२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

पाठक पर्खिरहेका काव्यिक पर्खाल 

लाइडन सहरका घरका पर्खाल क्यानभास हुन्, जहाँ सुन्दर क्यालिग्राफीमा लेखिएका छन्– थुप्रै भाषामा एक सय बीस कविता । ती पर्खाल समयको पदचाप पढिदिने मानिस कुरिरहेका छन् ।
कवितालाई कविकै वास्तविक भाषा र लिपिमा लेखेर लाइडन सहरले संसारभरिका कवि र कवितालाई अतुलनीय उपहार मात्रै दिएको छैन, ती भाषा र लिपिलाई जीवन्त पनि बनाइरहेको छ ।
तारानाथ सापकोटा

पुरानो पोखरी
भ्यागुतो हाम फाल्छ
छप्ल्याङ्ग
धेरैअघि हाइकु कवितासँग परिचय हुँदा सबैभन्दा मन परेको प्रसिद्ध जापानी कवि मात्सुओ बासोको यो हाइकु आज पनि उत्तिकै ताजा र प्रिय छ । 

पाठक पर्खिरहेका काव्यिक पर्खाल 

आकाश धुम्मिएर दिउँसै गोधूलि साँझझैं अँध्यारो देखिएको कुनै दिन । बिनाकाम नेदरल्यान्ड्सको पश्चिमी किनाराको आम्स्टर्डामबाट नजिकै पर्ने लाइडन सहरका मध्ययुगीन गल्लीहरूमा हिँडिरहेको बेला अचानक एउटा घरको पर्खालमा केही जापानी अक्षरमुनितिर लेखिएको बासोको नाममा आँखा परेका थिए ।

लाइडन विश्वविद्यालयनजिकैको कुनै सयौं वर्ष पुरानो युरोपेली कला चेतले भरिएको घरको पर्खालमा त्यो नाम देखेर अनायास पाइला रोकिएका थिए । ती जापानी अक्षरमा के अर्थ थियो ? एक किसिमको बेचैनी जाग्यो । जापानी लिपिमै लेखिएको बासोको त्यो सानो कवितासँग अकस्मात् भेटिँदा जापानी भाषामा पोख्त मानिसबाहेक अरूले केही बुझ्न सक्दैन, तर त्यो नामसँग परिचय भएको मानिसले अवश्य सोच्नेछ– यो नाम किन त्यो सुन्दर पर्खालमा कोरिएको छ !

लाइडन सहरमा घरका पर्खालहरूलाई क्यानभास बनाएर संस्कृत, जापानी, उर्दू, रुसी, ग्रिक, अंग्रेजी, स्पेनिस, डच आदि भाषामा यस्ता एक सय बीस कविता कोरिएका रहेछन् सुन्दर क्यालिग्राफीमा । यसरी पर्खालमा कोरिएका कविता र कविबारे यथेष्ट जानकारी कविता परियोजनाको सूत्रधार टेखेन बिल्ड फाउन्डेसनको वेबपेजमा राखिएको छ । त्यही वेबपेजमा बासोको उक्त हाइकुको अंग्रेजी र डच अनुवाद पढ्न सकिन्छ । बासोको त्यक्त हाइकुको भावानुवादले भन्छ–

अशान्त समुद्र

सेडो टापुतर्फको विस्तार

आकाशगंगा

संयोगवश आकाशगंगाबारेको यस कविता कोरिएको घरधनी पनि खगोलशास्त्री रहेछन् । त्यसै गल्लीको अर्को घरको पर्खालमा उसैगरी विलियम सेक्सपियरलाई उनका सोनेट्सका पंक्तिहरूमा जीवित देखेपछि हृदयको बेचैनी कौतूहल बनिदियो । त्यही कौतूहलले संसारभरिबाट छानिएका भाषा र लिपिमा लेखिएका एउटा लहरो उजागर गर्‍यो । कहिलेकाहीँ कविता लेख्न चुनिएको पर्खाल र कविताको मेल पनि असाध्यै रमाइलो भइदिन्छ । जस्तो सेक्सपियरले मित्रताको नोस्टाल्जियाबारे लेखेको कविता स्टुडेन्ट हाउसको पर्खालमा कोरिएको छ, जहाँबाट हजारौं विद्यार्थीले मित्रताको नवीन परिभाषा लिएर गएका छन्, जसले जीवनका कतिपय घुम्तीमा नोस्टाल्जिक बनाएका होलान् ।

बेन वालेनकाम्प र यान विलेम ब्राउन्स दुई कविताप्रेमी कलाकारले स्थापना गरेको टेखेन बिल्ड संस्था नै पर्खालमा कविता परियोजनाको प्रमुख सूत्रधार र सञ्चालक हो ।

कालान्तरमा कवितालाई माया गर्ने लाइडनका अरू मानिस यस परियोजनामा सहयोगी बनेर गाँसिए । यस काव्यिक परियोजना सन् १९९२ मा रुसी कवि मरिना स्वेताजेवाले लेखेको कवितासँगै सुरु भएको थियो । यो पहिलो कविता एउटा लामो काव्यिक यात्राको पहिलो पाइला थियो । टेखेन बिल्ड नामको निजी संस्थाले लाइडन विश्वविद्यालयको भाषा विज्ञान विभागसँग सहकार्य गर्दै अघि बढेको कविता परियोजना केही कविताहरू पर्खालमा लेख्ने उद्देश्यले सुरु गरिएको थियो र सन् २००५ मा कवि गार्सिया लोर्काको कविता लेखेपछि परियोजना पूरा भएको भनियो । तर, त्यो परियोजनाले धेरै आकर्षण र प्रेम पाएपछि लाइडन नगरपालिकाको पनि संलग्नतामा पुनः अघि बढाइयो ।

आज तीस वर्षको यो यात्रामा कोरिएका छन्– अठ्तीस भाषामा लेखिएका एक सय बीस कविता । ती कविता तिनका आफ्नै लिपिमा लिपिबद्ध हुनु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो लाइडन कविता परियोजनाको । एउटै गल्लीमा सर्वकालीन महान् कविहरू जोन किट्स र पाब्लो नेरुदालाई भेट्दा कवितालाई प्रेम गर्ने जोकोहीको मन आनन्दित भइदिन्छ । पाब्लो नेरुदाको प्रेम कविताका हरफहरूले संसारभरिका प्रेमिल हृदयलाई तरंगित पारिदिन्छन् । नेरुदाले प्रेमका लागि चुनेका एकएक शब्दले सँगसँगै क्रान्तिको आह्वान पनि गरेझैं लाग्छ । आखिर क्रान्तिको सुरुवात पनि प्रेमबाटै त हुन्छ । हरेकपटक सहरका गल्लीमा घुमिहिँड्दा नेरुदाको नाम लेखिएको पर्खालअघि उभिएर उनलाई काव्यिक श्रद्धाञ्जली अर्पण गर्छु म । जोन किट्सले मृत्युमाथि लेखेको अङ्ग्रेजी भाषाको कविताको भावार्थ कल्पना गर्छु । आफूले बाँचेको समय एउटा ठूलो प्रश्नजसरी उभिन्छ अघिल्तिर ।

हिँड्दा जाँदा जन्मेको माटोभन्दा धेरै टाढाको सहरका अपरिचित बाटोहरूमा आफ्नो भाषा, आफ्नै लिपिका अक्षरहरू कोरिएको भेट्दा हृदय खुसी भएको थियो, जब संस्कृत भाषाको कवितासँग जम्काभेट भएको थियो । एघारौं शताब्दीका भारतीय कवि बल्लणको कविता देवनागरी लिपिमै सुन्दर रङको क्यानभासमा कोरिएको पर्खाललाई निकैबेर हेरिबसेँ । एक किसिमको आत्मीयताको सुगन्ध हावामा मिसिएझैं आभास भयो । त्यसो त लाइडन सहर र लाइडन विश्वविद्यालय संस्कृत भाषामा रुचि हुनेका लागि नौलो नाम होइन । यहाँ संस्कृतलगायत संसारका अन्य पुराना भाषा–संस्कृतिको अध्ययन र अनुसन्धानमा तल्लीन विद्वान्हरूको कमी छैन ।

फुर्सदका बेला एक्लै–एक्लै यी प्राचीन गल्लीमा बिनाउद्देश्य हिँडिरहनुको सुन्दरता के भने यसरी हिँडेका बेला अनुपम उपहारहरू भेटिन्छन् । एक्लै यात्रा गर्दा सहर, सहरका गल्लीहरू, गल्लीका घरहरू, घरका टुँडालहरू, टुँडालमा खोपिएका मिहिन मूर्तिहरू, मूर्तिहरूमा कुँदिएका भावहरू सबै पढ्न पाइन्छ । यस्तो यात्रामा हृदयले सबै सदृश वस्तुहरूसँग मौन संवाद गरिरहेको हुन्छ । गल्लीमा सुनिएका मानिसका हल्लाहरूमा पनि लय भेटिएझैं लाग्छ । विभिन्न भाषाहरू एक ठाउँमा मिसिएर निर्मित आवाजको कोलाजमा जीवनको धुन भेटिन्छ । हरेक घरले आफ्नो समयको कथा सुनिदिने श्रोता पर्खिबसेको छ । जस्तो कि हजुरआमा नातिनातिनालाई सुनाउन परीका कथा बुनेर बस्छिन् ।

लाइडन सहर एउटा काव्यशालाजस्तो लाग्छ । पुरानो भईकन पनि भव्य, नवीन भईकन पनि जराहरू इतिहासको गर्तमा बलियो गरी गाडिएको यो सहरले समग्र नेदरल्यान्ड्सको इतिहासलाई एउटा खुला किताबजसरी पस्किरहेको छ । झन्डै पाँच शताब्दी लामो इतिहासमा नामी वैज्ञानिक, कलाकार, साहित्यकार, राष्ट्रप्रमुख, नेताहरू, समाजशास्त्री वा अरू धेरै अब्बल मानिसको निर्माणमा यहाँको विश्वविद्यालयले प्रस्तुत गरेको शिल्प स्तुतियोग्य छ ।

रेम्ब्रान्टजस्ता विख्यात कलाकारको जन्मभूमि पनि हो– लाइडन । उनका कलाकृति छातीमा सजाएर अत्यन्त मखलेल छ– लाइडन । नेदरल्यान्ड्सको साउथ हल्यान्ड प्रान्तमा अवस्थित लाइडन सहर सन् १५७५ मा स्थापित देशकै पुरानो लाइडन विश्वविद्यालय, शताब्दियौं पुराना कलात्मक घरहरू, विख्यात कलाकार रेम्ब्रान्टको जन्मस्थान, सन् १५९० मा लाइडन विश्वविद्यालयमा स्थापित बोटानिकल गार्डेन जहाँ टर्कीबाट पहिलो पटक ट्यलिपलाई पश्चिमी युरोपमा ल्याइएको थियो, आदिका लागि प्रख्यात छ ।

विज्ञानको सहर पनि भनिन्छ यसलाई । अब आफ्नो निधारमा ‘कविताको सहर’ चिनारीको सुन्दर टीका थपेको छ र सिंगै सहरलाई एउटा क्यानभास बनाएको छ । कवितालाई कविकै वास्तविक भाषा र लिपिमा लेखेर यो सहरले संसारभरिका कवि र कवितालाई अतुलनीय सुन्दर उपहार मात्रै दिएको छैन ती भाषा र लिपिलाई जीवन्त पनि बनाइरहेको छ । संसारका सबै भाषा र संस्कृतिहरू उत्तिकै महत्त्वपूर्ण छन् भनेर तिनीहरूप्रति सम्मान पनि प्रकट गरिरहेको छ ।

यो प्राचीन सहरका घरका पर्खालहरूमा बाँचिहरहेका कविहरू संसारभरिका मानिसहरूसँग संवाद गरिरहकेका छन् । विश्वप्रसिद्ध विश्वविद्यालयको सहर भएकोले संसारैभरका लेखक, कवि, वैज्ञानिक वा विद्वान् यहाँ अध्ययन वा घुम्ने उद्देश्यले आउँछन् । ती सबै मानिसका आफ्नै भाषा र संस्कृतिलाई लाइडन सहरमा जिउँदो राख्नु यस परियोजनाको प्रमुख उद्देश्य हो । पर्खालमा लेखिएको कविताले एउटा विराट कथा पनि भनिरहेको छ । रंगीन पर्खालले त्यसमा लेखिएको कविताको सर्जकको कथा भन्छ, उसले बाँचेको समयको डोरो समाउँदै त्यतिबेलाको इतिहासलाई पुनर्जीवन दिन्छ, भाषाको कथा भन्छ, त्यो भाषासँग जोडिएका मानिसहरूको कथा पनि भन्छ । यसरी त्यो कविता फगत् एउटा कविता बनेर बस्दैन त्यो धेरै कथा उपकथाहरूको सानो संग्रह बन्छ ।

न पार्टीहरू

न वक्तव्य, बयानहरू

न शब्दहरू

न कुनै कुराको अस्तित्व

बाँच या मर

जित या हार

यो एउटा अधिकार वा मात्र एउटा सत्य हो

सबै कुराहरू उस्तै रहन्छन्

श्रमबाहेक यहाँ कुनै कुराको अस्तित्व छैन

श्रम एक्लैले सारा जीवन खर्च गरिदिएपछि

जीवन भन्नु फगत श्रम नै त हो ।।

लाइडन सहरमै सन् १९०९ मा जन्मेर जर्मनीमा सन् १९३४ मा दिवंगत कवि मारिनस भान डेर लबेहोफको गरिबी, भोक र श्रमको घनचक्करमा रुमल्लिएको जीवनमाथि लेखिएको एउटा शोककाव्य पढ्दा कविता अन्य विधाभन्दा सशक्त र कलात्मक रूपमा समयको इतिहासको बयान गर्न सक्षम हुन्छ भन्ने अनुभूति हुन्छ ।

जर्मनीको जेलमा रहँदा उनले लेखेको पत्रमा यस कविताको जिकिर गरिएको रहेछ । पर्खालमा भेटिएका कतिपय कविहरू मानिसका लागि नौला नाम हुन सक्छन्, तर कविता र कविलाई प्रेम गर्नेले जब नयाँ कविबारे थाहा पाउँछ, ऊ उक्त कविबारे श्रद्धायुक्त खोजी गर्छ । यस अर्थमा यो परियोजनाले संसारका कविहरूको क्षितिजलाई नयाँ आयाम दिएको छ । जस्तो कि आठौं शताब्दीका चिनियाँ कवि दु फुको कविता देखेँ– चिनियाँ भाषामा । यति प्राचीन कविको कविता भेटिएपछि टेखेन बिल्डको वेबपेजमा कविको जीवनमाथि लेखिएको संक्षिप्त परिचय पढेँ । उनको जीवनबारे भिडियो पनि राखिएको रहेछ । उनको ‘असाध्य नराम्रो’ शीर्षकको कविताको नेपाली भावानुवादले भन्छ :

फूलहरू किन यति सारै झर्ने हतारमा हुन्छन् ?

बूढो हुँदै गएको आभास हुँदै छ,

र अब म चाहान्छु वसन्त सुस्त बितोस्

धेरै नराम्रो लाग्छ,

आनन्द र खुसीका पलहरू धीमा र कमजोर बन्दै गइरहेछन्

म जवान र बलियो हुँदा तिनीहरू बिलकुल यस्ता थिएनन् जस्ता अहिले छन्

मनलाई शान्त पार्नका लागि मसँग रक्सी मात्रै छ

कविताले भन्दा बढी मेरो मनोदशालाई व्यक्त गर्न सक्ने अर्को साधन छैन

ताओ कियानले मेरो मनमा के छ भन्ने बुझेका थिए

तर म उहाँभन्दा धेरै पछि जन्मिएँ ।।

हृदयमा उच्च स्थान बनाएर बसेका कविहरूको कविता सहरका गल्लीहरूमा डुल्दाडुल्दै पढ्न पाउनु आफैंमा एउटा रोमाञ्चक कुरा लाग्दोरहेछ । मैले पढेका र हरदम सम्मानका साथ हृदयमा नाम खोपिएका कविहरू विलियम सेक्सपियर, बासो, ओक्टाभियो पाज, सफ्फो, पाब्लो नेरुदा, विस्लावा सिम्बोर्स्का, गार्सिया लोर्का आदि आफ्ना कालजयी शब्दसाथ मुस्कराइरहेका छन् लाइडन सहरका पर्खालहरूमा । टेखेन बिल्डको वेबपेजमा कविताहरू आधिकारिक भाषा र लिपिमै राखिएका छन् । त्यसका अलावा अंग्रजी अनुवाद, डच अनुवाद र कविताको वाचन पनि राखिएको छ । साथै केही कविताको सांकेतिक भाषामा पनि भिडियो अनुवाद गरिएका छन् ।

लाइडन कविता परियोजनासँग गाँसिएका रमाइला किस्सा पनि छन् । सबै कविता टेखेन बिल्डका संस्थापकहरू यान विलेम ब्राउन्स र बेन वालेनकाम्पले नै सहरभरि लेखेका हुन् । त्यसैले भनिन्छ, यी सबै कविता बुझ्ने र सबै लिपि पढ्न सक्ने यिनै दुई कलाकार मात्रै हुन् लाइडन सहरमा । पर्खालमा लेखिने कविता पनि यिनै दुई कलाकारले चयन गर्छन् । जब ब्राउन्स परियोजनाको पहिलो कविता लेखिरहेका थिए (जुन रुसी भाषाको थियो) छिमेकका एक भलादमीले झ्यालबाट कराउँदै भने– तिमीले गलत लेखेका छौ । ती भलादमी रुसी भाषामा पोख्त रहेछन् ।

गल्ती थाहा पाएपछि उक्त भित्तामा पुन रङ पोतियो र कविता लेखियो । वषौंपछि रङको बाहिरी पत्र पुरानो हुँदै गएपछि फिक्का भयो र पहिले लेखिएका अक्षरहरू हल्का देखिन थाले, तर त्यसलाई त्यतिकै छोडिएको छ ताकि मानिसहरू बुझुन्– कविताप्रतिको यो प्रेम कति पुरानो हो । संयोगवश त्यो कविता लेखिएको घरमा एउटा पुस्तक पसल छ । यो कविता पर्खालमा लेखेपछि त्यो बाटो भएर हिँड्ने रुसी पर्यटक धेरै प्रभावित भए । कालान्तरमा उक्त पुस्तक पसलको ख्याति पनि बढ्यो । धेरै रुसी पर्यटक त्यो किताब पसलमा आउन थाले । खुसी भएर पसलका साहुजीले पनि परिचयसहित पसलको ढोकामा झुन्ड्याइदिए कविको फोटो ।

एक दिक ब्राउन्स बासोको कविता पर्खालमा लेखिरहेका थिए, जापानी क्यालिग्राफीमा । त्यति नै बेला जापानी पर्यटकको एक समूह उक्त गल्लीबाट हिँडिरहेको थियो । पर्खालमा आफ्नै भाषामा आफ्ना महान् कविको कविता लेखिरहेको देखेर उनीहरू यति खुसी भए कि जापानीले निकैबेर शिर निहुराएर उनमाथि सम्मान प्रकट गरिरहे । जापान म्युजियम र लाइडन विश्वविद्यालयको होर्टस बोटानिकस नामको बोटानिकल गार्डेननजिकैको उक्त गल्लीबाट अनगिन्ती जापानी पर्यटक वा विद्यार्थी हिँड्दा भित्तामा आफ्ना कवि देखेर खुसी हन्छन् ।

लाइडन सहरको ‘पर्खालमा कविता परियोजना’ यही सहरमा मात्रै सीमित छैन । यसबारे धेरै देशका मिडियामा रिपोर्ताज प्रकाशित भएका छन् । अन्य देशका सहरले पनि लाइडनकै जसरी घरका पर्खालमा कविता लेख्न थालेका छन् । बुल्गेरियाको राजधानी सोफियाले लाइडनको कविता परियोजनाबाट प्रभावित भएरै सहरमा उस्तैगरी घरका पर्खालहरू कविताले रंगाउन थालेको छ ।

फ्रान्सको राजधानी पेरिसमा पनि केही घरका पर्खाल कविताले सजाइएको छ । जर्मनीका विभिन्न ठाउँमा यसैगरी घरका बेजान पर्खालमा कविता लेखिएको छ । सयौं पुरातात्त्विक महत्त्वका घरका भित्तामा आकर्षक रङ पोतेर त्यसमाथि उत्तिकै सुन्दर अक्षरहरूमा लेखिएका कविताले यहाँका बासिन्दा र पर्यटकमा अनेकन् भाव उत्पन्न गराउँछन् । धेरैले त्यो देखेर आफूलाई यो सहरले आत्मीयतासाथ स्वागत गरेको महसुस गर्छन् । केही दिनलाई घुम्न आउने पाहुना पनि आफ्नो भाषामा लेखिएको कविता पढेर यो सहरलाई आफ्नै ठान्छन् । ती सोच्छन्– यो सहरले उनीहरूको भाषालाई पहिचान दिएको छ ।

वास्तवमा लाइडन सहर शताब्दियौंदेखि संसारभरिका विद्वान्, लेखक र कलाकारको आकर्षणको केन्द्र त हो नै अझै कविता परियोजनाले संसारका धेरै भाषा बोल्ने मानिसलाई एउटै क्यानभासमा समेटेर लाइडनले सबैप्रतिको आदर र प्रेम प्रकट गरिरहेको छ । काव्यिक शृंगारले रंगिएका सुन्दर पर्खाललाई प्रेमपूर्वक हेर्दै निरुद्देश्य हिँड्नु पनि उत्तिकै काव्यिक लाग्छ र घरीघरी म यो काव्यिक यात्रा गरिरहन्छु ।

प्रकाशित : आश्विन १३, २०८० ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?