२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
मान्छेको कथा

झरी र ओतको रस्साकसी

पशुपतिमा दसै दिशाबाट ओइरिएका छन् मान्छे, कसैले यहाँ ओत पाएका छन्, कसैले ओत कमाएका छन्, कसैले ओत बनाएका छन्
विश्‍व सिग्देल

झरी हराएको छैन । म पशुपतिमा छु । शिवलिङ्गहरूको भीडमा म पुलिङ्ग ओत लागेको छु । यतिखेर शिवलिङ्ग र यो पुलिङ्गको सिनारियो एउटै छ । दुवैमाथि एउटै ओत छ । झरी रोकिएपछि यो सिनारियो परिवर्तन हुनेछ । म ओतबाट निस्कनेछु र अर्को ओतमा पुग्न हतार गर्दै हुनेछु । शिवलिङ्ग अर्को झरीको प्रतीक्षामा उही ओतमै हुनेछ । यो त पछिको कुरा भयो । अहिले झरी परिरहेछ ।

झरी र ओतको रस्साकसी

पशुपति आर्यघाटमा झरीमा घ्यू र चिनी सबभन्दा बढी खपत हुन्छ । झरीको बल्दै गरेको लास निभाउने यत्न र लास पोल्नेको बाल्ने यत्नबिच किलोको किलो घ्यू र चिनी लासमा चढाइन्छन् । छिनमा झरीले जित्लाजस्तो, छिनमा घ्यू–चिनीले जित्लान्जस्तो कहिलेकाहीँ हराएकालाई अझ हराउन कत्रो यत्न चाहिने रहेछ । झरीमा बल्दै निभ्दै गरिरहेका लास हेरेर म बुझ्दै छु ।

त्यसो त जीवनमा धेरै कुरा हराएर जान्छन् । केही राखेको ठाउँबाटै नदेखिने बन्छन् । क्रमशः अदृश्य बन्छन्, फेला पर्दैनन् वा भनूँ अलप हुन्छन् । जस्तो कि अतीत बन्दै गइरहेको वर्तमानको पूर्वार्द्ध । बिस्तारै मुटुका कोमल पत्रमा कोरिएको चित्रमाथि अर्को चित्र पलाउनु र ढाक्दै जानु, छोप्दै जानु नयाँ पत्रले पुरानो पत्रलाई । अनि पुरानो चित्र फसिल बन्नु । नाकबाट त्यो चित्रको बास्ना हराउँदै जानु, कानबाट सर्सराहट हराउँदै जानु– सप्पैसप्पैको साक्षी म यो झरीको साँझ आर्यघाटको चिताको जल्दै, हराउँदै गइरहेको लासमा एकोहोरिएको छु ।

जीवनमा कत्ति कुरा मैले हराओस्, जाओस्, बिलाओस्, थिएनझैं होस् भन्ने चाहेको छु । कत्ति कुरा खील पल्टोस्, तर रहोस् भन्ने चाहेको छु । तर, जीवन त दुखियाको खरको छानो जत्तिकै छ । झरी पर्छ, बेस्सरी पर्छ । डेक्ची, बाटा, कराई, थाल, कचौरा नथापी धरै छैन । जत्ति थापे पनि झरीपछि ओभानो हृदयको एक चोक्टा भुइँ पनि भेटिँदैन । सप्पै–सप्पै लछ्र्रप्रै भिजेको हुन्छ । र, यो जीवन हराउनु/भेटिनुको घामछाया भएर ओत खोज्दै हिँडिरहन्छ ।

टाउकोमाथि बाआमाको पँखेटाको ओत हुँदा हामी स्वप्निल संसारमा एउटा ओत खोज्दै हिँड्थ्यौं । घण्टौंसम्म एन्टिनियो रिच्ची हुन्थ्यौं हामी ‘द बाइसाइकल थिफ’ को अनि उसले टाँसेझैं सिनेमाका पोस्टर, हामी परिवर्तनका पोस्टर टाँसिबस्ने सपना देख्थ्यौं बनेपाका गल्ली गल्छेडाहरूमा । पोस्टर टाँस्ने बेलासम्म पुग्दा उता एन्टोनियो रिच्चीको साइकल चोरी भइसक्थ्यो । यता साथी तारानाथ सापकोटालाई छोडेर मलाई घर फर्कन ढिला भइसक्थ्यो । बीचमै कविता बाँच्न छोड्नु कत्रो ट्रेजेडी लाग्थ्यो नि हामीलाई ? म घर जान्नथेँ । हामी लछप्रै शीत पर्दासम्म नयाँबस्तीका फाँटहरू घुमिबस्थ्यौं । २०५६/०५७ सालताका मनग्य धान फल्ने फाँटहरू बाँकी थिए बनेपाको नयाँबस्तीमा ।

घ्यू र चिनी बढी खपत हुन्छ आर्यघाटमा । छिनमै झरीले जित्लाजस्तो, छिनमै घ्यू–चिनीले जित्लाजस्तो । घाटमा बल्दै–निभ्दै गरिरहेका प्रत्येक लासले नयाँ कथा भन्छन् ।

भात कुर्दाकुर्दै थाकेर सबैले खाना खाइसकेको तारानाथको घरमा ऊ र म सुटुक्क पस्नु, चुपचाप भान्सामा जानु, आमाले तारानाथको भाग उनलाई र मलाई चुपचाप भाग लगाइदिनु र हामीले चुपचाप खानु ! कम्ता मीठो कविता थिएन यसमा । त्यसपछि चुपचाप कोठामा पस्नु र ढोका बन्द गर्नु अनि कहिल्यै नसकिने विचार, विवेचना, गन्थन र मन्थन ! कहिले कवि आफ्ना कवितामा आफैं कन्फ्युज हुनु ! ठीक कि बेठीक भन्दै ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ मा हामी होमिन्थ्यौं । कहिले ‘एन्ड क्वायट फ्लोज द दोन’ मा सोलोखोभसँग दोन उपत्यकाको पीडा र सङ्घर्षसँग उकासिन्थ्यौं । रात बिलकुल छोटो हुन्थ्यो हाम्रो ओत निर्माणको उपक्रममा ।

अँ त, ओतले मलाई किशोरावस्था पार गर्दाताका ओतको खोजीमा बितेका विगतको सम्झनामा कैयौं रातको सम्झनामा भुलाइदियो । त्यसो त जन्मेपछि दिमागका सादा पानामा लेखिन थालेपछि होसका फेहरिस्त ओतको चिन्तनमा बालक भौंतारिन थाल्छ । हामी होमो सापिएन्सका के कुरा होमो इरेक्टस होस् वा नियान्डरथल सप्पैका–सप्पै ओतको खोजीमा भौंतारिन्थे । अक्करे भीरका गुफा या अजङ्गका रूखका छहारी, बस् आफूमाथि ओतको खोजीमा थिए ती । त्यो युगौंदेखिको ओतको खोजी उत्तरोत्तर भएको छ । भौतिक ओतले मात्रै नपुगेपछि दर्शनको ओतको खोजीमा मान्छे भौंतारिएको छ । यो पशुपतिमा, ओतमुनिको म पुलिङ्ग र शिवलिङ्ग दुवै देख्दै छौं । ओत खोज्दै हाम्रा पूर्वजका मिल्दाजुल्दा रूपका बाँदरहरू भिज्दैभिज्दै कहिले यता, कहिले उता गर्दै छन् । मेरा आँखामा नपरेका कीराफट्याङ्ग्रा, कमिला र छिचिमिरा मात्र हुन् र ? मरिसकेको निर्जीव लासै पनि जल्नलाई ओत खोजिरहेछ र यो उज्यालो पशुपति ओतका अँध्यारा कथाहरू आङभरि बोकेर बाँचिरहेको छ ।

ओत खोज्दै–खोज्दै दसै दिशाबाट काठमाडौंमा ओइरिएका मानिसलाई काठमाडौंले ओत दिएजस्तै यो पशुपतिमा पनि दसै दिशाबाट मानिस ओइरिएका छन् । यहाँ कसैले ओत पाएका छन्, कसैले ओत कमाएका छन् अनि कसैले ओत बनाएका छन् । ओतको लुछाचुँडी, ओतको छिनाझम्टी अनि ओतको आर्जनका आर्तनादले पशुपति गुलजार छ । मृगस्थलीका व्यग्र वेदनाथ हुन् वा हनुमानघाटका लाल बाबा, अन्नपूर्ण अखण्ड भण्डारका उमेश गिरी हुन् वा सूर्यघाटका हरिबाबा सबै ओतको जोहोमा पशुपत क्षेत्र भित्रिएका हुन् । दुई–तीन सय भैरव अर्थात् कुकुर पालेर बसेका चुनचुन बाबा हुन्, बस्, गाँस कपास र ओतजस्ता आधारभूत आवश्यकताभन्दा बढी अध्यात्मको ओत खोज्दै पशुपति ढपक्क ढाक्नेको विचित्रको दैनिकीले पशुपति रङ्गिएको छ ।

अघिसम्म ‘फोटो हन्ड्रेड रुपिज’ भन्दै थरीथरी भावभङ्गीमा फोटो खिचाउने नागा बाबा पनि मैजसरी अर्को शिवालयमा ओत लागेका छन् । यो पशुपतिमा शिवरात्रिको छेकोमा आए बग्रेल्ती नभए अन्य समयमा फट्टफुट्ट देखिने नागा बाबाका ओरिपरि सधैं एउटा आकर्षणको घेरोमा बाँधिएको भीड देखिन्छ । त्यहाँ आँखा विस्फारित बनाउँदै जाने, आँखीभौं खुम्च्याउँदै जाने, ओठ लोपार्दै वा धारे हात लगाउँदै जानेको भीडमा उनी घेरिएका हुन्छन् । त्यो आकर्षण देख्दा लाग्छ, जत्ति दर्शन पोतिए पनि, जति सिद्धान्तको ओतमा ओतिए पनि कत्ति चाँडो मानिस आफ्नो आदिम रूपमा फर्कन खोज्छ आफूमाथिको सभ्यताले ओडाइदिएको ओत हटाएर । ओतको अभ्यास जीवनभर रहिरहने तर ओत हटाएर मध्यान्तरमा गइरहने प्रवृत्ति मलाई अनुभूत भइरहेछ । ओतमुनि भारी भरकम ताल्चा झुन्ड्याएर आफूलाई कैद गर्न उद्यत मानिस अचेतनको साँचोले छिनको छिनै आफूलाई मुक्त गर्छ र आदिम सपनाहरूमा रङमगिन्छ । पुनः फर्केर आउनु छ छँदै छ आफू हुँदो ओतमा । साँझ कामबाट मजदुर कुप्रेको ढाड अझ कुप्रो पार्दै फर्केजस्तो वा बोकेर दुई किलो चामल पोलिथिनमा फर्केजस्तो दिनभरि नाम्लो बोकेर महाबौद्धमा लर्‍याङतर्‍याङ गरिरहेको भरिया । तमाम सफलतालाई साटेर दुई किलो चामल वा त मासिक तलबमा हामीभित्रको ‘हामी’ चेतन–अचेतनको खेल खेलिरहन्छ र गरेजस्तै लेकमा च्याङ्बाले घर–गोठ, बस् जीवनभर यो घर–गोठको सिलसिला चलिरहन्छ ।

जोडिने–तोडिने, फर्कने–तर्कने पुनः जोडिने सिलसिला सम्झँदा बुबालाई सम्झन्छु । अड्डाबाट राति घर फर्कँदा उनको जरिकोटको खल्ती जादुको पेटारो हुन्थ्यो । जहाँबाट स्वप्निल स्वादका मिठाई निस्कन्थे । उनका मगजबाट निस्कने समस्याका समाधान, बोलीबाट निस्कने स्पष्ट मार्ग निर्देशन, उनका कथा कहानी, उनको बलियो काख, उनको उँचो काँध सप्पैसप्पैले बुबाको दरिलो ओतमा मलाई झन् सुरक्षित महसुस गराउँथ्यो । समयसँगै म बढेँ । सायद ओतिनुपर्ने मभित्र पनि केही बढ्दै बढ्दै गयो । म अटाइन त्यो बुबाको ओतमा । मेरा मुस्किलहरू बढ्दै गए । मेरा सुस्केराहरू, मेरा अनिदा रातहरू, मेरा काँचा सपनाहरू सप्पै सप्पै नाम मात्रको ओतमुनि शीतले लछ्रप्पै भिज्थे । घामले खङ्ग्रङ्गै सुक्थे । बुबा सिङ्गै ओत बनेर ढाकिदिने कोसिस गर्थे तर एक दिन मेरो सुस्केराले उनलाई उनी जर्जर ओतमा परिणत भइसकेको महसुस गराइछाड्यो । बुबाको अनुहार चैते हावाहुरीले छानो उडाएको बुच्चो घर भएको थियो । मैले भने त्यतिखेर त्यही उडाएको छानाको छ्वालीले आफ्नो मजबुत ओत बनाउन खोजिरहेको पत्तै पाएको थिइनँ । फ्रायडका चेला एडलर र युङ्ग हुँदै उत्तरोत्तर वा त प्लेटोको चेलो अरिस्टोटल बन्ने रहेछ सन्तानको काँचो नियति । यसबीच ओतहरूले लोभ्याउने र निराश बनाउने अनेकौं पलहरूबाट म गुज्रिएँ । सम्बन्धको ओत लागेँ । काँचो हलुवावेद साबित भयो । राजनीतिक दर्शनको ओत लागेँ । आदर्श पात्र च्युत हुँदै जाँदा दर्शनको आकर्षण दर्शनमा मात्र सीमित हुनेरहेछ । मित्रताको ओत लागेँ, आफन्तको ओत लागेँ, कामको ओत लागेँ, घर, पाटी, रूखको, ढुङ्गाको ओत लागेँ । थाकेर पुनः फर्कन चाहिँ बुबाको ओतमा बुबा गइसकेपछि ।

सायद मभित्र उमेरसँगै ओत लाग्नुपर्ने ‘म’ पनि खुम्चँदै गइरहेको छ । म अझै ओतको खोजीमा भौंतारिइरहेको छु । हजार धक्कामुक्की, हजार आशा, हजार सपनाका ढोका ढकढक्याउँदै छु । रमाइलो त यो कुरामा छ कि हजार ओतका सम्भावना र आकर्षण अझै जिउँदै छन् । म ती ओतहरूका त्यान्द्रा बटुली मजबुत ओत बनाउने आशामा छु । दुःखान्त त यहाँ छ कि ओतको खोजीमा भौंतारिँदा भौंतारिँदै म आफैं मेरा लालाबालाको ओत भएको छु । म गम्दै छु, के म दिन सकुँला आफ्ना सन्तानलाई यो समय–कुसमय दर्कने झरीमा एउटा दरिलो ओत ? सायद शिवलिङ्ग र यो पुलिङ्गको सोचाइको सिनारियो यो कुरामा भने बिलकुल भिन्नै छ । ऊ देवता भएर गजधुम्म बसिरहन सक्छ । मलाई देवता हुन कत्ति पनि फुर्सद हुनेछैन ।

प्रकाशित : वैशाख ९, २०८० ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?