‘नेपालीमा लेख्नेलाई यो समय सुनौलो छ’

‘कुनै भाषामा आफू जति भयंकर छु भन्ने सोचे पनि किताब प्रकाशनमा सम्पादकको नजर महत्त्वपूर्ण हुन्छ’
‘हिन्दी मात्रै होइन, नेपालीमा लेख्नेहरूका लागि पनि यो सुनौलो समय हो । अनुवादका लागि सही समय हो । अनुवादका सन्दर्भमा पछिल्ला केही वर्षलाई उर्बर मान्न सकिन्छ । पश्चिमा प्रकाशकले हाम्रा कथामा रुचि देखाएका छन् । ’

सिक्किमका लेखक प्रज्वल पराजुली अंग्रेजी साहित्यमा परिचित नाम हो । ‘द गुर्खाज् डटर’ (कथासंग्रह) र ‘ल्यान्ड ह्वेर आई फ्ली’ (उपन्यास) बाटै उनले विश्व साहित्यिक मञ्चमा आफूलाई स्थापित गरे । उनका किताब बेलायतका ‘डिलन थोमस प्राइज’, ‘मोगफोर्ड प्राइज’ एवं फ्रान्सको ‘इमिल गिमेट प्राइज’ को अन्तिम सूची, फ्रान्सकै ‘डेब्यु नोभल प्राइज’ र अमेरिकाको ‘द स्टोरी प्राइज’ को मनोनयनमा परिसकेका छन् । उनी आफैं पनि सन् २०१८ र २०२३ मा ‘डिलन थोमस प्राइज’ को निर्णायकसमेत रहिसकेका छन् ।

‘नेपालीमा लेख्नेलाई यो समय सुनौलो छ’

यसअघि ‘द गुर्खाज् डटर’ किताब ‘गोर्खाकी छोरी’ का नाममा नेपालीमा प्रकाशित भइसकेको छ । भर्खरै उनको उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ नेपालीमा प्रकाशित छ– ‘चित्रलेखाको चौरासी’ नाममा । काठमाडौं आएका बेला प्रज्वलसँग पात्र निर्माण, गोर्खाल्यान्ड आन्दोलन र साहित्यका विविध पक्षमा केन्द्रित भई उपेन्द्रराज पाण्डेयले गरेको वार्ता :

अधिकांश नेपाली लेखक नेपाली भाषाबाट अंग्रेजीमा गइरहेका छन् । तपाईंचाहिँं पहिले अंग्रेजीमा अनि नेपालीमा आइरहनुभएको छ । तपाईं आफैंलाई चाहिँ ‘नेपालीमै लेखौं’ भन्ने लाग्दैन ?

मेरो जीवनको एउटा पछुतो हो– नेपालीलाई बेवास्ता गर्नु । अंग्रेजी माध्यमको स्कुल पढेकाले पनि मेरो नेपाली कमजोर भयो । तर, म नेपालीमा उति कमजोर चाहिँ होइन । स्कुल छँदा मलाई आफ्नो नेपाली भयंकर लाग्थ्यो । तर, सबैभन्दा अप्ठेरो ‘गुर्खाज् डटर’ अनुवाद गर्ने बेला भयो । ‘आफैं गर्छु नि’ भनेर थालेँ । तर, प्रत्येक दुई–तीन मिनेटमै अक्क न बक्क भएँ । मलाई थाहा छ– म नेपालीमा कमजोरै छु । यस्तो हो, म नेपालीभन्दा अंग्रेजीमा राम्रो लेख्न सक्छु । नेपालीमा लेख्न गाह्रै छ नि ! तर, मलाई नेपालीमै कुरा गर्न मनपर्छ । म ट्याक्सी चालकहरूकै कुरा सुनेर त्यसलाई अंग्रेजीमा उतार्न खोज्छु । ‘प्याच्च थुक्नु’, ‘थचक्क बस्नु’, ‘गलल हाँस्नु’ जस्ता अनुकरणात्मक शब्दको प्रयोगमा हाम्रो भाषा यति सुन्दर छ, म त्यसैलाई अंग्रेजीमा उतार्न खोज्छु ।

नेपाली अनुकरणात्मक शब्दलाई अंग्रेजीमा ढाल्न कति सजिलो हुँदोरहेछ ?

अनुवादमा ठ्याक्कै नेपालीमा जस्तै नआउन सक्छ । ‘ऊ गलल हाँस्यो’ लाई अंग्रेजीमा के भन्ने ? ‘हि लाफ्ड अप्ररियसली’ भन्दा त भयो, तर त्यसले गललै हाँसेको अर्थ त दिँदैन । मलाई यसैबारे पनि लेख्न मनलाग्छ । हामी नेपालीहरू यसरी हाँस्छौँ, यसरी बस्छौँ, यसरी खान्छौँ भनेर लेख्न मन पराउँछु म ।

तपाईं नेपाली साहित्य कति पढ्नुहुन्छ ?

म ईन्द्रबहादुर राई, सानु लामाहरूलाई पढ्ने प्रयास गर्दैछु । धेरै नेपाली किताब अंग्रेजीमा अनुवाद भएपछि मात्रै पढ्छु । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ नेपाली र अंग्रेजी दुवैमा पढेँ । त्यो किताब सरल र राम्रो छ । तर, भाषा एकदमै जटिल भयो भने त पढ्न गाह्रै हुन्छ । पछिल्लो समय अनुवादमा पनि धेरैको रुचि छ । दक्षिण एसियाली भाषाकै पुस्तकले बुकर पुरस्कारसमेत पाएका छन् । कतिपय प्रकाशकले मलाई कुनै नेपाली किताब अंग्रेजीमा अनुवाद गरौं भनेर प्रस्ताव पनि राखेका छन् ।

किताब राम्रो हुन सम्पादन पनि अब्बल हुनुपर्छ भनिन्छ । अन्तर्राष्ट्रिय बजारमा किताब प्रकाशन गर्न कुन तहको सम्पादन आवश्यक हुँदोरहेछ ?

राम्रो लेखकले कुशल सम्पादकको महत्त्व बुझेको हुन्छ । कुनै पनि भाषामा आफू जति भयंकर छु भन्ने सोचे पनि सम्पादकको नजर महत्त्वपूर्ण हुन्छ । मेरै दुइटै पुस्तक पनि ३० औं पटकसम्म सम्पादन भएका होलान् । विद्यार्थीहरूले पनि सम्पादनको महत्त्व बुझून् भनेर मैले आफ्नो कथाको पहिलो र अन्तिम ड्राफ्ट उनीहरूलाई दिने गरेको छु । म उदीयमान लेखकहरूलाई भन्ने गर्छु– तपाईंको पुस्तक पढिदिने राम्रा सम्पादक र अन्य लेखक खोज्नुहोस् ।

औपनिवेशिक कालदेखि नै पश्चिमाले आफ्ना कथा सुनाउँदै आएका हुन्, आफ्नै भाषामा । अब कथा सुनाउने पालो पूर्वेलीको पनि होला । गीतांजलि श्रीको उपन्यास ‘रेत समाधि’ ले बुकर पुरस्कार पाउनुको अर्थ नेपाली, हिन्दीलगायत अन्य दक्षिण एसियाली भाषाका साहित्यलाई अन्तर्राष्ट्रिय बजारको ढोका खुल्लै छ भन्ने हो ?

हिन्दी मात्रै होइन, नेपालीमा लेख्नेहरूका लागि पनि यो सुनौलो समय हो । अनुवादका लागि सही समय हो । अनुवादका सन्दर्भमा पछिल्ला केही वर्षलाई उर्बर मान्न सकिन्छ । पश्चिमा प्रकाशकले हाम्रा कथामा रुचि देखाएका छन् । सन् १९८० को दशकतिर एक भारतीय लेखकलाई अमेरिका, बेलायतमा आफ्ना किताब निकाल्न गाह्रै थियो । रुस्दी, नयपल हुँदै आउँदा अहिले उनीहरूलाई पनि हाम्रा कथामा रुचि छ भन्ने देखिन थालेको छ । विभिन्न बुक फेस्टिभलमा पनि अनुवादमाथि चर्चा हुने गरेको छ । यसमा पुरस्कार र बजारको पनि कुरा होला । हाम्रै कथा समेटिएको ‘ल्यान्ड ह्वेर आई फ्ली’ फ्रेन्चमा अनुवाद भयो । अन्य मुलुकका तुलनामा फ्रान्सले अनुवाद बढी पढ्छ ।

‘गुर्खाज् डटर’ र ‘ल्यान्ड ह्वेर आई फ्ली’ थुप्रै देश र भाषामा प्रकाशित भएका छन् । यसले तपाईंलाई अन्तर्राष्ट्रिय प्रख्याति पनि दिलायो । लेखनमा अन्तर्राष्ट्रिय प्रसिद्धि र पहुँचले कस्तो प्रभाव पार्दोरहेछ ?

लेखक जति लोकप्रिय भयो, उसका किताब उति नै बिक्री हुन्छन् र प्रोफाइल पनि बढ्छ । स्कुल र युनिभर्सिटीहरूले पढाउन बोलाउँछन् । तर, साहित्य महोत्सवहरू नै भन्दै हिँडियो भने लेखनबाट विमुख हुने अवस्था आउँछ । शोभा डे भन्नुहुन्छ, ‘म जहाँ भए पनि दिनको १५ सय शब्दचाहिँ लेख्छु ।’ मेरै धेरै लेखक साथी लेखनमा अनुशासित छन् । धेरै विषय अनुभवबाटै सिक्ने हो । एउटा निश्चित समयसम्म लेखिसकेपछि तपाईं थाहा पाउनुहुनेछ– केले काम गर्छ, केले गर्दैन ?

‘गोर्खाल्यान्ड हुनुपर्छ । कारण सही भए पनि हामीले अपनाएको बाटो अलि गलत भयो कि भन्ने लाग्छ ।’


लेख्दै जाँदा कहिलेकाहीँ अप्रत्याशित तरिकाले पात्रहरूको विकास हुन्छ कि हुँदैन ? त्यस्तो अवस्थामा पात्रहरू कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हुन्छ नि, किन नहुने ? मैले एक पात्रले ‘यस्तो–यस्तो गर्छ’ भनेर सोचेको हुन्छु । एक–दुई घण्टा लेख्न बसेपछि पात्रहरू आफ्नै पारामा अघि बढिरहेका हुन्छन् । मैले हिँडाउन खोजेको बाटो एउटा हुन्छ, लेख्दै जाँदा त्यो अर्कै हुन्छ । पात्रहरू आफैं पखेँटा हालेर उड्छन् । केही पात्रले मैले कहिल्यै नसोचेको काम गर्छन्, अचानक अर्कै बाटो रोजिदिन्छन् ।

तपाईंको आफ्नै जीवनबाट उपन्यास, कथाका पात्र र विषयवस्तु प्रभावित भएका छन् ? ‘ल्यान्ड ह्वेर आई फ्ली’ को ‘रूत्व’ प्रज्वल पराजुली नै हो भनिन्छ नि !

त्यो किताबको सबै पात्रमा कहीँ न कहीँ छु म । मान्छेहरू ‘द गुर्खाज् डटर’ को अन्तिम कथा ‘द इमिग्रेन्ट्स’ मेरै आत्मकथा हो भन्छन्, त्यो हुँदै होइन । तर, रूत्वसँग मेरो समानता छ । कति ठाउँमा मैले ‘रूत्व इज प्रज्वल पराजुली, गोन ब्याड’ पनि भनेको छु । उपन्यासमा रूत्वले गरेको अवलोकन मेरै जीवनसँग मेल खान्छ । मलाई चाहिँ म रूत्व र चित्रलेखाको संयोजन हुँ झैं लाग्छ । मैले मानसालाई पनि आफूसँग जोड्ने गरेको छु । ‘ल्यान्ड ह्वेर आई फ्ली’ को सिक्वेल लेखेँ भने मानसामै फोकस हुन्छु होला ।

‘प्रिक्वेल’ लेख्छु भन्नुभएको थियो । कहिलेकाहीँ प्रकाशककै दबाबमा ‘प्रिक्वेल’ लेख्दा अघिल्लो पुस्तकजस्तो दमदार नहुने डर पनि होला । हार्पर लीको ‘टु किल अ मकिङबर्ड’ जस्तो भव्य त्यसको प्रिक्वेल ‘गो सेट अ वाचम्यान’ भएन भनिन्छ !

मेरो उपन्यासका पात्रले के–के गरे होलान् भन्ने सोच्छु बेला–बेला । एउटा अर्कै किताब लेखेपछि मात्रै ‘ल्यान्ड ह्वेर आई फ्ली’ को प्रिक्वेल वा सिक्वेल लेख्ने निर्णय गर्नेछु । तपाईंले हार्पर लीको नाम लिनुभयो, मचाहिँ अरुन्धती रोयको उदाहरण दिन्छु । उहाँले ‘गड अफ् स्मल थिंग्स’ लेख्नुभयो, त्यति उत्कृष्ट साहित्य कमै आउला । २० वर्षपछि उहाँले ‘द मिनिस्ट्री अफ् अटमस्ट ह्याप्पिनेस’ लेख्नुभयो । यो किताबको सुरुवात एकदमै गज्जब छ, तर बीचमा अल्छिलाग्दो । त्यसैले मेरो सन्दर्भमा त्यस्तो नहोस् भन्ने चाहन्छु । पहिलो र दोस्रोभन्दा तेस्रो किताब राम्रो होस् भन्ने मेरो चाहना छ ।

‘जहाँ बसे पनि, जति घुमे पनि मेरा लागि घर भनेको हिमालय नै हो । म अरु केहीबारे लेख्नै सक्दिनँ । अन्त कतै मेरो उपन्यास वा कथालाई आधार बनाउन सक्दिनँ ।’


तपाईंका दुवै किताबमा नेपाली पारिवारिक जटिलता लेखिएका छन् । नेपाली संस्कृतिलाई विश्वकै पाठकले बुझ्ने गरी कथा भन्न कति कठिन छ ?

सन् १९७०, १९८० को दशकतिर रुस्दीहरूले लेख्दा गाह्रो हुन्थ्यो होला । अहिले त केही बुझिएन भने गुगल गरे भइहाल्यो । हामीले ‘जर्मन अक्टोबरफेस्ट’ बारे खोजेर थाहा पाउनुपर्ने, उनीहरूले चाहिँ हाम्रा पूजापाठ, मराउमा के हुन्छ, त्यो खोज्न नहुने ? अब हरेक विषयलाई प्रासंगिक बनाउनुपर्छ भन्ने मलाई लाग्दैन ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

तपाईंका दुवै किताबमा ‘घरको अवधारणा’ माथि चर्चा छ । जीवन र लेखनको सन्दर्भमा तपाईंका लागि घर के हो ?

जहाँ बसे पनि, जति घुमे पनि मेरा लागि घर भनेको हिमालय नै हो । म अरू केहीबारे लेख्नै सक्दिनँ । अन्त कतै मेरो उपन्यास वा कथालाई आधार बनाउनै सक्दिनँ । मलाई लेख्न सजिलो हुने विषय वा मेरो घर भनेकै हिमालय क्षेत्रका पहाडहरू हुन् । अहिले पनि साहित्य महोत्सवहरूमा ‘घरको अवधारणा’ बारे विमर्श भइरहेको हुन्छ । म एक घुमन्ते, एकै ठाउँ नबसेको कत्ति वर्ष भयो । तर, अन्तिममा मेरा लागि घर भनेको हिमालय नै हो ।

गोर्खाल्यान्ड आन्दोलनमाथि चर्चा गरौं न ! किरण देसाईको किताब ‘द इनहेरिटेन्स अफ लस’ मा कालिम्पोङकै सेटिङ छ । तर, आन्दोलनको खराब चित्रण गरेको आरोप देसाईलाई छ । छुदेन काविमोले पनि ‘फातसुङ’ उपन्यासमा गोर्खाल्यान्डको वास्तविक कथा नभनेको आरोप लाग्यो । त्यो आन्दोलनबारे तपाईंको दृष्टिकोण के हो ?

गोर्खाल्यान्ड बन्नुपर्छ । कारण सही भए पनि हामीले अपनाएको बाटो गलत भयो कि ? हड्ताल गरेर, त्यहीँ बस्नेलाई दुःख दिएर मात्रै गोर्खाल्यान्ड पाइन्छ भन्ने लाग्दैन । गोर्खाल्यान्ड हुनुपर्छ, तर महिनौं बन्द गरेर, अर्थतन्त्र धराशायी बनाएर गोर्खाल्यान्ड बन्दैन ।

गोर्खाल्यान्ड आन्दोलनसँग नेपालीभाषी बाहुल्यता रहेको सिक्किमले आफूलाई अलग राखेको छ । कहिलेकाहीँ सिक्किमसहितको गोर्खाल्यान्डको प्रसंग पनि उठिरहेकै हुन्छ ! सिक्किमेली भएकै कारण तपाईंले पनि त्यसको आलोचना गर्नुभएको त होइन ?

गोर्खाल्यान्डभन्दा सिक्किमका जनता बढी भाग्यमानी हुन् । तर, कहिलेकाहीँ गोर्खाल्यान्डले सिक्किमलाई असहज पनि बनाएको छ । दार्जिलिङ पहिले सिक्किमकै एक भाग थियो । पछि नेपालले सिक्किमबाट दार्जिलिङलाई आफ्नो बनायो । पछि अंग्रेजहरूले नेपालबाट त्यो भूभाग जिते । मान्छेहरू भन्छन्– सिक्किम र दार्जिलिङ गाभिनुपर्छ, तर मलाई लाग्छ त्यो सम्भव हुँदैन ।

गोर्खाल्यान्ड आन्दोलनलाई साहित्यले न्याय नगरेको हो ?

किरण देसाईले कालिम्पोङलाई नजिकैबाट अवलोकन गरेर लेखिन् भन्ने लाग्दैन । उनले ‘आउटसाइडर’ का रूपमा लेख्दा समस्या भएको हुनसक्छ । देसाईको सबैभन्दा आलोचना भएको विषय हो– नेपालीहरूलाई ‘स्टेरियोटाइप’ गरेकोमा । सिर्जनाका हिसाबले ‘द इनहेरिटेन्स अफ् लस’ असाधारण छ । तर, देसाईले पढेलेखेका नेपालीसँग संगतै गरिनन् । नेपाली समुदायबीच उनको अन्तरघुलनै भएन । त्यसैले उपन्यासमा नकारात्मक चित्रण गरिन् ।

तपाईंका कथामा अन्तरजातीय विवाह, जातीय विभेदका विषय उठाइएको छ । महिला पात्रहरू पनि शक्तिशाली छन् नि !

मैले भारतीय किताबहरूमा हजुरआमाहरूलाई ‘एजेन्सी’ नभएजसरी प्रस्तुत गरेको पाएँ । उनीहरूलाई अचार बनाइरहेको वा एकदमै मायालाग्दो देखाइएको हुन्छ । त्यसैले मलाई शक्तिशाली हजुरआमा पात्र लेख्न मन थियो– नेताहरूलाई औंलामै नचाउने खालको चित्रलेखाजस्तो । मलाई कसैले ‘तेरो प्रिय पात्र को हो ?’ सोधे म चित्रलेखा नै रोज्छु । मलाई दक्षिण एसियामा ‘ट्याबु’ का रूपमा लिइने विषयमाथि लेख्न मन थियो । समाजै बदल्छु भनेर लेख्या त होइन, तर वरिपरिका विषय समेटेको हुँ ।

‘ल्यान्ड ह्वेर आई फ्ली’ मा अगस्त्य भन्छ, ‘न्युयोर्क छाड्नु पहिचान पनि छाड्नु हो ।’ के नेपालीहरू अहिले पहिचानको संकटमा छन् ?

नेपालका नेपालीलाई पहिचानको संकट के छ र ? भारतका नेपालीलाई चाहिँ छ । नेपालबाट दूरी कायम राखेका नेपालीलाई एक प्रकारको पहिचानको संकट होला । खोजे भेटिन्छ– सबै मान्छेमा पहिचानको संकट । म आफैं पहिचानको संकटमा छु जस्तो लाग्छ । मेरो मुवाँ नेपालको, बुवा गान्तोकको, परिवारको मूल थलो कालिम्पोङ ।

त्यसलाई नयाँ पहिचानका रूपमा पनि लिन सकिन्छ होला नि ?

वास्तवमै हो, सुजीव शाक्यले भनेझैं त्यसलाई ‘ग्रेटर हिमालयन आइडेन्टिटी’ का रूपमा लिए हुन्छ । नेपाल, भारत, भुटान जहाँको नेपाली भए फरकपनले अलग हुनुभन्दा समानताले एकताबद्ध हुनु राम्रो ।

तपाईंको तेस्रो पुस्तक कहिले आउँछ ? यसअघि जयपुर साहित्य महोत्सवमा ‘झट्टै आउँदैन’ भन्नुभएको थियो नि !

धेरै समय लाग्दैन होला अब । अहिले लेख्न मज्जा आइरहेको छ । नयाँ प्रोजेक्टमा काम गरिरहेको छु । यो विषय पहिलो र दोस्रोभन्दा फरक हुनसक्छ । गैरआख्यान पनि हुनसक्छ त्यो । र, त्यो हिमालय क्षेत्रमै आधारित हुन्छ ।

प्रकाशित : भाद्र १६, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?