कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘चिली’ सिकागो ब्वाइजको प्रयोगशाला

सिकागो ब्वाइजका अगुवा सर्गियो डे क्यास्ट्रो र अर्नेस्टो फन्टेनलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले देशान्तर घुमाए र नवउदारवादी बजार अर्थशास्त्रको विकास–गाथा अनि सफलताको अनुभव सुनाउन लगाए ।
हरि रोका

सन् २०१५ मा निर्माण भएको ‘सिकागो ब्वाइज’ नामक डकुमेन्ट्रीमा अर्थशास्त्री आर्नेल्ड हार्वर्गरले भनेका थिए, ‘१९९५ सम्मै पनि चिली सुन्दर गहनाजस्तो देखिएको थिएन, तर अहिले गहना बनेको छ ।’ हार्वर्गर (१९२४) तिनै अर्थशास्त्री हुन्, जसले सिकागो विश्वविद्यालयमा सन् १९५३ देखि १९९१ सम्म प्राध्यापन गरेका थिए ।

‘चिली’ सिकागो ब्वाइजको प्रयोगशाला

विश्वविद्यालयअन्तर्गतकै ‘सिकागो स्कुल अफ इकोनोमिक्स’ मा (१९५० दशकको मध्यान्हदेखि) मिल्टन फ्राइडमेन (प्राइस थ्यौरी), मार्टिन जे. वेली (म्याक्रोइकोनोमिक्स), लियोद मेजलर (इन्टरनेसनल ट्रेड), ग्रेग लेविस (श्रम), हार्वर्गर (पब्लिक फाइनान्स) र टेड सुल्ज (कृषि) लगायतको कोर टिम थियो । फ्राइडमेन नवउदारवादी अर्थशास्त्रका पितातुल्य मानिन्छन् ।

चिलीबाट सन् १९५५ देखि सिकागो स्कुल अफ इकोनोमिक्समा पढ्न आएका विद्यार्थीको समूहलाई ‘सिकागो ब्वाइज’ भन्ने गरिन्छ । फ्राइडमेनको स्वतन्त्र–बजार अर्थशास्त्रको दर्शनलाई यिनै सिकागो ब्वाइजहरूले नै फौजी तानाशाह अगस्तो पिनोचेको शासनकालमा व्यवहारमा उतारे, जुन बेला पहिलो शीतयुद्ध अकासिएको थियो । त्यो समय अमेरिकाले समाजवादी तथा मिश्रित अर्थतन्त्रको विश्वव्यापी प्रभावलाई निस्तेज तुल्याउन नयाँ–नयाँ प्रोजेक्टहरू अगाडि सारिरहेको थियो ।

दोस्रो विश्वयुद्धलगत्तै दक्षिण अमेरिकी मुलुकहरूमा शताब्दियौंदेखि सामन्त, पुँजीपति, कर्मचारी तथा फौजीतन्त्रको जालसाजीमा जकडिएको राज्य संयन्त्रविरुद्ध आम जनताको जनजागरण र विद्रोह सुरु भएको थियो । दोस्रो विश्वयुद्धको समाप्तिसँगै अधिकांश मुलुकले साम्राज्यवादी उपनिवेशिक चंगुलबाट मुक्ति पाइसकेका थिए । उनीहरूमध्ये धेरै प्रजातान्त्रिक समाजवादी र मार्क्सवादी समाजवादतर्फ आकर्षित हुन पुगेका थिए । यस्तो सैद्धान्तिक वैचारिकी तथा राजनीतिक परिवेशबाट मानिसहरू प्रभावित नहुन् भनेर अमेरिका लगायतका मुलुकहरू उपाय खोजिएका थिए । सोही आकांक्षा पूरा गर्न सन् १९५५ मा अमेरिकी सरकार तथा सिकागो विश्वविद्यालयको सहकार्यमा चिलीका विश्वविद्यालयबाट उच्चशिक्षा हासिल गर्न विद्यार्थी बोलाउने सम्झौता भयो । सुरुकै खेपमा (१९५५ देखि ५७ को बीच) ९ जना विद्यार्थी सिकागो विश्वविद्यालय पुगे ।

ती ९ जनामध्ये १९७३ कूपछि सर्गियो डे क्यास्ट्रोले आर्थिक नीति निर्माण टिमको प्रमुख, इकोनोमिक तथा वित्तमन्त्रीका रूपमा अगस्तो पिनोचेको सत्तामा काम गरे । १९९० पछि नवउदारवादी बजार अर्थतन्त्रलाई निरन्तरता दिन सिकागो ब्वाइजमध्येकै कार्लोस मसाद अघि सारिए । त्यस हिसाबले लगभग ५ दशकसम्म चिलीको अर्थतन्त्रमा नवउदारवादी बजार हावी रह्यो । दक्षिणी गोलार्द्धका अधिकांश मुलुक, सोभियत संघको विघटन र पूर्वी युरोपेली समाजवादको पतनपछि पूर्वी युरोपेली देशहरूका लागि मोडेल बन्न पुग्यो– चिलीले परीक्षण र प्रयोगमा ल्याएको अर्थतन्त्र । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता संस्थाले १९९० देखि २००९ सम्म ‘सिकागो ब्वाइज’ भनी चिनिएका चिलीयन अर्थशास्त्री सर्गियो डे क्यास्ट्रो र अर्नेस्टो फन्टेनलाई देशान्तर घुमाए । र, नवउदारवादी बजार अर्थशास्त्रको विकास गाथा अनि सफलताको अनुभव सुनाउन लगाए । प्रोफेसर सेवास्टियन एडवर्ड्सले आफ्नो किताब ‘द चिली प्रोजेक्ट ः द स्टोरी अफ द सिकागो ब्वाइज एन्ड द डाउनफल अफ नियोलिवरालिजम’ (प्रिन्स्टन विश्वविद्यालय प्रेस, सन् २०२३) को सुरुवातमै यो वर्णन पस्किएका छन् ।

आधा दर्जनभन्दा बढी किताब लेखिसकेका सेवास्टियन क्यालिफोर्निया विश्वविद्यालयको ‘यूएससीएलए स्कुल अफ म्यानेजमेन्ट’ मा प्राध्यापन गर्छन् । चिलीमा जन्मिएका यी अर्थशास्त्रीले आर्नेल्ड हार्वर्गरकै मातहतमा सिकागो विश्वविद्यालयको त्यही स्कुलबाट पीएचडी गरेका हुन्, जहाँ सिकागो ब्वाइजहरूले डिग्री हासिल गरेका थिए । नवउदारवादी अर्थराजनीतिमाथि नैतिक समर्थन गर्ने उनले २०१९ मा भएको चिलीको विद्रोहात्मक आन्दोलनपछि यो किताब लेखेका हुन् ।

...

१९६३ देखि १९७० सम्म पहिलो लटमा सिकागो स्कुल पढेर फर्किएका पिनोचेको भावी क्याबिनेट मन्त्रीहरूले ७४ भन्दा बढी रिसर्च आर्टिकल लेखे, जसमा सर्गियो डे क्यास्ट्रो, सर्गियो डे ला कौड्रा तथा रल्फ लुडर्सहरू बढी सक्रिय रहे । उनीहरूले मनिटर हार्वर्गर, लिवस, जोन्सन र टेड सुल्जसँग निकट रहेरै प्राज्ञिक कर्म अघि बढाइरहेका थिए । १९७० मा सम्पन्न निर्वाचनमा सिकागो ब्वाइजहरूले समर्थन गरेका कन्जरभेटिभ क्यान्डिडेट होर्गी अलसेन्दरीलाई हराएर समाजवादी साल्भाडोर अलेन्डे राष्ट्रपति चुनिए । निर्वाचनको त्यो असफलताले उनीहरूले ८ वर्षदेखि सैद्धान्तिक रूपमा उठाइरहेका विषय ओझेलमा पर्‍यो । ती विषय थिए– भन्सार दर घटाउने, सबै वस्तु र सेवाको मूल्य स्वतन्त्र रूपमा बजारलाई जिम्मा लगाउने, उद्योगलाई अनियमन गर्ने, पुँजीबजार स्थापना गर्ने, बजारले नै ब्याजदर तोक्ने, माग र आपूर्तिका शक्तिहरूले विनिमय दर तय गर्ने, वित्तीय घाटा कम गर्ने र मुद्रास्फीति नियन्त्रण गर्ने ।

तर, साल्भाडोर राष्ट्रपति चुनिएपछि अमेरिका तर्सियो । सेप्टेम्बर ६, १९७० मा ‘न्युयोर्क टाइम्स’ ले ‘चिलियन मार्क्सवादी अलेस्डेले राष्ट्रपतिको चुनाव जिते’ शीर्षकमा मुख्य समाचार छाप्यो । समाचार विश्लेषणको अन्त्यमा थियो– चिलीले क्रान्तिकारी क्युबाकै बाटो रोज्ने भविष्यवाणी । अलेन्डेको पपुलर युनिटीको संयुक्त मोर्चा थियो, जसमा चिलियन कम्युनिस्ट पार्टी, चिलियन समाजवादी पार्टी तथा अरू दुई साना पार्टीहरू सामेल थिए । उनीहरूको साझा कार्यक्रम थियो– लोकतान्त्रिक प्रणालीको रक्षा, धार्मिक स्वतन्त्रता तथा स्वतन्त्र न्यायालयसम्बन्धी प्रतिबद्धता । अलेन्डेले जितेको दुई महिनाभित्रै धनाढ्य देशका ठूला मिडिया, देशभित्रकै राष्ट्रिय खबरहरूमा अलेन्डेको जितले अर्थराजनीतिमा पार्ने नकारात्मक प्रभावबारे सयकडौँ लेख छापिए । लेखहरूको मूल आशय थियो– चिलीको अर्थतन्त्र अब सखाप हुनेछ ।

अलेन्डेले सत्ता सम्हाल्दाकै बखत बैंकहरूमा नगद प्रवाह एकदमै घट्यो, स्टक मार्केट लगभग समापनमै पुग्यो, धनाढ्य व्यापारीहरू अत्तालिए, ती भन्थे– अब सबै क्युबाको जस्तै हुन्छ । निर्वाचनको एक महिनाभित्रै चिलियन मुद्रा पेसो १८ को एक डलरबाट ६५ पुग्यो अर्थात् २६० प्रतिशतले वृद्धि भयो । सेप्टेम्बर १५ कै दिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन, उनका नेसनल सेक्युरिटी एडभाइजर हेनरी किसिन्जर, सीआईए डाइरेक्टर रिचार्ड हेल्म्स, एटोर्नी जेनरल जोन मिचेलहरूले ‘अपरेसन फुबेल्ट’ बनाए र चिलीको अर्थतन्त्र अस्तव्यस्त बनाउन प्रयत्न गर्ने निर्णय गरे (पृष्ठ. ७२) । अलेन्डे सत्तारूढ भएको एक महिना नपुग्दै सीआईएको पहल र रिटायर्ड जेनरल रोवर्टो भौक्सको नेतृत्वमा ‘कू’ को योजना बनाइयो, तर पहिलो प्रयास असफल भयो ।

‘न्युयोर्क टाइम्स्’ का तत्कालीन संवाददाता जोसेफ नोभित्सकीले अलेन्डेको सरकारले अघि सारेका कार्यक्रमलाई सारमा यसरी प्रस्तुत गरेका थिए, ‘नवनिर्वाचित राष्ट्रपतिको सत्तामा सहभागी दलले चिलीको खानी तथा आधारभूत उद्योग, बैंक, बिमा र विदेश व्यापार राष्ट्रियकरण गर्नेछन् । उनीहरूले आर्थिक, सामाजिक विकासको प्रारूपका रूपमा निजी र व्यावसायिक तवरमा चलाइएका ठूला फार्म राष्ट्रियकरण गरेर भूमिसुधारको एजेन्डालाई कार्यान्वयनमा ल्याउनेछन् (पृष्ठ ७२) ।’ त्यस्तै एक अन्तर्वार्तामा अलेन्डे आफैंले भनेका थिए, ‘हामी सबै कुरा राज्यको नियन्त्रणमा लिँदैनौं खासगरी रणनीतिक रूपमा एकाधिकारको अधिकार प्रयोग गरिरहेका कम्पनीहरूको राष्ट्रियकरण गरिनेछ (पृष्ठ ७३) ।’ जुलाई १९७१ मा यूएस कर्पोरेसनले कब्जा जमाएको विश्वकै सबैभन्दा ठूलो तामा खानी सरकारले राष्ट्रियकरण गर्‍यो । त्यही वर्ष ठूला फार्महरूलाई राष्ट्रियकरण गरी जमिनको वितरण, व्यवस्थापन गर्न भूमिसुधार आयोग गठन गरियो । त्यसपछि अलेन्डे सरकारलाई प्रमुख विपक्षी र आपूर्ति सञ्जाल व्यवस्थापन गर्ने यातायात कम्पनीमार्फत अमेरिकाले परोक्ष रूपमा घेराबन्दी गर्न थाल्यो । आपूर्ति असहज हुँदा अत्यावश्यक सामानको अभावमा मुद्रास्फीति अत्यधिक बढ्यो । धनाढ्यहरूबाट पुँजी पलायन र अलगानीका कारण वैदेशिक मुद्राको सख्त अभाव हुन पुग्यो, भुक्तानी असन्तुलन बढ्यो । त्यसमाथि मिडियाहरूले ‘अब अमेरिकाले कुनै पनि हालतमा सरकार अपदस्थ गराउँछ’ भन्ने प्रचार गरियो र ल–एन्ड अर्डरकै समस्या पनि सुरु भयो । त्यसको २ वर्षपछि अर्थात् सेप्टेम्बर ११, १९७३ मा जेनरल अगस्तो पिनोचेको नेतृत्वमा ‘कू’ गरियो र निर्वाचित समाजवादी राष्ट्रपति अलेन्डेलाई निवासमै आत्महत्या गर्न विवश तुल्याइयो ।

...

योजनाअनुरूप नै सिकागो ब्वाइजहरू फौजी जुन्टाको सरकारमा सामेल भएर अर्थतन्त्रको खाका कोर्ने जिम्मा लिए (पृष्ठ ९०) । सर्गियो डे क्यास्ट्रो तथा इमेलियो सनफन्तेसको नेतृत्वमा ‘द ब्रिक’ नाम दिइएको ११ जना अर्थशास्त्रीको कोर टिमद्वारा खाका तयार पारियो । त्यस टिमले ८ बुँदे लक्ष्य निर्धारण गर्‍यो– लोकतान्त्रिक पद्दतिभित्रै बृहत् आर्थिक वृद्धि हासिल गर्ने, अत्यधिक दरिद्रता हटाउने, केटाकेटी र बूढाबूढीका लागि सामाजिक कार्यक्रम तयार पार्ने, सबैलाई बराबर मौका उपलब्ध गराउने, पूर्ण रोजगारी (उत्पादनमूलक) उपलब्ध गर्ने, मूल्य र राजनीतिक स्थायित्व कायम गर्ने, वैदेशिक परनिर्भरता बिस्तारै कम गर्दै लैजान वैदेशिक मुद्रा आर्जन बढाउने र राजनीतिक प्रशासनको विकेन्द्रीकरण गर्ने । यो खाका तयार पार्दा उनीहरूले ‘नवउदारवादी क्रान्ति’ शब्द कतै लेखेका थिएनन् ।

मिलेटरी जुन्टाको शासनमा सबै राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । आर्मी प्रशासनभित्रको विपक्षी विचारकलाई जेनरल पिनोचेले एकपछि अर्को गर्दै तह लगाएर आफूलाई राष्ट्राध्यक्ष घोषणा गरे । तर, उनले सिकागो ब्वाइजका काममा हस्तक्षेप गरेनन्, हस्तक्षेप हुन पनि दिएनन् । फलस्वरूप माथि उल्लिखित द ब्रिकले १९७३ देखि १९९० को लगभग १७ वर्षमा आाफ्ना नवउदारवादी नीतिहरू निर्बाध ढंगले कार्यान्वयन गर्‍यो ।

...

१९९० मा अगस्तो पिनोचेको फौजी शासन अन्त्य भयो, प्रजातन्त्र बहाली भयो । पेट्रिसियो आल्विनदेखि सेवास्टियन पिनेरासम्म ७ कार्यकालमा ५ जना राष्ट्रपति भए । उनीहरूले सिकागो ब्वाइजले निर्माण गरेकै आर्थिक नीतिलाई नै निरन्तरता दिए । तर, सेवेस्टिअन एडवार्ड लेख्छन्, ‘२०१९ को आन्दोलनपछि जन्मभूमि चिलीमै नवउदारवादको अवसान भएको छ ।’ प्रोफेसर आर्नेल्ड हारवर्गरले दाबी गरेझैँ, चिलीका जनताले नवउदारवादले बनाउन खोजेको गहनालाई कुरूप ठानिदिए त्यसको अहिले पतन भएको छ ।

प्रकाशित : श्रावण १३, २०८० १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?