२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘द लास्ट लिफ’ को न्यास्रो

आम्स्टर्डाम कुनै अघोरी जोगीको प्र्राचीन र तान्त्रिक गुफा हो, जहाँ ऊ अझै तन्त्रमन्त्रको शक्ति परीक्षण गर्दै छ । प्राचीनता र उत्तरआधुनिकता एउटै बारमा नृत्य गरिरहेका छन् यो सहरमा ।
तारानाथ सापकोटा

स्वतन्त्रता, गाँजा र सेक्सका लागि प्रख्यात सहर हो– आम्स्टर्डाम । नोभेम्बरको दोस्रो सातादेखि झरीले भिजेर दिनहरू ओसिएका छन् यहाँ । अझै केही महिना यसरी नै खैरो बर्को ओढरै ढलिदिन्छन् दिनहरू । विरक्त लाग्दोगरी आम्स्टर्डामको आकाश निरन्तर धुम्मिएको देखेर धर्तीले पनि बरखी बारेर बसेझैं प्रतीत हुन्छ । अर्को हिउँदले छपक्कै छोपिसकेको छ । रूखहरू जाडो मानेर उभिइरहेका छन् । चुपचाप पातहरू झर्न थालिसकेका छन् ।

‘द लास्ट लिफ’ को न्यास्रो

म भने प्रत्येक वर्षजस्तै पात झर्न थालेपछि ओ हेनरीको ‘द लास्ट लिफ’ कथाको न्यास्रोले ग्रस्त हुन्छु यो हिउँदमा पनि । त्यो महान् हृदय भएको प्रेमिल चित्रकारको यादले भिजाएर जान्छ प्रत्येक हिउँद । आफ्नो प्रेमका खातिर प्राण आहुती गर्ने त्यो महान् कलाकारको भव्य जीवनको नोस्टाल्जियाले ऐंठन पारेर जान्छ । प्रेमको परिभाषा पनि आर्टिफिसियल इन्टेलिजेन्सले दिने युगमा यो समर्पण कति सान्दर्भिक होला त्यो अर्कै विषय हो । तर, संसारमा यस्ता एकाध प्रेमीहरू बाँचुन्जेल यो धर्ती सुन्दर नै रहनेछ । हिउँदे बतास, चिस्सिएको धर्ती, छोटा दिनहरू नै अबका केही महिनाका नियति हुन् । निस्प्राणजस्तै उभिएका नांगा र बेरङ्गका रूखहरू आफ्नो बैंसको सम्झनामा टोलाइरहेको देखेर सायद आकाश पनि रुन्चे बनिदिन्छ र घरीघरी रोइदिन्छ । घरीघरी परेको पानीमा भिजेको ओसिलो बैरागी समयलाई डबल एस्प्रेसोको कडा डोजले समेत निको पार्न नसकेको महसुस गर्छु ।

‘झरेको पातझैं भयो उदास मेरो जिन्दगी’ नारायणगोपालको स्वरले एक झोक्का चिसो बतास कानमा फुकेर गएझैं लाग्छ । झरेको पातको नियति देखेर गीतले भनेको मानिसको अवस्था कतिसम्म टीठलाग्दो हुन सक्दो रहेछ भनेर कल्पना गर्दा पनि छातीमा केही गुँडुल्किएजस्तो भइदियो । कतिसम्म दुःख भोगेपछि वा कतिसम्म विरक्तिको भाव हृदयमा भरिएपछि जीवनमा यो गीतमा प्रयुक्त विम्ब मेल खान्छ होला भन्ने कल्पनाले मन भारी भइदिन्छ ।

असाध्यै अप्रत्याशित र अपूर्वानुमेय मौसमबीच पनि उत्तिकै गुलाबी हतारोमा आम्स्टर्डाम भने आफ्नै लयमा नाचिरहेकै छ जीवनको नृत्य, गाइरहेकै छ शास्त्रीय र उत्तरआधनिक फ्युजन । जसमा जसले जस्तो खोज्यो त्यस्तै ताल, लय र राग भेट्छ । गतिशील आम्स्टर्डामको रंगीन हाँसोले गुलजार छन् यहाँका शताब्दियौं पुराना गल्ली चोक र घरहरू । रहरै–रहर र नहरै–नहरको सहर आम्स्टर्डाम हरबखत उत्तिकै आत्मीयताका साथ हर्षविभोर बसिदिन्छ समुद्रलाई शिरमा बोकेर ।

नहरहरू आम्स्टर्डाममा मानिसका शरीरमा रक्तनली जस्तै गरी फैलिएका छन् । आम्स्टर्डाम एउटा सहरभन्दा बढीे विशाल क्यानभासजस्तै लाग्छ । कहिलेकाहीँ लाग्छ, आम्स्टर्डाम कुनै अघोरी जोगीको प्र्राचीन र तान्त्रिक गुफा हो, जहाँ बसेर ऊ अझै आफ्ना तन्त्रमन्त्रको शक्ति परीक्षण गर्दै छ । फेरि लाग्छ यो कुनै उत्तरआधुनिक सिद्धान्तको प्रयोगशाला हो । प्राचीनता र उत्तरआधुनिकता एउटै बारमा नृत्य गरिरहेछन् यो सहरमा । इतिहासको जीवन्तता र उत्तरआधुनिकताको मिश्रणले बनेको एउटा भव्य कोलाजजस्तो आम्स्टर्डाम वास्तवमा एउटा भुलभुलैया हो । आम्स्टर्डामका साँघुरा गल्लीहरूमा इतिहास पनि मानिस सँगसँगै यात्रारत हुन्छ । इतिहासप्रति लज्जाबोध आफ्नो अस्तित्वप्रतिको लज्जाबोध होजस्तो लाग्छ, जब सम्झन्छु पुरानो भत्काएपछि नयाँ बन्छ भनेर हामीले नष्ट गरेका हाम्रा इतिहास र धरोहरहरू । वास्तवमा इतिहास वर्तमानको जरा रहेछ । देशको पहिचानको अस्तित्व बचाइराख्ने उसकै इतिहासले हो भन्ने डचहरूले जति सायदै अरूले बुझेको छैन । कुनै पनि देश आफ्नै इतिहासको जगमा बाँच्छ भन्ने बोधले सायद आम्स्टर्डामलाई जीवन्त बनाएको छ । इतिहासबिनाको वर्तमानले समयका धेरै सुन्दर पाटामाथि पर्दा लगाइदिन्छ । आम्स्टर्डामका ओसिला गल्लीहरूमा हिँडिरहँदा अक्सर काठमाडौंका गल्लीहरूका यादले भिजाइदिन्छ । तर, काठमाडौंको पुरातात्त्विक इतिहासलाई आधुनिक विकासले चिथोरेका दागहरू सम्झँदा विरक्तिका भाव प्रबल भइदिन्छ ।

आम्स्टर्डामका गल्ली, चोकहरू पुर्खाका पौरखी हातबाट झरेका पसिनाको सुवासले आह्लादित छन् । हरेक घरहरूले संवाद गरिरहेझैं लाग्छ । प्रत्येक घर इतिहासको एउटा अध्यायजस्त उभिइरहेझैं प्रतीत हुन्छ । इतिहासका हरेक मोड र घुम्तीहरूलाई आधुनिकताको फ्रेमभित्र सजाएर संसारलाई देखाइरहेछ आम्स्टर्डाम । ब्लाक सीको रौद्रताविरुद्ध उभिएर, प्रकृतिको कहर खेपेर, नाजीहरूका कठोर हृदयको सामना गरेर पनि आम्स्टर्डामका शताब्दियौं पुराना घरहरूले आज संसारभरिका मानिसहरूको प्रेमिल हृदय र करुणा आफूतिर आकर्षित गरिरहेका छन् । यी घरहरूको बाहिरी स्वरूप जस्तो छ त्यस्तै राख्नुपर्ने नियम भएकोले पुनर्निर्माण गर्दा बाहिरी स्वरूप परिवर्तन गर्न नपाइने रहेछ ।

सम्पदा संरक्षण डचहरूको पहिलो प्राथमिकता हो । आज तिनै प्राचीन सम्पदाहरूको कला र इतिहासबाट डचहरू संसारलाई बताइरहेछन् सभ्यताको बेग्लै कथा । यो सहर, यो देशलाई यसरी जीवन्त राख्न चानचुने हिम्मत र पौरखले सम्भव भएको थिएन । माटोप्रति र आफ्नो भूगोलप्रति यहाँका पुर्खाहरूको हृदयमा भरिएको ब्ल्याक सीको पानीभन्दा ज्यादा प्रेमले बसाएको थियो आम्स्टर्डाम । आम्स्टर्डामका पुर्खाको पसिना र प्रेमलाई घरीघरी पखाल्ने कोसिस गरेर थाकेको छ ब्ल्याक सी पनि । भनिन्छ– बाँकी संसारको निर्माण भगवान्ले गरे, तर नेदरल्यान्डस्को निर्माण स्वयम् डचहरूले गरे । आफ्नो देशको भूगोलको रक्षा गर्न यहाँका मानिसले गरेका र गरिरहेका संघर्षको कथा सुनेपछि यो वाक्यको सार बोध हुन्छ । त्यो गौरवशाली र महान् संघर्षको इतिहासले जोकोहीलाई मोहित पार्छ । देशको झन्डै तीस प्रतिशत भाग समुद्रभन्दा होचो हुँदा पनि डच जनताहरूको दरिलो र प्रेमिल उपस्थितिमा सायद पानीले समेत हार मानेको छ । सयौं वर्षदेखि समुद्रसँगको लडाइँमा कहिले विजय कहिले पराजय ! पराजयले दिएका नमीठा घाउहरूमा त्यही समुद्रको नुनिलो पानीले पोलेको छ बारम्बार । अन्तमा समुद्रका छालहरूलाई पर्खालले छेकिदिए डचहरूले । यो पर्खाल सर्भाइभल फर एक्जिस्टेन्सको एउटा अप्रतिम मानव निर्मित आश्चर्य हो । पानीले लुटेको भूमि खोसेर त्यसमाथि नयाँनयाँ सहर बसाइरहेका छन् ।

सहरमा पानीको व्यवस्थापन गर्न सत्रौं शताब्दीमा निर्मित नहरहरूले नेदरल्यान्ड्सको इतिहासको सुनौला दिनका कथा भनिरहेका छन्् । डच जनताको ज्ञान निर्माणको रोमाञ्चक यात्राले कायल मात्रै बनाउँदैन क्षेत्रफलमा सानो हुँदा पनि संसारमा गौरव र वैवभका साथ सानदार उपस्थिति कसरी जनाउने भनेर एउटा जब्बर आख्यान पनि लेख्छ । शासकहरूको देशप्रतिको अगाध स्नेह, देश भन्नाले भूगोल र माटो मात्रै होइन भूगोलभित्रका सारा मानिस, भाषा, वेश, संस्कृति आदि हुन् भन्ने समभाव, वैज्ञानिकहरूको तीक्ष्ण मस्तिष्क, जनताको पौरखी हात र प्रेमिल हृदयहरू आख्यानका उपशीर्षक हुन् । दुई ढुंगाबीचको तरुलको विम्बमा आफ्नो लघुताभासको चिनारी दिइरहेका हामीलाई नेदरल्यान्ड्सको धर्तीले एउटा सुन्दर जवाफ दिइरहेको छ ।

आम्स्टर्डामको दाम स्वायरबाट हिँडेर काठमाडौंका गल्लीहरूमा जीवनको सुन्दरतम समय व्यतीत गरेर फर्केको कुनै हिप्पीले मेरो काँधमा धाप मार्दै अनायास सोधिदियो भने– झोँछेका गल्ली र आम्स्टर्डामका गल्लीमध्ये कुन रमाइला ? मैले कुनै उत्तर सोचेको छैन । मलाई दुवै ठाउँका गल्लीहरू उत्तिकै प्रिय छन् । आफ्ना समयका पदचापहरू परेका हरेक गल्ली, मोड, बाटा, चोकहरू उत्तिकै प्रिय लाग्छन् मानिसलाई । पाउलो कोहेल्लो आफ्नो उपन्यास ‘हिप्पी’ मा आम्स्टर्डामको दाम स्क्वायरबाट सुरु भएर काठमाडौंका गल्लीसम्म पुग्ने हिप्पीहरूको रुटबारे वर्णन गर्छन् । आफ्नै स्वत्वको खोजीमा, आफ्नै अन्तर्मनको यात्रामा निस्केका यस्ता स्वतन्त्र मानवहरूले यहाँदेखि नेपालसम्म पुगेर प्रेमको गहिरो परिभाषा लिएर आएको कथाले मन्त्रमुग्ध पार्छ । तर, नेपालमै भने मानिसहरूबीचको प्रेम र समर्पणको भावलाई केले कमजोर बनाइरहेको होला भनेर एउटा क्षणिक तर दार्शनिक महत्त्वको प्रश्न पनि आइबस्छ मनमा । इतिहासमा आम्स्टर्डाम र काठमाडौं एकअर्कासँग गाँसिएका रहेछन् भन्ने सोच्दा मन प्रफुल्लित–आनन्दित भइदिन्छ ।

जहाँ नियम, कानुनहरू बलिया छैनन् त्यहाँ स्वतन्त्रता पनि हुँदैन । नियम, कानुन बलिया र समान नहुँदा स्वतन्त्रताको अवसर बलिया र पहुँचवाला मानिसका लागि मात्रै उपलब्ध हुने खतरा रहन्छ । नेदरल्यान्ड्समा नियम, कानुन यति बलिया र सशक्त छन् कि यहाँ हरेक मानिसले पूर्ण स्वतन्त्रताको अनभूति गर्न सक्छ । त्यसैले होला यहाँका जेलहरू कैदीको अभावमा बन्द भइरहेका छन् । बहुसंख्यक मानिस धर्म मान्दैनन्, त्यसैले चर्चहरू पनि सुनसान रहन्छन् । कैयौं पुराना चर्चमा त अहिले भव्य रेस्टुराँहरू सञ्चालित छन् । मानिसले नियम कानुन मानिदिँदा, अनुशासनमा बसिदिँदा, अरूलाई सम्मान गरिदिँदा, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारबारे सोचिदिने सभ्यताको विकास गरिदिँदा जेल र चर्च दुवै नचाहिने रहेछ । स्वास्थ्य, शिक्षा राज्यको दायित्वको रूपमा छ । राज्यका सबै स्रोतमा सबैको समान पहुँच रहन्छ । सबै नागरिक समान हैसियतमा उभिन्छन् । सबैसँग काम छ । काम नभएको खण्डमा सरकारले बाँच्न आवश्यक भत्ता उपलब्ध गराउँछ । सारमा भन्दा कुनै पनि नागरिकले म एक्लो छु भन्ने अनभूति गर्दैन । मेरो साथमा मेरो देश र मेरो सरकार छ भन्ने सुनिश्चित भएपछि मानिस किन जेल जानुपर्‍यो ? हात फैलाउँदै किन चर्च जानुपर्‍यो ?

कहिले कसो एक्लै यी चोकहरूमा बिनासित्तीमा हिँडिरहँदा कतै भान गग बाजेले साइकलको घण्टी बजाउँदै आएर सन्चो बिसन्चो पो सोध्ने हुन् कि जस्तो तर्कना आइदिन्छ मनमा । त्यसै मौकामा सोध्ने थिएँ– आफ्नै प्राण हरण गर्नुपर्ने त्यस्तो के दुःख पो आइलागेको थियो ? यो रहरैरहरको सहरमा ती बाजेको कति सपना अधुरै रहे र उनले आत्महत्या गरे ? जीवनभरि अनेक रंगहरूले क्यानभास रंगाउने मानिसले आफ्नो जीवनमा पोत्ने कुनै रंग भेटेन ? जीवनको दुःखान्त जता पनि उस्तै मन चसक्क पार्ने । यति सुन्दर र शान्त सहरमा पनि जीवनका लागि कुनै ऊर्जा नभेटेर भान गगलाई कुन पो दुःखले आफ्नै जीवन समाप्त पार्न बाध्य पार्‍यो होला ? फेरि कहिले कसो एनी फ्रांक डराउँदै–डराउँदै कुनै गल्लीबाट निस्केर नाजीहरूले दिएका पीडाको कुनै छुटेको अध्याय पो भन्छिन् कि जस्तो लाग्छ । युद्धका बेला लुकेर बसेको घरमा स्थापित उनकै नामको म्युजियमबाट दिक्किएर कहिले कसो सहरको यात्रामा पो निस्किन्छन् कि ? कसैगरी भेटिइन् भने त्यो भयानक त्रासदीमा पनि जीवनको सानो दियोलाई जोगाइराखेकामा हार्दिक आभार प्रकट गर्नेथिएँ ।

यो जीवन्त सहरका डार्क सेडेड एन्टिक क्याफे या पबहरूमा जीवनका रंगहरूले नृत्य गरिरहेका हुन्छन् । तिनै नृत्यमा धूवाँका आकृति बन्छन् र क्षणमै बिलाइजान्छन् । धूवाँको मनोरम नृत्य वास्तवमा अलौकिक देखिन्छ । नृत्यमग्न समयको लय र ताल एकनासले बगिरहेको छ यी बैंसले भरिपूर्ण मधुशालाहरूमा । आइरिस भायोलिन वा स्कटिस पाइपरको मीठो धुन सुनेजस्तै आनन्दमय लाग्छ यो आम्स्टर्डामका एन्टिक गल्लीहरूमा यात्रा गर्नु । कठांग्रिने चिसोमा पनि उदास नहुने आम्स्टर्डामको क्षितिज समरको रंगहरू मिसिएपछिको अलौकिक उज्यालोको पर्खाइमा छ । कुनै उत्ताउलो कलाकारको कामुक रंगको कोलाजजस्तै समर पर्खेर बसेका छन् यहाँका प्राणी ।

प्रकाशित : फाल्गुन १३, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?