कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

दलनको एउटा दस्तावेज

यो समयमा बाँचिरहँदा जातको प्रश्नलाई नयाँ ढंगले नसोच्ने र आलोचनात्मक तरिकाले नबुझ्ने छुट कुनै पनि जातलाई कसरी हुन्छ ? कथित उपल्लो जातभित्रको जातव्यवस्थाबारे कहिले विमर्श गर्ने ?
नेपाली समाजको व्याकरण बुझाउने साहित्यिक इतिहास हुन् खगेन्द्र संग्रौलाका कथा 
सरिता परियार

काठमाडौँ — ‘सार्की त सार्की नै हो, तर बोलेको चाहिँ कसले हो ?’ मुखिया बर्बराउँछन्, ‘सार्कीका फोहोरी ज्यानभित्र लुकेर सनातन धर्मविरोधी राई बोलिरहेछ ।’

दलनको एउटा दस्तावेज

समाज र साहित्यमा सार्कीले नै बोलेका हुन् कि सार्कीको मुखबाट राई सरहरूले बोलेका हुन् ? खगेन्द्र संग्रौलाका फुटकर कथाको संगालो ‘संग्रामबहादुर सार्की’ मा सुन्न पाइन्छ । प्रत्येक कथाले ब्राह्मण के होइन, दलित के हो बुझ्न पसिना छुटाउँछ । जात बेस्सरी बुझेको भन्ठान्नेलाई पनि ऐंठन हुन्छ । कथाहरूमा देख्न पाइन्छ, कथित उपल्लो जात र अन्य जातका उठबस, लवाइ, खवाइ, बोलाइ, हिँडाइ, हेराइमा जात कति गढेको छ ? ब्राह्मण लोग्नेमानिसभित्र अजंगको जात–व्यवस्था देखिन्छ । जात भनेकै दलित, दलित भनेकै जात भन्ने बुझाइमाथि प्रश्न छ कथामा । जातव्यवस्था किन सामाजिक संरचना हो, पुँजीको असमान बाँडफाँट हो, असमान शक्ति सम्बन्ध हो ? यी कुरा बुझ्न यो कथासंग्रह एक आँखीझ्याल हो ।

यस कथासंग्रहमा पाँच दशकअघि प्रगतिशील ब्राह्मण लोग्नेमानिसको दृष्टिबाट दलित जीवनलाई बुझ्ने प्रयत्न भएको छ । संग्रौलाले पहाडे दलित, तिनमा पनि मिजार, विश्वकर्मा र परियार समुदायकेन्द्रित कथा लेखेका छन् । जातव्यवस्थाको भर्‍याङको माथिल्लो र तल्लो सिँढीबीच रहेको जटिल सामाजिक अन्तरसम्बन्धलाई केलाउन खोजेका छन् । ढुंगो–माटोझैं नठान्ने दलित जीवनबारे बिष्टको छोराले नेपाली साहित्यको विषयवस्तु ठाने । दलित जीवनलाई नेपाली साहित्यको विषयवस्तु बनाउनु कम जोखिमपूर्ण यत्न होइन । पाँच दशकअघि होइन, अहिले पनि दलित जीवनमाथि खरो कलम चलाउने ब्राह्मण लोग्नेमानिस खोज्न दिउँसै लाल्टिन बाल्नुपर्छ । हुन त यही कथासंग्रहलाई आधार मान्दा, कथा लेखनको तीन दशकको अन्तरालमा संग्रौलाकै हेराइमा, दलित जीवन र जातव्यवस्थाको बुझाइमा र अनेक चरणमा लेखिएका कथाहरूमा के फरक आयो, बहस गर्न सकिन्छ । कथाकारका रूपमा उनकै ‘इभोलुसन’ लाई पनि नियाल्न सकिन्छ ।

यी कथाहरूमा म समाजको अन्तरसंघर्षसँगै संग्रौलाको आत्मसंघर्ष पनि देख्छु । उनी जातले बाहुन विकासे सरलाई ‘सोमतले आँखामा हाले पनि नबिजाउने’ देख्छन्, दलित लोग्नेमानिसलाई भने चितुवा देख्छन् । लोग्नेमानिसका गुण–अवगुण चितुवाका जस्ता होलान् पनि । उनीहरूमध्ये कसैमा सोमत नभएकै हुन् वा भएर पनि नदेखिएको हो कि ? सम्मानजनक सम्बोधनमा पनि कथाकारबाट विभेद देखिन्छ । दलित महिलालाई ‘तँ’ सम्बोधन गरिएको छ । संग्रौलाको टिप्पणी छ, ‘म त ताप्लेजुङस्थित सुभाङको मुखियाको छोरो भएकाले संस्कारगत रूपमा, कथाको भाषा सम्बन्धमा कथामा त्यस्ता कुरा आउनु स्वाभाविक पनि हो ।’

संग्रौलाले आफू ‘पोलिटिकल्ली करेक्ट’ नभएको जनाउ दिँदै गर्दा मेरो ज्यान प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा थियो, ध्यान भने भेरीमा नवराज विकलगायत छ जना मारिएको मुद्दाको बहसमा थियो । इजलासमै न्यायाधीशले दलित वकिललाई सोधेका थिए, ‘डुमलाई डुम नभने के भन्ने, अरू कुनै शब्द छ भने सुझाउनुहोला ।’ आफ्नो मनको आफैं वकिल, आफैं न्यायाधीश । ‘डेभिल्स एडभोकेसी’ आफैंलाई सोधें, संग्रौला शैलीमा न्यायाधीशले पनि समाजमा चलिआएकै यथार्थलाई टिपेर भनेको हुँ, के विराम गरें भनेमा के होला ? मेरो दाइनेपट्टि उभिएर बोल्दै गरेका संग्रौला फिस्स हाँस्दै ठट्टाको भावमा भन्छन्, ‘यस विषयलाई कहिल्यै पनि गम्भीर रूपमा नलिएकाले मचाहिँ मिहिन संशोधनवादी, कम प्रगतिशील या पातलो प्रगतिशील भइरहेँ ।’ प्रगतिशीलहरूको भीडबीच ‘पोलिटिकल्ली करेक्ट’ हुन चाहिनँ भन्ने अभिव्यक्तिलाई कसरी बुझ्ने होला ?

‘दलित परिवारहरूमा नै ठूलोले सानालाई गुको लिँड भनेको सुनें, त्यो खगेन्द्र संग्रौलाले भनेको होइन । समाज व्यवस्था र संस्कृतिले निर्माण गरेको सम्बन्धले पीडितमाथि आरोप गरेको संज्ञा हो त्यो । यति विघ्न आरोपित छ कि संस्कारगत रूपमा दलित आफैंले पनि त्यसलाई आन्तरिकीकरण गरिसकेको छ ।’ सामाजिक यथार्थलाई जस्ताको तस्तै टिप्ने गरेको संग्रौलाको टिप्पणी सुन्दा लेखकीय पृष्ठभूमि र साहित्यिक लेखनको सम्बन्धलाई कसरी हेर्ने होला, खसखस लाग्यो । यो उनले मात्रै होइन, आम लेखकले गरिरहेको संघर्ष हुन सक्छ । के लेखियो मात्रै होइन, कसले लेख्यो भन्ने प्रश्नलाई बेवास्ता गर्न सकिँदैन । इतिहासकार रोमिला थापर भन्छिन्, ‘इतिहास पढ्न पहिले इतिहासकारलाई पढ्नुपर्छ ।’ संग्रौलाका कथा नेपाली समाजको व्याकरण बुझ्ने साहित्यिक इतिहास नै हो ।

किताब विमोचनमा सहभागी दलित महिला लेखकको भनाइ सुनें, ‘एक मार्क्सवादी लेखकले कम्तीमा दलितको सम्मानित नाम त राख्न सकिन्थ्यो नि ? यसो सुन्नलायक नाम नै हुँदैन र ? प्रगतिशील लेखकबाट यति आशा गर्न सकिन्छ नि ।’ प्रगतिशील लेखन उत्पीडितहरूको आत्मसम्मानमा लागि पनि हो । आत्मसम्मान न्वारनदेखिका काम र जिउने अधिकारमा देखिन्छ । न्वारन गर्ने अधिकार पनि नभएका दलितको भागमा सिंगाने वा यस्तै नाम मात्रै किन हुन्छ ? कसले कसको नामकरण गर्न पाउँछ ? त्यसमा सम्मानभन्दा अपमान किन हुन्छ ? न्वारनको अधिकार सम्मान, आत्मसम्मान र सामूहिक सम्मानको लडाइँ हो । सिंगानेलाई संग्रामबहादुर सार्कीको रूपमा न्वारनको अधिकार शिक्षक शान्तकुमार राईलाई दिइएको छ । अब उत्पीडित आफैंले आफ्नो न्वारन गर्न राई सरहरूले सघाएका कथा लेख्ने कि ? यसरी राई र अन्य जातका अगुवाले सहकार्य गर्न सके मात्रै सामूहिक सम्मानको लडाइँ बलियो हुन्छ होला ।

कथाकारले निश्चित विषयवस्तु किन छान्छ ? कुन मनसायले कथावस्तु लेखिन्छ ? कुन समयमा कथा लेखिन्छ ? जस्तो पात्रहरू बनाइन्छ, त्यस्तो किन बनाइन्छ ? पात्रहरूबीचको शक्ति–सम्बन्ध कस्तो देखाइन्छ ? नाउँ, हाउभाउ, लुगाफाटा, खाना, टेक्ने लौरोबाट समेत कस्ता सन्देश प्रवाह गर्न खोजिन्छ ? यिनै प्रश्नको उत्तरमा कथाकारको पनि दृष्टिकोणको प्रतिविम्ब लुकेको हुन्छ । पाठकले पनि आफ्ना भोगाइ, अध्ययन र ज्ञानको जगमा उभिएर पढ्छन्, विश्लेषण गर्छन् । कुनै कथा पढ्दा सम्मानित अनुभूति गर्छन्, आँत दरो पार्छन्, कुनै कथाले चाहिँ आँत कमजोर पार्छन्, हातखुट्टा कोरोनाले जस्तै गलाउँछन् ।

लेखक सागर ‘बाइटिङ माइ टङ ः ह्वाट हिन्दी किप्स हिडन ?’ मा भन्छन्, ‘हिन्दी साहित्यले जातीय उत्पीडन र सामाजिक न्यायको मुद्दाबारे पनि बोल्छ भनेर सधैं सुनिने नाम हो प्रेमचन्द । उनका धेरै कथा स्कुले जीवनमा र पछि पनि पढें, तर कहिल्यै पनि ती कथाले सशक्तीकरण गरेनन् ।’ ‘उच्च’ जातका प्रगतिशील लेखक प्रेमचन्दको ‘कफन’ बारे उनी लेख्छन्, ‘दलित विचलनबारे लेखिएको कफनका नायक दुई जना गरिब चमार बाबुछोरा हुन्छन् । एक रात आफ्नो झोपडीबाहिर बाउछोरा पोलेको आलु खाँदै बस्छन्, भित्र बुहारीलाई व्यथा लागेको हुन्छ । एकाबिहानै ती महिला मर्छिन् । जमिनदारसँग सापटी मागेर दाहसंस्कार गर्न ल्याइएको पैसा जाँड खाएर भ्याइन्छ । प्रेमचन्दको भनाइ छ– यो त उनीहरूको प्रकृति नै हो । मेरो विचारमा यो कथाले पक्का दलितबारे रहेको बलियो जातवादी विचार प्रवाह गर्छ : जँड्याहा, अक्षम, अल्छी अनि लोभीको रूपमा ।’ भारतको बिहार दलित बस्तीमा हुर्केका सागरले दलित दृष्टिकोणबाट प्रेमचन्दका कथा पढ्दा गरेको महसुसलाई अनदेखा गर्न मिल्दैन । कुन पात्र, कुन संवाद, कथाको अन्तर्यले पाठकलाई रन्थन्याउँछ वा गलाउँछ भन्ने कुरा अब पात्रसँग सम्बन्धित समुदायको नजरियाबाट हेर्ने हो कि ?

‘बाली बिग्रेको अर्को साल’ मा कैली र कालुराम दर्जी छोरो शिवरामलाई पढाउन कस्सिन्छ । आय्या र आत्थाको जिन्दगीमा दर्जी दम्पतीले बच्चो पढाउने धृष्टता गर्छ । जगन्नाथ मुखियाचाहिँ खिसीट्युरी गर्छन्, ‘भर भन्देखिलाई तेरो छोरो त पण्डित पो हुन लागेछ हँ ?’ ‘हुन्छ, किन नहुनु ?’ कैलीले भित्तामै पुग्ने गरी ओठे जवाफ दिइन्, ‘हाम्राले मात्तै सधैं अर्काका जुत्ताका तलुवा हुनु भन्ने के छ र ?’

यस संवादले २०७२ सालको आफ्नै स्मृतितिर डोर्‍यायो । कक्षा–कोठामा ब्राह्मण सरले जात पढाउँदै थिए, ‘दलित झिंगा हुन् नालीमा बस्न रुचाउँछन्, ब्राह्मण माहुरी हुन् मह निकाल्छन्, अमृत देउतालाई चढ्छ, कर्म अनुसारका जात हुन्छ ।’ संस्कृतभाषी पुरोहितहरूले चलाएको ज्ञान प्रणालीको पिरो धूवाँ हाम्रो कक्षाभरि पुत्पुतायो । अहिलेसम्म पोलेका आँखाले सोध्छन्, ब्राह्मणलाई माहुरी र श्रममै डुब्ने दलितलाई झिंगाको संज्ञा किन दिइन्छ ? सर र लेखकले प्रश्न कहिले गर्ने ?

कथासंग्रहमा ‘उच्च जात’ का धनीमानी पुरुषबाट हुने शोषण, अपमान, यौन शोषणसँगै दलितको आत्मसम्मान र प्रतिरोध पनि छ, यसको बलियो दसी ‘टापिचाउरे’ कथा हो । यसमा आफ्नो घरमा सस्तो श्रम बेच्दै आएका टापिचाउरेको आँखा छली भुसतिघ्रे साहुले माहिली सर्किनीलाई झम्टिन्छन् । बिराम गरेपछि टापिचाउरेलाई भुसतिघ्रे र तिनका आउरेबाउरले ललाइफकाइ गर्छन् । आफ्नो जातको फणा फैलाउँदै आउरेबाउरे सम्झाउँछन्, ‘हाम्रा कान्छो (भुसतिघ्रे) को पूजै गरे पनि तिमलाई पाप लाग्दैन बुझ्यौ ?’ टापिचाउरेको नाक र शिरको बडो चिन्ता गर्दै फेरि भन्छन्, ‘हामी भनेको तिम्रा प्रान हौं ।’ टापिचाउरेले नमानेसी ‘जोरी नखोज निभाइदिउला तेरो सास’ भन्छन् भुसतिघ्रे । टापिचाउरे सन्किन्छन्, ‘स्वास्नी बेचेर पैसा लिने ? साहुमहाजन बेचून् । पैसा चाहिएको तिनलाई पो हो । गरिपै भए नि हामी पैसामा इज्जत बेच्ने होइनौं ।’

देउता भनाउँदा भुसतिघ्रे र टापिचाउरेको नाकबीच माइली सर्किनी हराउँछिन् । उनी आफ्नो बूढाले सास रहुन्जेल कुटाइ खाएसि मलिनो स्वरमा भन्छिन्, ‘आफू निर्धो छु भन्ने जान्दाजान्दै बलियासँग त्यसरी जोरी खोज्नुहुन्थ्यो त ?’ घरभित्र र बाहिरको स्वामीबीच चेप्टिएकी माहिली सर्किनीको धड्कन कसरी सुन्ने ? ब्राह्मण पितृसत्ताले त तिनैका दिदी, बहिनी, आमा, छोरी, बुहारीलाई चोखो देख्छ, तिनै छोरीबुहारीका इज्जत ढाक्न जति लुछे नि हुने त ‘छुत’ योनिका ‘अछुत’ महिलालाई नै ठान्छ । चोखा कहलिने महिलाको भूमिका कथाभित्र देखाइएको छैन । कथाबाहिर भने चोखा कहलिएका महिला जुठो बनाइएका महिला भइन्जेल इज्जतमा बस्ने विशेषाधिकार पाएका हुन्छन् । स्वास्नी जाबाको इज्जत ढाक्न नसक्नेको नाक के रहन्छ र भनेर खिसीट्युरी गर्छन् । ब्राह्मण पितृसत्ताकै घनचक्करमा परेको टापिचाउरेले पनि माहिलीलाई पेवा नै ठान्छन्, छुट्टै प्राणी ठान्दैनन् अनि बरबराउँछन्, ‘अर्कार्की स्वास्नीलाई हातपात गर्न पाइन्न !’

ब्राह्मण पितृसत्ताको घनचक्करमा छन् दलित लोग्नेमानिसहरू पनि । ‘धाइरिङकी दमिनी’ मा तिनका पिरलो दुरुस्त देखिन्छ । जुनेलीले दुई मुठी श्वास अलि सजिलो गरी फेर्न पाउँछु कि भनेर सन्ते दमाईसँग बिहे गर्छिन् । झन् एउटा चितुवाको खोरबाट अर्को चितुवाको खोर गएझैं हुन्छ ।

जुनेलीको श्वास पोइ, सासू, ससुरोलाई स्याहार्नुसँगै अरूको निमेक गर्नुमै जान्छ । आफैंले कमाई ल्याएको खान्की पनि पेटमा तातो नपारी निमेक गर्न हिँड्छिन् । यता दिनभरि तास खेलेर थाकेको बूढो चितुवा र तन्नेरी चितुवा घरमा बूढी कुट्न उतिखेरै तङ्ग्रिन्छन् । ब्राह्मण विकासे सरहरूको जोडबलमा यस्ता अन्याय सहन हुन्न भनेर गाउँलेहरू उठ्छन् । विकासे सर नआएका बेला सन्ते दमाईले बूढीलाई छिनाउन खुकुरी झिक्छन् । जुनेलीले हद भएपछि बन्चरो उठाएर फलाक्छिन्, ‘आइजो सन्ते, ज्यानको किर्नो बनार पाल्ने पोस्ने म, अनि तँ चाइने मलाई मार्न दागा धर्ने । ल आइजा, अति भो । आज त छैनस् कि मै छैन ।’

२०२७ सालदेखि २०५५ सालसम्ममा लेखिएका कथा पढ्दा देखिन्छ, ब्राह्मण पितृसत्ता र चोखो नारीवादविरुद्ध जुनेलीहरू विचारको बन्चरो लिएर संघर्षरत छन् । २०७९ सालमा बाचिरहँदा जातको प्रश्नलाई नयाँ ढंगले नसोच्ने र आलोचनात्मक तरिकाले नबुझ्ने छुट कुनै पनि जातलाई कसरी हुन्छ ? कथित उपल्लो जातभित्रको जातव्यवस्थाबारे कहिले विमर्श गर्ने ?

प्रकाशित : वैशाख २, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?