कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

साहित्यप्रति उत्तरदायी हुँदैन राजनीति

पारिजात

पारिजातको लेखनमाथि समालोचकले अनेक कोणबाट लेखेका छन्, तर उनको समालोचक व्यक्तित्वमाथि कमै लेखिएको छ । ‘नेपालको जनवादी साहित्यिक आन्दोलनमा विवाद र एकताको प्रश्न’ नामक कार्यपत्रमा उनको समालोचकीय व्यक्तित्व प्रस्टै झल्किन्छ ।

साहित्यप्रति उत्तरदायी हुँदैन राजनीति

त्यो कार्यपत्र पारिजातले २०४२ सालमा भारतको कानपुरमा भएको अभानेविसं (अखिल भारत नेपाली विद्यार्थी संघ) को दसौं सम्मेलनमा सशरीर उपस्थित भएर प्रस्तुत गरेकी थिइन् । ‘पारिजात संकलित रचना : १–६ ग्रन्थ’ मा समावेश नभएका रचनाको खोजी गर्दा फेला परेको यस कार्यपत्रमा जोसमनी सम्प्रदायका तीन प्रखर कविका रचनामाथि गहिरो अन्तर्दृष्टि पाइन्छ । ‘कोसेली’ मा नयाँ शीर्षकसहित प्रस्तुत छ– अभानेविसंको मुखपत्र ‘जनमानस’ संयुक्तांक ९/१०, २०४४ मा छापिएको रचनाको सम्पादित अंश । यो लेख राजेन्द्र महर्जनको आर्काइभबाट प्राप्त भएको हो ।

साहित्य मानव समाज विकास तथा सभ्यताको त्रिआयामिक सर्वोपरि र गरिमामय अभिव्यक्ति हो । साहित्यमा मानव जाति र मानव समाजका विविध अनुभूति, चित्तवृत्ति, आकांक्षा आदि—आदि संचित हुन्छन् । साहित्य जीव र जगत् साथै देश, काल र परिस्थिति सापेक्ष हुन्छ । साहित्य कला, सौन्दर्य र रूपको मात्रै परिचायक होइन, यसमा मानव समाज विकास तथा सभ्यताको आधारभूत वैचारिकता पनि अन्तर्निहित हुन्छ । पदार्थबाट मानव मस्तिष्कमा परेको प्रतिविम्ब अर्थात् चेतनालाई समयसापेक्ष भाषा तथा शिल्पको माध्यमबाट अभिव्यक्त गरिने हुँदा साहित्यमा चेतना अर्थात् विचार पक्षले प्रथम स्थान ओगट्छ । संक्षिप्तमा साहित्यको परिभाषा यति नै दिँदा यथेष्ट ठान्छु ।

प्रगतिवादी साहित्य

साधारणतया प्रगतिको अर्थ पहिलेको स्थितिभन्दा केही अघि बढ्नु, केही उन्नत हुनु हो । तर, साहित्यको व्यापक अर्थमा प्रगतिवादको परिभाषा निरन्तर परिवर्तनशील जीवन र जगत्सँग समानान्तर रूपले परिवर्तन हुँदै मानव समाजलाई उच्चता र उत्कृष्टतातर्फ लैजाने साहित्यिक प्रक्रिया हो । प्रगतिवादको यो विशिष्ट अर्थलाई मार्क्सवादले निश्चित गरिदिएको हो । मार्क्सवादी जीवन दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो, जहाँ वस्तु चरम सत्य र चेतना त्यसको प्रतिविम्ब । यस चराचर जगत्मा सबै वस्तुहरू एकार्कासँग अन्योन्याश्रित र अविछिन्न रहेको हुन्छ, परिवर्तनशील वस्तुहरूमा विरोधी तत्त्वहरू हुन्छन् र आपसमा संघर्ष चलिरहन्छ । यसै प्रक्रियामा एकातिर विकास हुन्छ र अर्कोतिर विनाश पनि हुँदै जान्छ । अन्ततः यसरी प्रत्येक वस्तुले विकास नै गर्छ र प्रत्येक परिवर्तित स्थितिको रूप त्यसको पूर्ववर्ती रूपभन्दा केही प्रौढ र विकसित नै हुन्छ । प्रगतिवादले साहित्यलाई व्यक्तिगत होइन, समष्टिगत चेतना मान्छ ।

प्रगतिवादी साहित्यकारहरूले जनजीवनका सबै शोषित, पीडित र उपेक्षित स्थितिहरूलाई अभिव्यक्त गर्छन् । उनीहरूले प्राकृत, अपरिपक्व र स्थूललाई पनि त्यत्तिकै महत्त्व दिन्छन्, जति परिस्कृत, सुगठित र सूक्ष्मलाई । रूप र सौन्दर्यप्रति बढी सचेत भएर वास्तविकतालाई उपेक्षा गर्नु अथवा वैचारिकताको नाममा कोरा र नांगो वास्तविकता प्रस्तुत गर्नु दुवै प्रगतिवादी लेखकको दायित्व होइन ।

उनीहरूले जीवनलाई यसको सम्पूर्णतामा स्वीकार गर्नुपर्छ । आर्थिक धरातलमाथि उभिएर उत्पादन सम्बन्धमा विकसित हुँदै आउने मानव समाजमा राजनीति र साहित्य माथिल्ला संरचना हुन् ।

कार्ल मार्क्सको भनाइ छ, ‘मानव समाजको सम्पूर्ण इतिहास वर्ग–संघर्षको इतिहास हो ।’ र, माओको भनाइ छ, ‘प्रत्येक व्यक्ति, जसलाई खान र लाउनुपर्छ, ऊसँग राजनीति हुन्छ ।’ यी दुवै भनाइ अनुसार, साहित्य राजनीति होइन । यति हो, राजनीति साहित्यप्रति उत्तरदायी हुँदैन, तर साहित्य राजनीतिप्रति उत्तरदायी हुन्छ । साहित्य राजनीतिको कार्यभार सम्हाल्न अनुबन्धित छ । समाजमा घटित भइरहेका विविध र व्यापक पक्षहरूमा साहित्यकार हावाको गति र पानीको बहाव सदृश्य बन्नु र भिड्नुपर्छ, मानव जातिका असंख्य अनुभूति र परिणतिहरूलाई इमानदारीपूर्वक कलमबद्ध गर्नुपर्छ । मानव समाजको राजनीति यसरी साहित्यद्वारा सूक्ष्म र विस्तृत रूपमा प्रसारित भइरहेको हुन्छ । संक्षिप्तमा वर्गीय समाजमा साहित्य वर्ग निरपेक्ष रहनै सक्दैन, यही नै प्रगतिवादी साहित्यको स्पष्ट चिनारी हो ।

नेपालमा प्रगतिवादी साहित्यको विकास प्रकृतिमा मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादी नियम निहित छ, साहित्य यसै अन्तर्गत रचिन्छ । एकथरी कट्टरपन्थी प्रगतिशील समालोचकहरू स्वतःस्फूर्त रूपमा समय सापेक्ष लेखिएको साहित्यलाई प्रगतिवादी भनी स्विकार्न तयार रहँदैनन् । उनीहरू एकांगी दृष्टिकोण राख्छन् । मार्क्सवाद प्रयोग नगरिएको साहित्यलाई साहित्य मान्न तयार हुँदैनन् । उदाहरणका निम्ति जनकवि गोकुल जोशीको कवितासंग्रहमा राजा त्रिभुवनलाई समर्थन गरेर लेखिएका चार पंक्तिलाई लिएर सम्पूर्ण काव्यलाई गुणगानवादी भनी आरोप लगाउँछन् ।

त्यस्तै, सुब्बा कृष्णलाल अधिकारीको ‘मकैको खेती’ मा दुई पंक्ति मात्रै सामन्तवादविरोधी छन् भनी प्रगतिशील काव्य होइन भन्छन् । भक्तिधारा माध्यमबाट गरिएको विद्रोहको आवाजलाई धार्मिक सन्त परम्परा भनी उपेक्षा गरेका छन् समालोचकले । ठाडो हुकुमी शासन रहेका बेला त्यति लेख्नु पनि साहसपूर्ण मान्नुपर्छ । साहित्यलाई समयअनुकूल मूल्यांकन गरिनुपर्छ । मार्क्सवाद अध्ययन गरेपछि मात्र प्रगतिवादी साहित्य लेख्न सकिन्छ भन्ने दुराग्रह मात्र अल्पज्ञानको परिचय हो । मार्क्सवादको अभ्युदय अघि प्रगतिशील साहित्य लेखिएको थिएन भन्ने उदाहरण संसारको साहित्यिक इतिहासमा छैन । यस सिद्धान्तको घोषणा अघि पनि प्रगतिशील साहित्य प्रशस्त लेखिएका छन् ।

‘चिन्तन र सिर्जनाको स्तरअनुसार प्रायः के देखिन्छ भने लेखकले पहिले परिवार देख्छ र आफ्ना एवं आफूलाई राम्रा लागेका आफन्तलाई चिन्छ, तिनको साहित्य लेख्छ– ‘मेरी आमा मायालु छिन्, मेरो पाठशाला राम्रो छ’ आदिजस्ता कविताहरू । त्यसपछि बिस्तारै ऊ छरछिमेकहरूलाई देख्छ, गाउँ–टोललाई देख्छ, वरपरका रूख, पात, पहाड, हिमाल आदिलाई देख्छ, ऊ तिनकै गीत गाउँछ । यसरी नै ऊ देशसम्म पुग्छ, पछि देश भनेको देशवासीहरू रहेछन् भन्ने बुझ्छ, अब ऊ देशवासीहरूको भलो चिताएर साहित्य लेख्न थाल्छ । यसपछि ऊ संसारतर्फ बढ्छ, मानव मात्रतर्फ बढ्छ । यसै क्रममा अब उसले देशवासी र मानव मात्रको बारेको आफ्नो ठम्याइलाई एकचोटि जाँच्छ, त्यहाँबाट शोषक र शोषित दुवै वर्गहरूमा विभाजित मानवहरूलाई देख्छ (उत्साह ः एक संक्षिप्त अध्ययन, मूल्यांकन साप्ताहिक परिवार) ।’ निस्पक्ष र इमानदारीपूर्वक मानव समाजका वास्तविकताहरूलाई लेखिदिने हो भने त्यहाँ वर्ग–संघर्ष झल्किएकै हुन्छ भन्ने धारणा फ्रेडरिक एंगेल्सले पनि कतै व्यक्त गरेका छन् ।

यसै सार्वभौम कसीमा घोटेर नेपाली प्रगतिवादी साहित्यको विकासलाई सर्सरी दृष्टि फ्याँक्ने हो भने निम्नलिखित तथ्य फेला परेको देखिन्छन् । चरम सामन्तवादी शोषणको चक्कामा पिसिएको नेपाली समाजमा विद्रोहको आवाज उठाउन कसैको पनि साहस नभएको समय भक्ति–धारा मात्र यस्तो विकल्प थियो, जसको माध्यमबाट विद्रोहको आवाज अभिव्यक्त गर्न सकिन्थ्यो । कारण यस भक्ति परम्पराका अनुयायीहरूलाई हिन्दु धर्म र संस्कारको नाताले शासकहरू सन्तहरूलाई ठाडो दमन गर्न सक्दैनथे । यसै सन्त परम्पराबाट आएको नेपाली प्रगतिवादी साहित्यको विकास यसरी भएको देखिन्छ :

१. विसं १८०४ मा पश्चिम नेपालमा जन्मेका शशिधर पौडेल (ब्राह्मण) तिनताक नेपालमा प्रचलित हुँदै गइरहेको सन्त परम्परा ‘जोसमनी सन्त सम्प्रदाय’ को अनुयायी बनी विसं १८३६ मा जोसमनी मत प्रचार गर्दै गुल्मी रेसुंगामा मठ बनाई बसेका थिए । यही रेसुंगामा १०२ वर्ष उमेर पुगी १९०६ सालमा उनको मृत्यु भएको थियो । उनी प्रतिभाशाली विद्वान् थिए, सामाजिक परिवर्तनको उत्कट इच्छा राख्ने प्रगतिवादी कवि थिए । उनले सधुक्कडी र शुद्ध नेपालीमा थुप्रै ग्रन्थ लेखेका छन्, जसमा सामन्तवादी शोषण, धार्मिक पाखण्डपन, न्यायिक भ्रष्टाचार, जातिभेद र सतीप्रथाको प्रचण्ड विरोध गरेको पाइएको छ । यिनै प्रभावशाली सन्त कविको प्रभावमा परी तात्कालिक सामन्ती शासक रणबहादुर शाह स्वामी निर्वाणानन्दको नाउँ धारण गरी जोसमनी सम्प्रदायमा दीक्षित भए । र, शशिधरको परिवर्तनकारी चाहनालाई तत्काल पूरा गर्न तथा देशमा आमूल परिवर्तन ल्याउन रणबहादुर शाहले जातिभेद निर्मूल पार्न सह–भोजको आयोजना गरेका थिए । तर, यस उग्र परिवर्तनको निम्ति तत्कालीन समाज तयार थिएन, ब्राह्मणवाद र वर्ण संस्कारलाई यति सजिलै हटाउन सक्ने स्थिति थिएन । राजाज्ञाको उल्लंघन गर्न नसक्दा जगन्नाथ मन्दिर स्थापना गरी त्यहीँ खिचडी पकाई केहीले सह–भोज गरे, जुन मन्दिर भद्रगोल जेल अघि अद्यापि विद्यमान छ ।

२. यसै सन्त सम्प्रदायका दोस्रा प्रतिभाशाली र प्रगतिवादी कवि सन्त ज्ञान दिलदास विसं १८७८ तिर इलामको फिक्कल नामक गाउँमा जन्मेका थिए र यिनी लामिछाने थरका उपाध्याय ब्राह्मण थिए । यिनले पनि सामन्ती शोषण, ब्राह्मण शोषण, जातिभेद, धार्मिक पाखण्डपन, प्रशासनिक भ्रष्टाचार, व्यभिचार र वैद्यव्यको विरोधमा प्रशस्त दोहाहरू रचेका छन् । जाति भेदको विरोध गर्दै यिनले पूर्व ओखलढुंगाको मगर युवतीसँग अन्तरजातीय विवाह गरेका थिए । यसै सम्प्रदायको खोल ओडी सशस्त्र संघर्ष गर्छु भनी मनकामना मठमा बसेका लखन थापाको विद्रोहको भण्डाफोर भएपछि ज्ञान दिलदास पनि उक्त शंकामा गिरफ्तार गरिए र जमलमा नजरबन्द गरिए । लखन थापा र उनका सात जना चेलालाई जंगबहादुरले मृत्युदण्ड दिइसकेपछि यिनको रिहाइ भयो । आफ्नो मत प्रचार गर्दै दार्जिलिङ पुगी त्यहाँका तत्कालीन क्रिस्चियन धर्मका नाइके फादर ए. टर्नबुललाई शास्त्रास्त्रमा हराई आफ्नो जितस्वरूप दार्जिलिङ हिल कार्ट रोडस्थित रंगबुल भन्ने ठाउँमा धाम बनाउने प्रशस्त जग्गा पाए । धाम अद्यापि त्यहीँ छ, पूजा हुन्छ । उनीद्वारा लिखित ग्रन्थहरू थुप्रै छन् । उनको मृत्यु १९४० कार्तिक २५ गतेको दिन भएको थियो ।

३. शक्तिमाई, शक्तिमाता अथवा ठूली हजूर नाउँले प्रचलित साध्वी योगमायाको जन्म १९१७ सालमा भोजपुरको दिङ्लामा न्यौपाने परिवारमा भएको थियो । विवाहपश्चात् एउटी छोरीको आमा भइसकेपछि यिनी पछि जोसमनी सम्प्रदायबाट शिक्षित भएकी थिइन् । तर, पछि उनले यस सम्प्रदायलाई आफ्नै पारामा लगिन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरसँग सोझै दोहोरो वार्ता गरी नेपालमा अन्याय, अत्याचार बन्द गर भनी सत्य धर्मको माग राखेकी थिइन् र भनेकी थिइन्, ‘तिमीहरूले सक्दैनौ भने बेला आएपछि कसैले त नगरी छाड्ने छैन ।’

तीन महिनाभित्र पनि प्रशासनमा केही परिवर्तन नभएको देख्दा यिनले आफ्ना २४० अनुचरहरूसँग आत्मदाह गर्ने निर्णय गरिन् । आत्मदाह गर्नुअघि उनले यस्तो समाचार ‘श्री ३’ मा पठाएकी थिइन्, ‘यदि बूढा, पुराना, थोत्रा भइसकेका ऐन कानून लगाई हाम्रो सत्य कबोललाई बाधा डालेमा सो डाल्नेमा नयाँ उपद्रव कानून चल्ने छ ।’ ऐन समयमा मे.ज. माधवशमशेर गोलीगठ्ठासहित घटनास्थलमा गई यिनीहरूलाई पक्राउ गरे । १९९५ कार्तिक २७ गते योगमाया लगायत ११ जनालाई धनकुटा जेलमा राखे । तीन महिनापछि यिनको रिहाइ भयो । त्यसपछि पनि देशमा कुनै परिवर्तन नभएको देख्दा यो संसार बाँच्न लायक छैन भनी १९९८ असार २२ गते अरुण नदीको भीषण भेलमा सेना पुग्नुअघि नै आफ्ना ६८ जना अनुचरसँग जलसमाधिमा लीन भइसकेकी थिइन् । बाँकीलाई सेनाले बचाए ।

आशु कवियत्री योगमाया प्रखर बुद्धि र व्यक्तित्वकी धनी थिइन्, साहसी, जुझारु र न्यायप्रेमी महिला थिइन् । यिनका दोहाहरू पं. चिन्तामणिद्वारा लिपिबद्ध भएका छन् । यिनीद्वारा लिखित काव्य ‘सर्वार्थ योगवाणी’ मा सधुक्कडी र शुद्ध नेपाली दुवैमा दोहाहरू परेका छन् । यिनको कृतिमा सामन्तवादी शोषण, जातिभेद, ब्राह्मण शोषण, पाखण्ड, प्रशासनिक भ्रष्टाचार, व्यभिचारको मात्र होइन, नेपालमा प्रचलित जाली फटाहावाद, जाली तमसुक र भारतीय मुद्राको बढ्दो प्रभावको समेत विरोध गरिएको छ । ‘सर्वार्थ योगवाणी’ प्रति प्रतिबन्ध लगाइएको थियो । पछि यो कृति कालिम्पोङबाट फेरि प्रकाशित भयो । जोसमनी सन्त सम्प्रदायका माथि उल्लिखित तीनै जना कवि–कवियत्रीका रचनामा वैराग्य र संन्यासको भाव पाइँदैन बरु जीवन र दुःखप्रति सम्वेदनशीलता, विद्रोह, व्यंग्य, राजनीतिक, सामाजिक आक्रोश र परिवर्तनको आह्वान मात्र पाइन्छन् ।

प्रकाशित : फाल्गुन ६, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?