१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

जन्मघर : एक शब्दाञ्जली

घरसँग मान्छेको मन गजबले जोडिएको हुन्छ। हामी घरमा बास बस्छौं, तर घर हाम्रो मनमा बसेको हुन्छ। मनमा बसेको घर हामी जहाँ पुग्छौं, त्यहीँ पुग्छ।
मनीषा गौचन

काठमाडौँ — कहीँ भनिएको सुनिन्छ– ‘होम सुड बी पोर्टेवल ।’ मलाई यो लाइन खूब मन पर्छ । यसको मतलब हो, हामी जहाँ जान्छौं, त्यहाँ आफ्नो घर पनि लिएर जान सक्नुपर्छ । बिस्तारै यसलाई मैले अर्को एंगलबाट बुझ्न थालें । त्यो थियो, हामी जहाँ बास बस्छौं, त्यहाँ घरको महसुस हुन सकोस् ।

जन्मघर : एक शब्दाञ्जली

घर भन्ने चीजसँग मान्छेको मन गजबले जोडिएको हुन्छ । हामी घरमा बास बस्छौं, तर घर हाम्रो मनमा बसेको हुन्छ । मनमा बसेको घर हामी जहाँ पुग्छौं, त्यहीं पुग्छ नै । यो अवस्थामा भन्न सकिन्छ– होम इज अल्वेज पोर्टेवल ।

यो एउटा घरको कथा हो– एउटा जन्मघरको कथा, जुन भर्खरै जलेर खरानी भयो । त्यही खरानीमाथि बसेर लेखिएको एउटा घरको अबिच्युअरी हो ।

चुनाको रङले टल्किएको ढुंगाको सेतो पर्खाल, सल्ले काठको झ्याल–ढोका, पाली–ढुंगा र सगर माटोको छाना । भित्रको भित्ता खरानी रङको सगर माटोले छ्यापिएको अनि भित्ताको तल्लो भागमा चाउलो (रातोमाटो) को लेपन । दुई रङको भित्तामा ठड्याइएका तासीहरूमा तामा–पित्तलका चमक हराएका पुराना भाँडाहरू । यस्तै थियो मेरो मनमा बसेको ‘हाम्रो घर’ । साँच्चै आमा हुँदा घरको माहोल कस्तो थियो ? त्यो सम्झन सक्दिनँ, तर आमाबिनाको घर तिनै चमक हराएको भाँडाजस्तै थियो । हुरी, बतास र पानी छेकेर मात्रै घर कहाँ घर हुन्छ र ? जब घरभित्रको हावामा मन्द सुगन्ध छर्ने, घरका कुनाकाप्चामा उज्यालो दिने, त्यहाँका भुइँभित्ताहरूमा रङ भर्ने, चुलोको आगो निभ्न नदिने हातहरू हुँदैनन् । घरलाई घर बनाउने मान्छे भनेको एउटी आइमाई नै हो सायद । हाम्रो घरमा म मात्रै थिएँ आइमाईको नाममा, त्यही पनि उमेर नपुगेकी काँचो आइमाई, जो जानी–नजानी आफ्नो घर अरूको जस्तै बनाउन भित्ताभुइँ लिप्थी, चुलोको आकार फेर्थी, भाँडाकुँडा माझेर टल्काउँथी, अरूको घरमा झैं भाँडा झलमल्ल सजाउन भाँडा बेच्न आउनेहरूसँग पुरानो चुहिएको तामा–पित्तलको भाँडो साट्थी । खासमा ऊ घरलाई प्रेम गर्न थालेकी थिई । जब घरमा दाइको बिहे भयो, भाउजूले आफ्नै हिसाबले घर सिँगार्न थाल्नुभयो । भाँडाकुँडाहरू थपिए, टल्किए । भाउजूले घर सम्हाल्ने भएपछि मेरो बाटो पनि फराकिलो भयो ।

२०५५ सालयता पढाइको सिलसिलामा अलि लामो समयका लागि मुस्ताङ, घाँसाको त्यो घर छोडेर काठमाडौं आएकी थिएँ । सहर पसेपछि कर्मघरको आँगन टेक्न पुगें । त्यसपछि सुरु भयो जिन्दगीको नयाँ अध्याय । म अरू कसैको घरलाई ‘आफ्नो’ घर सम्झेर सुन्दर पारिवारिक भविष्यको कल्पनामा रमाउन थालेकी थिएँ । दुर्घटना भनूँ या दुर्भाग्य ! मैले कल्पना गरेको भविष्य र त्यसका लागि बुनेको योजनाको स्वेटर थाहै नपाई उध्रिइसकेको थियो । साथ दिन्छु भन्नेसँग एउटै बाटोमा हिँड्न नसकेपछि ऊसहितको घर त्याग्नुको विकल्प थिएन । हो मैले उसको घर त्यागेँ । त्यही दिनदेखि मैले आफ्नो घर बनाउने मोह पनि लगभग बिर्सिदिएँ । भर्खर छ वर्ष पुग्दै गरेकी छोरीलाई च्यापेर कुपण्डोलको एउटा कुनामा रहेको फ्ल्याटलाई आफ्नो घर मान्दै जिन्दगीको फेरि अर्को नयाँ अध्याय बाँच्न थालेँ । समय परिस्थितिले सहरका अनेक गल्लीहरूमा हिँडायो । त्यहाँका अञ्जान मान्छेहरूको घरमा बास गरायो । तर, जहाँ पुगे पनि सँगसँगै डुलिरह्यो आफ्नै जन्मघरको स्वरूप अनि मादकता ।

हाम्रो घरसँगै दायाँ साइडमा गाईबस्तु बाँध्ने खोर थियो । त्यही खोरमाथि ढुंगाको छपनी भएको दुईतले कटेरा थियो । कटेरासँगै जोडिएको घर अनि घरमाथि अर्को सानो बाली स्याहार्ने भण्डार (जसलाई हामी कम्नाङ भन्छौं), त्यहाँ मकै भाँचेर थुपार्थ्यौं । मकै भाँच्नेदेखि खोइलाउनेसम्मको काम अर्म–पर्ममै चल्थ्यो । कम्नाङमा पहाड जसरी थुप्रिएको मकै रातभरिमा खोइलाएर सक्थ्यौं । केटाकेटीबीचको दोहोरी, मकैको भालुलडाइँ, अनेकथरी चुट्किला–कथाले न रात बितेको पत्तो हुन्थ्यो न मकैको थुप्रो घटेर सकिएको । नजानी कतिसँग दोहोरी खेलेँ, कति केटाहरूको घुँडासँग मकैमा भालु परेको मज्जा लुट्यौं । कतिले हाम्रै घुँडा दुखाइदिए । भोलिपल्ट रगत जमेको निलो घुँडा देखेर आफैं छक्क पर्थ्यौं । दुखाइ बिर्सने त्यो काम, त्यो खेल, त्यो हल्ला त्यही कम्नाङमा हुनेगर्थ्यो ।

असोजतिर भाँचेको मकै कटेरामा थन्काइन्थ्यो र मंसिर, पुस लागेपछि चुटिन्थ्यो । लक्का जवानहरूले सुनौला मकैका घोगाहरू क्षणभरमै नांगै पारिदिन्थे । खोइयाबाट छुटेका मकै कटेराको तल जम्मा हुन्थ्यो भने खोइया माथि नै रहन्थ्यो । दानाहरू बाहिर नउछुट्टिऊन् भनेर वरिपरि तन्ना, राडी, कम्मल, साडीजस्ता कपडाले बारिएको हुन्थ्यो । गाईबस्तु बस्ने भुइँ सफा गरेर मकै थाप्नका लागि पाल, भकारी वा मान्द्रो ओछ्याइएको हुन्थ्यो । चुटिसकिएको मकै थारा (माटोको छाना) मा केही दिन सुकाएर भकारीमा थन्क्याउने गरिन्थ्यो । थारामा केही मिटरको दूरीमा दुईवटा दुला थिए । हामी त्यसलाई ‘ल्हुखुम’ भन्थ्यौं । घरभित्र उज्यालो छिर्ने अनि घरको धूवाँधूलो बाहिर जाने बाटो थियो त्यो । ती वास्तवमा हाम्रो घरको आकाशे झ्याल थिए । म त्यहाँबाट चारकुने आकाश नियाल्थेँ । र, आकाशबाट झरेको किरणलाई पच्छ्याउँथेँ । जो बिलाइजान्थ्यो घरको अँध्यारोमै । हो घर अँध्यारो थियो, तर न्यानो अनि गर्मीमा शीतल । घर पक्का पुरानो र बलियो थियो ।

२०२७ सालमा घरअघिको गाढ खोला बहुलाउँदा टोलमा हाम्रै मात्र घर बाँकी थियो रे ! यही बलियो घरमा म जन्मेकी थिएँ । बुबाभित्रको अँध्यारो कोठा देखाउँदै भन्नुहुन्थ्यो, तँ यहीँ जन्मेकी हो । त्यही अँध्यारो ठाउँमा एउटा पुरुष अँगालोले मलाई जोडसँग थिचेको थियो । समय फागुपूर्णिमाको थियो । सायद म चौध–पन्ध्र वर्षकी थिएँ । होली खेल्ने बहानामा केटाहरू घरभित्र पसे । मसँग अर्की एक जना केटी साथी पनि थिई । हामीसँग होलीको अबिर थिएन । घर पोत्न राखिएको रातो माटोको झोलसहितको भाँडो थियो । भित्र पस्दै गरेका केटाहरूलाई त्यही रातो माटो छ्यापेर हामी भित्र लुक्न गयौँ । उनीहरू पनि पछिपछि आए, जहाँ म जन्मेकी थिएँ, त्यहीं मलाई एक जनाले जोडले पकड्यो । पहिलोपटक यौन दुराचारी स्पर्श महसुस गर्दै थिएँ म । मलाई असाध्यै गाह्रो भइरहेको थियो । ऊ मलाई भुइँमा लडाउन खोज्दै थियो मेरो मुखबाट निस्क्यो, ‘म मर्दिन्छु ।’ जहाँ जन्मेकी थिएँ त्यहाँ मर्छु भन्नु एउटा संयोग थियो या अरू केही ? त्यही बेला नजिकै कोही बोल्दै आयो । म उसको हातबाट फुस्कें । ऊ पनि सजग हुँदै बाहिर निस्क्यो । मेरै उमेरको केटो थियो ऊ । सायद सिक्दै थियो स्त्री शरीरसँग जिस्कने तरिका । हुन सक्छ, एउटा बेहोसी समयमा प्रवेश गर्दै थियो ।

हाम्रो घरवरिपरि बारी थियो, अहिले पनि छ । बारीमा सधैं कुखुराको मनपरी चल्थ्यो । मकैका बोटहरू अग्ला भएपछि कुखुराको मनपरीलाई दनक दिने गरी स्यालको लुकामारी चल्थ्यो । आफूलाई मन परेको कुखुरा स्यालले लगेको दिन रोइकराइ गरेको अस्तिजस्तै लाग्छ । कुखुरासँगको मेरो सम्बन्ध पनि गहिरो थियो । म आफूलाई चाहिने कपी–कलम किन्न कखुराको अण्डा बेच्थें । त्यतिबेला गाउँघरमा सामान ढुवानीका लागि घोडा, खच्चडको प्रयोग हुन्थ्यो त्यसैले लोकल अण्डाको बिक्री राम्रै हुन्थ्यो पनि ।

कुखुराले अण्डा पारेको सूचना दिएपछि म रमाउँथेँ । अनि अण्डा बोकेर म साहु काइँलीको घर जान्थें । साहु काइँली उनको चलेको नाम । उनको खास नाम के थियो मैले बिर्सेँ । म उनलाई फुपू भनेर बोलाउँथे । उनको आलमारीभरि बेचिन राखेको सामान हुन्थ्यो । लक्ष्मी मिठाई, खाजा बिस्कुटदेखि लिएर कापी–कलम सबै । उज्यालो अनुहारकी उनी अनेकथरी उखान–टुक्का जोडेर बोल्न सिपालु थिइन् । मान्छेसँग मात्र होइन, गाईभैंसीसँग पनि मजाले कुरा गर्थिन् । गाउँमा मैले चिनेजानेको सबैभन्दा मिहिनेती महिला थिइन् उनी । उनका औंलाहरूमा खेतको माटोदेखि चुलाको खरानीसम्म लतपतिएको हुन्थ्यो । जंगलका काँडाहरूले दिएका निसानी छरपस्ट देखिन्थे उनका हातखुट्टाहरूमा, लुगाहरूमा । उनको कपालमा सिउरिएका हुन्थे, जंगली कुँडोहरू । उनी वास्तवमै कहिल्यै नथाक्ने एक किसानी महिला थिइन्, जो आफ्नो आमाबाबुको घरको संरक्षणमै खुसी देखिन्थिन् । अविवाहित उनी स्तन क्यान्सरको सिकार भइन् । अहिले उनीबिनाको घर रुँदा रुँदा थाकेको टुहुरो बालकजस्तो भएको छ ।

मोटरबाटो खनिएपछि लोकल अण्डा खाने घोडा, खच्चडहरू पनि हराउँदै गए । सँगसँगै व्यापार हरायो । मान्छेहरू गाउँबाट सहर जाने क्रम बढ्न थाल्यो । कोही सहरमै अल्झिए । गाउँमै बस्नेहरूले सहर बजारको सिको गर्न थाले । परिणामस्वरूप गाउँका घरहरूमा माटोको छानाको सट्टा नीला–हरिया जस्तापाताहरू टल्किन थाले । आकाशे झ्यालहरू टालिए, सट्टामा सिसाका झ्याल राखिए । अब आकास नियाल्नुभन्दा बाटो नियाल्नु जरुरी भयो । मान्छे, घोडा, खच्चडको पदचापभन्दा बाटोमा कुद्ने मोटर गाडीको गतिमा रमाउनु रमाइलो भयो । मोटरबाटोका कारण हाम्रो घरअगाडिको म्हाने भत्कियो । बाटोसँगको मोहले घरको आगन पनि छोपियो । आगनसँग जोडिएको चौतारा पनि हरायो र चौतारासँगै हरायो एउटा ठूलो चारपाटे ढुंगा । ढुंगामा बाघचाल खेल्न गहिरो रेखाचित्र थियो । बाटो हिँड्ने बटुवादेखि स्थानीयहरू घण्टौंसम्म बाघचाल खेल्थे । त्यो सायद हाम्रो आखे (हजुरबा) कै पालामा कोरिएको हुन सक्छ । त्यही चौतारा अनि आँगनमा बसेर हाम्रो आखे नुनको व्यापार गर्नुहुन्थ्यो रे !

व्यापारीको सन्तान हामी सम्पन्न परिवारमै गनिन्थ्यौं, तर हामी कमजोर हुँदै गयौं । बुबा र आमाबीचको बेमेल नै हाम्रो आर्थिक कमजोरीको कारण थियो । झन् आमाले घर अनि त्यसपछि संसार छोडेपछि त हामी सामाजिक रूपमै कमजोर भयौं । गाउँमा पूजाआजा हुँदा कन्या बनाउने चलन थियो, आमा नभएको टुहुरो हामीले कहिल्यै त्यो मौका पाएनौँ । हामीसँग घर थियो, खेत जमिन थियो । बस् पैसा थिएन । एकल पुरुषका रूपमा बुबाले ढंग पुर्‍याएर होस् या नपुर्‍याएर हाम्रो हेरचाह गर्नुभयो नै । र, जोगाएर राख्नुभयो हाम्रो पुर्ख्यौली घर अर्थात् हामी जन्मे, हुर्केको घर । त्यही घरलाई आफ्नो घर बनाउनुभयो मेरी भाउजूले । खूब माया गर्नुभयो । त्यही घरमा दुई सन्तान (छोरी र छोरा) लाई जन्म दिनुभयो । आफू आमा भएपछि घरलाई पनि नयाँ स्वरूप दिनुभयो ।

घर अलि नयाँ देखियो, तर उहाँको जीवनमा उज्यालो हुन सकेन । आल्कोहलिक श्रीमान्, बौद्धिक अपांगता भएका देवर, बूढो ससुराको रेखेदेखमै उहाँको जिन्दगीको बाँकी उज्यालो पनि सकिँदै गएजस्तो भयो । स्वास्थ्यले पनि साथ दिइरहेको

थिएन । मलाई उहाँको चिन्ता भयो । ‘काठमाडौंमै केही गरौं, बरु घर पालैपालो हेरौंला’ भन्ने लाग्यो । किनकि मलाई भाउजूको सीपप्रति विश्वास थियो । उहाँ असाध्यै मीठो खाना पकाउनुहुन्थ्यो । उहाँको सीपले व्यावसायिक अवसर पाउनुपर्छ भन्ने लाग्यो । त्यहीअनुसार भाउजूको बसाइ अब काठमाडौंमा सार्ने निधो भयो । अन्ततः सुरु भयो रेस्टुरेन्ट लाइनमा उहाँको व्यावसायिक यात्रा । भाउजू यता रेस्टुरेन्टमा व्यस्त हुने भएपछि म केही समयका लागि घर गएँ ।

घर घरजस्तो हुनुमा एउटी आइमाईको योगदान कति हुँदोरहेछ ? त्यो पाठ फेरि दोहोर्‍याएर पढेँ । भाउजू हुँदा र नहुँदाको घर भिन्न थियो ।

म अलि बढी नै नोस्टाल्जिक भएछु– आफू खेलेको थारा, कटेरा, बारी, खोर सबैतिर चक्कर लगाएँ । घरका भित्ताहरू सुमसुम्याएँ । म जन्मेको कोठा पानी चुहिएर भत्किँदै थियो । केही मान्छेहरू बोलाएर मर्मत गर्न लगाएँ । २०५७ देखि दुई/चार दिनभन्दा बढी नबसेको घरमा यसपल्ट म मस्तैले बसें । काठमाडौंमा आफ्नो कामकाजसहित भाउजूको स्वास्थ्य अवस्थाका कारण उहाँलाई लिएर फलोअपका लागि दिल्ली जानु थियो । त्यहीअनुसार, म दुई महिनाको बसाइपछि काठमाडौं फर्किएँ ।

म काठमाडौं आएको एक हप्तामै हाम्रो घरको अवसान भयो । मैले मर्मत गरेर छोडेको त्यो चिसो कोठा ओभानो पार्न बुबाले आगो बाल्नुभएको रहेछ । आगो त बाल्नुभयो, तर त्यही आगोको कारण एकै रातमा घरको सत्यानाश भयो । बुबा आफ्नो गल्तीले छटपटाउनुभयो । घर सल्किँदै गर्दा उहाँको मन भतभती पोल्यो, त्यही मनको आगो निभाउन उहाँ गण्डकीमा हाम फाल्न हिँड्नुभएछ । छिमेकीमध्ये कसैले तानेर उहाँलाई सम्झाएर राख्नुभयो । १९ वर्षको मेरो भदा अस्मिन आगोले खाँदै गरेको आफ्नो घर जोगाउन लछारपछार गर्दै थियो । यो सब हाम्रो अनुपस्थितिमा भइरहेको थियो । उसको मन–मस्तिष्कमा के बितिरह्यो

होला ? म कल्पना पनि गर्न सक्दिनँ । धन्न सहयोगी छिमेकी, आफन्त, प्रहरी, सैनिक र स्कुल पढ्न होस्टेलमा बसेका कलिला बालबालिकाहरूले बालबालिकाहरूले हाम्रो घरमा सल्केको आगो निभाउन ठूलामान्छेले झैं रातैभर पानी ओसारेको खबर सुनेर म स्तब्ध भएँ । हाम्रो घरको दुई कोठा निर्धन बैंकले भाडामा लिएको थियो र अर्को दुई कोठामा बैंककै कर्मचारी बस्नुहुन्थ्यो । उहाँहरूले ज्यान त जोगाउनुभयो, तर आफ्ना लत्ताकपडा केही जोगाउन भ्याउनुभएन । यो विषम परिस्थितिमा उहाँहरूको साथको पनि म बयान गर्न सक्दिनँ । सबैको साथले मान्छेहरूको ज्यान बच्यो । सँगै जोडिएको आफन्तको घर जोगियो । सामुन्ने भएको पेट्रोलपम्प (डिजेल मात्र पाइने) लाई छुन पाएन । आगोसँग लड्दालड्दै बिहान भएको पनि पत्तै भएन । उज्यालो भएपछि आगोले खाएको घरको वास्तविक रूप देखेर सबैको मन रोयो ।

काठमाडौंमा रहेका हामी यी सबै खबर फोनबाट सुनिरहेका थियौं । घटना रातिको थियो, त्यही बिहान साढे ११ बजे हाम्रो दिल्लीको फ्लाइट थियो । तर, भाउजू दिल्ली जान मानिरहनुभएको थिएन । उहाँ रोइरहनुभएको थियो । आँसु नझरोस् पनि किन ? आफ्नो घरसँगै उहाँले जोडेको लत्ताकपडा, फर्निचर, भाँडाकुँडा सबै ध्वस्त भएको थियो ।

मेरो मुखबाट निस्क्यो, ‘भाउजू अब सबथोक राम्रो हुन्छ । नराम्रो जति घरसँगै जल्यो ।’ मन भारी थियो, तर सकारात्मक हुनुको विकल्प अरू थिएन । अन्ततः जलेको घर हेर्न जानुसट्टा भाउजूलाई लिएर दिल्ली गएँ । मान्छे स्वस्थ भए फेरि घर बनाउन सकिएला, तर स्वास्थ्य नै नरहे सबै सकियो ! दिल्लीको पाँच दिनको बसाइपछि काठमाडौं फर्केँ ।

अब मलाई गाउँ जानु थियो । जलेको घरका बाँकी अवशेष छाम्नु थियो र ग्लानिले छटपटिरहनुभएको बुबालाई आफ्नो साथ ल्याउनु थियो । आफ्नो घर नभएपछि मेरो सानो दाइको मनस्थिति पनि बिग्रिएको छ । सुस्तश्रवण र बौद्धिक अपांगता भएका मेरो दाइजस्तोलाई सुधार गर्ने त ठाउँ छैन, तर रक्सीले आफ्नो जीवन सक्ने क्रममा रहेका मेरा अर्को दाजु भने सुधारकेन्द्रमा हुनुहुन्छ । उहाँलाई घर जलेको पनि थाहा छैन । एक दिन भेट्न गएका थियौं, उज्यालो र भरिलो

देखेँ । परिवारका मान्छे कोही भेट्न आएनन् भनेर मन दुखाउनुभएको रहेछ । हामी कुन अवस्थामा गुज्रिरहेका थियौँ ? त्यो उहाँलाई थाहा पनि भएन ।

म भाउजूलाई काठमाडौंमै छोडेर गाउँ गएँ । दुई महिनाअघिको सिंगो घर भग्नावशेषमा परिणत थियो । एकाएक मलाई यस्तो लाग्यो कि घरले मलाई अन्तिम पटक बस्न बोलाएको रहेछ । नत्र यतिका वर्षसम्म दुई–चार दिनबाहेक नबसेको घरमा म ढुक्कले किन बसें ? किन मलाई घरका सबै कुनाकाप्चाहरूको माया लागेर आयो ? सायद अन्तिम पटक घर र मबीच संवाद चल्दै थियो । ऊ मलाई भन्दै थियो, ‘मेरो आयु सकिँदै छ जति मन लाग्छ बस् । खुसीसाथ बस् ।’ र, म भन्दै थिएँ, ‘अब म तिमीलाई राम्रो बनाउनेछु । फेरि नयाँ रूप दिनेछु ।’ हुन पनि म दुई महिना बस्दा घरको सदुपयोग होस् भनेर केही भावी योजना बुन्दै थिएँ । तर, घरको आयु सकिएकै रहेछ । मेरा योजनाहरूको कुनै अर्थ रहेन ।

घर जल्नुमा म न बुबालाई दोष दिन चाहान्छु, न भाउजूलाई घरबाट टाढा लगेकोमा पछुताउन चाहन्छु । तर, अनायासै आँखा रसाएर आए । सानो छँदा ल्हुखुमबाट आकाश नियाल्थेँ, तर यतिबेला आकाश नियाल्न कुनै झ्याल थिएन । आकाश आफैं खसेको थियो हाम्रो घरमाथि । म जन्मेको अँध्यारो कुना पूरै भत्किएको थियो । झ्याल–ढोकाका खापाहरू अनेकौं धर्सा भएको कोइलामा परिणत थिए । तिनले ढुंगाको पर्खाल छोडेका थिएनन् । या पर्खालले तिनलाई चपक्क समातेर राखेको थियो । अन्तिम सास फेरुन्जेल सायद ती पर्खाल अनि झ्याल ढोकाहरू एकअर्कालाई समातेर चिच्याउँदै थिए । साँच्ची म मेरो जन्मघरको मृत शरीर ओल्टाइपल्टाइ गर्दै थिएँ ।

मेरो बाल्यकालको साथी काजलको बारीबाट अग्लो धुपीको रूखले मलाई हेरिरहेको थियो, जुन रूख हेर्न म घरबाट बाहिर निस्कन्थेँ । सिंगो गाउँकै कथा भन्न उभिएजस्तो लाग्ने झन्डै तीन सय वर्ष बूढो रूखसँग म एकखाले प्रेममा छु । लाग्यो, अब यो रुखले हाम्रो घर जलेको कथा पनि भन्ने छ ।

उता काठमाडौंमा कलिङगा साहित्यिक महोत्सवको तयारी हुँदै थियो । एउटा सेसनमा भाग लिएर यो साहित्यिक उत्सव मनाउनेको लिस्टमा मेरो पनि नाम थियो । मेरो सहभागिताका लागि कवि बाबु त्रिपाठीले प्रस्ताव गर्नुभएको थियो । उहाँसँग माफी माग्दै कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएँ । भनेँ, ‘म दुःखमा छु ।’ घर जल्नु भनेको पनि सायद दुःखमा पर्नु हो ।

यो लेख लेख्दै गर्दा घर जलेको पनि दुई महिना पुगिसकेछ । तर, यो शरीर नजलेसम्म घरको स्मृति पनि जल्नेछैन । यसबीचमा धेरै कुरा केही भएको छैन । समय आफ्नै गतिमा छ । बुबा हामीसँगै हुनुहुन्छ । भाउजू आफ्नो भान्सामा व्यस्त हुनुहुन्छ । पहिले परिवारका लागि पकाउनुहुन्थ्यो अहिले ग्राहकका लागि । पहिले गृहिणी मात्रै हुनुहुन्थ्यो अहिले व्यावसायिक महिला । उहाँको चिन्ता छ– हरेक ग्राहकलाई कसरी मीठो पकाऊँ र खुवाऊँ !

अब हामीलाई गाउँमा फेरि घर बनाउनु छ । घरमा खुसी भर्नु छ । त्यसैका निम्ति भाउजू अझ मिहिनेत गर्दै हुनुहुन्छ । तर, देश आर्थिक संकटमा छ । यस्तो अवस्थामा व्यापार–व्यवसाय चल्ने कसरी ? तर, पनि थकाली खानाको स्वाद खोज्ने जिब्रोको कमी छैन । र, मलाई विश्वास छ– मेरी भाउजूले पकाउनुभएको खानाले ग्राहक तान्ने नै छ अनि बिस्तारै घर पनि बन्नेछ ।

प्रकाशित : कार्तिक ४, २०८० १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?