कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

हामी ट्याम्के–पिखुवाका ‘जोरभाइ’

यो अर्कै जुगको कुरा हो । पूर्वी पहाड भोजपुर बजार नजिकैको देउरालीमा ७९ वर्षअघि जन्मिए—हिरण्यप्रसाद श्रेष्ठ । त्यही भोजपुरको अर्को पाखाभित्तो छिनामखुमा ७५ वर्षअघि जन्मिए—गणेशकुमार राई । संयोग कस्तो भने गीत–संगीतको दुनियाँमा मनमिल्ती भएपछि २०२३ सालदेखि हिरण्य र गणेश एकअर्काका ‘जोरभाइ’ बने— भोजपुरे र रसिक उपनाममा ।
हिरण्य भोजपुरे

आज वसन्त पञ्चमीको दिन । लेकालीको जन्म भएको शुभदिन ! अर्थात्, जन्म–तिथिमितिका हिसाबले २०२४ साल श्रीपञ्चमी । आम्मै, यो ५६ वर्षे उमेर भनेको यहांँ हो र ?

हामी ट्याम्के–पिखुवाका ‘जोरभाइ’

यसरी नै असंख्य दिनरात बितेका छन्, वर्षौ बितेका छन्, एउटा जुगै बितेजस्तो लागिरहेको छ । गणेश रसिकको पिखुवा खोला बगेको बगेकै छ । पिखुवामा मिसिने त्यो शेरा खोला सुसाएको सुसायै छ । आज म लेकालीका दिवंगत तीर्थ शेरचन, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, शशि भण्डारीहरूलाई हार्दिकताका साथ सम्झँदै छु । बाँकी रहेका लेकाली पनि लाखापाखा लागे । अब सबैसँग उसै गरी, एकमुस्ट भेटघाट हुन सम्भव छैन । बरु आज म सम्झँदै छु— उहिलेका उनै रसिकलाई ।

यी रसिकले असंख्य समयका सिस्नुहरू टेके, टेक्तै हिँडेका छन् । हिसाबै गर्ने हो भने उनले बबन्डर हन्डर खाएका छन्, पिखुवा र शेरा खोलातिरै अनेक थकान बेहोरेपछि रसिक २०२३ सालतिर काठमा‌डौं खाल्डो छिरेका हुन् । अनि मात्रै हामी एकाकार भयौं, सृजना–संगीतको अलग जगत्मा । यता म ढाक्रे थिएँ, उता रसिक ढाक्रे । बरु उर्मिला मात्रै जागिरे । ‘लेकाली’ लेकाली बन्नुअघिदेखि नै हरेकजसो साँंझ उर्मिलाको घर असनको त्यौडमा हामी भेला हुन्थ्यौं । गाना–बजानाअघि खाजा खान्थ्यौँ, पहिलो काम भनेकै क्षुधातृप्ति ! उमेर भनेको उमेरै हुँदो रहेछ । नगल्ने, नथाक्ने त्यो उमेर । दिनभरि अफिसमा अन्धाधुन्ध काम गरेपछि पनि उर्मिलामा जाँंगर मर्दैनथ्यो । भान्सामा पसेर पकाउन थाल्थिन्— बफको झुर्झुरे । खाजामा बजी झुर्झुरे ! कहिले ख्वाउँथिन्—आलुबजी, कहिले छोयलाबजी ।

भोकको मुखमा बुझो लागिसकेपछि रसिक हार्बिन (हारमुनियम) समात्थे, म खुँडे गितार । अनि सुरु हुन्थ्यो रिहर्सल, अन्धाधुन्ध तर घण्टौंसम्म । उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक र हिरण्य भोजपुरे । अनि पछिपछि थपिँदै गए— शशि भण्डारी, इन्द्रनारायण, कमला, नवीन किशोर, नीरा र न्हुच्छेहरू । सायद हामीबीच एउटा ‘जुनूनु’ ले जन्म लिएथ्यो ! अनि त्यो ‘जुनूनु’ जूनकिरी बन्दै झिल्को र आगो बनेर निस्कन्थ्यो । त्यसैताका रसिकले जीवन्त, ऐतिहासिक अनि अत्यन्त कञ्चन गीतहरू रचेका थिए, म सम्झँदै छु आज, यतिका वर्षपछि ।

‘ए है, है...आज भेडाबाख्रा कता लाने ?’

यो गाउँले संवाद–गीत हो अथवा भनौं, गीति–संवाद ! खासगरी पूर्व भोच्चुर (भोजपुर) तिरको । अझ खास भन्ने हो भने भोच्चुर छिनामखु (दिल्पा) भेगको । नागि, चरन, चौतारी र भीरपाखाको । यो गीत रेडियो नेपालबाट बज्नसम्म बज्यो, घन्कनसम्म घन्कियो । हिरण्य भोजपुरे र गणेश रसिकको जोर स्वर ! अझ भनौं— म हिरण्य भोजपुरेलाई गायक भोजपुरे बनाएको गीत । गणेश रसिकलाई गीतकार रसिक बनाएको पहिलो रचना !

...

गणेश रसिकलाई गणेश रसिक बनाएको पहिलो रचना हो— वनफूल । हो नि, उर्मिला र निर्मला श्रेष्ठलाई पनि गायिकाको रूपमा स्थापित गराएको रसिकको यही गीतले हो ।

‘रनबन घुमी वनवन डुली

काफल पाक्यो, काफल पाक्यो

बोल्छ चरीले...’

(शब्द : गणेश रसिक, संगीत ः भोजपुरे/रसिक)

लेकाली उब्जनुअघि नै मैले गीत ‘ट्याम्के डाँडा’ लेखेको थिएँ । संगीत भने हामी जोरभाइ मिलेर कथेका थियौं । ‘ट्याम्के डाँडा’ एउटा प्रतीक गीत थियो । यो प्रतीति गीत हो, प्रयोग गीतको प्रतीति हो । यो गद्य गीत हो, सेमाई–गद्य ! हामी ‘लेकाली’ बनेपछि रसिक र म भएर थुप्रै गद्य गीत–संगीतसमेत बनायौं र गायौं । रसिक जति पद्य गीतमा परिपञ्चयुक्त छन् त्यति नै भनौं, अथवा अझ बेलामौकामा त उनी त्योभन्दा बढी गद्य गीतमा परिपाठयुक्त र सटीक लाग्छन् ।

आफू रचयिताको हिसाबमा मात्रै होइन, अरूकै गद्य गीतमा पनि रसिकले सक्दो न्याय गरेका छन् । कवि हेम हमालको गीत ‘यो सहर छोडी जानुभन्दा पैले’ मा पनि उस्तै मर्म र सन्दर्भको संगीत भरेका छन् रसिकले । यो लेकालीको सांगीतिक सिर्जनामध्ये सर्वोत्कृष्ट संगीतमा पर्छ । यो गीत लेकालीद्वारा प्रस्तुत ‘उपत्यका’ (२०२५) कार्यक्रममा प्रस्तुत भएको थियो । यो गीतमा गणेश रसिकको सांगीतिक उच्चताको मापन गर्नै पनि मुस्किल छ, अवर्णनीय । उनकै गीतसंगीतमा आएको ‘न लगाइदेऊ हामी हामीमा पिँजडाका पर्खालहरू’ पनि परम्परागत शब्द र संगीतभन्दा निकै परको परिष्कृत गीत हो भन्ने मैले ठहर गरेको छु, यो मेरो ठम्याइ हो ।

यस्तै, रसिकको ‘कति दिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा...’ एउटा उच्चस्तरीय गीतसंगीतको दरिलो उदाहरण हो । अझ उनको ‘मेरो साँगुरी भन्ज्याङ‘ गीत सुन्दा त म भुतुक्कै हुन्छु ।

...

ओ रसिक ! तिम्रा गीत–संगीत म भरिभरि छन् । तिम्रा गीतसंगीत भकारी भरिभरि छन्, म त्यसको भारवाहक हुँ । यो कलाको तिमी जति पनि बोझ थपिदिन्छौ, म कलाजीवी बनेर तिमीमै मुस्कुराउँछु मात्रै । तिमी हँसाऊ, म हाँस्छु । तिमी रुवाऊ, म रुन्छु ।

ओहो, तिम्रो त्यो गीत ! म एकान्तमा सधैं त्यो बतास सम्झन्छु, त्यो मेरो उकाली सम्झन्छु, त्यहींको थकाइ कल्पन्छु । प्रिय रसिक, तिमीले मलाई सधैं यसरी सम्झने मात्रै बनायौ, बिर्सन कहाँ–कहिले सक्छु र ?

‘मेरो साँघुरी भञ्ज्याङ

सधैं बतास रोकेर पर्खिन्छ

मेरो यो ठाडो उकाली सधैं थकाइ लिएर उभिन्छ,

मुगलान गएका कोही पनि फर्केका छैनन्

गए सालझैं यो वनपाखा फेरि गुराँस लिएर फुल्दछ...’

यो गीतको शब्द–संगीतभित्र भाव विम्ब–विधान, करुण अनि अति कमलो काव्य–कथन लुकेको छ, सितिमिति अरूतिर देख्न र सुन्न नपाइने विम्ब ! यो गीतले मलाई सधैंसधैं सिरसिर बतास दिएको छ । आनन्दमयी सुस्केरा दिएको छ, क्षुधा दिएको छ, तिर्खा उकासेको छ— जति पिए पनि नमेटिने तिर्खा ।

हो, त्यत्तिकैमा म गणेश रसिकको फ्यान भएको छैन । उनको गीत–संगीतमा अपत्यारिलो पाराले मन हुँडल्ने तिखो ‘दर्द’ छिपेर बसेको हुन्छ र त्यो छिपछिपाहट नै उनको जीवन–दर्शनको मर्म हो । अनि त्यही नै गणेश रसिकको चुरो हो, श्रीगणेश हो, उनैको गणेश नाम हो ।

मलाई त लेकाली सक्रिय रहँदाताकाकै उनका गीतसंगीत बढी उम्दा लाग्छन् । सायद नव–बान्की र नव–शौष्ठवका कारण । भाव, भाषा र भाकामा पाइने विशिष्ट पाइनका कारण । प्रस्तर पनि पगालुँलाझैँ गर्ने झम्झमाउँदो अत्यन्त करुण, कोमल अनि कल्कलाउँदा साँगीतिक भाव–विम्बका हिसाबले पनि ।

उसो त वर्तमानसम्म आइपुग्दा पनि गणेश रसिकको सांगीतिक सक्रियता त्यत्तिकै ‘बरकरार’ छँदैछ । र, उनका कृतिको उच्चतामा कमी आएको देखिँदैन । वर्तमानमा रचित रसिकका दुई गीतलाई भने म उनकै सृजनाकालका ऐतिहासिक गीत भन्न रुचाउँछु । ती गीति कृतिमा सांगीतिक उच्चताको उन्नत उद्भूति छ । यही कारण रसिक नवीनताबोध र प्रयोगधर्मिताका ‘प्रतिविम्ब पुरुष’ हुन् भन्न म हिच्किचाउँदिनँ ।

यी दुई गीतलाई म वर्तमान समयधारकै अत्यन्त समुन्नत अनि उत्कृष्टतम सांगीतिक गीति कृति हो भन्ठान्छु । यी दुवै गीतमा दोहोरी–संस्कार लुकेको छ । ती आज रचिएका, तर हिजोका झैं लाग्ने गीत हुन्—

१. ‘तिम्रो सुन्दर रूपमा बस्छु म

यो रूप नै कुरूप भए के गर्छौ ?’

२. ‘म हेर्दै छु तिमीलाई, पश्चिमको घाम भएर,

म हेर्दै छु तिमीलाई पूर्वको जून भएर... ।’

दोहोरीलाई पूर्वी भेगतिर जुहारी भन्ने चलन छ । यस्ता द्वैधालापका गीतहरू उहिले मित्रसेनकै पालादेखि हुर्किंदै आएका हुन् । रसिकले यसखाले कृतिको बुनोटमा एउटा नितान्त नौलो आकृति, प्रकृति अनि अनुकृति भित्र्याएका छन्— झ्वाम्म ! झन्झनाएर मनै बिथोल्ने करुण अनि आनन्ददायी पाराले । यी दुवै गीतमा उच्च सांगीतिक विलक्षणता छ । यी उडानमा रसिक कहीँ रम्दै, कहीँ स्मृति–विस्मृतिमा बहँंदै र रुँदै नोटहरूमा विचरण गर्नुसम्म गरेका छन् । नोटका कण–कम्पनले अपत्यारिलो अनि असाध्य स्थानहरूसमेत छुन पुगेको छनक ठाउँठाउँमा फेला पर्छ । स्वर सुग्घर छ, माझिएको छ, भावनामय छ । गायिका झुमा लिम्बूको स्वर मधुर, सुरिलो र मन–मस्तिष्क लठ्ठ पार्ने खालको छ ।

‘तिम्रो सुन्दर रूपमा बस्छु म...’ मा सांगीतिक अभिव्यञ्जना अभूतपूर्व छ । एउटा मिथकलाई गीतमा ढाल्दै शब्द, स्वर र संगीतलाई यस्तो मीठो ढाँचामा बुनेको मैले अरूतिर देखेको छैन । प्रश्नोत्तरको ढांचामा यो गीत बहेको छ । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीका सुन्दर मूर्तिहरू बनाएबापत आफ्ना हात–खुट्टा अर्पण गर्ने महान् मूर्तिकार, कलाकारप्रति रसिक अनन्त पाराले पग्लेका छन्, विनीत भएर नतमस्तक बनेका छन् ।

...

आज फेरि फोन आयो, गणेश रसिकको । फोन त कति आएआए उनका । एक साताअघि मात्र नि आएथ्यो, म अमेरिका छँदै । बल्ल जोग मिलाएर अस्ति मंसिर पहिलो साता म आफ्नो मुलुक छिरेँ । आफ्नो घरदेशमा आएपछि पनि पहिलो फोन उनै रसिकको थियो, सधैंझैं स्पष्ट, तर खिरिलो स्वरमा रसिक बोलिरहे । भनिहालौं, म सधैसधैं रसिकसँग खुलस्त छु ।

रसिकसँग कति पटक कुराकानी भयो, दिन–रात फोन संवाद भैरह्यो, तर, उनले कहिल्यै गुह्य खोलेनन्— आफ्नो कठिनाइ, भोगाइ र दैनन्दिनीबारे । उनी कहिल्यै पनि बोझ–बोकुवा थिएनन्, होइनन् । यो रसिकको ‘जिन’ हो, विशेषता भनौं कि !

‘भोजपुरेजी, सन्चै हुनुहुन्छ ? अनि उर्मिला दिदी नि ?’, रसिकको जिज्ञासा थियो ।

‘मैलै हामी निकानन्द छौं’, भनें । अनि प्रश्न गरें, ‘तपाईं कता नि ?’

ओहो, यसबेला भने नगर्ने प्रश्न गरेंछुजस्तो भयो । यो घडीको संकट र कठिनाइका माझ मलाई कसैले यस्तो प्रश्न गरेको भए सायद म भक्कानिन्थें होला । तर, रसिक रसिकै रहे । फुर्तीसाथ जवाफ फर्काए, ‘म त दिल्ली पो छु त हौ, भोजपुरेजी ! राजीव गान्धी अस्पतालमा छु यतिखेर ।’

म झसंगै भएँं । दिल्लीको राजीव गान्धी अस्पताल त क्यान्सर अस्पताल पो हो । उहिले उर्मिला (श्रीमती) को पनि ब्रेस्ट क्यान्सरको शल्यक्रिया गरिएको अस्पताल ।

‘किन, के भो र त्यहाँ ?’, मैले एक सासमा सोधेछु, अनि पो उनले बिस्तारै गुह्य खोल्दै गए, मोबाइल कुराकानीमै ।

यी गायक, संगीतकार, साहित्यकार गणेश रसिकलाई क्यान्सर भएको रे, प्रोस्टेटको । अपरेसन पनि भइसकेको रे, तीन वर्षअघि नै । अहिले त्यही जोखिम बल्झेर राजीव गान्धी अस्पताल पुनः धाएका रहेछन् । थाहा–पत्तो थिएन, ‘रे’ भरमा सुनियो बल्लतल्ल ।

‘आम्मै, तीन वर्ष भैसकेछ । गोप्य पनि कस्तो गोप्य यो ? अचाक्ली भनौं न । हत्तेरी, हामी त जोरभाइ थियौं नि, अझै छँदैछौं । आज म एक भाइलाई पाखा पारेजस्तो...’, मैले अलिकति रिसाएरै भनें— ‘किन यस्तो ?’ (मैले गीत पनि सम्झिएँ— हामी त जोरभाइ छँदैछौं, मन भएर पनि एक्लो छौं । घरबार आज बसाउन, साइँली र माइली फकाई ल्याउँ... (विसं २०२३) ।

अनि मात्रै रसिक अलिक गम्भीर सुनिए । ‘सके सबैलाई सुख बाँड्न सकौं, दुःख बाँडेर अरूलाई पनि किन विक्षिप्त बनाउने (?) भनेर है भोजपुरेजी । यसलाई अन्यथा नमान्नुहोला’, यो जवाफ आफैंमा कुनै गतिलो गीतजस्तो थियो, अर्थ खोज्नैनपर्ने । यसमा मैले के अन्यथा मान्नु र ? लाग्यो, बरु प्रिय पात्रले आफ्ना अनन्यसित दर्द पनि बाँडिदिएको भए हुन्थ्यो नि । तर, रसिक सधैं आफ्नो मनका राजा आफैं रहे । यो अन्तर्मुखी स्वभावको खराबी के भने कहिलेकाहीँ बाँड्नुपर्ने र सेयर गर्नुपर्ने कुरा पनि मनैभित्र रहन्छ, विरक्तिलाग्दो यथार्थ ! छुपेरुस्तम हुनुको खराबी !

अब भने लाग्यो, गणेश रसिक केवल ‘सिस्नुहरू टेक्तै’ हिँड्दै छैनन्, अब त उनी डरलाग्दा सर्पका टाउको टेक्दै हिँड्दै छन् । क्यान्सरका कीराहरू सर्पका टाउकाभन्दा कम जोखिमपूर्ण हुँदैनन् । तैपनि आज डाइग्नोसिस र उपचारका हिसाबमा क्यान्सर सामान्य रोग (कमन) बनिसकेको छ । यो घडी म मेरी कान्छी बहिनी नन्दिकालाई सम्झिरहेको छु, उनी पनि क्यान्सरग्रसित छिन् । बहिनी नीरा रसिक पनि क्यान्सर संक्रमित भएर लामो समय उपचारमा रहिन्, पछि रोगमुक्त भएकी थिइन् । मेरै छोरी सितु भोजपुरे पनि अमेरिकामा क्यान्सरको उपचार क्रममै छिन् ।

...

भोजपुर, छिनामखुको एक सम्पन्न परिवारमा जन्मिए गणेशकुमार राई । पिखुवाको सुरम्य कलकल र ट्याम्केको उचाइमा रमेरै गणेशले बाल्यकाल बिताए । पछि हुर्के–बढेर र अझ काठमाडौं छिरेपछि उपनामका उनी ‘रसिक’ बने । (दार्जिलिङे स्रष्टा अच्छा राई ‘रसिक’ को सिकोमा बनेको नाम— गणेश रसिक ।)

अहिले आएर, यतिका वर्षपछि रसिकको कथा–व्यथा त्यही पिखुवामा जोडिएको बारे छोटो वृत्तान्त सम्झन चाहें । पिखुवा स्मरण गर्नासाथै त्यही नदीको भेलमा, आडैमा आफ्ना आमाबाबुको जीवन टुंगिएको र भाइहरू पनि त्यही पिखुवामा मिसिएको क्षणबारे रसिक आफैंले लेखेका छन्, बोलेका छन् । रसिकका दुई भाइ श्याम र समीप पिखुवामै सेलाए भने अर्को एक जना भाइ प्रजुकुमार इलाम, पशुपतिनगरमा बितेका थिए । छोरा निमेष पनि इलामकै माटामा मिलेको थियो । रसिक श्रीमती नीरा पनि कोभिड संक्रमणले काठमाडौंमा बितिन्, पोहोर मात्रै ।

यसरी जीवन र जगत्बाट पूरापूर एक्लिँदै गएझैं लाग्ने एउटा विदारक दृश्य, कटु–सत्य ! तर, रसिकको जीवनशैली र मिजास सधैंझैं भीडभाडमै रहेसरि लागिरह्यो । जीवन भोगाइका यी अनन्त पाइलामा सिस्नु टेक्दैटेक्दै हिँडेकाले नै आज रसिकका खुट्टा आगामा हिँड्न सक्ने बनेका छन्, हिउँमा दौडन सक्ने भएका छन् । उनले आफ्नो वृत्तान्तमा लेखेका छन्, ‘गणेश रसिकहरूले सिस्नुहरू टेक्दै–टेक्दै हिँडेकै हुनुपर्दछ । पिखुवा बगिरहेको छ, पिखुवालाई बग्न दिइरहनुपर्दछ ।’

अहँ, म मान्दै मान्दिनँ । आज आएर रसिकको कुरालाई म काटिरहेको छु । गणेश रसिकहरूले हर्दम सिस्नु टेकेरै हिँडिरहनुपर्छ भन्ने केही छैन । त्यो पिखुवा बग्छ भने बगिराखोस् । मानिस पानी मात्र होइन, मानिस बतास मात्र पनि होइन । पञ्चतत्त्वको दर्शन मात्रै पनि होइन जीवन । चुरोमा हामीभित्र एउटा अर्कै ‘संवेदना’ लुकेको छ, हुनैपर्छ । गणेश रसिकको संवेदनाले पनि सुख खोज्छ र उसले त्यो पाउँछ पनि । यसैको चाहमा उनी भित्रैदेखि दरिला छन्, एकदमै सतीसाल । उनको ऊर्जाले (देखावटी) खिरिलोपनको धारमा खिया पर्नै दिँदैन । अहिलेसम्म खिया देखिएको छैन ।

अब रसिकलाई दुःखले पनि दुःख दिन सक्तैन । दुःखले उनलाई दुःख दिन खोज्यो भने दुःखलाई नै दुख्छ । चोटले उनलाई चोटिलो भन्दा चोटिलो चोट दिँदादिँदा चोट नै थेत्तर बनिसकेको छ । अब त चोट र पीडाले उनलाई उल्टै ऊर्जा पो दिन्छ । रसिकभित्रको धैर्य र आत्मविश्वासले अनि अमर्त्य आत्मबलले गर्दा रसिक दीर्घ उमेर बाँचिरहनेछन् ।

ट्याम्के र मैंयुको कसम हो यो । पिखुवाको वाचा हो यो ।

प्रकाशित : माघ २८, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?