कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नचारु दुःखान्त

नाचने नाच मेरो गाउँमा मात्रै होइन, थुप्रै मगर गाउँहरुबाट हराए । सांस्कृतिक सम्पत्ति यसरी हराउँदै गए ‘मगर समुदायका पुर्खा नचारू नाच्थे’ भन्ने मिथ मात्रै नेपाली समाजमा बाँकी रहनेछ ।
अनिल बुढामगर

माघको चिसो (माघेसंक्रान्ति) मा मगरको एउटा ठूलो समूह मौलिक वेशभूषासहित टुँडिखेल पसिरहेको थियो । समूहसँगै सहर आइपुगेको थियो– मगर गाउँका संस्कृति । मगरको हूल नाचने (नचारु) नाच प्रदर्शन हेतु टुँडिखेलमा उपस्थित थियो ।

नचारु दुःखान्त

अठार मगरात क्षेत्र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका, भुमे गाउँपालिका, रोल्पाको थबाङवरिपरिका गाउँ, बाग्लुङको निसी खोला र भुजी खोलाजस्ता गाउँमा पुर्खौंदेखि नाचिएको यो नाच मगरहरूको मौलिक सांस्कृतिक सम्पदा हो । सहरमा यस्तो नाच देखिनु एक विरलै अवसर हो, जुन नाच टुँडिखेलले त्यस दिन हेरिरहेको थियो । जतिबेला मन लाग्यो उतिबेलै यो नाच नाच्न पाइँदैन । यसको आफ्नै सांस्कृतिक साइत हुन्छ । मन लागेका बेला यो नाच नाचे गाउँमा अनिष्ट हुन्छ भन्ने विश्वास गर्छन् मगरहरू ।

नचारु नाच्ने समूह (२९ जना) लगभग ४०० किलोमिटर टाढा अठार मगरात बस्तीे रुकुम पूर्वदेखि काठमाडौं आइपुगेको थियो । उनीहरूका हातहातमा थियो– मादललगायत अनेक बाजा । नाच–समूहसँगै थिए– मगरका तन्त्रमन्त्र जानेका ५–६ जना गुरुहरू । ‘नचारुहरू राजधानी आउन चाहेका थिएनन्’, मगर संस्कृतिका अनुसन्धाता तिलक रोकामगर भन्छन्, ‘तर, हाम्रो वचन फाल्न नसकेर यो समूह राजाहरूको गाउँ आइपुगेको छ । उनीहरूलाई यहाँबाट खुसी बनाएर पठाउनु छ ।’

नचारुले लगाएका थिए– अल्लोको पहिरन, पगरी, कानमा बिर्गुली, मखमलको दौरा, कम्मरमा पटुकी, घुँडासम्मै आउने मखमलकै सुरुवाल, चेम्ना (चाँदीको गहना), शिरमा अनेक जनावरका छाला, छमछम बज्ने खरङ्गा (सितारा)... । फरक–फरक रङको यो पहिरन संयोजनले हजारौंलाई आकर्षित गरिरहेको थियो ।

...

नचारु नाच कहिलेदेखि सुरु भयो ? किन सुरु भयो ? यसको नाम ‘नाचने’ कसरी रह्यो ? यी प्रश्नको उत्तर इतिहासले ठ्याक्कै भन्दैन । तर, इतिहासकारले यसका पहिरन, सिक्का, चाँदीका चेम्ना, अल्लोको कपडामा मगरका अनेक कथा खोज्लान् नै ।

मगर–कथा जान्नेहरू भन्छन्, ‘नचारु नाच्न घरबाट छोरा निस्कँदा, आमा–बा र चेलीहरूले सुन्दरताका लागि चेम्ना लगाइदिने चलन परापूर्वकालदेखि नै थियो ।’ नचारुको मृत्युमा ‘फराउते’ नाचिन्छ र ‘रानी चन्दा’ गीत गाइन्छ । फराउते र रानी चन्दाका अनुश्रुति भेटिन्छन् गाउँ पसे । बाइसे–चौबीसे राज्यका पालामा नचारु नाच युद्धमा प्रयोग गरिएको इतिहास छ । मगरका थुप्रै नाच अब लोप भए, तर नचारु अझै बाँचिरहेकै छ ।

...

नचारु सिक्न चाहने मान्छेलाई ‘ओखला पस्ने’ भनिन्छ नचारुका भाषामा । ‘ओखला’ पसेपछि नचारुहरू चारै दिशाको चार ढुंगा टिप्छन् र हरेक दिन नाच–प्रशिक्षण सुरु हुन्छ ।

ओखला पसिसकेपछि नचारुहरू गाउँका बुद्धिजीवीसँग नाच्ने अनुमति माग्छन् । अनुमति माग्ने क्रममा ‘भैरम’ गीत गाइन्छ । अग्रजको अनुमतिपछि गाउँका नचारु गुरुको घर पुग्छन् । र, दोंगी अर्थात् मुकुट लगाएका जोगीखपर र नचारुहरू एकैपटक ‘धर्मढुंगा’ छोएर कसम खान्छन् । गुरुले मन्त्र पाठसँगै कुल पूजा गरी रातो बोका चढाउँछन् अनि मरेका पुर्खा अर्थात् सितर–पितरलाई मनाउँछन् । र, नचारुहरू मंसिर पूर्णिमाका दिन गाउँ छोड्छन् ।

मंसिरमा ‘मुलुक भ्रमण’ हिँडेका नचारुहरू पुस मसान्तसम्म गाउँ फर्किसक्नुपर्ने हुन्छ । ‘मुलुक भ्रमण’ को अर्थ हुन्छ– अन्य मुलुकमा के कस्ता युद्ध कलाहरू छन्, बुझेर गाउँ फिर्नु । उनीहरू गाउँ फिरेको दिनैदेखि नचारुहरूको बाजा–गाजा र नाच बन्द हुन्छ । र, बन्द भएका ती बाजा कसैले बजाए वा नाचे गाउँमा अनिष्ट हुने विश्वास छ ।

मृत्युपछिका नचारु

मगर समुदायमा नचारुहरू मरे उसको मृत्युमा यो नाच नाचिन्छ । २० वर्षअघि मेरो हुजरबुवाको मृत्युपछि मैले यो नाच हेरेको थिएँ– आफ्नै घरको आँगनमा । मृत्युपछि हजुरबाको लासवरिपरि चार–पाँच जना नचारुहरू नाचिरहेको दृश्य अहिले पनि मेरो मस्तिष्कमा जीवित छ । दमले थलिएका ती बूढा नचारुहरू रातैभरि नाचेका थिए, दियालो–बत्तीको मधुरो उज्यालोमा । अहिले त ती वृद्धहरूले पनि संसार छाडिसके । मेरा हजुरबा हर्कबहादुर बुढामगर नचारुका पछाउरे थिए । पछाउरे अर्थात् नाचको अन्तिममा नाच्ने नचारु ।

त्यो रातको नाचपछि मेरो गाउँबाट नचारु हराए । हजुरबाको स्मृतिसँगै नचारुको स्मृति पनि मेरो मस्तिष्कबाट हरायो । र, त्यही रातदेखि मेरो तकसेरा गाउँमा मैले नचारु नाचेको दृश्य देखेको छैन । के मेरो गाउँबाट यो नाच लोप भयो ? हो, यो नाच मेरो गाउँमा मात्रै होइन, थुप्रै अरू मगर गाउँबाट हरायो । यसरी सांस्कृतिक सम्पत्ति हराउँदै गए मपछिका पुस्ताले अहिलेका हामीमाथि र हाम्रा संस्कृतिका अनेक पक्षमाथि गम्भीर प्रश्न गर्नेछन् । तर, यो हेक्का राखोस् कसले ?

किन लोप हुँदै छ नचारु ? ‘मगर समुदायमा मान्छे मरिसकेको केही समयपछि बिसाउना लैजाने चलन छ । जन्म–मृत्युको मिति, मृत्युको कारण लेख्ने चलन छ, सिली (घर छाउने ढुंगा) मा,’ तिलक भन्छन्, ‘तर, पुथ्वीनारायण शाहको समयदेखि राणाकालसम्म आइपुग्दा ती ढुंगा हराए । र, त्यतिबेलै नचारुको इतिहास पनि हरायो ।’

२० वर्षपछि... । टुँडिखेलमा म देखिरहेको थिएँ– नयाँ नचारु (भुमे गाउँपालिका रुकुमपूर्वका युवा थिए ती) । ती ‘तरवाल’ का अनेक कला प्रदर्शन गरिरहेका थिए । यो ताजा दृश्यले म मेरो तकसेरा गाउँको पुरानो समयमा पसिरहेको थिएँ– आँगनमा हजुरबाको लास र लासवरिपरि मसिनो उज्यालोमा नाचने नाचिरहेका नचारुहरू ।

अठार मगरात क्षेत्र अर्थात् मगर खाम (भाषा) बोल्ने समुदायमा नचारुको मृत्युपछि यो नाच ननाचेसम्म अहिले पनि गाउँबाट लास उठाउन पाइँदैन । उनीहरू ‘फराउते’ नाच्छन् तरबार र ढाल नचाएर । त्यसपछि ‘रानी चन्दा’ गीत गाउँछन् र मात्रै लास उठाउन अनुमति दिइन्छ । गाउँलेले लास उठाएपछि पनि बाटो खुलाउने आफ्नै विधि छ नचारुको ।

लासअघि नचारुहरू ‘फराउते’ नाच्दै घाटसम्मै पुग्छन् । सेतो कपडासँगैका नचारु र लासको दृश्यले जोकोहीलाई रुवाउँछ । गाउँलेहरू लास गाड्नुअघि फेरि ‘फराउते’ नाच्छन्, गाड्ने ठाउँ र लासलाई घुमाउँछन् । अनि मात्रै लास गाड्न अनुमति दिइन्छ ।

अन्य गाउँमा हराइसकेको नचारुलाई भुमे गाउँपालिकाले जोगाइरहेको छ । र, यो संस्कृतिको सुन्दर पक्ष हो । आफूपछिका पुस्तालाई हस्तान्तरण गर्न यो नाच अब ननाचे ‘मगर समुदायका पुर्खा नचारु नाच्थे’ भन्ने मिथ मात्रै बाँकी रहनेछ नेपाली समाजमा ।

प्रकाशित : माघ २८, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?