२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९
फिल्म अनुभूति

मनमा फुलेको ‘नीरफूल’

स्युरल्हामोको जीवनमा शृंखलाबद्ध थपिएका विपत्तिहरूको बेलिबिस्तार हो फिल्म
बिना थिङ

अचानक उभिएको धर्ती हल्लियो । नजिकै थियो ढुङ्गामाटोले ठडिएको घर, हेर्दाहेर्दै गर्ल्याम्म ढल्यो । हेर्दाहेर्दै छेउछाउका पहरा खसे । डाँडा र फाँट दुवैतिरका घरहरू ढल्न थाले । धूलोको कुहिरोले ढाक्यो संसार । कोलाहल छायो । अत्यासले अत्तालिए सबै । यी सब अचानक भएका थिए । योजनाबद्ध रूपमा त म पो हिँडेकी थिएँ, नुवाकोट ।

मनमा फुलेको ‘नीरफूल’

बाटोमा एकैछिन सुस्ताउन चियापसलमा छिरेकी थिएँ, त्यहीबेला आइपुग्यो भूकम्प । जमिनमा मात्र होइन हृदयमा पनि गयो । सारा संसारै बिर्सिएँ । केवल सम्झिएँ, काठमाडौंको घरमा छोडिराखेका छोराछोरी सकुशल छन् कि छैनन् ? आफू जीवित भएको ढुक्क भएपछि सबैभन्दा पहिले आफ्नै मुटुका टुक्रा सम्झिँइदोरहेछ । भूकम्पले केवल जमिन हल्लाएको थिएन, सिङ्गो संरचना पनि हल्लिएको थियो । नेटवर्क थिएन । सडक अवरुद्ध थियो । छटपटिको अन्त्यहीन शृंखला त्यसपछि सुरु भयो ।

काँपिरहेको धर्तीमा हल्लिँदै, अत्तालिँदै घर आइपुगेँ, ६ घण्टा पैदलै हिँडेर । अत्यास, अन्योल, भय र आमाको प्रतीक्षा अनुहारमा टाँसेर चौरमा टुक्रुक्क बसिरहेका छोराछोरी भेटेपछि बल्ल मनभित्रको १० रेक्टरको भूकम्प रोकियो । तर, पाङसाङ (रुबी भ्याली) की स्युरल्हामो (शान्ति वाइबा) को हदयको भूकम्प रोकिएन, गइरह्यो–गइरह्यो । ऊ त्यही महाभूकम्पमा घाइते भएकी छोरी पिङचावतीको खोजीमा काठमाडौंमा महिनौँ भौँतारिइरही । तैपनि पिङचावती फेला पारिन । बरु थप विपत्ति आइलागे । स्युरल्हामोको जीवनमा शृंखलाबद्ध थपिएका तिनै विपत्तिको बेलिबिस्तार हो, ‘नीरफूल’ ।

‘नीरफूल’ को पहिलो दृश्यमा म्हाने, लुङ्दर र सुन्दर खर्क देखिन्छन् । हरिया खर्कहरूमा भेडाका बथानसँगै देखिन्छन्– चेन्जारोङ (दयाहाङ राई), जो स्युरल्हामोको लोग्ने हो । ती दम्पतीका एक छोरी छिन्, पिङ्चावती । चेन्जारोङको समय स्युरल्हामोसँग इत्रिनु, पिङचावतीको ध्यान राख्नु र भेडाका बथानसँगै कहिले खर्क, कहिले गाउँ गर्दै फुत्किरहन्छ । स्युरल्हामो भने समयलाई पोल्टोमै कैद गर्न चाहन्छिन् । हिउँदमा गोठसहित लेक उक्लनु अनि वर्षामा बेंसी झर्नु हिमाली भेगको जीवन हो– जुन देख्न सुन्दर छ, भोगाइ कष्टकर । त्यसैले उनी त्यो कष्टबाट मुक्त हुन चाहन्छिन् । त्रिशूली बजारमा घर बनाएर अस्थिर जीवनशैलीलाई स्थायित्व दिन चाहन्छिन् । छोरीलाई स्याफ्रुबेंसी पढाउन चाहन्छिन् । थाहा छैन– सपना र आकाङ्क्षाको छितिज कति परसम्म पुग्न सक्छ ? स्युरल्हामोको महत्त्वाकांक्षाको वेगले भने एक दिन भेडीगोठबाट चेन्जारोङलाई उडाउँदै मलेसिया पुर्‍याउँछ ।

यी दृश्यले मलाई बाल्यकालीन दिनमा पुर्‍याए । कुनै दिन म पनि फरफराइरहेको लुङदर, थपक्क बसेको चैत्य र असरल्ल छरिएका हरिया बुट्यान हुँदै लेक जाने बाटोमा चाक्ला ढुंगाको स–साना म्हाने बनाउँदै बासँगै लेक उक्लिन्थेँ । बेंसी ओर्लन्थेँ । स्युरल्हामोले जसरी मेरी आमाले पनि मलाई कुनै राम्रो स्कुलमा पढाउने सपना देखेकी थिइन् । सानै भए पनि डेरा सरिरहनुनपर्ने आफ्नै घर बनाउन चाहन्थिन् । बा भने लेकबेंसी गरेरै जिन्दगी गुजार्न चाहन्थे । तर, हठी थिइन् आमा । एक दिन मामाको साथ लागेर मलाई डँडाल्नोमा बोकेर लेक छोडिन् । पहिलो दिन पैदलैपैदल हिँडेपछि बल्ल गाडी चढ्ने ठाउँ आइपुग्यो । अर्को एक दिनभर बसको यात्रा गरेर हेटौंडा पुगिन् । राम्रो स्कुल खोजेर भर्ना गरिदिइन् । आमाको हठका अघि बाको रहर पराजित भयो । हारेका बा हेटौंडा झरे । मैले ‘नीरफूल’ मा मेरी आमाजस्तै स्युरल्हामो भेट्टाएँ ।

सिनेमा हलको ठूलो स्क्रिनमा स्युरल्हामोको कथा चल्दै थियो । म भने स्मृतियानमा चढेर विगत विचरण गर्दै थिएँ । स्युरल्हामोमा मैले आमाको सपना र चेन्जारोङमा बाको बाध्यता भेटेँ । कथा मिलेपछि मन मिल्दोरहेछ । स्युरल्हामो, चेन्जारोङ र पिङचावतीबीचको तामाङ भाषाको संवादले द्रवित भइरहेँ । आखिर मेरो बाल्यकाल पनि त यस्तै ध्वनि–तरङहरूमा बितेको थियो । बा–आमाको तामाङ वार्तालाप सुनेरै हुर्केकी थिएँ । यहाँसम्म ‘नीरफूल’ को कथा र मेरो कथा उस्तैगरी बगिरह्यो ।

चेन्जारोङ मलेसिया गएपछि भने भूकम्पको प्रलयमा परेको ‘नीरफूल’ को कथा र मेरो जीवनको कथा अलग भएर बग्न थाल्यो । भूकम्पमा पिङचावती घरभित्र पुरिन्छिन् । बारीमा काम गरिराखेकी स्युरल्हामो बेहोस हुन्छिन् । उद्धारकर्ताहरूले घाइते पिङचावतीलाई थप उपचारका लागि काठमाडौं पठाइदिन्छन् । यो नै फिल्मको ठूलो घुम्ती हो । अर्थात् फस्ट टर्निङ प्वाइन्ट ।

यहीँबाट सुरु हुन्छ नीरफूलको मूलकथा । आमा गाउँमा, छोरी काठमाडौंमा र बाउ मलेसियामा । तीनै जना पात्रहरूको एक्लाएक्लै संघर्षको कथा रफ्तारमा अघि बढ्छ । कथालाई अघि बढाउँछ पिङचावतीको अबोध चिच्याहट ‘आमा निबा’ ले । आमा निबा अर्थात् आमा जाने । काठमाडौंमा उपचाररत पिङचावती पर्वते भाषा बोल्न जान्दिनन् । बुझ्दा पनि बुझ्दिनन् । उनी आमा–बुबासँग, गाउँलेसँग तामाङ भाषाको ध्वनिबीच, लुङदरको लयसँगसँगै हुर्केबढेकी हुन् । बाटामा, देउरालीमा स–साना ढुङ्गाहरूको म्हाने बनाएरै उमेरका बात्सल्य सिँढीहरू उक्लेकी हुन् ।

अपरिचितका भीडमा उनी एकहोरो मातृभाषामा ‘आमा निबा’ को रट लगाइरहन्छिन् । कसैले मातृभाषामा ‘घर कहाँ ?’ सोध्दा ‘पाङसाङ’ भन्छिन् । राज्यले बोल्ने भाषा र समुदायले बोल्ने भाषाबीचको यो द्वन्द्व नै फिल्मको आत्मा हो, जसले कथालाई नयाँ मोड दिन्छ । एकातिर भाषा नजान्दा पिङचावतीको परिचय खुल्दैन, अर्कोतिर गाउँघरमा परिचित स्थान ‘पाङसाङ’ को नाम परिवर्तन भएर ‘रुवी भ्याली’ बनिसकेको हुन्छ । यसरी पिङचावती याम्बु (काठमाडौं) को भीडमा कहिले कथित नेता त कहिले बालतस्करको फन्दामा परिरहन्छिन् । उता होसमा आइसकेपछि स्युरल्हामो छोरीको खोजीमा काठमाडौं झर्छिन् । स्वार्थी मानिसका बीचमा अनेकन् हन्डर खाँदै ‘इज्जत’ दाउमा राखेर महिनौं भौंतारिरहन्छिन्– याम्बुको अपरिचित भीडमाझ ।

यसैबीच चेन्जारोङ नेपाल फर्किन्छन् र आमाछोरीको खोजीमा लाग्छन् । अन्त्यमा चेन्जारोङले पिङचावतीलाई त भेट्टाउँछन्, तर स्युरल्हामोलाई फेला पार्न सक्दैनन् । स्युरल्हामो यो स्वार्थी दुनियाँको जालोमा बेरिएर निस्किन सक्दिनन् । पिङचावतीलाई लिएर चेन्जारोङ गाउँ फर्किन्छन् । बाटोमा भेटिने खोलामा तामाङ परम्पराअनुसार प्रार्थना गरेर नीलो रङको फूल बगाउन खोज्छन् । यो फिल्मको अन्तिम दृश्य हो । यतिखेर पिङचावती भन्छिन्, ‘आबा चुराङबा म्हेन्दो लाता फुल्बा आता रो ।’ (यस्तो रङको फूल देउतालाई चल्दैन रे ।) जवाफमा चेन्जारोङ भन्छन्, ‘तारे चलाब लातोला ।’ (अब चलाउनुपर्छ ।) फिल्मको मर्म यही संवादमा उच्चतम तहमा प्रवाह भएको छ । नेपालका विविध भाषा, संस्कृति, समुदायलाई नीरफूलजसरी नै मूलधारले लामो समय ‘चल्दैन’ भनिरह्यो । अरू फूलजसरी नीरफूलको पनि अस्तित्व छ । के अब यो भगवान्लाई चल्नुपर्दैन ? ऐन, कानुन र कागजमा मात्रै चलाएर हुन्छ कि साँच्चिकै व्यवहारमा पनि चलाउने ?

फिल्म हेरिसकेपछि सोचमग्न भएँ– फिल्मको एक चौथाइ दृश्यमा तामाङ भाषाको संवाद, जनजीवन, संस्कृति पस्केर लेखक, निर्देशक फूलमान वलले किन यत्रो जोखिम लिए ? पिङचावतीको चरित्र निर्माणलाई विश्वसनीय बनाउन यो जरुरी पनि छ, पटकथाको संरचना अनुसार । यदि गाउँको दृश्यमा पर्वते भाषाको प्रयोग भएको भए भाषाकै कारण बच्ची हराउने सन्दर्भ र त्यसपछि विकास हुने केन्द्रीय द्वन्द्वको कुनै पुष्ट्याइँ हुने थिएन । तामाङ भाषीइतरकाले यसलाई कसरी स्विकार्लान् ? थाहा छैन । यत्ति थाहा छ, युगौंयुगदेखि राज्यले नचिनेको समुदायको अव्यक्त पीडा बोकेको छ यसले । सीमान्तमा पन्छाइएकाहरूले यसमा पक्कै पनि आफ्नो आवाज भेट्टाउनेछन् । जब दर्शकले फिल्ममा आफूलाई भेट्छ, तब त्यो फिल्ममा मात्रै सीमित रहँदैन । त्यो आफैंमा एउटा हुँकार बन्छ ।

वलले अर्को दुस्साहस पनि गरेका छन् । पहिचानको मुद्दाको समुदायगत परिधि फराकिलो पारेका छन् । र, आफ्नो समुदायको कथा भन्न कसरी बजारिया मनोरञ्जनको फर्मुलाबाट मुक्त छ ? त्यो ‘नीरफूल’ मा देखिन्छ । पात्रहरूको नामकरणमा बोन र बौद्ध दुवै सभ्यता मिसाएका छन् । चेन्जारोङ बोन परम्पराको नाम, स्युरल्हामो हिमाली बौद्ध परम्पराको । आजको सिङ्गो तामाङ सभ्यता यही दुई परम्पराको फ्युजन हो । फिल्मको कथावाचन सरल र एकरेखीय छ, जसरी तामाङ समुदाय सरल, सोझा र एकरेखीय (एकलकाँटे) छ । फिल्मका धेरै पक्षमाथि थुप्रै समाजशास्त्रीय बहस गर्न सकिन्छ । अहिले यत्ति भनौं– जब कसैले आफूले जस्तै कुरा गर्छ, मानिस खुसी हुन्छ । जब कसैले आफूले भन्न चाहेको तर नजानेको कुरा गरिदिन्छ, झन् खुसी हुन्छ । ‘नीरफूल’ ले यही दोस्रो प्रकारको खुसी दिएको छ ।

प्रकाशित : असार २, २०८० १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?