सम्झना रहेछ जिन्दगी
बाँचेको छु सम्झेर !
जस्तो कि स्वैच्छिक मृत्यु नै किन प्यारो भयो आमालाई
कारण जे होस्, हावामा विलीन
भइसकेकी आमा
सम्भव छैन मैले फेरि पाउन,
तर जब हावाको बुई चढेर बादल कुद्न थाल्छ पहाडमा
गड्याङ र गुडुङ पड्किँदै आकाशले
झिलिक र मिलिक
धरतीका कुना–कुना बत्ती फाल्छ
मानौं, मेरी आमा खोजिरहेछिन् मलाई नै ।
सम्झना बारम्बार दोहोरिने जन्म रहेछ
अटुट सम्झना !
एउटै हो खडेरीको धूलो र शोकसन्तप्त मेरो आत्मा
टपकऽ टापकऽऽ टप्किँदै थोपा बर्सिन थाल्छ अब पानी
लाग्छ, तल धर्तीमा टुहुरा सन्तानलाई देखेर
माथि आकाशमा रून थाले पुर्खाहरु
जब बैंस फर्केर खहरे पनि उर्लिन थाल्छ
खहरे हो सम्झना खहरेसँगै
आमाले मलाई पनि जाऊँ भनेझैं लाग्छ
सम्झना रहेछ जिन्दगी
जति बिर्सन खोजे पनि
एक मनसुन हो आमाको सम्झना मेरा लागि ।
सम्झना रहेछ जिन्दगी
बाँचुन्जेलको कर्म हो सम्झनु
बाँचेको छु, सम्झेर !
जस्तो कि मान्छेको लेखान्त
एउटा कुट्टोको बिँडमा पनि छिपेको हुँदो रहेछ
एक हिउँद–
आजीवन घरविहीन बुबा
एकै रात भए पनि आफ्नै निजी घरमा सुत्न भनेर
नयाँ घर बुन्दै थिए
तर निदाए सदाका लागि फुत्किएर कुट्टोको बिँड ।
बिर्सन कहाँ सकिन्छ र !
प्रत्येक हिउँदले बुबालाई जीवित बनाएर ल्याउँछ
कसैको घरका लागि जग खन्न गइरहेका
कामदारका लामा–लामा छायाहरु बुबाझैं लाग्छ
निःशब्द रातमा–
घरछेऊ कतै कराउँदा हिउँदे कीरा
लाग्छ, जाडो लागेर घर सम्झिरहेछन् बुबा
बिर्सेर मलाई फेरि
पछि बर्खामा बन्ने हुन् कि यार्सागुम्बा !
सम्झिन्छु
सम्झना रहेछ जिन्दगी !
जस्तो कि शरद ऋतुको तोरीबारी,
कोदोबारीमा जून खुल्दा
घरआँगन छेउछाउ सयपत्री/मखमली फुल्दा
को हुन् यी जीवनका बीउ जोगाउने ?
को हुन् यी घर–घरमा यौवनका बेर्ना सजाउने ?
चेलीहरु हुन् अवश्य !
माइतीहरुलाई जीवन्त सम्झना छोडी गएका ।
सम्झना रहेछ जिन्दगी
सम्झना रहेछ चेतना
सम्झना रहेछ ननिदाई देखिने सपना
सबै सबैलाई छ सम्झना !
जस्तो कि जब वसन्त ऋतु आउँछ
मेरो लागि–
पूरा हुन्छ सम्झनाको एउटा चक्र ।
जब मलाई तिम्रो नै अचाक्ली सम्झना आउँछ
तब गुराँसको भाँचिएको हाँगामा पनि फूल फुल्छ
डढेलो पसेको पाखामा पनि दुबो उम्रिन्छ
मेरो सम्झनाका यामहरुमा
तिमी एक बहार हौ सम्झना !
प्रकाशित : आश्विन २०, २०८० ०९:१५