका हितैषी बने । फ्रेडसँगको भेटले एक साधारण डाक्टरको जीवनले असाधारण मोड लियो ।

कर्मको विस्तार मित्रको साथ

सन्दुकका हातका मसिना चालहरू जादुमयी थिए । यही जादु थियो, जसले फ्रेड हलोजलाई बाँधेर राख्यो । यति बेलासम्ममा सन्दुकको सारा ध्यान नेपाल आँखा अस्पतालको काममा थियो । अस्पतालको कोठाभित्रको उपचार बिस्तारै फैलिएर विकट बस्तीका गोठहरूमा पुग्यो । अप्ठेरो र डरलाग्दा विकट बाटाहरूमा हलोज र सन्दुकले रोमाञ्चक यात्रा गरे । अपरेसनका सामानहरू बोकी उकालो लाग्नु, पसिना काड्नु र शिविर सञ्चालन गर्नु दैवले खटाएको काम बन्यो । गह्रुँगा मेसिनहरू खच्चड र घोडाका ढाडमा बाँधी डरलाग्दा बाटाहरूमा हिँडिरहनु त सामान्य भयो ।

देशका ठालुहरूका लागि उपचार दिल्ली र ब्याङ्कक थियो । गरिबी र नियतिले ठगेका नागरिकका लागि हलोज र सन्दुक थिए । दुवैको एक मन्त्र थियो साझा, ‘यो धर्तीका हरेक मानिसले समानस्तरको उपचार सेवा पाउनुपर्छ ।’ अन्धोपनको डरलाग्दो अवस्थामा मोतियाबिन्दुको खराब उपचारले अझै सकस थपेको थियो । भाग्यको चमत्कार कुरेर बसेका मानिसका आँगनमै पुग्यो हलोज–सन्दुक टिम । दुर्गम बस्तीका गोठहरूका माकुराको जालो सफा गरे । गोबर र माटोले भुइँ पोते । स्कुलका बेन्च र टेबल बने बिरामीका शय्या । संसारकै अति विपन्न ठाउँहरूका मानिसले पाए विश्वस्तरको सेवा । अछूत भनिएका, अपहेलना गरिएका सबै मानिसको आँखामा दृष्टि भरियो । छुवाछूतका नाइकेहरूको नाकैअघि जातीय विभेद तोडियो । नर्कसरीको जीवनमा खुसी छमछमायो । मानिसहरूको नजरमा दृष्टि मात्र भरिएन, जीवन भरियो । मुस्कुरायो पहाड, उत्साहले नाच्यो मधेश ।

यतिमै सन्तोषी भई बसेको थिएन सन्दुकको मन । मोतियाबिन्दुको उपचारको रुढिग्रस्त ढाँचा बदल्नु थियो । फाल्नु थियो, मानिसहरूको आँखाबाट मोटा–मोटा ढ्याके चस्मा । सन् १९८९ मा काठमाडौंमा अन्धोपन निवारण संघको सम्मेलन भयो । सन्दुकले अपरेसनको नयाँ विधि इन्ट्राअकुलर प्रविधिको वकालत गरे । मानिसको आँखामा सानो घाउ पारे पुग्ने, ढ्याके चस्मा लाउनै नपर्ने । विकसित मुलुकमा हुने यस्तो सुविधा नाथे नेपालका गरिबको नाममा वकालत गर्ने ? को हो यो दुस्साहसी ? सम्मलेनका ठालुहरूले सन्दुकको सातो खाए ।

मानिसको खप्की झेल्न अब सन्दुक एक्लै थिएनन् । फ्रेड हलोज उनका भरोसा थिए । सन्दुकको सातो खानेको हलोजले झाँको झारे र भने, ‘तिमीहरू स्वाँठहरू हौं । तिमीहरूलाई संसारकै उत्कृष्ट सेवा चाहिने, गरिबलाई चुत्थो सेवा टक्र्याउने ? तिमीहरूलाई लाज लाग्नुपर्ने हो ।’ पश्चिमी मुलुकको रवाफ बोकेर गर्जेकाहरूको अभिमान मरिचजस्तै चाउरियो । मृदृभाषी डाक्टरको स्पष्ट र कडक मित्र जोडी थियो दमदार । हलोजको प्रसंग सम्झिएको पल सन्दुकको मुहारमा मायाको गुलाफ फक्रियो ।

गरिब देशका मानिसका लागि आउने रकम फर्केर पश्चिमा डाक्टरको खल्तीमा जाँदा झोकिन्थे, हलोज । तेस्रो विश्वका गरिब मानिसका लागि विश्वस्तरको सेवा दिने मानिस तयार गर्नु थियो । सन्दुकको सफलता फैलिँदै गर्दा आँखी गर्नेहरूको भीड बढ्दै थियो । गौंडा ढुकेर अप्ठेरोमा पार्न खोज्नेहरूको जमात सानो थिएन । अप्ठेरो थियो अनन्त । जहाँ पर्‍यो साह्रोगाह्रो त्यहीं उभिए हलोज । संघर्ष र परीक्षणको भट्टीमा खारिँदै थिए सन्दुक । आँखा अस्पतालको घेराबाट निस्केपछि उनले शिविरहरूमा इन्ट्राअकुलर विधि प्रयोगमा ल्याउन थाले ।

असल प्रयत्नले असल मनहरू जोड्दै थियो । अमेरिकी नेत्र चिकित्सक अल्फ्रेड सोम्मरले संसारलाई भनिदिए, ‘सन्दुकले अपनाएको इन्ट्राअकुलर प्रविधिबाहेक अरू अनुचित हो ।’ सन्दुकको कर्मको प्रशंसा बढ्दै गयो । ‘द आर्काइभ अफ अप्थाल्मोलोजी’ नामक जर्नलमा सन्दुकको असाधारण उपलब्धिको बयान गर्दै प्रोफेसर एलोन रुबिनले लेख लेखे । पश्चिमा चिकित्सा जगत्मा हँगामा भयो । डाक्टर डिक लिटविन जस्ता पश्चिमा शल्य चिकित्सक रुइतको साथमा उभिए । सन्त जस्ता यी मानिस सन्दुकका हातका मसिना चालहरू नियाल्दै दुर्गम भेगका शिविरहरूमा खटिए । मानिसहरूको मद्दत गर्न सन्दुक–सम्मोहन देखेर उनी यसै–यसै लट्ठिए । उनी स्नेहको वर्षात् गर्दै सन्दुकलाई भन्ने गर्थे, ‘केही त्रुटि भयो भने भनिदिनु यो लिटविनले गरेको हो ।’ शुभेच्छुकहरूको फैलावट जारी रह्यो । नदी किनारको गन्ध आउने वाग्मती छेउको साधारण डेरामा २० वर्ष बसे सन्दुक । बिरामीका लागि पैसा जोगाउनु, उपकरणका लागि पैसा जुगाड गर्नु सन्दुकको दैनिकी नै थियो । उनको कर्मको गौरव साँघुरो डेराबाट जगत्मा फैलियो ।

सन्दुकको प्रगतिको हर खुट्किला बने डाक्टर– फ्रेड हलोज । रुइतका आँखाका हर सपना उनले आफ्नै जस्तो गरी बाँचे । हलोजको मृत्युको खबर कानमा ठोक्किँदा, सन्दुक बहिनी गुमाउँदा जस्तै मर्माहत भए । एक दाजु, एक भरोसा उनले गुमाए । मिनीबसको यात्रा गर्दै थिएँ यो प्रसंग पढिरहँदा । यात्रा धुलिखेल मोडिँदै थियो । बादलमा चञ्चलता थिएन, उदासी देखियो । गरिब मुलुकका विपन्न मानिसका दुःखमा दुख्ने हलोज नेपालका लागि बरदान थिए । सन्दुकको आँखामा सपनाको रङ भरिरहने एक कुचिकार ।

सपनाको संकल्प

सपनाले एक खुट्किलो मार्‍यो । आँखा चिम्म गरी बसेर प्रकाशपुन्जसहित नयाँ परिकल्पना गर्छन्, सन्दुक । सन् १९९० मा सन्दुकको आँखामा नाचेको सपनाको वर्णनमा रमाए मेरा आँखा । अब उनलाई अस्पताल आफ्नै चाहिएको थियो । आँखाका नानीहरू उत्पादन गर्ने आफ्नै कारखाना । पश्चिमी मुलुकबाट आउने हितैषी चिकित्सकहरूले झोला भरेर ल्याइदिने आँखाको नानीको भरमा सन्दुक उपचारमा जुगाड लगाउँथे । सपनाले खुट्किलो मार्नैपर्थ्यो । आँखा उपचारको दुनियाँमा चमत्कार चाहिएको थियो । विशाल थियो लक्ष्य । गाह्रो थियो बाटो । दृढ थियो सन्दुकको मन । हलोज मृत्यु प्रसंगमा दुखेको मन बौरिन थाल्यो । मिनीबस धुलिखेल पुग्नै आँटेको थियो । आकाश मुन्तिरका पहाडका लस्करहरूले सुन्तले रङको घुम्टो ओढिसकेका थिए । आहा यो स्वर्णिम सन्ध्या !

आँखा अस्पतालको पुरानो बाटो हिँड्न उनले बन्द गरिदिए । नयाँ बाटो, नयाँ सारथि ! उनले बनाए रीता गुरुङको अगुवाइमा टिम, ‘सानदार सात’ । यही टिमकै अनवरत खटनमा नेपालका अति विकट गाउँहरूमा आँखा शिविरहरू चलाइएको थियो । यो टोली जस्तोसुकै पहराको बाटो हिँड्न तयार थियो, परालको चाङमा निदाउन तयार थियो । सानदार सात अब नयाँ लक्ष्यतिर मोडिँदै थियो । यसैको प्रयासमा नेपाल आँखा कार्यक्रम संस्था तयार हुन्छ । महजोडी लगायत नेपालका ख्यातिप्राप्त आठ मानिसको कार्यकारी टिम बन्छ । अब चाहियो कजमिन । संस्थाको खातामा मात्र २० हजार छ । सन्दुकको परिकल्पनाको असली परीक्षा अब सुरु हुन्छ ।

सानदार सातसहित नेपाल आँखा कार्यक्रमको टोली सहरमा जमिन खोज्न लागिपर्‍यो । सहरमा जति खाली र राम्रा जग्गा भेटिन्थे, ती सबै पहुँचवालाका कब्जामा थिए । कोही प्रधानमन्त्रीका आफ्ना मान्छे, कोही राजाका । असहायको उपचारका लागि उभिने अस्पतालका लागि सानो टुक्रा जमिन थिएन । रोजा–रोजा जमिनमा सामन्तीहरूको चैन थियो ।

अथक प्रयत्नपछि पशुपति विकास कोषको सानो टुक्रा जमिन फेला पर्‍यो, सहरकै निर्जन र दुर्गन्धित भूमि । जलिरहेका लास । हिलोको दलदल । असरल्ल झारपात । लेखक स्व. बब एसिलले यो ठाउँको सेरोफेरोलाई ‘सम्पूर्ण एसियाको ऐना देखिने ठाउँ’ भनेका छन् । भलै यही नै एसियाको सम्पूर्ण चित्र होइन । पहिलो विश्वका मानिसमा हाम्रो चित्र यस्तै थियो । एसियाली मुलुकप्रतिको यही हीन दृष्टिकोण त फेर्नु थियो । डाक्टर सन्दुकको यही थियो अभिलाषा ।

सन्दुकको स्वर्णिम सपनाको यो जमिनले राम्रै परीक्षा लियो । अप्ठेरो बाटो हिँड्ने बानी परेका आँखाको डाक्टर हार मान्नेवाला थिएनन् । दृढ थियो रीता गुरुङको अगुवाइको टिम । काठमाडौंका डाँडाकाँडा चाहरेर बटुलियो फलफूलका बिरुवा । जुट्यो टोली । पन्छाए दलदलका झारपात र मरेका जनावरहरू । खोस्रिए माटो । मगमगाए फूलहरू एक दिन । जाग्यो बगैंचा । उभियो अस्पताल । सानो नदीको नाममा जुराइएको थियो– नाम तिलगंगा । सुमधुर र शान्त ध्वनिको प्रतीक । यही ध्वनिले फेर्दै थियो, विश्व मानचित्रमा नेपाल भन्ने देशको परिभाषा ।

सन् १९९४, ७ जुन नेपालका लागि विशेष थियो । राजा वीरेन्द्रले अस्पताल उद्घाटन गर्ने दिन सन्दुकले सयौं मानिसको प्रत्यक्ष शल्यक्रिया गर्दै थिए । अनेक कष्ट, आरिस र जालझेल जितेर उनको सपना टक्क उभिएको थियो । हतास थिए अलिकति । निरन्तरको धपडीले स्वास्थ्य बिग्रिएको थियो ।

त्यस दिन पनि उनले दिनभरि आँखाहरूमा ज्योति भरे । हातका स–साना चालहरू छर्लङ्गै देखिने गरी सबैको सामुन्ने शल्यक्रिया गर्नु सजिलो काम थिएन । लाइभ कन्सर्टमा जाँदै गरेको गायकजस्तै नर्भस थिए सन्दुक । तर, यो काम लाइभ कन्सर्टभन्दा कठिन थियो । संगीत जस्तै मधुर लाग्दै थियो सन्दुकका हातका तिलस्मी चालहरूको वर्णन ।

त्यस दिन सन्दुक काम गर्दागर्दै तन्द्रामा परे । हलोजले आफ्नै अन्दाजमा पुठोमा हात राखेर उनलाई हेरिरहेझैं लाग्यो । आफ्नो भाइसरहको मित्रको सफलताको यो दिन हेर्न पाएको भए हलोज कति प्रसन्न हुँदा हुन् ! अन्तिम शल्यक्रिया सकिँदै गर्दा सन्दुकलाई लाग्यो, हलोज उनलाई हेरेर भन्दै छन्, ‘अब सकियो । तिमी सफल भयौ ।’ अनि सन्दुकका आँखाहरूमा बर्सात् छायो । हलोज मित्र मात्र थिएनन् । थिए एक माया, एक अनुभूति ।

सन् १९९४ को जुनमै इन्ट्राअकुलर लेन्स कारखाना पनि खुल्यो । आजसम्म यो कारखानाले पचास लाखभन्दा बढी जादुमयी टुक्राहरू बनाइसक्यो । ‘मेड इन नेपाल’ छाप ठोकिएका आँखाका नानीहरू आज संसारभरका मानिसका आँखामा छरिएका छन् । पश्चिमा लेन्सहरूको गोटाको सय डलर पर्थ्यो । नेपाली उत्पादन पाँच डलरमै पाइन्छ । आँखाको नानी–दानको सुरुवात पनि सन्दुककै प्रयत्नमा भयो, पशुपतिका शवदाह मन्डलीहरूसँगको सहकार्यमा ।

अन्धोपनको उपचार गरिरहेका संसारका प्रतिभावान् डाक्टरहरू नेपाली भूमिका डाक्टर सन्दुकका चेला छन् । सिकाउन मात्रै आउनेहरू सिक्न लामबद्ध छन् । संसारका लब्धप्रतिष्ठित मानिस अन्धोपनको उपचारका लागि सन्दुकको हात खोज्दै आउँछन् । कुनै देशका महाराजा, महारानी, कुनै देशका सन्त । कतैका अति विपन्न र निरीह । न राजा, न रंक सबैका लागि समान उपलब्ध छन्, सन्दुकका सुनौला औंलाका जादुमयी चालहरू ।

विकसित देशका डाक्टरले ४५ मिनेटमा सक्ने अपरेसन सन्दुक ७ मिनेटमै फत्ते गर्छन् । सन् २००५ मा सन्दुकको कर्मलाई स्वीकृतिको विश्वव्यापी छाप प्रदान गरियो । मिल्काइएको दलदले जमिनमा उभिएको तिलगंगा अस्पताल बन्यो बर्ल्ड क्लास । अनि फेरियो एसियाली मापदण्डको परिभाषा ।

परिभाषा बदल्ने मान्छे

देश भन्नु के हो आखिर ? ढुंगा–माटो होइन यसको परिचय, नागरिकको हैसियत हो । विश्वस्तरको हैसियत भएको नागरिकले देशको गरिमा विश्वस्तरकै बनाउन सक्छ । अमेरिकी प्रोफेसर एलोन रुविनको परिभाषामा ‘राज्य संरचना, राजनीति र भूगोलका भयानक समस्या झेलेर पनि, रुइतले अन्धोपन भएका मानिसलाई निको पार्न जुन अकल्पनीय काम गरे धर्तीमा त्यस्तो कुनै मानिसको मलाई सम्झना छैन ।’ एलोनका परिभाषा अनुसार, रुइत धर्तीका एक दुर्लभ जवारत हुन् । सन्दुकको देशमा हुनु एक सौभाग्य हो । देशको परिभाषा बदल्ने डाक्टरको राजनीति बिग्रिएको चालामा मन मरेको छ । तर, नागरिकप्रतिको आस मरेको छैन । उनी भन्छन्, ‘नेपाली नागरिक छन् गजबका । अलिकति सबै कुराको सिक्वेन्स मिल्नासाथै चौतर्फी प्रगतिको ढोका खुल्न सक्छ । नेपाली नागरिकको सीप, लगन र आत्मविश्वासले हरक्षेत्रमा वर्ल्ड क्लास छवि राख्न सक्छ ।’

उपचारका लागि आफूमा समर्पित भएर शय्यामा पल्टिएको बिरामी सन्दुकका लागि ध्यान हो । उनी मधुर संगीतमा काम गर्छन् । बिरामीसँग ठट्टा गर्छन्, मुसार्छन् ।

यही उनको कार्मिक आनन्दको एक उचाइ हो, जसलाई संसारका कुनै धन, दौलत र सुविधाले माथ गर्न सक्दैन । माओवादी युद्धका बेलासमेत अनेक हन्डरका साथ उनी शिविरहरूमा उपलब्ध थिए । करुणा सलबलाइरहेको सन्दुकको आँखामा हेर्दै मैले सोधें, ‘उसो भए क्रान्ति के हो त ? जीवन लिनु या जीवन दिनु ? हत्याहिंसा वा प्रेम ?’ उनले कतै नअल्झिएरै भने, ‘हिंसामा त म एक प्रतिशत पनि विश्वास गर्दिनँ । यो आदिम समाजको एक रुढि चलन थियो होला । क्रान्ति त प्रेमले नै सम्भव छ । राजनीतिक वादहरूको हठ र अहंकारमा समेत म विश्वास गर्दिनँ ।’ रुइतको परिभाषामा दृष्टिकोण बदल्नु नै क्रान्ति हो ।

अमेरिकी शल्य चिकित्सक जेफ ट्याबिनको व्याख्यामा, गरिबहरूको स्वास्थ्य स्याहारको फाँटमा सन्दुकले अभूतपूर्व क्रान्ति गरे । सन्दुक परेको बेला झोक्किने मानिस पनि हुन् । चिप्ला कुरा गरेर, दुःख दिने संरचना भएको देशमा रुखो बोल्नु विनयशिल नहुनु हो र ? प्रश्नको जवाफमा उनले भने, ‘मानिसले आवश्यक ठाउँमा रुखो पनि बोल्नुपर्छ । कडा हुनुपर्छ । तर, केका लागि ? कारण र नियत प्रस्ट हुनुपर्छ ।’ सन्दुकको जवाफले बेला–बेला झोंक चल्ने मेरो मनलाई शान्ति दियो ।

गम्भीर प्रसंगले गह्रुँगो बनेको माहोललाई हल्का पार्दै मैले सोधें, ‘के दृष्टिका देवताले ठट्टा पनि गर्छन् ?’ लोभलाग्दो मुस्कानसहित उनले भने, ‘म आफ्ना बिरामीहरूसँग ढुक्कै ठट्टा गर्छु । जब मानिस दिल खोलेर हाँस्छ, ऊ पुरै पखालिन्छ । यो ध्यानको पनि उच्चतम् अवस्था हो ।’ शिविरहरूमा काम सकिएपछि आफ्नो टिमसँग उनी मज्जैले रमाइलो गर्छन् । आगोको रापमा नाच्दै–गाउँदै । अझ परिवार हुनुपर्छ साथमा, त्यसपछि त कुरै नगरौं ।

अनि फेरि सोधें, ‘उसोभए भन्नुस् त ओठमा हजार वाटको हाँसो हुँदा, आँखाको भोल्टेज कति हुन्छ ?’ उनी झनै मुस्कुराए, र दार्शनिक जवाफ दिए, ‘एउटा सानो कोमल अंग आँखा, जसले मानिसको हाँसो बाँधेर राखेको हुन्छ । मानिसको बोली थुनेर राखेको हुन्छ । जब आँखा खुल्छन् मानिस हाँस्छ, बोल्छ । खुसीले बहुला हुन्छ । बडेबडे अंगका संवेदनाहरू साना आँखाको नानीमा लुकेको हुन्छ । यसको पावर सानो होला त ?’

सन्दुकले जीवनमा चमत्कार बाँचे । आजसम्मको यात्रा सजिलो थिएन । उनलाई एक्लोपनको उचाइको एक्लोपन थाहा छ । यही कारण उनी सामुन्ने पल्टिएको बिरामीको शिरमा सधैं न्यानो स्पर्श हुन्छ । एक्लो हुँदैन ऊ, सन्दुक बात मारिरहेकै हुन्छन् । बिरानो सहरको अस्पतालमा एक्लै पल्टिएको वालुङको बालकले भनिरहेझैं लाग्छ उनलाई, ‘कसैलाई एक्लो नपार ।’

मानिसहरूका आँखामा असंख्य उज्यालो भरेर उनी आफैं प्रकाशपुन्जसरी थिए । एक्ला छैनन् आज, संसार उनको एक झलकका लागि बेकावु इन्तजार गर्छ । एउटा मान्छे, जसले देशको परिभाषा बदल्न सक्छ ।

प्रकाशित : माघ १३, २०८० ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?