कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सावित्री सत्यवान, २०२०

चितवन अजिब ठाउँ छ, यहाँ हिजो भन्ने हुँदैन, पोहोर भन्ने हुँदैन, बूढो पनि हुँदैन, मरेको मान्छे पनि यहाँबाट कहीँ जाँदैनन्, खोज्दा यतै कतै भौंतारिएका पाइन्छन्
पिपरा र हर्दीमा दुई प्रख्यात गुरौ थिए– रामचरण र श्यामचरण । दुवैको लास ढुंग्रेखोला तीरमा भेटियो । दुवैको टाउको थिएन । भनिन्थ्यो, कैयन मान्छे झैं रामचरण र श्यामचरणले पनि मरेपछि चितवन छोडेनन् ।
विश्व पौडेल

त्यो श्यामश्वेत जमानाको कथा हो यो, जतिखेर चितवनमा दोकानहरू खासै थिएनन् । घर, छरछिमेक, खोलानाला, जीवनचर्या सबै ठीक पुराणकै जस्ता थिए । पुरुष र नारीबीच ‘प्रेम’ हुँदैनथ्यो । पुरुषहरू सानैमा बिहे गर्थे । हुर्केपछि अलि धेरै पैसा कमाए भने श्रीमती थप्थे । दुईवटी, तीनवटी श्रीमती भएका मानिस धेरै भेटिन्थे । कहिलेकाहीं हुर्किंदै जाँदा श्रीमतीले धेरै श्रद्धा गरेर, धेरै सेवा गरेर, कुनै कमलो मन भएको पुरुषको मन जिती भने वा ऊ राति अबेरसम्मै बाहिर बस्नुको सट्टा चाँडै घर फर्क्यो भने त्यही नै पुरुष र महिलाबीचको प्रेम हुन्थ्यो ।

सावित्री सत्यवान, २०२०

यो २०२० को दशकको कथा हो । त्यसैले यो जमाना फेरिन लागेको बेलाको कथा पनि हो । सत्य त्यही बेला चितवन झरेको थियो । छन्दु महतोले उसलाई एक पटक झुवानीतिर मैनाहा राजकुलोको डिलडिलै हिँड्दै गर्दा भनेका थिए, ‘बाजे अलि ढिलो चितवन झर्नुभयो । अहिले त कलियुग लागेको छ ।’

सत्य एउटा कछाड र भोटो लगाएर हिँड्ने गर्थ्यो । छन्दु महतो लगभग लँगौटीको भरमा । ऊ छन्दुलाई काका भन्थ्यो, छन्दु उसलाई बाजे । कछाडको सप्कोले आफ्नो अनुहारको पसिना पुछ्दै सत्यले सोध्यो, ‘द्वापर युग कस्तो थियो र ?’

छन्दु काकाले विस्मयमिश्रित नोस्टाल्जिक आवाजमा भने, ‘मेरो हजुरबा धेरै बाँच्नुभएको थियो । उहाँले यहीँको कयरखोलाको खाँदरमा ढडिया थाप्दै गर्दा भदौको राति अश्वत्थामालाई भेट्नुभएको थियो । घाउ गनाइरहेको थियो रे । बिचरा हजुरबालाई बूढो उमेरमा जंगली हात्तीले साप्रो च्यातेर मारिदियो । उहाँलाई धेरै कुराको ज्ञान थियो । हजुरबा सानो भैन्जेलसम्म पनि मान्छे र जनावर बात मार्न सक्थे । जंगलबाट हरिण आएर हजुरबासँग कुरा गर्थ्यो । जंगलका कुराहरू सबै सुनाउँथ्यो । राजा बाघ कस्तो छ, मन्त्री भालु कस्तो छ, को छुच्चो छ, को सद्धे छ, हजुरबालाई त्यसरी सबै थाहा हुन्थ्यो । स्यालहरू पनि आएर कुखुरा माग्थे । फेरि एक दिन ती सबै जनावरको वाक्य बसेछ । के भयो भनेर गुरौंसँग बुझ्दा त कलि लागेको रहेछ । कलि लागेपछि सबै भ्रष्ट भयो भन्नुहुन्थ्यो हजुरबा । मान्छेले ढोका लगाएर सुत्न थाले, अन्न बिक्री हुन थाल्यो, जनावरहरू जंगलबाट बाहिर आउन डराउन थाले । सत्य भन्ने चीज केही रहेन । चित्तौन चित्तौन रहेन ।’ छन्दु काकाले सत्यलाई इतिहासको द्रुतयात्रा यसरी गराइदिए ।

‘छन्दु काका, त्यो बेलाको कुरै बेग्लै थियो । अहिले हाम्रो जिन्दगी दुःखैदुःखले भरिएको छ । ढिलो जन्मिइएछ ।’

चितवनमा दिउसो कपाल दुखाउने गर्मी हुन्थ्यो । कमसल ढिके नुन पनि के–के न पाएजस्तो गरी ठोरीबाट ल्याएर खाने गर्दा धेरैको गाँड पर्थ्यो । प्वालैप्वाल भएको पट्टि घाँटीमा टाँसेर हिँड्ने मानिसहरू, गाँडा बूढी आमाहरूको हिँडाइ पनि बाक्लो हुन्थ्यो । गर्मी असह्य उखुम हुन्थ्यो । गर्मीमा पसिनाका धाराहरू बगेर पिडुँला पुगेपछि सत्यका नलीखुट्टा नजिक चिलाएर खपिनसक्नुहुन्थ्यो । ऊ आफ्ना गोडा कन्याउँदै केहीबेर आनन्द मान्थ्यो, तर त्यसको केहीपछि जोडले कन्याएको ठाउँमा घाउ भएर झन् असजिलो हुन्थ्यो । केही दिनपछि गोडामा बसेको कालो खत हेर्दै ऊ अब कहिल्यै नकनाउने कसम खान्थ्यो र यस्तै कसमदेखि कसमसम्म उसको दिनचर्या बित्थ्यो । छन्दु काका कहिलेकाहीं उसलाई भन्थे, ‘पहाडियाहरू धेरै झरेका छन् अहिले चितवनमा । पहिले त सबैतिर थारूहरू मात्र थिए ।’

गर्मीमा खेतमा काम गर्दागर्दै पानी कम भएर आन्द्रा निचोरिएर, पित्त छादेर मरेका पहाडियाहरू देखे भने छन्दु काका भन्थे, ‘यिनीहरू यहाँ धेरै टिक्नै सक्दैनन् । भालुले कोपर्‍यो भने भागाभाग हुन्छ ।’

छन्दु काकासँग हिँड्दा सत्यलाई डर पनि लाग्थ्यो, रमाइलो पनि लाग्थ्यो । उसका घरमा बा थिए, श्रीमती थिइन् र तीन जना छोरी भइसकेका थिए । छोरा भएका थिएनन्, तर ऊ त्यो धेरै सोच्न चाहँदैनथ्यो । तेस्री छोरी जन्मिएको केही हप्तामा ऊ कास्की जाँदा उसका आफ्नै ससुराले बरु ‘ज्वाइँनारायण, अब पनि छोरी भई भने अर्को बिहे गर्नुहोला’ भनेका थिए । उसलाई घरभन्दा बाहिर रमाइलो थियो । बाहिरै बढी घुम्थ्यो । पानी धेरै पिउँथ्यो । अघिल्लो वर्ष पिठुवातिर हैजाको महामारीले धेरै मान्छेलाई लगेको थियो । लमजुङतिरका एक बरालले उसलाई त्यही बेला एकातिर तानेर भनेका थिए, ‘बाबु, तपाईं अलि बढी हिँडडुल गर्नुहुन्छ, पानी धेरै पिउने गर्नुस् है । पानीले सबै रोग मर्छ ।’ उसले तिनको कुरालाई गुरु मन्त्र मान्यो ।

‘छन्दु काका, एक बात भनौं ?’ एक दिन उसले छन्दुलाई सोध्यो ।

‘भन्नुस् बाजे, भन्न पनि किन सोध्नुपर्छ र ?’ आरुको रूखतिर हेर्दै छन्दु काकाले भने । ‘थारूहरू मर्नुलाई कति सजिलोसँग लिन्छन् । मानौं मृत्‍युलोक भनेको त्यहीं ठोरीजस्तो । मरेर यसो यता टाँडीबाट उता ठोरी गएजस्तो । त्यो थारू कथा सुन्नुभा’छ नि ? श्रीमान्–श्रीमती राति घरमा सुतिराखेको बेला साँपले टोकेर श्रीमान् मर्छ । श्रीमती रुन्छे, मेरो बूढालाई बचाऊ भन्दै । अनि श्रीमान् भन्छ, ‘असनिन सुतलरहु मृत्‍यु भुवनयाँमे, कौन गुनिया पापी ठोकके जगाए ।’

(अर्थात् म मृत्‍युलोकमा आनन्दले सुतिराख्दा कुन पापिनीले रोएर मलाई जगाउन खोजिराख्या छे ?)

‘यस्तो पनि हुन्छ ?’

‘किन हुँदैन बाजे ? हुन्छ ।’ छन्दु काकाले भने र त्यसपछि आफूले भूत देखेको कथा सुनाउन थाले । उनीसँग हरेक कुराको जवाफ थियो र ती जवाफ कथामा प्रस्तुत हुन्थे । सानोमा जाडो याममा घुरको वरिपरि बसेर मकै भुट्दै खाएका बेला सुनेका देखि राति जमिन्दारको आँगनमा दुइवटा घुँडाको बीचमा टाउको राखेर सुनेका कथासम्म छन्दु काकाको दिमागी खल्तीमा थियो ।

...

सत्य ढिलो जन्मिएको थियो र पहाडतिर अलिअलि हुनेखाने नै थियो । कास्कीको डाँडाबाट ऊ पहिले लाहुर जान्छु भनेर गोरखपुर गयो । त्यहाँ सेनाले कान पाकेको भएर भर्ना नलिएपछि चितवनतिर डुल्न आयो । उसलाई त्यतै मन पर्‍यो । उसका काकाहरूले ‘दाइ, तपाईंको छोरो डालडाले छ, बसेर खेती गर्दैन । बरु हामी सबै छुट्टिम्, आफूआफू गरिखाम्’ भने । बुढेसकालमा जन्मेको छोरोको साथ छाड्न नसकेका उसका बा आफ्नो अंश लिएर चितवन आए । चितवन सोचेभन्दा बढी गर्मी थियो, बढी रोगाहा थियो र पनि बाउछोराले हरेक रोग पचाए ।

चितवनमा सरकारले दिने भनेको सानो प्लट जमिन कुर्दै बाबुछोरा राप्तीको किनारमा जप्का जौदारीमा बसे । कास्कीबाट ल्याएको पैसाले नजिकै गवैमा केही नम्बरी जमिन पनि किने, एक जोडा भैंसी पनि किने । सावित्रीले दुई–दुई वर्षको फरकमा तीन छोरी जन्माइन् । माहिली छोरी जन्मेकै दिनसमेत उठेर उनी खेत गएर काम गरेकी थिइन् ।

‘के गर्ने, घरमा काम गर्ने कोही छैन । काम नगरी खान पाइने हैन, ’ उनी भन्थिन् ।

साहिंली छोरी जन्मेको बेला त घरमा सत्य पनि थिएन । साहिंली सात महिनामै जन्मेकी थिई । राति व्यथा लाग्यो, सावित्री गोठमा भर्‍याङमुनि व्यथा बसिन् । छोरा भइदिए हुन्थ्यो प्रभु भनेर मनमनै प्रार्थना गरिन् । ससुरा बूढा माथि सुतिरहेका थिए । दुईवटी छोरी पनि निदाइसकेका थिए । व्यथा लाग्दा एकपटक उनका ओठ सुके, तर उनी चिच्याइनन् । सानी छोरी जन्मी, जन्मेको केहीबेर केही बोलिन । छोरी रहिछ भन्ने थाहा पाएपछि सावित्रीले एकैछिन नराम्रो मानिन्, कर्ममा सौता नै लेख्यारैछ कि जस्तो लाग्यो । डरले माथि सुतेका ससुरालाई पनि उठाउन सकिनन् । राति कतिखेर निद्रा लाग्यो । बिहान छेउको घरकी दमिनी बहिनीलाई अघिल्लै दिन पर्ममा काम गर्न बोलाएकी थिइन् । ऊ आइपुगी । ‘दिदी मलाई राति नै बोलाउनुभएको भए हुन्थ्यो नि’ भनी । छोरीलाई नुहाइदिई । ससुरालाई खबर गरी । साना नानीहरूलाई उठाएर आमाको छेउमा ल्याई । बल भए पनि–नभए पनि सावित्री दिउसोतिर उठिन् र बिस्तारै घरको काममा सकीनसकी लाग्न थालिन् । सत्य बाहिर धेरै हिँड्ने भएकाले ससुरा बुहारीमा मिल्ती थियो । बूढा ससुराले सकेको भान्सा तयार गर्न सहयोग गरे, छोरीहरूलाई हेरिदिए ।

बिस्तारै जंगलको छेउमा, खोलाको तीरमा छोरीहरू हुर्कन थाले । लट्टा परेका कपाल लिएर, च्यातिएका भोटाहरू लगाएर ती घरवरिपरि उफ्रन्थे, तोते बोल्थे । सावित्रीका माइती खलकका कोही पनि चितवन थिएनन् । कहिलेकाहीं सावित्री सपनामा अनिष्ट देख्थिन् र डराउँथिन् । सत्यलाई एकदिन उनले भनिन्, ‘पार्वतीको बा, आज जंगलतिर नहिँड्नू है, मैले सपनामा भालुले कोपरेको देखेको थिएँ ।’

उनका यस्ता कुरा सुन्दा सत्य हाँस्थ्यो । ऊ आफूलाई चिरञ्जीवी ठान्थ्यो ।

‘मलाई केही हुँदैन पार्वतीकी आमा,’ भन्थ्यो ।

वर्षामा मुसलधारे झरी परेको दिन सावित्री आफ्ना छोरीहरूलाई च्यापेर सुत्थिन् । उनीहरूको घर काठ र खरले बनेको थियो । ‘हे भगवान् रच्छे गर’ भन्थिन् । भुसुक्क लिखा र जुम्रा परेका कपाल भएका छोरीहरू धेरै कुरा बुझ्दैनथे । भयरहित भएर आमाको काखमा सुत्थे । सत्य र उसका बूढा बा रातभरि जागेर अरू छिमेकीहरूसँग राप्तीको बाढी कता गयो भनेर खबर लिन्थे । ‘कयर खोला बढेर बन्सी गाउँ डुबाइसक्यो रे’ भनेर कसैले खबर ल्याउँथ्यो । धेरै गोर्खाली छिमेकीहरूले २०११ सालको बाढी देखेकाले बाढीको पाशविकतासँग परिचित थिए । त्यही बाढीले सर्वनाश गरेपछि धेरै मान्छे चितवन सरेका थिए ।

साहिंली छोरी जन्मेको त्यो वर्ष पनि राप्ती खोलामा बाढी आयो । पानीले माथि लोथरतिरबाटै आफ्नो बाटो छाडिदियो र गाउँमा पस्यो । सबै जना भलबाट मान्छे, अन्न, पाडापाडी, भैंसी बचाउन लागे । पानीमा बग्दै आएका पानीसाँपहरूको बीचबाट सकेको सामान बचाएर छिमेकतिर आश्रय खोज्दै मानिसहरू हिँडे । भेल सावित्रीकै घरमा त पसेन, तर वरिपरि बाढीको क्रुद्ध लीला देखेर त्रस्त बनेकी सावित्रीले तीनवटै छोरीलाई च्याप्दै घरको दोस्रो तलामा लगिन् र ‘जले रक्षतु वाराहः स्थले रक्षतु वामनः, अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः’ भनेर श्लोक पढिरहिन् । पूर्वी चितवनका सबैजसोको आँखामा त्यो वर्षको बाढी, त्यसले घरघर पसेर ल्याएको कहर, त्यसले मानिसको जीवनमा ल्याएको अनिश्चितता, घरका महिलाहरूको त्रस्त अनुहार र श्लोक वाचन नमेटिने गरेर बसिरह्यो ।

...

एक दिन माडी बरुवाकी एक जना सन्न्यासिनी कुमरोजको शिव मन्दिरमा आएर बसिन् । पीताम्बर पहिरेकी उनलाई कालो छाता ओढाउँदै तीन जना सेवकले घेरेर ल्याएका थिए । उनी मन्दिर परिसरमा पस्ने बेला गाउँलेले पुष्पवृष्टि गरे र दही केराको सगुन ख्वाए । उनको श्यामवर्ण र नकोरेको कपालले उनलाई देख्दा त्रास र सम्मान दुवै आउँथ्यो । उनलाई त्यसरी सम्मान गर्नुको कारणचाहिँ उनको पितृ बोलाउन सक्ने प्रख्यात अलौकिक क्षमताको कारण थियो । गाउँलेहरूले सुनेअनुसार केही महिनाअघि उनी काठमाडौं गएर राजासँग त्रिभुवन, पृथ्वीनारायण सबै दिवंगत राजाहरूको कुरा गराएर फर्केकी थिइन् । उनले त्यो सेवा गाउँलेलाई पनि प्रदान गर्ने भइन् । मरेका पुर्खासँग कुरा गर्न सकिने भन्ने सुन्दा कतिपय गाउँले डराए ।

सत्यका बा सानै छँदा उनका बा बितेका थिए । उनलाई हजुरबाले हुर्काएका थिए । हजुरबालाई उनी सम्झिरहन्थे । पछि हुर्किसकेपछि आफूले छोरा हुर्काउँदै गर्दा भने उनलाई बासँग बिताउन नपाएको समय सम्झेर नरमाइलो लाग्थ्यो । मेरा बा कस्ता हुँदा हुन् भन्ने उनी सोच्थे । आत्मीयतावश उनलाई आफ्ना बितेर गएका हजुरबा र बासँग कुरा गर्न मन लाग्यो । आफ्ना पितृले छोराले सयौं वर्षदेखि आफ्नो परिवार बसेको ठाउँ छोडेर चितवन सरेको कुरालाई कसरी लिएका छन् भनेर जान्न पनि उनलाई मन थियो । सावित्रीलाई पनि आफ्नो हजुरबासँग कुरा गर्न मन लाग्यो । सावित्रीका हजुरबा नातिनी भनेपछि हुरुक्क गर्थे । उनलाई त्यही सम्झना थियो । कास्की नगएको पनि एक जुग भइकेको थियो । उनी कास्की सम्झन्थिन्, फेवाताल सम्झन्थिन्, काउँडाँडा सम्झन्थिन्, उत्तरी हिमालको भित्ताभरि उभिएका माछापुच्छ्रे र अरू हिमाल सम्झन्थिन् । सन्न्यासिनीको कोठामा अगरबत्ती बालेको थियो, उनी भद्दा देखिने सिंगारपटारमा थिइन् । ससुराको पालो सकिएपछि सावित्री भित्र छिरिन् । एकै छिनमा सावित्रीका हजुरबा सन्न्यासिनीको शरीरबाट आवाज निकाल्दै बोल्न थाले ।

‘बल्ल भेट भयो हैन नातिनी ।’

ठीक हजुरबाको सानोमा सुनेको स्वर । डरले र सम्मानले सावित्री एकछिन त बोल्नै सकिनन् । हजुरबाको प्रेमपूर्ण सम्झनाले आँसु आँखाको डिलसम्म भरिएर आएर बसे । उनले जसोतसो ती आँसु थामिन् । ‘छोरीको कर्म । स्वर्गजस्तो माइतीघर छोडेर श्रीमान्ले जताजता डोर्‍याए उतै हिँड्नुपर्ने । पहिले हजुरबाहरूलाई बूढा भन्थ्यौं, अब अहिले मेरा तीनवटी छोरी भइसके । बालापनमा हजुरसँग खेल्दा जति सुख भोगियो, यो जीवनमा त्योभन्दा बढी सुख रहेनछ ।’

के भन्ने भन्ने होस नभएकाले उनले आफ्नो जीवनको निचोड एकैछिनमा भनेर भ्याइन् । हजुरबाले त्यसपछि जवाफ फर्काए, ‘के गर्छेस् नातिनी । मर्त्यलोक यस्तै हो । अँ तेरो बा पनि भर्खरै यता आएको छ । तँलाई खबर भयो कि भएन ? अहिले कतातिर गएको छ कुन्नि । नत्र त्योसँग पनि कुरा गर्थिस् ।’

त्यो सुनेपछि सावित्री बेहोस होलाजस्तो भइन् । आँखामा थामिएका आँसु त्यसपछि भने रोकिएनन् । उनका बा मरिसकेका रहेछन्, माइतीले थाहा नदिएका हुन् कि भरतपुरको आवाको स्टाफले खबर नल्याएको हो, उनले सोचिन् ।

‘मलाई थाहा थिएन हजुरबा । म उठौं ? मलाई गाह्रो भयो,’ उनले भनिन् ।

‘नातिनी, मन बलियो बना । अझै खराब समय आउन सक्छ । यसपालि हामीलाई पञ्चक परेको छ । मेरो भाइको छोरो दुई हप्ताअघि बित्यो, तेरो बहिनीको ससुरा पनि एक हप्ता अघि बिते । अरू दुई जना अबको छ महिनामा बित्न सक्छन् । पञ्चक टार्नै नसकिने त हैन, तर गाह्रो हुन्छ । अरू दुई जना को बित्छन् मलाई पनि थाहा छैन, एक महिनापछि फेरि मलाई बोलाउनू, सायद म थाहा पाइहाल्छु कि,’ हजुरबाले भने ।

उनी आँसु भरिएको आँखा लिएर उठिन् । बाहिर ससुरा कुरिरहेका थिए । उनले छोटकरीमा बेलिबिस्तार लगाइन् । ससुरा–बुहारी नमीठो मान्दै हिँडेर घर फर्के । ससुरा र उनका बा साथी थिए । घर आएर उनले सत्यलाई भनिन्, ‘बा साँच्चै बित्नुभएको हो भने म एक पटक पोखरा माइत जान्छु ।’ सत्यले नाइँनास्ती केही गरेन । ‘बाउ मर्दा माइत जान खोजेकीलाई कसरी रोक्नु ?’ उसले आफ्नो बासँग भन्यो ।

‘बरु सबित्री जान पो कसरी जान्छे ? कुमरोजबाट हेटौंडा, नौबिसे हुँदै पोखरा जान कम्तीमा तीन दिन लाग्छ,’ उसले बालाई भन्यो । ‘अनि कुनकुन छोरी लिएर जा भन्ने ?’

‘काखको दूधे नातिनी लैजान्छे । अरू ठूला दुईवटा हामीले हेरौंला,’ बाले भने ।

भोलिपल्ट भरतपुरबाट आवा लिएर स्टाफ आयो । ‘सत्य दाइ, तपाईंका ससुरा बितेछन्,’ उसले भन्यो । सबै थाहा पाइसकेका घरका मान्छे केही बोलेनन् । सावित्री पोखरा जाने तयारी गर्न थालिन् । सत्य उसको बाटो खर्च र यात्रा प्रवन्ध गर्नतिर लाग्यो । सावित्री पोखरा हिँड्नुभन्दा अघिल्लो दिन छन्दु काकाले सत्यलाई सौराहा खोरसोरमा बूढो माहुते भेट्न लगे । जंगबहादुर महाराजलाई हात्ती चढाएका ती माहुतेको उमेर ११० वर्ष जति भइसकेको थियो । तैपनि ती हट्टाकट्टा थिए, अनुहारमा छ्याका र फुलेको आँखामुनि कालो चाउरी परेको बाहेक । छन्दुले निहुरिएर हात जोडे, सत्यले पनि त्यसै गर्‍यो । माहुते बूढाले पुराना कुराहरू सुनाए ।

‘महाराज जंगबहादुर जत्तिको त न कोई भए, न हुन्छन् । क्या फुर्ती थियो, क्या जोस थियो, क्या निसाना थियो । पछिका महाराज त मैले हात्तीबाट झरेर बाघलाई च्याप्प समातेर ल निसाना लगाउनुस् महाराज भन्दा पनि फायर खोल्न डराउँथे । के महाराज भन्नु ।’ सत्यलाई सिकारको कुनै ज्ञान थिएन । खासै थप्नलाई अरू कुरा पनि आएन, प्याट्ट बोल्यो, ‘काका, तपाईं साँच्चै यति बूढो हो ?’

काकाले अपमानबोध गरे । एकछिन के बोलौं के बोलौं भयो, अनि शान्त भएर भने, ‘बाजे, चितवन अजिब ठाउँ छ । यहाँ हिजो भन्ने हुँदैन, पोहोर साल भन्ने हुँदैन । बूढो पनि हुँदैन । मरेको मान्छे पनि यहाँबाट कहीँ जाँदैनन् । खोज्दा यतै कतै भौंतारिएका पाइन्छन् । कसैले जीउ फेर्लान्, कोही पितृ बनेर बोल्लान् । मभन्दा धेरै बूढा मान्छे छन् यहाँ । चितवनको जम्मै इतिहास अफिसको मिसिलजस्तै कुनाकुनामा छ, खोजे जे पनि पाइन्छ । तपाईं पहाडियाहरू चितवन झर्न त झर्नुभयो, तर यहाँको जमिन र आत्मा बुझ्नै सक्नुभा’छैन । चितवनको इज्जतै गर्न सक्नुभा’छैन । राणाले पनि नराखेको थारू गाउँको नामसमेत पहाडिया राख्नेसम्म गर्नुभएको छ ।’

सत्यले उनको फुलेको आँखामा हेर्‍यो, अपमानबोध पछि बोलेकाले ओठ अझै थर्थर गर्दै थियो । उसले माफी माग्न जानेको थिएन, आँखा बिस्तारै तल झुकायो ।

त्यसको भोलिपल्ट छिमेककी कास्कीतिर माइती भएकी पर बर्मनगरकी छिमेकी बहिनीसँगै सावित्री कान्छी छोरी बोकेर पोखरा जाने भइन् । सत्य पुरानो खैरहनी बजारसम्म सावित्रीलाई पुर्‍याउन आयो । खैरहनी आइपुगेपछि बल्ल सावित्रीलाई पञ्चकको कुरा याद आयो । बूढालाई भनिन्, ‘ससुराबाको राम्रो ख्याल गर्नू । पञ्चकले हाम्रै परिवारमा पनि हान्न सक्छ । ससुराबालाई कतै एक्लै जान नदिनू । जंगलमा बाघ स्याउँस्याउँती छन् । छोरीहरूको स्याहार गर्नू । म धेरै बस्दिनँ । आमाको न्यास्रो मेटेर आइहाल्छु ।’

...

सावित्री हिँडेपछि बल्ल सत्य र उसका दुई छोरीहरू निकट भए र एकापसमा साथी हुँदै गए । उनीहरूको काठको घरमा दुईवटा खाट भएको एउटा कोठामा चारै जना सँगै सुत्थे । जेठी छोरीले हजुरबासँग सुत्छु भनी, कान्छीले बासँग । बिहान चाँडै उठेर जेठी छोरी बाको अनुहारमा उसका कमला हातले पिट्थी । कान्छीचाहिँ उठ्नेबित्तिकै एकै छिन आमा खै, आमा चाहियो भनेर रुन्थी । छोरीहरूको अनुहारमा आफ्नो प्रतिविम्ब देख्दा सत्य अत्यन्तै रोमाञ्चित हुन्थ्यो ।

‘यिनीहरू मैजस्ता रहेछन्, मैले त कहिल्यै ध्यान दिएर हेरेको थिइनँ,’ उसले आफ्नो बालाई भन्यो । सावित्री पोखरा हिँडेपछि सत्यको बाको मनमा पञ्चकको प्रसंग आइरह्यो । सत्यले बरु त्यसलाई त्यति धेरै गम्भीर रूपमा लिएको थिएन । तर, सावित्री र ससुरा दुवैले त्यो प्रसंग बिर्सिन सकेनन् । यात्रा गर्दै पोखरा जाँदा नौबिसे पुग्नेबित्तिकै सावित्री पञ्चकको कुरा सम्झेर झस्किन् । उनलाई बेकार पोखरा हिँडिएछ भन्ने भयो । यता ससुराबा पनि पञ्चकको कुरा सम्झँदै त्यो अब मर्न बाँकी रहेको दुई जना को होलान् भन्ने सोच्न थाले । उनी छोरा अझै काँचो छ भन्ने ठान्थे, त्यसैले केही समय आफू मर्न चाहँदैनथे । सत्यको मृत्‍यु भयो भने बुहारी र नाति, नातिनाको झनै बिजोग हुन्छ भन्ने सोचेर उनी अरू अत्तालिन्थे । चितवनमा बसेर कास्की, स्याङ्जा, पर्वत र बागलुङसम्म फैलिएको उनीहरूको नाताको जालोमा को मरे, को बाँकी छन् भन्ने थाहा पाउन सजिलो थिएन ।

पोखरातिर यात्रा गर्दै गरेकी सावित्रीको मनमा पनि आफू मरे के हुन्छ, सत्य मरे के हुन्छ, ससुरा मरे के हुन्छ भन्ने विभिन्न सोचाइ आइरह्यो । जति नै डालडाले भएर हिँडे पनि सत्यले उनलाई कहिल्यै पिटेको थिएन । माया नदेखाए पनि सावित्रीलाई सत्यले आफूलाई माया गर्थ्योजस्तो लाग्थ्यो । आखिर उनको आफ्नै बाले जे भने पनि सत्य सौता हाल्न धेरै उत्ताउलो भएको पनि त थिएन । उनलाई सानी छोरीहरू मरे के हुन्छ भन्ने सोचाइ पनि आयो, तर ती कलिला छोरीहरूको मृत्‍युबारे धेरै सोच्न सकिनन् । त्यो तातो चितवनमा, नातेदारहरू नभएको ठाउँमा, जंगलको छेउमा, बूढा मरे आफ्नो र छोरीहरूको बिजोग हुन्थ्यो, ससुरा मरे घर लथालिंग हुन्थ्यो, आफू मरे छोरीहरूको बिजोग हुन्थ्यो । उनी सोचाइपिच्छे भगवान्को नाम लिएर नमस्कार गर्थिन् र दयाको याचना गर्थिन् । सावित्री पोखरा जाँदा सत्य छोरीहरूसँग खुट्टे, डोरीजस्ता खेल खेलेर बस्थ्यो । ऊ सकेसम्म घरबाट बाहिर निस्किन छोड्यो । खेतमा गइहाले पनि छन्दुलाई लिएर जा भनेर उसका बाले भन्थे, ऊ पर भइन्जेलसम्म हेर्थे र ऊ घर नफर्किन्जेल आत्तिँदै कुर्थे । खेलिरहेका छोरीहरू ऊ घरमा बस्दा त्यत्तिकै काखामा आएर बसिदिन्थे । उसका गोडामा आएर बसेका तिनका नरम हाडहरूको स्पर्शले उसको पितृवात्सल्यता बढ्थ्यो । ऊ छोरीहरूको कपाल तिनले थाहा नपाउने गरी सुँघ्थ्यो ।

जेठको गर्मीको एक दिन । भर्खर मकै खेती गरेको खेत सम्याएर धान रोप्नलाई ठीक पारिएको थियो । बाँदर र सुगाले खाएर मकै धेरै नाश गरेका थिए । सावित्री पोखरा गएपछि सत्यका बाले उसलाई मचानमा गएर सुगा धपाउनसमेत दिएका थिएनन् । खेताला लगाएर जति सक्यो त्यति मकै भाँचेर परिवारै बसेका थिए । छिमेकी गाउँमा एक जनालाई सर्पले टोकेर मारेको थियो । सर्पको डरले बाउछोराले घरमा एक जर्किन मट्टीतेल ल्याएर राखेका थिए, अलिअलि छर्किदियो भने सर्प भाग्छ भनेर । सावित्री पोखरा गएको २० दिन भइसकेको थियो । मुखले नभने पनि घरमा सबैले सावित्रीलाई सम्झिरहेका थिए । साँझपख पर शिवालय चोकबाट एउटी आमा सानो बच्चा बोक्दै आइरहेकी देखिइन् । सत्यका बाउछोरा दुवैले खुसीले आँखा टिलपिल पारेर हेरिरहे । नजिकै आउँदै गर्दा सावित्री स्पष्टसँग चिनिइन् । छोरीहरू बिस्तारै उफ्रिँदै दौडन थाले । नजिकै आएपछि पछिपछि एउटा झोला बोकेर आइरहेको बर्खीको सेतो कपडा लगाएको सत्यको कान्छो सालो पनि देखियो । परिवार फेरि पूर्ण भयो । राति सावित्रीले सत्यलाई भनिन्, ‘यी बीस दिन कसरी बिते, मलाई मात्र थाहा छ ।’

ससुरालाई भोलिपल्ट उनले भनिन्, ‘हाम्रा नातासम्बन्धका चार जना भए । पाङ्दुरमा दिदीको नन्द म आउनुभन्दा चार दिनअघि मुटुको व्यथाले खस्नुभयो । भेटी पठाइदिएको छु ।’

ससुराले मनमनै महामृत्युञ्जय मन्त्र पढे–

‘ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्

उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माद्रमृतात्’

...

वीरशमशेर महाराजका पालामा पूर्वी चितवनको पिपरा र हर्दीमा दुई जना प्रख्यात गुरौ थिए– रामचरण र श्यामचरण । एक दिन दुवै जनाको लास ढुंग्रेखोलाको तीरमा भेटियो । दुवैको टाउको थिएन, वनहात्तीले खुट्टाले थिचीथिची मारेको जस्तो थियो । पूर्वी चितवन लासैलासमा बनेको ठाउँ थियो, सानासाना बच्चाहरू आउँ परेर, हैजा परेर कति मर्थे । पहाडियाहरू गर्मीमा पित्त छादेर मर्थे । कति औलो लागेर, मलेरिया लागेर मर्थे । तर, अन्य कैयन मान्छेजस्तै रामचरण र श्यामचरणले पनि मरेपछि चितवन छोडेनन् भनिन्थ्यो । औंसीको रातमा दुई वटा मुर्कुट्टाहरू सेतो घोडामा चढेर, सेतो लँगौटी र भोटो लगाएर, यताउता गरेको देख्ने धेरै चितवनेहरू भए । सावित्रीका ससुरा भर्खर चितवन आउँदा एकपटक बेल्सीबाट बुढी राप्ती खोला कटेर फसेरी गाउँ हुँदै कुमरोज निस्केका थिए । घर आइपुग्दा उनलाई हनहनी ज्वरो आएको थियो । उनले सावित्रीलाई बोलाएर भने, ‘बुहारी, मैले आज बुढी राप्तीको तीरमा घोडा चढेका दुइवटा मुर्कुट्टाहरूलाई देखें । त्यही लागेको हो ।’

सावित्रीले त्यो बेला ससुराको कुरा पत्याइनन् ।

सावित्री पोखराबाट फर्केर आएको तेस्रो दिन बिहान उठेर ससुराले सावित्रीलाई बोलाएर भने, ‘बुहारी, राति फेरि सपनामा ती मुर्कुट्टा देखें ।’ सावित्री अब गलेर सबै कुरा पत्याउने भइसकेकी थिइन् । ‘केही कुरा भयो त ?’ उनले सोधिन् ।

‘तिनले त्यो पञ्चकको पाँचौं म हुँ भने ।’

एकैछिन ससुरा, बुहारी दुवै केही बोलेनन् । त्यसपछि ससुराले भने, ‘मलाई मर्नुअघि एकाह लगाउन मन छ ।’ त्यसैताका गलेश्वर आश्रमका एक सिद्धगुरु आएर निपनीमा बसेका थिए । उनको स्निग्ध, प्रदीप्त मुहार हेरेर धेरै पूर्वी चितवनेहरू लठ्ठ हुन्थे । ती गुरु दुःखसुख गरेर परिवार पालेका किसानहरूलाई धर्मप्रतिको आफ्नो दायित्व नबिर्सन र धार्मिक मठमन्दिरहरूका लागि दान दिन नहच्किन प्रेरित गर्थे । उनी भन्ने गर्थे, ‘गृहस्थीहरू हामीजस्तो निर्योगक्षेम भएर काम छैन, तर राम्रो काम गर, अप्ठेरो नमानीकन सम्पत्ति कमाऊ, विद्यालय मन्दिरहरू बनाउन चन्दा देऊ र भगवान्को नाम जप ।’ उनी पूर्वी चितवनमा ठूलो मन्दिर बनाउने लक्ष्य लिएर काम गरिरहेका थिए । उनका शिष्यहरू गाउँगाउँ गएर आफ्ना गुरुको बखान गर्थे, यी गुरु निदाउनै नपर्ने गुडाकेश हुन्, इन्द्रियलाई जितेका ऋषिकेश हुन् भन्थे । ती गुरुले कुमरोज आएर एकाह लगाउने भए । बाको अन्तिम इच्छा भनेर सत्यले पनि खर्च गर्न आनाकानी गरेन । एकाह गर्न घरको आँगन लिपपोत गरेर सफा बनाइयो, शिरमा गुरु र ससुरा बस्न मुस्ताङबाट ल्याइएका राडी ओछ्याइयो भने बाँकी आँगनमा गुन्द्री ओछ्याइयो । गाउँलेहरू बिहानैदेखि आए र गुरुले जीवात्मा, परमात्मा, प्रकृति, काल र कर्मको सम्बन्धबारे विस्तारमा भन्न थाले । बिहान नौ बजे नै गाउँलेहरूको संख्या सावित्रीले सोचेभन्दा धेरै भएको थियो । चितवनको असारे गर्मी बढ्दै गएको थियो । सावित्रीले मृत्‍यु नजिक पुगेका परीक्षित राजाले गरेको पूजा सम्झिन् र कतै सर्प आएर ससुरालाई टोक्ने त होइन भन्ने सोच्न थालिन् । असारमा गर्मी थियो । खेतमा, कुलोमा, खोलाहरूमा जहाँतहीं सर्पहरू धेरै थिए । मान्छे बढ्दै गएपछि उनले भीड नियन्त्रण गर्न सक्ने स्थिति पनि थिएन । तनावैतनावले सावित्रीलाई बिस्तारै चेतनाशून्य हुँदै गएजस्तो महसुस भयो । सोचाइ नै अस्थिर हुँदै गएको जस्तो भयो ।

सत्यलाई गुरुका शिष्यले आएर भने, ‘खै त यज्ञलाई समिधा पुग्नेजस्तो त देखिन्न ।’ सत्यले आफूलाई हुस्सु भएजस्तो ठान्यो, ‘हो त, दाउरा त्यति धेरै त छैनन् ।’ उसको खेतमा उसले चिरा पार्न बाँकी रहेका काटेर राखेका सुक्खा मुढाहरू पनि थिए, घाँसको लागि पनि काम लाग्छ, काठको लागि पनि हुन्छ भनेर छोडिदिएका सालको रूख पनि थिए । ऊ सावित्रीलाई एकैछिन खेतसम्म गएर आउँछु है भनेर हिँड्यो ।

दिउसो साढे एघार बजेतिर कुमरोजकी सन्न्यासिनीका एक शिष्य हस्याङ्फस्याङ गर्दै आए, ‘ए सावित्री दिदी, सावित्री दिदी ।’

‘को हो हँ ?’ थोरै होसमा, थोरै बेहोसीमा सावित्रीले जवाफ दिइन् ।

‘गुरुआमाले तपाईंलाई बोलाउनुभएको छ । उहाँ आज रिडी जाने भनेर हिँड्न लाग्नुभएको छ । तपाईंको पितृ बोलाउने काम बाँकी छ रे हो ?’

सावित्रीले झस्याँङ्ग सम्झिइन्, हो त हजुरबाले उनलाई फेरि आउनू भनेका थिए । सावित्रीलाई एक मन त यो चटारोमा फेरि के जाऊँजस्तो लाग्यो । तर, घर बस्न सकिनन्, हतारहतार शिवमन्दिर गइन् ।

फेरि उही अगरबत्तीको धूपमा, अलिअलि अँध्यारो कोठामा सन्न्यासिनीको अगाडि बसिन् । हजुरबाको स्वर बिस्तारै आयो, ‘नातिनी, ज्वाइँसाप कता हुनुहुन्छ ?’

‘खेतमा जानुभएको छ । समिधा लिन । घरमा एकाह हुँदै छ । ससुराबा डराएर कस्तो छ !’ उनले भनिन् । ‘ध्यान दिएर सुन, पञ्चकको खड्गो ज्वाइँसापको हो । ससुराको हैन । ज्वाइँलाई एक्लै कहिल्यै नछोड्नू । पञ्चक पर्दैमा मरिहाल्ने हैन । बाघको मुखबाट पनि मान्छे फर्केका छन् । आफूले सक्दो गर्नू । ल त,’ हजुरबाले भने ।

सावित्रीको निद्रा सबै हरायो, आलस्य सबै हरायो । उनी कुद्दै घर गइन् । एकाहको रमिता उस्तै थियो । सावित्री रातो सारीमा थिइन्, सिन्दूर लगाएकै थिइन् । उनले ऐनामा आफूलाई हेरिन् र पूर्ण सधवाको शृंगारमा खेततिर दौडिइन् ।

खेतमा पुगेपछि सत्यले आफूलाई चाहिने समिधा काट्यो र एकैछिन सुस्तायो । पानी घटघट पियो र यसो सोच्यो, ‘यो सालको रूखको हाँगाबिँगा त्यसै फैलिएको छ । सानासाना हाँगाहरू काटिदिऊँ कि ?’

परवाट सावित्री दौडिँदै आइरहेकी थिइन् । सत्य सालको रूखमा चढ्यो । अग्लो त्यो रूखको माथि गएर हसियाँले हाँगामा हान्न के लागेको थियो, उसले परबाट दौडँदै आएकी सावित्रीलाई देख्यो । श्रीमती देखेर उसको मुखमा अनायासै मुस्कान आयो । उसले हानेको हँसिया हाँगाबाट चिप्लियो र केहीपर उछिट्टिएर खस्यो । त्यही बेला उसको पनि हात र गोडा अस्थिर भए र ऊ मुख तल गरेर खस्यो । सत्यको होस त्यसपछि हरायो । सावित्रीले रूखबाट खस्दै गरेको श्रीमान्लाई परैबाट देखिन् । उनका वाक्य बसे । हात शिथिल भए । गोडाबाट कसैले सबै शक्ति खिचेर ठाउँको ठाउँ रोक्न खोजेजस्तो भयो । ‘हे भगवान्, मलाई बेहोस नगराऊ’ उनले मनमनै भनिन् । उनी जसोतसो सत्यको छेउमा पुगिन्, सत्य मरिसकेको हो कि जिउँदै हो बुझ्न सकिनन् । उनले पानी मुखमा छम्किदिइन् । अनि नजिकै भएका केही घरमा गुहार माग्न गइन् । सबै बलियाबाङ्गाहरू बटुलेर सत्यलाई बोकेर घर लगिन् । एक घण्टापछि सत्य ऐया भन्दै ब्युँझियो ।

राति सत्यले आफ्ना सुकोमल नानीहरूको हात स्पर्श गर्‍यो र उसको जिजीविषा बढ्यो । म नभए मेरा सन्तान यो अलपत्र जंगलको छेउमा के गर्लान् भन्ने सोचेर ऊ भक्कानियो र उसका आँसु झरे । गाउँलेहरू पहिलो रात त उसलाई घेरेरै बसे । मझुई गाउँबाट आएका गुरौले घिउ र काँचो सिम्रिक खानू भनेका थिए र बिरामीलाई धेरै नदुखोस् भनेर निमरियाको सेतो चक्की दिएका थिए ।

ससुराले गुरौलाई सोधेका थिए, ‘कति घिउ खुवाउनुपर्ला ?’

गुरौले भने, ‘बिरामीले जति सक्छ त्यति खान दिनू । बछौलीको लछुमनिया महतो योभन्दा ठूलो रूखबाट खसेको थियो । बीस दिनमा साठी माना घिउ खायो ।’

‘बुझे गुरौ । यसले जति खान सक्छ, त्यति खान दिन्छु ।’

पछि फर्किंदा सलौली पुगेपछि पसिना पुछ्दै गुरौले उनको सँगै हिँड्ने छोरालाई भने, ‘लछुमनिया त एक महिनापछि मरेको थियो । यो सत्य पनि चमत्कार भए मात्रै बाँच्छ ।’

...

सावित्रीले श्रीमान्लाई गरेको शुश्रूषा र मर्न लागेको अवस्थाबाट बचाएको कथा कुमरोज र वरिपरि लामो समयसम्म धेरैको सम्झनामा रह्यो । सावित्रीको ससुरा अरू २० वर्ष बाँचेर बिते । सावित्रीका दुई छोरासहित सात जना छोराछोरी भए । ती हुर्के, कोही बिहे गरेर घर गए, कोही कमाउन कतार र साउदी गए । विसं २०७९ मा ८० वर्षको सत्य घरमा सावित्रीसँग एक्लै थियो । सावित्री पनि ८० लागेकी थिइन्, गाउँलेहरू जीवनपर्यन्त स्थिर रहेको उनको अनसुया चरित्र, मित्रवत् तथा अनुग्रहक बानीव्यहोरा, पश्चिमा लवज र कस्केली सुन्दरताको प्रशंसक थिए ।

प्रकाशित : फाल्गुन २०, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?