२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

तपाईं उमादेवी बादी चिन्नुहुन्छ ?

सार्वजनिक जीवनमा कस्ता महिलाको प्रभुत्व छ ? आमवृत्तमा कस्ता नारीहरूको पहुँच ? किताबको तस्बिरले यो यथार्थ भन्छ ।
राजेन्द्र महर्जन

एक जना महिलाको काँधमा थियो टोकरी, टोकरीमा थिए दुई जना बच्चा । उनको टाउकोमा थियो– मारिएको जनावरको भारी । अर्की स्त्रीचाहिँ सिङ समात्दै मृगलाई तान्दै थिई भने अर्की नारी माछा मार्दै । टोकरी समात्ने सबैजसो महिला गर्भवती थिए । ती सबै महिला सिकारमा सहभागी थिए । सामूहिक सिकार–दृश्य गुफामा चित्रण गरिएको भित्तेचित्र थियो । भित्तेचित्र पनि आजको होइन, करिब सात हजार वर्षअघिको ।

तपाईं उमादेवी बादी चिन्नुहुन्छ ?

मध्य–भारतको भीमबेटको गुफामा फेला परेको भित्तेचित्रमा महिलाहरू खाद्यान्न र अन्य पदार्थसँगै टोकरी र जालले शिकार पनि खेलिरहेको देखाइएको थियो । तिनै चित्रका आधारमा इतिहासकार उमा चक्रवर्ती भन्छिन्, ईपू ५००० वर्षअघि प्राग्–इतिहासमा महिला र पुरुषबीच कुनै प्रकारको दृढ श्रम–विभाजन थिएन, न त सत्ता–सम्बन्ध नै स्थापित भइसकेको थियो । शिकार खाद्यान्न अर्थतन्त्रमा महिलाहरूको योगदान पुरुषको तुलनामा न कम थियो, न त बढी थियो । गर्डा लर्नरका सटीक शब्दमा, महिला–पुरुषको सापेक्षिक अवस्था ‘अलग तर समान’ थियो । अहिलेको अवस्थिति कस्तो छ त ? अलग तर असमान ! अर्को शब्दमा, पुरुष–सत्ताको अधीन !

प्राचीन समाजमा पुराना औजार, माटोका भाँडाकुँडा तथा बसोबास गरिएका गुफाका अवशेषका आधारमा महिला–पुरुषको अवस्था र समग्र समाजको खाका खिच्ने कोसिस गरिन्छ, प्रस्ट चित्र नआए पनि । अहिलेको सामाजिक स्थिति बुझ्ने अस्त्र भने धेरै भएका छन्, तीमध्ये सशक्त माध्यम तस्बिर भएको छ । इतिहासकार प्रत्यूष वन्तले नेपालमा तस्बिर उपभोगको इतिहासलाई रेखांकन गरेका छन् । तस्बिर उपभोगको इतिहास हेर्दा सन् १८६० को दशकदेखि थालनी भएको देखिन्छ र पाठकको मनमा प्रश्न उठ्ने गर्छ— सन् १९१० सम्म तस्बिरमा राणा शासकहरूको मात्रै विशेषाधिकार कसरी भयो, राणा शासन खुकुलिएसँगै उनीहरूको एकाधिकार पनि कसरी फुस्किन थाल्यो, विशेष गरी काठमाडौंमा फोटो स्टुडियोहरू बन्न थालेपछि नवनिर्मित मध्यम वर्गको पहुँच कसरी विस्तार भयो ? यी सबैको उत्तर खोज्न सहज बनाउने माध्यम हो— तस्बिरको सामाजिक इतिहास ।

महिलाको नजरबाट तस्बिरको सामाजिक इतिहास हेर्दा लोकतन्त्रीकरण हुँदै आएको देखिन्छ, तर यो पनि मूलतः नेपाली राज्य, समाज र परिवारजस्तै पुरुषवादी नै रहेको पाइन्छ । राणा र शाह शासक पुरुषहरूका तस्बिरमा दायाँ–बायाँ र छेउकुनातिर महिलाहरू शृङ्गारका रूपमा नदेखिएका होइनन् । महिलाहरू स्थिर तस्बिरदेखि परिवर्तनशील निजी, पारिवारिक र सामाजिक जीवनसम्ममा केन्द्रमा समान हैसियतका साथ स्थापित हुन कति समय लाग्ने हो, निश्चित छैन । आम नेपाली महिलामा पनि विभिन्न वर्गीय, जातीय, जातीयता र यौनिक अल्पसंख्यक महिलाका दृष्टिकोणबाट हेर्दा समताका लागि पुरानो सत्ता–संरचना, उत्पादन सम्बन्ध र पुरुष–महिला सम्बन्धमा कति उथलपुथलकारी परिस्थिति बेहोर्नुपर्ने हो, टुंगो छैन । यसका लागि अनेक प्रयास, संघर्ष र प्रतिरोध भएका छन्, त्यसैको एक सचित्र दस्तावेज हो– ‘सार्वजनिक जीवनमा महिला (द पब्लिक लाइफ अफ वुमन) ।’

‘महिलावादी स्मृतिको एक पहल’ अन्तर्गत क्युरेटर दिवसराजा केसी र नयनतारा गुरुङ कक्षपतिले संयोजन गरेको यस किताबमा नेपाली महिलाका तस्बिर मात्रै छैनन्, उनीहरूका सार्वजनिक जीवनको बयान पनि छ । ती तस्बिर र शब्दले नेपालका प्रत्येकजसो सामाजिक–राजनीतिक उथलपुथलमा महिलाहरूको सहभागिताको गाथा गाउँछन् । र, महिलामा पनि कुन वर्ग, जात, जाति र यौनिकताका महिला दृश्यमा छन्, कुन–कुन अदृश्य छन्, प्रस्ट देखाउने कोसिस पनि गरेका छन्, अक्षरले नभनीकन, चित्रमा नदेखाईकन पनि ।

राजनीतिशास्त्री सेरा तामाङ सार्वजनिक वृत्तलाई घरीघरी चिसो पानी छ्याप्ने गर्छिन्– आम नेपाली महिला भनेको सोलोडोली वस्तु होइन है, बरु यो त अनेक धर्म, संस्कृति, वर्ग, जात, जाति, यौनिकता भएका महिलाको विविधता हो । यही महिला विविधताको कोणबाट हेर्दा सार्वजनिक जीवनमा कस्ता खालका महिलाहरूको प्रभुत्व रहेको छ, आमवृत्तमा कस्ता खालका नारीहरूको पहुँच रहेको छैन, यो कटु यथार्थको तस्बिर हेर्न पनि ‘द पब्लिक लाइफ अफ वुमन’ उपयोगी छ । क्युरेटर–द्वय केसी र कक्षपतिबीचको ‘प्रबन्धक संवाद’ मा पनि सेरा तामाङकै चिन्ता झल्किन्छ । संवादको क्रममा केसी भन्छन्, ‘इन्टरसेक्सनालिटीको दृष्टिकोणबाट सोच्दा के स्पष्ट हुन्छ भने वर्ग, जात, जातीयता, यौनिकता र अन्य थुप्रै प्रकारका विभाजनसँग जुझ्नुपर्दाका परिस्थितिमा महिलावादी गठबन्धन तथा संस्थाहरूका आफ्नै सीमितता थिए । महिलावादमा यौटा विरोधाभास अन्तर्निहित छ— सबै महिलाका लागि आवाज बुलन्द गरिरहँदा पनि यसमा आन्तरिक बहिष्करणका संरचना यावतै छन् ।’

‘द पब्लिक लाइफ अफ वुमन’ का तस्बिरमा पनि निश्चित वर्ग, जात, जातीयता, यौनिकता भएका महिलाको उपस्थिति बलियोसँगै नै देखिन्छ, सार्वजनिक वृत्तमा जस्तै । राणा शासनको अन्त्यका लागि सात सातको पूर्वसन्ध्यामा भएका सडक संघर्षमा हीरादेवी यमीदेखि शान्ता श्रेष्ठसम्म, मंगलादेवी सिंहदेखि साहना प्रधानसम्म देखिन्छन्, तर योगमाया न्यौपानेदेखि कामाक्षादेवी र राममाया च्यामिनीसम्म पनि देखिँदैनन् । त्यस्तै हालत देखिन्छ, सात सालपछि छयालीस सालसम्मको सार्वजनिक राजनीतिक–सांस्कृतिक क्षेत्रमा देखिएका र नदेखिएका महिलाहरूका हकमा पनि ।

राजनीतिक–सांस्कृतिक क्षेत्रको सत्ता–शक्तिको सेरोफेरोमा रहेका एक थरी महिलाहरू सार्वजनिक वृत्त र तस्बिरमा बलियो उपस्थित हुनुले उनीहरूको सामाजिक पुँजीलाई नै प्रस्ट्याउँछ । त्यस अवधिमा पनि मूलतः महिलाको रूपमा व्यक्ति देखिन्छ, व्यक्तिगत उपलब्धि झल्किन्छ, व्यक्ति र व्यक्तिगत कर्मलाई प्रोत्साहित गर्ने राजनीतिको छाया प्रतिविम्बित हुन्छ । तर, त्यसपछिको कालखण्डमा भएका सामूहिक संघर्षको प्रतिविम्बन सार्वजनिक वृत्तमा जस्तै महिलाहरूका सामूहिक तस्बिरमा पनि हुन्छ, चाहे त्यो जनआन्दोलनमा जुझेका नारीको होस् या जनयुद्धमा शामेल छापामार महिलाको होस् ।

तस्बिरको अर्थ–राजनीति पनि सत्ता–शक्ति—सम्पत्ति—शास्त्रको संरचना र अन्तर–सम्बन्धभन्दा बाहिरको एकलासे टापुको परिघटना होइन । तस्बिरका किताबमा देखिएका महिलाहरूका योगदान र संघर्षलाई पटक्कै कम नआँकीकन पनि भन्न सकिन्छ— तस्बिर खिच्न–खिचाउन, सुरक्षा र संरक्षण गर्न, त्यसका लागि घरबाहिर निस्कन, सार्वजनिक जीवनमा उपस्थिति जनाउन निश्चित हैसियत जरुरी हुन्छ । नेपाली समाजमा महिलाको मात्रै होइन, पुरुषको समेत हैसियतको निर्माणमा वर्ग र जात–जातिसँग जोडिएको सत्ता–शक्ति—सम्पत्ति—शास्त्रको संरचना र अन्तर–सम्बन्धको भूमिका कति हुन्छ, जगजाहेर नै छ ।

हिजोसम्म कुनै हैसियत नभएका वा नदिइएका महिलाहरूले सामूहिक संघर्षको क्रममा सार्वजनिक जीवनमा उपस्थिति जनाएका उदाहरणको पनि कमी छैन । तपाईं–हामीमध्ये कसैले २०६४ सालअघि उमादेवी बादीको नाम सुनेका थियौं ? पक्कै पनि कमै थियौं होला । जब राष्ट्रिय बादी अधिकार संघर्ष समितिले उनको अगुवाइमा ४८ दिनसम्म संघर्ष गर्‍यो, संघर्षको क्रममा अर्धनग्न प्रदर्शन गर्‍यो र सरकारले दुईबुँदे सहमति गर्‍यो, तब उनी र उनीजस्ता बादीहरूको संघर्षका तस्बिर छापिएका थिए । त्यसरी नै जमिनदारहरूको शोषण र उत्पीडनविरुद्ध दाङका थारू महिलाहरूले गरेको संघर्ष, कमलरी प्रथाअन्तर्गत बँधुवा जीवन बाँच्ने महिलाहरूका कोसिस, लेस्बियन र क्वियर महिलाका पहल, सुकुम्बासी महिलाका प्रतिरोध पनि यस पुस्तकमा पनि समेटिएका छन्, जुन सराहनीय छ । प्रबन्धकहरूले भनेझै, यस किताबमा पक्कै पनि विगतमा महिलाहरूले राजनीतिक संघर्षमा सहभागी हुँदा, सभा–सम्मेलनहरूलाई सम्बोधन गर्दा, शिक्षामार्फत नयाँ बाटो पहिल्याउँदा, विचार प्रकाशन गर्दै अरूलाई प्रभावित गर्दा, संसार डुल्दै यात्राको वर्णन गर्दा, अधिकारसम्पन्न व्यक्ति हुँदै शक्तिको अभ्यास गर्दा, सामाजिक बारबन्देज तोड्दा र पुराना मूल्य–मान्यतासँगै आदर्श तोड्दाका अनेक झलक देखिन्छन् ।

समाजको पीँधबाट हेर्दा भने वर्ग, जात र लिंगको आधारमा बनाइएको सामाजिक संरचना, त्यसले सिर्जना गरेका विभेद र हिंसाविरुद्ध भएका संघर्षले स्थापित गरेका अनेक मुद्दा र अनुहार छुटेको देखिनु अस्वाभाविक होइन । एउटै किताबमा सबैखाले संघर्ष र तिनका छाया–छविलाई समेट्न सकिँदैन, यसलाई प्रबन्धकहरूका धरातल र हेराइको निरन्तरताको आधारमा बुझ्नुपर्ने हुन्छ । केसी र कक्षपतिले २०७५ सालमै ‘दलित : अ क्वेस्ट फर डिग्निटी’ (दलित : आत्मसम्मानको खोजी) नामक महत्त्वपूर्ण प्राज्ञिक किताब र पाटनका भित्ता–भित्तामा टाँसिएका तस्बिर र ऐतिहासिक सामग्रीबाट आफू उभिने धरातल र आफूले हेर्ने दृष्टिकोणलाई प्रस्ट्याइसकेका छन् । आशा गरौं, ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक र प्रदर्शनीका शृङ्खलामा फेरि पनि यही धरातलको विस्तार र दृष्टिकोणको गहिराइ खोजिने नै छ ।

प्रकाशित : भाद्र १६, २०८० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?