आफू हिँड्नुपर्ने राजमार्ग
बनाउँदै नबनाउनु
बनाइएछ भने अति कमजोर बनाउनु
एकै वर्षाले बगाउने
एकै पहिरोले लडाउने
एकै वर्ष पनि नटिक्ने
टिकेछ भने भत्काउने बहाना खोज्नु
र, त्यही कमजोर राजमार्ग खनेर
कुनै न कुनै बहानामा
खाल्डो बनाउनु
हिलाम्य गराउनु
धूलाम्य चलाउनु
एक शताब्दी भयो
यो दुरुह इतिहासको सिलसिला
न व्यवस्थाले बुझ्यो
न बुद्धिजीवीले खोज्यो
कहाँ अलमलिइरहेछ
कहाँ भुलिरहेछ
हिजोकोलाई क्षमा दिए पनि
आजसम्म कुनै वर्तमानले नबुझ्नु
यो देशमा
क्रान्ति हुनु
जुलुस हुनु
राजनीतिक परिवर्तन हुनु
व्यवस्था परिवर्तन हुनु
पार्टी, नेता सबै
नयाँनयाँ हुनु
तर, यो अव्यवस्था
कहिल्यै परिवर्तन नहुनु
म सोधिरहेछु म आफैंलाई
यो के भएको हो ?
के यो देशको राजमार्गमा
सधैं खाल्डो खन्नेहरुकै मात्र
विजय हुनेछ ?
मेरो घरबाहिरको चिल्लो सडक
के सुदूर सपना मात्रै हुनेछ ?
मेरो देशको गन्तव्यमा पुग्न
सधैं अरु देशको राजमार्ग मात्रै रोज्नुपर्नेछ ?
प्रकाशित : असार २३, २०८० १०:००