कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

दिनरात 'जागते रहो'

भक्तपुरका टोपी साहु थिए हाम्रो टोलमा, नेपालबाट टोपी ल्याएर बनारसमा बेच्थे । शंकरलाल नेपाली थिए–केशर–कस्तूरी, किमखाबका व्यापारी ! किमखाब अर्थात् ‘तास’।
दुर्गाप्रसाद श्रेष्ठ

काठमाडौँ — जीवनमा कुनै पनि कुरा स्थायी नहुने रहेछ । ‘आया है सो जायेगा राजा–रंक–फकीर !’ अहिले हाम्रो टोलमा नेपाली परिवार कोही छैनन् । हामी एक परिवार छौं । कहिलेसम्म ? माटोको डल्लो न हौं...!

दिनरात 'जागते रहो'

बचपन के दिन भी क्या दिन थे ! ‘जागते रहो !’ राति पिसाब फेर्न उठ्दा कानमा ठोकिन्थ्यो, ‘जागते रहो !’

आमाले कोठाबाहिर नालीमा पिसाब फेराइ ल्याएर ओछ्यानमा गुटुमुटु पारेपछि फेरि त्यो आवाज कानमा ठोकिन्थ्यो । अनि भुइँमा लट्ठी बजारेको र घुँघुरुको छिद्रिङ–छिद्रिङ आवाज पनि ।

म भर्खरै जनकपुरको सबेला बजारबाट उठाएर यहाँ ल्याइएको थिएँ । आमाको काखले मलाई त्यति न्यानो दिइरहेको थिएन जति हजुरआमाको काखले दिन्थ्यो ।

‘सुत–सुत ! ऊ आऊ आउँछ !’ आमा मलाई निद्रादेवीको काखमा पठाउन कोसिस गर्नुहुन्थ्यो । किन हो किन मलाई सबेला बजारकै याद आउँथ्यो । मेलामा म आमासाग छुट्टिएर हराएको र त्यहीं एक जना मुसलमान हलवाई पसलेले लगेर पसलमा बसालेको सम्झें, अनि मलाई फकाउन उसले जिलेबी खान दिएको सम्झें ।

‘छिद्रिङ–छिद्रिङ’ घुँघरुको आवाज र लट्ठीको ठ्याक–ठ्याक आवाज एकैचोटि कानमा ठोक्कियो । अनि फेरि ‘जागते रहो !’

म १२ वर्ष हुँदासम्म यस आवाजको रहस्य बुझ्न सकेको थिइनँ । एक दिन बुवाले घरको तल किराना पसलबाट मलाई घिउ लिन पठाउनुहुँदा ‘जागते रहो’ भन्ने मानिस त्यहीा उभिइरहेको देखें । लामो लठ्ठीमा उले घुँघरु बाँधिराखेको थियो । पसल अगाडि उभिँदा लट्ठी यताउति हल्लाउँदा त्यो घुँघरु बज्दोरहेछ । मलाई देखेर त्यसले मुसुक्क हाँस्दै सोध्यो— बाबु नेपाली हो ?

मैले टाउको हल्लाएपछि उसले पनि नेपालबाट ‘आयाको’ भन्यो । पसलेले उसको मैन्हावारी दुई रुपियाँ दिएपछि ऊ गएर अर्को पसल अगाडि उभियो ।

...

म १० वर्षको हुँदा–नहुँदै मेरा दुईजना बैनी र एकजना भाइ पनि जन्मिसकेका थिए । ६ वर्षको हुँदा मलाई बुवाले नजिकैको ‘बालनिकेतन’ भन्ने प्राइमरी स्कुलमा हाल्दिनुभो । स्कुल धेरै टाढा त थिएन, तर आउन–जान मलाई गाह्रो लाग्थ्यो । अनि संयोगले त्यही स्कुलमा पढ्ने तीनजना केटीहरू त्यही बाटो भएर आउने–जाने गर्थे । हाम्रो घरमुनिबाटै आउने–जाने गरेकाले उनीहरू धक नमानी माथि आउँथे र आमासँग सोधेर सँगै लैजान्थे । आमालाई पनि हिन्दी कहाँ आउँथ्यो र ! कनी–कुथी बोल्नुहुन्थ्यो । तर, उनीहरूसँग आउने–जाने गरेकाले ‘म हराउने’ डरचाहिँ उहाँलाई भएन ।

...

आमा–बुवा सबेरै उठ्नुहुन्थ्यो । बुवा कोठाको ढोकानिर बसेर अखबार

पढ्नुहुन्थ्यो । घरमा त्यो बेला बिजुली जडान भएको थिएन, लालटिन बाल्नुपर्थ्यो । मलाई याद छ, मैले हाई स्कुल (कक्षा १०) पास गरुन्जेल लालटिनकै उज्यालोमा पढेको थिएँ । मैले पाँच क्लाससम्म ‘बालनिकेतन’ मा र त्यसपछि हाई स्कुलसम्म ‘अग्रसेन महाजनी हायर सेकेन्डरी स्कुल’ मा पढेको थिएँ । त्यो स्कुलमा धेरैजसो टोलकै व्यापारीका छोराहरू पढ्न आउँथे । त्यहाँ महाजनी हिसाबजस्तो दुनोट आदि र डेढा, सवैया आदि सिकाइन्थ्यो । जस्तो कि सवैया भनेको सवा एक हुन्छ । सवा एकको दुई साढे दुई, तीन पौने तीन... यस्तै । त्यस्तै डेढको डबल तीन, तेब्बर साढे चार र चौबर छ हुन्छ अढैया— साढे दुई । अढैयाको डबल पाँच, तेब्बर साढे सात हुन्छ । महाजन बनियाहरूलाई पसलमा हिसाब गर्न सजिलो हुने हुनाले यो पढाइन्थ्यो ।

स्कुलको हेडमास्टर एकदम कडा, डिसिप्लिन मनपराउने । अफिसबाहिर ऊ आउँदा एकजना पनि क्लासबाहिर देखिँदैनथे । बिहान पढाइ सुरु हुनुभन्दा पहिले सबै विद्यार्थी जम्मा भएर आ–आफ्नो क्लासको लाइनमा उभिन्थे र एक जना दण्डीस्वामीले प्रार्थना गराउँथे, ‘हे प्रभो आनन्ददाता, ज्ञान हम को दिजिए... शीघ्र सारे दुर्गुणों को दूर हम से किजिए ।’

मलाई किताबहरू पढ्ने सोख पहिलेदेखि नै थियो । स्कुलबाट फाटेको, जिल्दा उध्रेको किताब ल्याउँथें र पढेर त्यसलाई जिल्दा हालेर, फाटेको मर्मत गरेर फर्काइदिन्थें । यसरी मर्मत गरेर दिएको देखेर लाइब्रेरियनले मलाई तीनचार ओटा किताब एकैपटक दिन्थे । मैले त्यो बेला लोकप्रिय ‘चन्द्रकान्ता सन्तति’ को चौबीसै भाग पढ्न पाएँ, (अब यो अप्राप्य छ) यसलाई ‘तिलस्मी उपन्यास’ भनिन्थ्यो ।

...

हाम्रो घर भएको गल्लीमा बजारै–बजार थियो । यसलाई ‘जौहरी बजार’ पनि भनिन्थ्यो । यही चौखम्बा गल्लीमा भारतेन्दु हरिश्चन्द्रको आलीशान घर थियो । अझै छ, तर पहिलेको जस्तो छैन । अहिले सादा वातावरण छ । यही घरमा ‘इन्द्रसभा’ अर्थात् नाचगानको कार्यक्रम हुन्थ्यो, नाटक खेलिन्थ्यो । मोतीराम भट्ट पनि यहाँ सामेल हुन्थे र पछि नेपाल आएर राणाजीहरूको दरबारमा नाचगानको कार्यक्रम गर्थे रे !

यसै गल्लीको अर्को बाटो जाने हो भने ‘तरकारी बजार’ आउँछ । अलि अगाडि ‘भैरवान’ आउँछ । भैरवनाथलाई ‘काशी के कोतवाल’ अर्थात् काशीका पुलिस–कप्तान भन्छन् अहिले पनि ।

अलि यतै सुप्रसिद्ध ‘गोपाल मन्दिर’ छ । यो मन्दिर बल्लभाचार्यले स्थापना गरेका थिए । यहाँ गोपालजीको हीराको मूर्ति छ । भनिन्छ, एकपल्ट यहाँका पुजारी मुक्तिनाथ दर्शन गरेर फर्कंदा कालीगण्डकीमा नुहाउन गए । डुबुल्की मार्दा उनको खुट्टा ढुंगामा ठोक्कियो । ढुंगा उचालेर हेर्दा त्यसमा सुदर्शन चक्र बनेको देखे । उनी छक्क परेर हेर्दै थिए, त्यस ढुंगाबाट आवाज आयो, ‘मलाई लगेर मन्दिरमा स्थापना गर ।’ पुजारीले त्यो ‘शालिग्राम’ गोपाल मन्दिरमा ल्याएर स्थापना गरे । त्यसबेलादेखि मथुरा–वृन्दावनका कृष्ण मन्दिरहरूमा शालिग्राम राख्ने परम्परा सुरु भयो भन्छन् ।

...

सानैछँदा म निद्राबाट ब्युँझिन नपाउँदै एक ध्वनि गुन्जिन्थ्यो— ‘राम कहो माटी के धोंधा !’

अर्थात् ‘ए माटोको डल्लो, राम भन !’

बनारस र गंगा नदी एक अर्कासँग अन्योन्याश्रित छन् । काशी छ त गंगा छ, गंगा छ त काशी । ज्ञातव्य छ, नदीहरू सबै प्रायः दक्षिणवाहिनी हुन्छन् । तर, गंगा उत्तरवाहिनी छिन् । उत्तरवाहिनी भएकैले कोशीकी गंगा विशेष महत्त्वपूर्ण मनिन्छ । यहाँ मरे मुक्ति हुन्छ भन्छन् । त्यसैले काशी बास बस्ने परम्परा चलेको हो र घाट किनारका धेरैजसो घरहरूमा पहिले नेपालीहरू बसोबास गर्थे– विद्वत्शिरोमणि कुलचन्द्र गौतमदेखि अहिले ललिताघाट वृद्धाश्रममा बस्ने वृद्धाहरूसम्म ! यी वृद्धाहरूको बसोबासका लागि नेपालको गुठी संस्थानले व्यवस्था गर्छ ।

रणबहादुर शाह निर्वासित भएपछि बनारस आए र उनको बसोबासका लागि बनारसका राजाले घाट दान गरिदिएका थिए— ललिताघाट । यहाँ महादेवको भव्य मन्दिर छ । यस भवनको पुनरुद्धार पुरातत्त्व विभागले दस–बाह्र वर्षअगाडि गरिदिएको थियो । ललिताघाटको सम्पूर्ण भवन–मन्दिरहरू नेपाल सरकारकै सम्पत्तिअन्तर्गत आउँछ । अहिले नेपाल सरकारले नै त्यहाँ वृद्धाश्रम बनाउन लागेको छ ।

...

हामी केटाकेटी छँदा दसैं कुर्थ्यौं । हामी बसेको टोलमा तीन घर नेवारहरू बस्थ्यौं । एक परिवार हामी । अर्को एक जना भक्तपुरका थिए— टोपी साहु । नेपालबाट टोपी ल्याएर यहाँ बेच्थे । तेस्रो थिए ‘हरिशंकरलाल रामे शंकरलाल नेपाली’ । केशर–कस्तूरी, किमखाब के व्यापारी ! किमखाब भनेको नेपालीमा ‘तास’ । तिब्बतीहरू किन्न आउँथे । मलाई सम्झना छ, मेरो पासनीमा बुवाले मेरा लागि ‘तास’ को कोट लिएर गएका थिए सबेला बजार । त्यो बेला त्यसको २ रुपियाँ परेको थियो ।

हामी ३–४ जना केटाकेटीहरू (टोलका नेपाली) दसैंको टीकामा यी नेपाली परिवार बसेका घरमा टीका थाप्न जान्थ्यौं र टीका थापेर पाएको पैसा दस–बाह्र आना हुन्थ्यो । त्यो जमानामा त्यो पैसा खर्च गर्नै गाह्रो हुन्थ्यो ।

...

एउटा अर्को गज्जबको कथा छ— म त्यस्तै ११–१२ वर्षको थिएँ होला । मलाई ‘जन्डिस’ भएछ । त्यो बेला बनारसमा आधुनिक डाक्टरहरू थिएनन् । बा (पिताजी) ले मलाई बीबीहटिया भन्ने टोलमा एकजना ‘सोनार’ (गहना बनाउने कालिगड) कहाँ लिएर जानुभयो, उहाँसँग थियो– एक बोतल खाने तेल (सर्स्युं) र एउटा काँसको थाल । हामी पुगेपछि त्यो सोनारले आफ्नो कोठाको झ्यालबाहिर झाँगिएको निमको रूखबाट मनग्गे पात भएको एउटा हाँगा चुँडे । मलाई भुइँमा बसाए र काँसको थालमा खाने सर्स्युंको तेल अलिकति खन्याएर निमको पातले त्यस थालको तेललाई दल्न थाले । मलाई हेर्दै मन्त्र पढेजस्तो गर्थे । एकैछिनमा त्यो तेल एकदम बाक्लो फिँजमा परिवर्तित भयो । अनि मलाई ‘अब जाऊ, भोलि आऊ’ भने ।

म सात दिन लगातार गएँ । आठौं दिन मेरो रोग पूर्णतया निको भयो । मेरो जिउको पहेंलोपन पनि हरायो । पिसाब पनि सफा आउन थाल्यो । आजकलको चिकित्साशास्त्रले नपत्याउला, तर भएको यही हो । मेरो ‘लिभर’ अझै तगडा छ ।

...

‘राम कहो माटी के धोंधा’ दिनहुँ सुनेपछि म पनि केटाकेटी अवस्थादेखि नै ‘रामभक्त’ भएा ।

बनारसका तीन–चारवटा घाट, खास गरी मणिकर्णिका घाट जाने बाटो हाम्रो गल्लीबाट पर्छ । रातबिरात लास बोकेर मलामीहरू ‘राम नाम सत्य है’ भन्दै जान्छन् । त्यो हेरेपछि लाग्छ– मानिस साँच्चै नै माटोको डल्लो हो । माटोबाट उत्पन्न भएर माटोमै मिल्ने ! आखिर सबै वस्तुहरू माटैबाट त जन्मिन्छन् र माटोमै मिल्छन् ।


प्रकाशित : कार्तिक ४, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?