२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

रविका रङ र रेखा

एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ ले भन्छ– रेखा, शब्द र रङ संयोजनमा रवि अब्बल छन्  
अविन श्रेष्ठ

‘हेलो !’
‘हेलो अविन दाइ, मलाई कार्टुन बनाउन सिकाइदिनुस् न !’
‘को बोलेको ?’
‘म रवि मिश्र !’
करिब १५ वर्षअघि यसरी कुनै औपचारिकताबिनै फरर आफ्नो कुरा खुलेर भनेका थिए, रवि मिश्रले । हामीबीच न चिनजान थियो, न कुनै भेटघाट ।

रविका रङ र रेखा

उनको बोलीमा सुनिन्थ्यो, एक प्रकारको निर्दोषपन । ती सोझा मान्छेले भर्खर–भर्खर कार्टुन बनाउन थालेका थिए । उनले बनाएका कार्टुन हेर्दा मलाई लाग्थ्यो– सुधार गर्नुपर्ने पक्ष धेरै छन् । त्यो फोन संवादपछि सोचें, उनमा सिक्ने हुटहुटी निकै छ ।

उनलाई औपचारिक रूपमै कार्टुन लेख्न सिकाउने समय त मेरो जुरेन । तर, त्यसपछिका भेटघाटमा उनी बेला–बेला मसँग कार्टुन–कलाका अनेक आयामबारे सोधिरहन्थे, म पनि आफूले जानेबुझेका विषय उनलाई बताउँथें । ती भेटघाटमा पनि म कार्टुन–कलाप्रति उनको लगाव र सिक्ने हुटहुटी व्यापक पाउँथे । उसैबेला लागेको हो, त्यही हुटहुटीले उनलाई टाढासम्मै पुर्‍याउनेछ ।

उनका सिर्जनाहरू दिन परदिन माझिँदै जान थाले, अनि समयक्रमसँगै उनले आफूलाई नेपाली कार्टुन क्षेत्रमा स्थापित कार्टुनिस्टकै रूपमा उभ्याउन सफल भए ।

रविका कार्टुनहरूमा मलाई उनको शब्द संयोजनको क्षमता प्रभावकारी लाग्छ । झर्रो शब्दहरू मिसाएर, तिनमा सामान्य बोलीचालीका भाव टपक्क टिपी प्रस्तुत गर्ने उनको शैली मलाई विशेष लाग्छ । उनको यही शैलीले नै उनलाई अरूभन्दा पृथक् बनाएको छ । सामाजिक सञ्जालहरूमा पनि उत्तिकै सक्रिय रविले पोस्ट गरिरहने छोटो मीठो र सटीक स्टाटस्हरूमा पनि उनको शब्द संयोजन शैलीले म बेलाबेलामा प्रभावित हुने गर्छु । कति पटक त उनले बनाइरहने कार्टुनहरूभन्दा पनि सशक्त स्टाटस् देखेपछि त्यसमा कार्टुन किन नबनाएको भनी सोधेको पनि छु । त्यसमा उनको अक्सर जवाफ हुन्थ्यो, ‘फुरिहाल्यो । कुर्न मन लागेन । पोस्टिदिएँ दाइ ।’ यो मामिलामा चाहिँ म उनलाई ‘अलि धीरता पनि चाहिन्छ है’ भनिरहन्छु ।

मैले रविलाई भनिरहने अर्को विषय हो– चित्रकारिता । कार्टुन भनेको वास्तवमा विचारलाई चित्रको माध्यमबाट प्रस्तुत गर्ने विधा हो । माध्यम जति बलियो भयो, विचार उति नै प्रभावकारी प्रस्तुत हुन्छ । म भनिरहन्छु– कहीं खाना खान जाँदा खानेकुरा मीठो/नमीठो भन्ने दोस्रो विषय हो, पहिलो त खाना कसरी पस्केर ल्याएको छ भन्नेले अर्थ राख्छ । हरेक क्षेत्रमा प्रस्तुतीकरणको महत्त्वलाई हामी नकार्न सक्दैनौं । त्यस्तै महत्त्व कार्टुनमा चित्रकारिताले पनि राख्छ । खुसीको कुरा, पछिल्लो समयमा रविका कार्टुनहरूमा चित्रकारिता पक्षमा पनि धेरै सुधार देखिरहेको छु । रेखा र रङहरूको संयोजनमा पनि परिपक्वता बढ्दै आइरहेको पाउँछु । उनको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ मा गए थाहा हुन्छ– त्यो परिपक्वता जोकोहीले अझै नजिकबाट महसुस गर्न सक्छ ।

सधैं पत्रिकाको एउटा कुनामा वा मोबाइलमा मात्रै कार्टुन हेर्दै आइरहेका पाठकलाई प्रदर्शनीको कार्टुनले बेग्लै स्वाद दिन्छ । फ्रेममा सजिएका ठूलाठूला कार्टुनले छुट्टै प्रभाव सिर्जना गर्छ । अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थितिले पनि प्रदर्शनी प्रभावकारी रहेको देखिन्छ । प्रदर्शनीका अधिकांश कार्टुन पत्रिकामा प्रकाशित भइसकेका छन् । कार्टुन पारखीहरूलाई प्रदर्शनीमा आएर पुरानै कार्टुन हेर्नुपर्दा अल्लि खल्लो चाहिँ लाग्न सक्छ । पत्रिकामा प्रकाशित नभएका र हुन नसकेका कार्टुन मात्रै प्रदर्शनीमा राखेको भए यसको प्रभावकारिता साँच्चिकै गजब हुने थियो । रविले अर्को प्रदर्शनी आयोजना गर्दा यो विषयमा ध्यान पुर्‍याउन जरुरी छ ।

कार्टुनलाई सञ्चार होइन, संवाद पनि बनाउन प्रदर्शनीको आयोजना गरेको बताउने रविले यही संवादमार्फत पाठकबाट सल्लाह सुझावको अपेक्षा गरेका छन् । यो सुनेर मलाई खुसी पनि लाग्यो । खुसी यस अर्थमा कि, उनमा आफ्नो कलालाई परिस्कृत गर्दै लैजाने त्यो बेलाको हुटहुटी अझै रहेछ । यही आधारमा पनि भन्न सकिन्छ– रविबाट भविष्यमा अझै उत्कृष्ट सिर्जनाको अपेक्षा गरेको छु । पाठकहरूको सल्लाह–सुझावले उनको प्रतिभा अझ खारिऊन् । कार्टुन पारखीले भावी दिनमा उनको कलाको अझै परिस्कृत रूप हेर्न पाऊन्, शुभकामना ।

प्रकाशित : माघ १३, २०८० ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?