‘ए तपाईं प्रेग्नेन्ट पो?’- कोसेली - कान्तिपुर समाचार

‘ए तपाईं प्रेग्नेन्ट पो?’

कानुनमा लेख्दैमा विभेद अन्त्य हुने हो ? के गर्भावस्थामा हामीले आफू कार्यरत कार्यालयबाट सम्मानजनक व्यवहार अनुभव गरेका छौं ?
सविता आचार्य

एउटा विज्ञापन धेरैपटक नै हेरिरहेकी छु हिजोआज । थाहा छैन, त्यो विज्ञापनले मलाई किन त्यसरी छोइरहेको छ ! मनभित्र एउटा आवाज आइरहेको छ, महिलाले काम गर्ने ठाउँहरू यस्तै भइदिए... !

विज्ञापनमा एक जना महिला—कर्मचारीको टेबलबाट सामान सारिँदै छ । अर्की महिला—कर्मचारी पङ्खा फिट गर्दै गरेका कामदारलाई सोध्छिन्, ‘अब खानाको गन्ध त आउँदैन नि ?’

हाकिमझैं लाग्ने एक जना पुरुष त्यही समयमा आउँछन् र भन्छन्, ‘अबदेखि बैठकको समयमा हरेक आधा घण्टामा पानी र थप खाना ल्याउनू ।’ त्यत्तिकैमा एक जना महिला—कर्मचारी एकदमै हँसिलो अनुहार लिएर आफ्नो क्याबिनमा जान्छिन् । तर, जब उनी क्याबिनमा आफ्ना कुनै पनि सामान देख्दिनन् तब एकदमै अचम्ममा पर्छिन् । आफैंसँग अङ्ग्रेजीमा भन्छिन्, ‘उनीहरू कसरी यस्तो गर्न सक्छन् ? त्यो पनि, म गर्भवती भएको समयमा ?’

हतासिएको भावमा उनी माथिल्लो तलाबाट तल्लो तलामा एचआरसँग कुरा गर्न जाँदै गर्दा भुइँतलाको एउटा कोठाको ढोकामा आफ्नो नेमप्लेट देख्छिन् र टक्क अडिएर भित्र हेर्छिन् । कोठामा उनका सबै सामान मिलाएर राखिएको हुन्छ– एकदमै आरामदायी कुर्सी, खुट्टा राख्न सजिलो सानो टुल । अनि भित्र पस्छिन् र कुर्सीमा एकदमै आरामले बसेर यताउता घुम्दै मुस्कुराउँछिन् । उनै हाकिमजस्ता लाग्ने व्यक्ति ढोका ढकढकाउँदै भित्र पसेर सोध्छन्, ‘तिमीलाई सहज छ ?’ महिला खुसी मुद्रामा मुस्कुराउँछिन् । यो एउटा कुनै चीजबीजको विज्ञापन थियो, तर विज्ञापन मात्रै थिएन ! गर्भवती महिलाका लागि उनको कार्यस्थल कसरी सम्मानजनक र सजिलो हुनुपर्छ भन्ने बलियो सन्देश दिने दृश्य सामग्री पनि थियो ।

तर, के हामीले हाम्रो परिप्रेक्ष्यमा गर्भावस्थामा आफ्नो कार्यालयबाट त्यस्तै सम्मानजनक व्यवहारको अनुभव गरेका छौं ? मनमा यो प्रश्नले डेरा जमाउन थालेको धेरै भएको छैन । करिबकरिब डेढ वर्षपहिले मैले आफूले गर्दै आएको जागिर छोडेँ । अनि मेरी साथी र म मिलेर यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे छलफल गर्न ‘गुलाबी संवाद’ नामक पडकास्ट यात्रा थाल्यौं । त्यतिबेला कोरोना महामारीको दोस्रो लहर सुरु भएको थियो । हामी आ–आफ्नै घरबाट काम गर्थ्यौं । दुवै जना जागिर छोडेर घरमा थियौं । त्यसैले हामीसँग घर खर्चकै लागि पनि आम्दानीको बलियो स्रोत थिएन ।

तर, पडकास्टसँगै घरै बसेर केही सानोतिनो काम गर्न सकिन्छ कि भन्ने सोचले मेरो मनको दैलोबाट चियाइरहेको थियो । त्यही बेला मैले थाहा पाएँ, एउटा राम्रो नाम चलेको गैरसरकारी संस्थाले नाटक लेखनबारे तालिम आयोजना गर्दै रहेछ भन्ने ।

मैले नियम पुर्‍याएर तालिमका लागि आवेदन दिएँ । केही दिनपछि तालिममा छनोट भएको खबर आयो । अनलाइनबाटै तालिममा सहभागी हुन पाइने कुराले झनै खुसी भएकी थिएँ ।

तालिमपछि हामी सहभागीले लेखेका नाटकका आधारमा कोही जागिरका लागि छनोटमा पर्ने कुरा थियो । तालिमलगत्तै नाटक लेखेर पठाएँ । केही दिनपछि म सर्ट लिस्टमा परेको खबर पनि आयो र भनियो, ‘अन्तर्वार्ताका निम्ति तयार हुनू ।’ भर्चुअल अन्तर्वार्तामा उक्त संस्थाका नेतृत्वमा बसेका र नेपाली मिडियामा जमेका सम्पादक/लेखक सहभागी थिए । केही दिनमै मलाई संस्थाबाट फोन आयो । भनियो, ‘तपार्इं छनोटमा पर्नुभयो । भोलिदेखि नै जागिर सुरु हुनेछ ।’ खबरले म खुसी नहुने कुरै थिएन । बहुतै खुसी भएँ । साथमा मैले अर्को खुसी पनि मभित्र हुर्काइरहेकी थिएँ ।

म गर्भवती भएकी थिएँ ।

चिकित्सकले गर्भवती भएको सुरुवाती केही समय मलाई हिँडडुल नगर्नू भनेर सचेत गराएका थिए । मैले छनोटमा परेको खबर सुनाउनेलाई पनि भनेँ, ‘म प्रेग्नेन्ट भएकाले भोलि नै त आउन सक्दिनँ । अफिसले आवश्यक लागेर बोलाएको समयमा तुरुन्तै आउँछु । बाँकी घरबाट मिल्ने काम घरबाटै गर्छु । तर, म गर्भवती भए पनि कामको सवालमा आफूले पाएको जिम्मेवारी राम्रोसँग निभाउनेछु ।’ मैले यति भन्नेबित्तिकै फोनमा कुरा गरिराख्नुभएकी स्टाफले भनिन्, ‘म सरहरूसँग कुरा गरेर तपाईंलाई एक छिनमा खबर गर्छु ।’

तर, महिला स्टाफको सोधाइको अन्तर्य मैले बुझिहालेँ । सायद यस्तै केही, ‘ए, तपाईं प्रेग्नेन्ट पो...?’ कुराकानी भएको लामो समय बित्यो । महिना बेसी नै । मलाई कुनै खबर आएन । सोचेँ, केही प्रक्रिया चल्दै होला । तर, त्यही समयमा मैले एक साथीमार्फत थाहा पाएँ, त्यहाँ त मेरो ठाउँमा अर्कैलाई नियुक्त गरिसकियो । मैले कुरा बुझिहालेँ ।

त्यसपछि मैले संस्थाका प्रमुखलाई इमेल गरेर सोधेँ, ‘तपाईंको कार्यालयबाट फोन पर्खिरहेको थिएँ । सरहरूसँग बुझेर फोन गर्छु भन्नुभएको थियो । मैले किन खबर पाएको छैन ? मेरो गर्भावस्थालाई लिएर केही फरक निर्णय गर्न लाग्नुभएको हो भने जानकारी चाहियो ।’

केही समयपछि संस्थाका प्रमुखबाटै प्रतिउत्तर इमेल आयो, जसमा मलाई जागिर दिन्छु भनेर नदिनुको कुरामा कुनै पनि चित्तबुझ्दो र प्रस्ट कारण थिएन । मैले फेरि इमेल गरे । त्यसपछि संस्थाका प्रमुखले नै मलाई व्यक्तिगत नम्बरबाट फोन गरे । ‘सबिता जी, (आफ्नो स्टाफको नाम लिँदै)... सँगको कुरामा केही कन्फ्युजन भयो होला । तपाईंले भन्नुभएजस्तो कुरा उहाँले हामीसँग गर्नुभएको छैन । मिस कम्युनिकेसनका कारण तपाईंलाई नराम्रो महसुस भयो । त्यसका लागि क्षमा चाहन्छौं, तर तपाईंको गर्भावस्थाकै कारण तपाईंलाई नबोलाएको हैन ।’ ठीक छ । तर, प्रस्ट हुनुपर्ने कुरा के थियो भने म गर्भवती छु भन्नेबित्तिकै ‘तपाईं भोलिदेखि काममा आउनुस्’ भनेर फोन गर्ने स्टाफको आवाज हडबडाएको थियो । र, त्यही हडबडाएको आवाजमै उनले ‘सरहरूसँग सल्लाह गर्छु’ भनेकी थिइन् । संस्थाका प्रमुखको कुरा सुन्दा र उनले क्षमायाचनाको कुरा गरिरहँदा पनि ‘ए, तपाईं प्रेग्नेन्ट पो... ?’ भन्ने नै अन्तर्य थियो । ‘गर्भवती भएकाले तपाईंलाई काम दिन सक्दैनौँं, छानिनुभएको त हो.. तर गर्भावस्थाका कारण हामी तपाईंलाई काममा राख्न सक्दैनौं ।’ असली आशय त यो पो थियो ।

नत्र ‘तपाईं नाटक लेखकका रूपमा छानिनुभएको छ, तपाईंको काम भोलिदेखि सुरु हुन्छ’ भनेर फोन आइसकेपछि यो सबै कुरा कसरी भयो होला ? आखिर ती ‘सर’ को थिए, जसले ‘छनोट भइसकेको’ खबर गरेपछि पनि गर्भवती भएकै कारण त्यो काम मलाई मिलेन ? मेरो गर्भावस्थाले काममा कुनै पनि असर नगर्नेमा त मैले आश्वस्त उत्तिखेरै बनाइसकेकी थिएँ । काममा पनि देखाउनेवालै थिएँ ।

ती ‘सर’ हरू उनै थिए, जो महिला हक–अधिकार र समानताका कुरा त गर्छन्, तर ‘सक्षम छ’ भनी आफैंले निर्णय गरेर छनोट गरिसकेपछि पनि गर्भावस्थाबारे थाहा पाएपछि पछि हट्छन् । उक्त संस्थाले महिला हक, हितबारे गुणस्तरीय कार्यक्रम बनाइरहेको छ । तर, व्यवहार भने ? सिकार त म पनि भएँ । यो त मैले भोगेको एउटा प्रतिनिधि घटना मात्रै हो । केही दिनअघि मैले आफूले भोगेको यो घटना ट्वीटरमा लेखेँ । मलाई थाहा भयो, यस्तो तीतो अनुभव भोग्ने म एक्लो छैन ।

‘ए, तपाईं प्रेग्नेन्ट पो...?’ भन्ने आशयका कारण जागिरबाट निकालिएका वा जागिर नदिइएका थुप्रै अनुभव चिनेजानेका साथीले नै सुनाए ।

कोरोना सङ्कटमा घरबाटै काम गरेकी एक साथीले वर्षौंदेखि कार्यरत संस्थाले, गर्भवती भएकै कारण जागिरबाट निकालेको अनुभव मलाई सुनाइन् । नजिक घर भएकाहरू निजी सवारीमा अफिस आउजाउ गरेको, तर आफ्नो घर टाढा भएकै कारण अफिस आउजाउमा असहज भएको र गर्भावस्थाका कारण थप जोखिम भएको बताउनेबित्तिकै उनलाई अफिसले ‘अहिले भर्खरै राजीनामा दिनुस्’ भनेको रहेछ । अचम्म त यो छ कि, ती साथी काम गर्ने संस्थाले उत्पादन गर्ने कार्यक्रम पनि गर्भावस्था, सुत्केरी र बच्चाको पोषण, स्याहारसम्बन्धी रेडियो कार्यक्रम थियो, जहाँ उनी स्वयं काम गर्थिन् !

अर्की एक जना साथी, जसले केही महिनाअघि मात्रै विवाह गरेकी थिइन्, उनको पनि अनुभव यस्तै छ । अन्तर्वार्ताको सुरुमै उनलाई सोधिएको थियो, ‘तपाईं विवाहित हो कि होइन ? तपाईंहरू बच्चा जन्माउने योजनामा हुनुहुन्छ कि नाइँ ? तपाईंको श्रीमान्ले तपाईंलाई फिल्ड जान दिनुहुन्छ कि हुँदैन ?’ उनलाई गरिएको प्रश्न सुनेरै म रिसले झिनिनि भएँ । अरे यार के पारा हो यिनीहरूको ?

यी प्रश्नको उत्तर ती साथीले जे हो त्यही भनेर दिइन् । जागिर पाइनन् । त्यो संस्था, जसले महिलाका हितमा काम गर्छ, त्यही संस्थाले महिला भएकै कारण विवाह र बच्चा जन्माउने योजनाको कुरा सुनेर जागिर दिएन भनेपछि उनीहरू के काम गर्छन् ? कुन महिलाको हक–अधिकारको लडाइँ लड्छन् ? अहिले पनि मलाई अचम्म लाग्छ ।

सायद यी दुई घटना र मैले भोगेजस्तो व्यवहार अझ भनौं विवाह भएकै कारण वा बच्चाको योजना बनाएकै कारण वा गर्भवती भएकै कारण कति महिलाले जागिरबाट निकालिनुपरेको होला ? कतिले पक्कापक्की भइसकेको जागिर गुमाउनुपरेको होला ? काठमाडौं असनको त्यौड माविकी शिक्षिकाले आफू गर्भवती भएको र डाक्टरले आराम गर्नुपर्ने अवस्था उल्लेख गर्दै लेखिदिएको प्रेस्किप्सन लिएर प्रधानाध्यापकसँग बिदाका लागि कुरा गर्दा अपमान र हिंसा सहनुपर्‍यो । दौडधुप र तनावबीच जन्मिएको बच्चा गुमाउनुपर्‍यो । प्रधानाध्यापकविरुद्ध उनले कानुनी उपचारको बाटो रोजिन् । र, अन्ततः अदालतले प्रधानाध्यापकलाई १० हजार रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको आदेश दियो ।

कुनै पनि मानिसलाई उसको वैवाहिक र शारीरिक अवस्थामाथि विभेद गर्न पाइँदैन भन्ने कुरा नेपालको संविधानमै उल्लेख छ । धारा ३८ मा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यबारे ऐन’ उल्लेख छ । उक्त व्यवस्थामा हक कार्यान्वयनका लागि बनेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको दफा १३ मा ‘सुत्केरी हुनुअघि वा पछि ९८ दिन तलबी बिदा पाउने, त्यतिले अपुग भए डाक्टरको सिफारिसमा एक वर्ष बेतलबी बिदा पाउने, श्रीमान्ले समेत सुत्केरी स्याहार विदाका लागि श्रीमती सुत्केरी हुनुअघि वा पछि गरी १५ दिन बिदा पाउने’ उल्लेख छ । यो सुविधा सरकारी, गैरसरकारी र निजी संस्थामा काम गर्ने महिलाले पाउने ऐनमै व्यवस्था छ । त्यस्तै श्रम ऐन २०७४ ले पनि कुनै पनि श्रमिकलाई भेदभाव गर्न नहुने प्रस्टसँग उल्लेख गरेको छ । गर्भवती श्रमिकलाई पारिश्रमिक र सुविधामा कटौती नगरी निजको शारीरिक अवस्थाअनुसार सहज र उपयुक्त काम वा सेवामा लगाउनुपर्ने उल्लेख गरिएको छ ।

यो त भयो नेपालको कानुनमा गर्भावस्था र सुत्केरी भइसकेपछि महिलाको सुविधाका कुरा । अन्तर्राष्ट्रिय अभ्यासमा पनि गर्भवती भएकै कारण एक महिलालाई कुनै पनि प्रकारको विभेद गर्न पाइँदैन भन्ने विषयमा विभिन्न समयमा बहस भइरहेकै छन् । महिलाको प्रजनन अधिकार र श्रम ऐनमा भएको विषयमा संयुक्त राष्ट्रसंघको कानुन पनि आकर्षित छ । राष्ट्रसंघको महिला अधिकारको अन्तर्राष्ट्रिय विधेयक भनेर चिनिने, महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि संयुक्त राष्ट्रसंघले सन् १९७९ मा स्वीकृत गरी १९८१ सेप्टेम्बर ३ मा लागू गरेको थियो । यस महासन्धिले महिलाको प्रजनन अधिकारलाई सुरक्षित गरेको छ । त्यस्तै प्रजनन स्वास्थ्य अधिकारलाई सन् १९९५को चौथो विश्व महिला सम्मेलनले बेइजिङ घोषणापत्र र कार्ययोजनाले महिलाको मानवअधिकारभित्र अझ विस्तृत र व्यापक रूपमा परिभाषित गरेको छ ।

हाम्रै छिमेकी मुलुक भारतको कुरा गरौं । त्यहाँ महिलाले गर्भावस्थामा पनि स्वतन्त्र भएर काम गर्न सकून्, कुनै प्रकारको विभेदको सामना गर्नु नपरोस् भनेर काम गर्ने महिलाको रोजगारी सुरक्षित गर्न सन् १९६१ मा पहिलोपटक मातृत्व लाभ ऐन ल्याइएको थियो । ऐनले गर्भवती महिलाले बच्चा जन्माउनुअघि र पछि १ सय ८० दिनको तलबी बिदाको व्यवस्था गरेको छ । उक्त ऐनले महिलाको व्यक्तिगत जीवन र कामलाई सन्तुलनमा ल्याउन र महिलालाई समान अवसर प्रदान गर्न सहयोग पुर्‍याएको छ । तर, यत्ति धेरै कानुन, सन्धि, महासन्धि हुँदाहुँदै पनि नेपालका महिलाले बिनाकुनै विभेद काम गर्न किन पाइरहेका छैनन् ?

के महिला अधिकार, प्रजनन अधिकारको वकालत गर्दै आएका र त्यही क्षेत्रमा मात्रै काम गर्दै आएका संघसंस्थाले महिलाको वैवाहिक अवस्था र उसको गर्भावस्थालाई लिएर विभेद गरेका छैनन् होला त ? कानुनमा लेख्दैमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुबन्धहरूमा हस्ताक्षर गर्दैमा विभेदको अन्त्य हुने र महिलाले जस्तोसुकै अवस्थामा पनि आफ्नो कार्यालयमा स–सम्मान काम गर्ने अवसर पाएका छन् त ? कानुनमा भएका व्यवस्थाबारे जानकारी हुँदाहुँदै पनि रोजगारदाता निकायले आफ्ना कर्मचारीलाई विभेद गरिरहेको छ ।

अर्को कुरा, राज्यले दिएको मौलिक हक कार्यान्वयन भयो वा भएन भनेर अनुगमन गर्ने संयन्त्र खोइ ?

प्रकाशित : माघ १४, २०७९ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

युँ : एक ‘सामान्य ढुंगा’ को वृत्तान्त

युँमा हुने पराबैजनी किरणको प्रभाव, रुखको जरामा हुने फस्फोरस र अक्सिजनबीचको प्रक्रियाबाट उत्पन्न उज्यालो हाम्रो अध्यात्मको थालनी हो ।
सौरभ

युँ भन्छौं नेपालीमा, यु/युँ भन्छन् चिनियाँहरू, त्यसैलाई युँ भन्छन् मुस्ताङको उत्तरी भेगका लोबाहरू । एक अर्धबहुमूल्य प्रस्तर हो । अंग्रेजी नाम जेड स्पेनिस मूलको मानिन्छ । तर, त्यो युँबाटै बनेको स्पष्ट छ– ‘अ’, ‘ह’ लाई स्पेनीमा ‘ज’ लेख्ने चलनले । यसै पनि युरोपले युँलाई सोह्रौं शताब्दीसम्म चिनेकै थिएन ।

युँ शेर्पा र थकालीहरूले जेलाई भन्छन् त्योचाहिँ टर्क्वाइज हो । हिमाली भेगमा त्यो आइपुगेको ५ सय वर्ष पनि भएको छैन । अर्थात् सक्कली युँलाई टर्क्वाइजले विस्थापित गरिसकेको छ । यद्यपि अंग्रेजीको जेम शब्द बनेको युँबाटै हो, जवाहरातको जवा शब्द बनेकै युँबाट हो । हरियो चाहिँ युँ, सेतो चाहिँ दर्सनढुंगा मान्ने चलनले गर्दा युँ चाहिँ जेड हो, दर्सनढुंगा चाहिँ क्वार्ज हो भन्ने लाग्न गएको हो धेरैलाई । युँ सेतो रङको पनि हुन्छ र प्रशस्तै पाइन्छ ।

युँ – अन्यत्र

युँको चिनियाँ अर्थ हो स्वर्गको बहुमूल्य प्रस्तर । युँ जापानको राष्ट्रिय प्रस्तर हो, राष्ट्रिय फूल, चरा आदि भनेजस्तै । जापानले कम्तीमा ७ हजार वर्षदेखि जेडको प्रशस्ति गर्दै आएको छ ।

युँ त्यसैगरी पूजित छ ब्रुनेई, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, क्याम्बोडिया, मलेसिया, कोरिया, म्यानमार र फिलिपिन्समा पनि । फिलिपिन्समा यसको उत्खनन/प्रशोधन गर्नेहरू सबै सनातन मतकै प्रकृतिवादी हुने गर्छन् ।

प्रतिष्ठाको प्रतीक हो यो न्युजिल्यान्डका रैथाने माओरीहरूका निम्ति पनि । मान हो यसको स्थानीय नाम । माओरीहरू दक्षिण पूर्व एसियाबाट १३ हजार वर्षअघि न्युजिल्यान्ड पुगेको मानिन्छ ।

उत्तर अमेरिका र दक्षिण अमेरिकाबीचका रैथानेहरूमा पनि यो सम्मानजनक प्रयोगमा छ । मेक्सिकोमा भएको पुरातात्त्विक अध्ययनले मानिसहरू त्यहाँ ३७ हजार वर्षअघि नै पुगिसकेको देखाएको छ । माया, एजटेक र इन्का मध्यअमेरिकी सभ्यता हुन् । तीमध्येको सबैभन्दा पुरानो मायामा याक्तुँ हो यसको नाम । अब थाहा हुन्छ यसको संस्कृति त्यहाँ कहाँबाट गएको हो ।

लुङ–एक

विवाहित महिलाहरूले पहिरिने पोते उनिएको एकसरो धागोलाई लुङ भनिन्छ । त्यसको यथार्थलाई बुझाउन तलका दुई हरफ बाँध्नु जरुरी छ ।

उमा अन्यका र युम्मा लिम्बूहरूका निम्ति देवी हुन् । उमे मंगोलिया, कजाकस्तान, उज्वेकिस्तान लगायत टर्कोमान नस्ल यावत् थेङ्ग्री मतका अनुयायीहरूकी देवी हुन् । थेङ्ग्री शब्द थुहर (पाटे सिउँडी/त्रिशूल) बाट आएको हो । थेङ्ग्री मतका अनुयायी चङ्गेज खाँका नाति हलाकुको राजकीय निसान नै त्रिशूल हो ।

यिन हुन् चीनको दाओइजम/ताओइजम अनुयायीहरूको यिनयाङमध्येकी देवी । दाओइजम संस्कृत देववादकै चिनियाँ रूप हो । यसको मुख्य देवता पाङखु अर्थात् शिव हो, जसलाई धनकुटाका अठप्रे राईहरू पाङदाङवाका नामले बिसु चाडका दिन (वैशाख १) पूजा गर्छन् । दुराहरूको नारखु (शिव) मा परेको खु.पानीका निम्ति हो । त्यसैको खु पाङखुमा आएको हो । यसलाई संस्कृत साहित्यले शिवको पर्यायवाची पिनाक बनाइदिएको छ ।

अर्थात् तिब्बती शब्द ल्हा (देवता) + युँको माला पहिरिएर विवाहपछि उमामा परिणत हुने परम्परा हो नेपाली महिलाहरूको । यो कसैले (पुरानो कान्तिपुरमा कमल दीक्षितलाई उद्धृत गर्दै माधव प्र. पोखरेल) ले लेखेजस्तो मुसलमानी चलन आइलागेको होइन । पोते शब्द पतिबाट आएको हो, विवाहितले मात्र लगाउँछन् यो । यसैबाट बरु अंग्रेजीको लकेट हुन जाने हो । शेर्पा महिलाहरू पनि भन्छन्— उनीहरूको गहनामा युँ हुनु अनिवार्य छ । अर्थात् जुन महिलाले युँ पहिरिने अधिकार पाएकी छिन् ती उमा हुन् भन्ने हामीले बुझ्नुपर्छ ।

पोते आयातको नेपाली स्रोतकेन्द्र सीमापारिको फैजावाद हो, जहाँका अधिकांश उत्पादक र वितरक मुसलमान हुने गर्छन् । त्यसैले भ्रम बनेको हो माथिको । पोते इन्डियामा उत्पादन हुन थालेको २ हजार वर्ष भइसक्यो, जति बेला इस्लाम धर्म जन्मिएकै थिएन । आरन वा ज्यासलमा झुक्किएर चुराको टुक्रा पर्‍यो र त्यो पग्लिएर गोलो बन्यो भने लोल भन्ने गरिन्छ । त्यसबाट पनि लुङ शब्दको मौलिकता थाहा हुन्छ । चुरा त संस्कृतको चूर्णबाट आएको हो । यसैले चुराकै नाम पनि एक युगमा लुङ थियो भन्ने संकेत मिल्छ ।

उमा शब्द २५ सय वर्षअघिको केनोपनिषद्मा पहिलोपल्ट उल्लेख भएको छ । यो सामवेदको एक अंग हो । यसर्थ ऊ+मा अर्थात् ‘ए (चकचक) नगर’ बाट उमा भएको हो भनी चौथो शताब्दीमा लेख्ने कालिदास (कुमार सम्भव) र त्यसैको अनुसरण गर्ने दसौं शताब्दीको ब्रह्म पुराणका व्यास दुवै गलत ठहरिन्छन् ।

लुङ–दुई

ल्हा+युँकै कारणले ढुंगालाई नेवारहरूले लोहँ र राई लिम्बूहरूले लुङ जसरी भन्ने गरेका छन्, संस्कृतको फलामबोधक लोह शब्द बनेकै यसैबाट हो । पाषाण युगपछि आएको हो धातु युग पनि ।

लुँ भन्छन् नेवारहरू सुनलाई । ल्हा+युँबाटै आएको हो । किनभने ग्वाटेमालामा प्राचीन मायानहरूले शवको मुखमा युँका दाना हालेर अन्तिम संस्कार गरेको पाइएको छ । मृतकको मुखमा सुनका टुक्रा हालिदिने प्राचीन नेवार चलन हो । अर्थात् दैवी भन्ने अर्थका कारण युँलाई सुनले विस्थापित गरेको मात्र हो । मगरहरू अहिले पनि शवका छातीमा तामाको टुक्रा राखिदिन्छन् । तर, लोह शब्द वैदिककालमा तामाका निम्ति प्रयोग हुन्थ्यो भन्ने कुरा धेरैले लेखिसकेका छन् ।

थकाली, शेर्पा र नेवारहरूमा सुनको दाँत हाल्ने पुरानो युगको चलन वैभवको भद्दा प्रदर्शन ठान्ने गरिए पनि अन्त समयमा लुँ मुखमा परोस् भनेर गरिएको पूर्वतयारी हो भन्ने बुझ्नुपर्छ ।

लुङ–तीन

सुप्तुलुङ राईहरूको चुल्होको नाम हो । त्यसका तीनतिर हुने तीन लुङ (ढुंगा), राई समुदायबीच हुने अनगिन्ती नामहरूको क्रम, ती स्थापना गर्ने नियमका बारे एक छुट्टै पुस्तक नै दुई राईहरूले लेखेका छन् ।

मूल चुरो के छ भने ती तीन लुङबीच बल्ने आगो सबैभन्दा पवित्र मानिन्छ, त्यसको नजिक पुग्न समुदायबाहिरकालाई वर्जित छ । त्यसको आन्तरिक कारण तल आउने ‘ऊर्जा एक’ ले दिनेछ ।

एउटा कुराचाहिँ जोडिहालौं– राईहरूमा यति धेरै समुदायहरूको विकास नदीले छुट्याएको ससाना भूभागहरूले गर्दा भएको होइन । त्यही ल्हा+युँमा निहित शक्तिको पवित्रतालाई झन्झन् जोगाउने यत्नमा पारिवारिक दूरी बढ्दै समुदायहरूको विकास भएको हो । ल्होसार होइन ल्हा+युँ+सार (जनावर) हो । ‘ल्होँ’ उल्लेख हेरे हुन्छ । (पेज २५ लमजुङको सेरोफेरो – धर्मराज थापा) ।

संस्कृतको यात्राबाट नेपालीमा जात्रा हुँदै, पश्चिम नेपालमा जाँत भएको हो ? भन्ने प्रश्न गर्‍यो भने सोझै बुझिन्छ— यात्राबाट जाँत भएको होइन, जाँतलाई यात्रा बनाइएको हो ।

उपकरणको कालक्रम

घुयँत्रोको बीचमा परेको यँले टड्कारै भन्छ सिकारी युग (हन्टर एन्ड ग्यादरर एज) को उपकरण थियो युँ । तर, युमालुङ हो जाँतो चाम्लिङ राई भाषामा । यसले देखाउँछ युँ हो नेपाली भाषाको जाँतोको मूल रूप– कृषि युग आएपछिको उपकरण ।

त्यसमा लोहोरो शब्द थपेपछि बुझिन्छ ल्हा+युँको रूपान्तरण हो त्यो । त्यसमा विभाजन रेखाचाहिँ छ— घुयँत्रोले पूर्वपाषाण युग संकेत गर्छ र जाँतो र लोहोरोले उत्तरपाषाण युग ।

यही युमा संस्कृतको हिमवन्त, हिमालय र लिम्बूको हिमसाम्माङ बन्न जाने हुन् । स्कन्द पुराण पेज ७४६ मा भन्छ पनि— हेमन्तमा हिमालमा हिमपात हुन्छ ।

लोङमा

चोमोलोङमा (सगरमाथा) मा परेको लोङमाको खास अर्थ हुन्छ– ल्हा (देवी)+युँ (उमा) + मा (आमा) अर्थात् पूरा नाम पृथ्वी माता देवी उमा आमा । यसैगरी लाङटाङ लिरुङ, मकालु, माकालुङ, आमादब्लम आदिआदि अनगिन्ती नामहरू निर्माण हुन्छन् । धवल+युँ– दर्सन र ढुंगा दुवै शब्दको पूर्वरूप हो भन्ने कुरा पश्चिम तराईका थारूहरूले धवलागिरिलाई भन्ने ढारागिन र दुङ्माली राईहरूले पूरै हिमालयलाई भन्ने ढिनारलुङबाट थाहा हुन्छ ।

स्थाणु

स्थाणुको अर्थ ढुंगा र शिव दुवै हो संस्कृतमा भनेर धेरै पटक लेखिसकियो । स्पष्ट छ संस्कृतले इस्ट . माटोमा युँ जोडेर स्थाणु बनाएको छ । यसैबाट संस्कृतको स्थान, नेपालीको ठाउँ, ठेगान, हिन्दीको वतन, पता, अंग्रेजीको स्टेसन, स्टोन, स्टेन, स्टिन, स्टिभिन, टाउन, टन (जस्तै ह्याम्पटन, वेलिङ्टन) बन्न गएको छ । नेपालीमै पनि खोटाङ, बोगटान, लेटाङ, भ्राताङ, मुस्ताङ, लोमान्थाङ, किमाथाङ्का र नेवारीको मटान यसैका नतिजा हुन् । तर, २५ सय वर्षअघि गीताको प्रादुर्भावले नेपाली परम्परा कसरी बिथोलियो भन्ने कुरा तलका दुई पंक्तिबाट बुझ्नुपर्छ ।

ढुंगो र दुबो छोएर शपथ खाने चलन थियो । (नेपालको धार्मिक इतिहास– जगदीशचन्द्र रेग्मी) अमाली सुब्बाहरूले दोषीलाई दर्सनढुंगा र दुबो छुवाएर शपथ खुवाउनुपर्थ्यो । (पेज १९५ तेह्रथुम जिल्लामा सुबांगी प्रथा– भगिराज र शेरबहादुर इङनाम) का यी पंक्तिहरू स्पष्ट भन्छन्– गीता पाञ्चालीको स्थापनापछि उपत्यकामा ढुंगालाई, युँलाई देवता मानेर खानुपर्ने शपथको प्रणाली छुट्यो र गीता छोएर शपथ खाने चलन आयो । जसलाई त्यसको लगभग ५ सय वर्षपछि इसाईहरूले बाइबल छोएर शपथ खाने गरी अनुसरण गरे, त्यसको पनि लगभग ७ सय वर्षपछि इस्लामहरूले पनि कुरान छोएर शपथ खाने गरे ।

जेन र जैन

माथि अंग्रेजीको जेम र जनजिब्रोको जवाबारे लेखियो । युँको प्रशस्ति गर्ने जापानको एउटा धर्मलाई जेन बुद्धिजम भन्ने गरिन्छ । यसैले त्यसलाई बुद्धिजम भनिए पनि जापानको धर्म शिन्तो, हिन्दुकै अपभ्रंस हो भन्दा नेहरू (उनको डिस्कभरी अफ इन्डिया) गलत ठहरिँदैनन् । त्यो आएको छ नै युँबाट ।

लुङ्दर विशेषगरी बौद्धमार्गी शेर्पाहरूबीच प्रचलित धर्मध्वजा हो । तर, नामार्थमा जाने हो भने यो शिवध्वज नै हो ।

जिना अर्थात् महान् विजेताबाट जैन शब्द बनेको हो भन्छन् त्यसका अनुयायीहरू । तर, त्यस्तो बुझिँदैन, जापानी जेन जस्तै युँको अर्को रूपान्तरण बुझिन्छ । किनभने ॐ जैनहरूको पनि प्रमुख चिह्न हो । युँलाई पवित्र मान्ने र युँबाट नै रुपान्तरित बोनका यावत् धर्मावलम्बीको मन्त्र नै ‘ॐ मणि मन्त्रये स्वस्तिकः’ हो । ॐ मणि पद्मे ॐ त बौद्ध धर्मावलम्बीहरूकै मन्त्र हो । अणुव्रत जैनहरूको एक अनुशासन हो । ‘न’ लाई ‘ण’ बनाउने संस्कृत नियमले त्यसो भएको हो । संस्कृतको पिष (पिस्नु) + युँबाटै पाषाण आएको छ । मणिको स्रोत तल ‘ऊर्जा दुई’ मा दिइएको छ । एक ऊँकार मन्त्र हो सिखको पनि ।

यो कुरा दर्सनढुंगा र कैलाश दुवैका निम्ति तामाङ पर्यायवाची युमाबाट थाहा हुन्छ । किनभने ॐ मान्ने जति सबैले कैलाशलाई मान्छन् ।

युँ+सार्तुक (शेर्पा भाषामा दर्सनढुंगा), सिरवालुङ (याम्फु राई भाषामा कमजोर ढुंगा), सेर्मोल (नाछिरिङ राई भाषामा सानो ढुंगा), सेरोम (कुलुङ राई भाषामा सानो ढुंगा), सेरुम (लिम्बू भाषामा दर्सनढुंगा), मीस्यार (बाहिङ राई भाषामा झिल्का) . ईश्वर । नेपालीमा साह्रो ढुंगा भन्छौं पनि ।

ढुंगाको नियम

क. चिह्न प्रस्तर (मार्कर स्टोन) किन राखे होलान् अशोकले लुम्बिनीको स्तम्भमुनि ? किन बस्न पुगे होलान् सिंहासन मानेर दुराडाँडाको ढुंगामा यशोब्रह्म शाह ? – एउटै उत्तर छ दुइटैको । स्टोन अफ मोरा छ स्वीडेनमा । राजकीय आसन मानिने यो प्रस्तर तेह्रौं शताब्दीको हो ।

प्रिन्सेज स्टोन (राजकुमारको ढुंगा) छ अस्ट्रियामा । यो बाह्रौं शताब्दीको हो ।

किङ्ग्स्टन वा किङ्ग्स स्टोन भनिने प्रस्तर छ टेम्स नदीको किनारमा बेलायतमा । यो दसौं शताब्दीको ढुंगा वेसेक्स र इङ्ग्ल्यान्डका राजाहरूको आसन हो । ड्युक्स चेयर (ड्युकको मेच) भनिने प्रस्तर छ अस्ट्रियामै । यो नवौं शताब्दीको हो । स्टोन अफ स्कन– स्टकल्यान्डस्थित त्यो ढुंगा हो, जसमाथि नबसी बेलायतका शासकको राज्यारोहण पूरा हुँदैन । सन् १९५३ मा एलिजावेथ द्वितीयले पनि यसैमाथि बसेर राज्यारोहण पूरा गरेकी थिइन् । स्कन शब्द स्थाणुबाटै बनेको हो ।

लिमाफेल–आयरल्यान्डस्थित शिवलिंगरूपी प्रस्तर हो, जसमा उभिएपछि मात्रै राज्यारोहण पूरा हुन्थ्यो त्यहाँका शासकको । इस्वीको ५०० सम्म आयरल्यान्डका शासकहरू यसैमाथि उभिएर शासन सुरु गर्थे ।

ख. सिन्दूरेढुंगा अर्थात् सिन्दूर लगाएर यशोब्रह्म शाहको राज्याभिषेक भएको यो प्रस्तरको कथा हो सोह्रौं शताब्दीको ।

ढुंगा स्थान अर्थात् द्रव्य शाहको राज्याभिषेक भएको स्थान हो लिगलिग, गोरखाको । राजारानी घाम ताप्ने ढुंगा छ छिल्लीकोटमा । यो सोह्रौं शताब्दीकै अर्थात् विसं १५६० का मेघबहादुर शाहसँग जोडिने प्रस्तर हो ।

प्रस्तर छ यस्तै सल्यानको साङकोटमा । यसको कथा पनि सोह्रौं शताब्दीबाट सुरु हुन्छ । हात्ती बाँध्ने ढुंगा छ राम्चे प्यूठानमा । भनिन्छ त्यसमा राजाको हात्ती बाँधिन्थ्यो, तर प्यूठानमा हात्ती बाँधिँदैन । यसलाई राजाकै भनिन्छ पनि ।

ग. चिसो ढुंगा रहेछ– पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा उपत्यकाका राज्यहरूलाई भनेका छन् । राज्य भनेको ढुंगा हो यसरी हाम्रा निम्ति । त्यसैले त्यसको प्रतिनिधि हो ढुंगा– सिंहासनको रूपमा ।

बुद्ध गद्दी नलिए पनि परम्पराले कपिलवस्तुका राजा हुन्– यसैले मार्कर स्टोन राखेर अशोकले उनलाई सिंहासन दिए । तुतनखामनको शव प्रदर्शन निम्ति पेरिस लगिँदा फ्रान्सले शाही सलामी दिएजस्तै ।

घ. उपत्यकाका सयौंसयौं डबली (खट राख्ने ठाउँ . देवालय) हरूको अध्ययन गरियो र देशभरिका बस्तीहरूबीचको प्रमुख ढुंगाहरूको सांस्कृतिक अध्ययन गरियो भने लिमाफेलको प्राचीनतालाई पनि नाघ्ने प्रशस्तै उदाहरण फेला पर्लान्, तर यति बेलालाई २५ सय वर्षअघिको मार्कर स्टोन नै हाम्रा निम्ति प्रशस्त छ ।

‘राजा नेस्टर पालिसदार ढुंगामाथि बसे’— होमरले अडिसीको बुक ३ मा यस्तो लेखेका छन् । यो बुद्धको समयभन्दा ३ सय वर्षअघि लेखिएको कुरा हो । यसैले हामीलाई मार्कर स्टोनभन्दा पर जानु छ ।

लेखिसकियो स्थाणु भनेको शिव र प्रस्तर दुवै हो । अर्थात् प्रस्तरमा औपचारिक रूपमा बसेको वा बसाइएको पात्रको अर्थ हो– ऊ दैवी शक्ति भएको पात्र हो । शिव हो । पछि यही शिवरूपी राजा विष्णुको अवतारमा परिणत भयो ।

ऊर्जा–एक

तर, गुरुङहरूको युमधिग्री र तामाङहरूको युमा भने क्वार्ज हो, जसलाई हामी दर्सनढुंगा भन्छौं । अझ तामाङहरूको युमा क्वार्ज र कैलाश दुवै हो । क्वार्ज शब्द बनेकै कैलाशबाट हो । संस्कृतमा केलाश भनिन्छ अंग्रेजीको क्रिस्टललाई, क्वार्ज क्रिस्टलकै रूपमा हुन्छ । एजटेक भाषामा काल्सिउइटल भनिन्छ युँ लाई । काल्सी (कैलाश) + उइटल (याक्तुँ) भन्ने स्पष्टै देखिन्छ ।

भन्नाले युँ खासमा क्वार्ज नै हो । तर, त्यसलाई विस्थापित गर्‍यो आदियुगमै जेडले भन्ने कुरा विज्ञानको एक यथार्थबाट थाहा हुन्छ— सूर्यको परावैजनी किरण लगातार परेपछि वा ताप बढेपछि क्वार्ज चम्किन्छ, जेड चम्कँदैन । यसैले क्वार्जलाई भनियो दर्सनढुंगा, यसैले ज्योतिर्लिंगको परिकल्पना गरियो ।

जेडलाई देवतास्तरको प्रस्तर मान्ने चिनियाँ, जापानीदेखि माओरी र मायानसम्मको चलन यही दर्सनढुंगाको अनुकरण हो । उजिनढुंगाको खास अर्थ नै उज्यालो दिने ढुंगा हो, हतियारमा साँध लगाउने ढुंगा बुझ्ने गल्ती भइरहेको छ । याँमानको (ठूलो) ढुंगा भन्ने चलन नै युँ ढुंगा भन्ने हो ।

ढुंगा स्थापना नगरी दिव्यज्योति वा अलौकिक शक्तिको दर्शन नपाइने हुनाले त्यो स्थापित हुन पुगेको हो । यसैले ‘यो जाति मूर्तिपूजक भने होइन’ भन्ने एक लेखकको उक्ति (पेज १२५ साम्पाङ राई चिनारी– खगेन्द्र ब. राई) २५ होइन २६ सै आना सही हो । धवल+युँ रूपान्तरण भएको हो दिव्य, देवता र दीपमा नकि उल्टो यसैले त दिव्यज्योति ।

टीका

स्फटिक हो क्वार्जको अर्को संस्कृत नाम । यसैको टीक बन्न पुगेको हो टीका भन्ने कुरा मगर र शेर्पा भाषाबाट थाहा हुन्छ । निधारमा सेतो टाटो भएको गाईलाई खाममगरहरू डौला भन्छन् । त्यो धवलबाट आएको हो । अर्थ हो, सेतो स्फटिकजस्तै । शेर्पाहरू निधारमा सेतो टाटो भएको घोडालाई थुक भन्छन्, त्यो त्यही टीकको रूपान्तरण हो ।

यसैले राई, लिम्बू, गुरुङ यावत् टीका लगाउनुपर्दा सेतै लगाउँछन् । बुद्ध धर्मको उदयपछि माराको रङ रातो भएकाले नलगाएको भन्ने व्याख्या चलेको छ । टीका बौद्ध परम्पराको होइन पनि ।

क्वार्जमा देवता छन् भन्ने धारणाले गर्दा नै नरसिंह पुराणका व्यास हिरण्यकशिपुको तर्फबाट स्फटिकको खम्बा देखाउँदै प्रह्लादलाई सोध्न लगाउँछन्— तेरो देवता यहाँ पनि छ ? सेतो वस्त्र धारणलाई राई, लिम्बूले सबैभन्दा पवित्र किन मान्छन् भन्ने यसैबाट पुष्टि हुन्छ । ज्योति हुन्छ नै सेतो, धामीले पनि त्यस्तै पहिरन्छन् । रातो टीका र पोते शाक्त धारको उदयपछि र पहेँलो टीका र पोते वैष्णव धारको उदयपछि थपिन पुगेको हो । अन्यथा टीका भनेकै सेतो हो शिवको ।

स्फटिकको रूपान्तरण हो संस्कृतको स्वेत, यही स्फटिक ‘मिसनोमर’ बन्न पुगेको छ नेवारीको हाकु (कालो) शब्दमा ‘स’ बदलिएर ‘ह’ हुने भएकाले । त्यो गलत बाटो देखाइदिएको हो कर्मकाण्डी व्यवहारले– स्फटिकलाई तिलक (कालो) मा रूपान्तरण गरेर । मानौं त्यो कालो तील हो । राजतिलकको अर्थ कालो अभिषेक हो त ? नूर उर्दूमा उज्यालो हो, नोर्बु तिब्बतीमा मणि हो । युँ . नु हुन गएको हो । रात्रि+युँ . रत्न भएको हो । यही कारण शिवलाई रातसापेक्ष मानिन्छ, जति बेला प्रकाश टड्कारो देखिन्छ ।

ऊर्जा–दुई

विषयान्तर लाग्ने यो ऊर्जा–दुई लेखिएन भने यो लेखोटले चुरो पाउनेछैन । जनकलाल शर्माले लेखे— आत्मतुष्टिका लागि वटवृक्ष पूजा गर्ने प्रथा ल्याउने श्रेय यसै नेग्रिटो जातिलाई छ । (पेज ४०, हाम्रो समाज ः एक अध्ययन) तर, तिनले गलत लेखे ।

किनभने एक जना लेख्छन्—

१. कास्कीवासीहरू राति उज्यालो दिने उजेली काठ घरमा राख्ने गर्छन्, सम्पन्नता मिल्ने विश्वास गरिन्छ । कुसुन्डाहरू यसको बोक्रा दिएर अन्न लिन्थे । (पेज २०, कास्की राज्यको इतिहास)

२. धुलिकोट राज्यको जगन्नाथ मन्दिर गिठ्ठा रूखको तल छ, जसको जरालाई उजेली काठ भनिन्छ । राति उज्यालो देखिन्छ । (पेज १९, प्राचीन नेपाल, अंक १५५)

कुन प्रजातिका रूखलाई भनेको हो पंक्तिकारले तिनका लेखक राजाराम सुवेदीलाई एक जम्काभेटमा सोधेको थियो । तर, थाहा रहेनछ । यो रूख हो नेपालको रैथाने फलेदो, संस्कृतको मन्दार, विज्ञानको इरिथ्रिना स्ट्रिक्टा । हजार मिटरदेखि १६ सय मिटरसम्म नेपाल मात्र होइन, इन्डिया, म्यानमार, चीन, इन्डोचीन सबैतिर पाइन्छ । न कि शर्माले तय गरेको नेग्रिटो इलाका मेलेनेसिया ।

मन्दार शब्द बनेको हो मणि+दारबाट । दार आएको हो तरु (लहरा) बाट । यसैले तरु (लहरा)+अक्ष (आँखा) . द्राक्ष (अंगुर) । मुनि (तल) बाट आएको हो मणि, जसलाई मुण्ड (टाउको) मा लगेर संस्कृत साहित्यले स्थिर गरिदिएको छ ।

यही कारण संस्कृत साहित्यले मन्दारलाई इन्द्र (विष्णु) को बगैंचाका पाँच वृक्षमा तोकेको हो । यही कारण शिव स्थान हुन्छ, विष्णु मन्दिर हुन्छ । विष्णुलाई सेमन्तमणि, कौस्तुभमणि जस्ता अनेक काल्पनिक मणिसँग सम्बन्धित पुराणले बनाउने चलनमा यही रूखको जरा हो । माओरी ‘मान’ को आधार यही हो । जनकलालले लेखेको मेलेनेसियन मेनावाद (पेज ११४) को जग यही हो ।

जरामा रहेको फस्फोरसको अक्सिजनसँग रासायनिक प्रक्रिया भयो भने जरा चम्केको देखिन्छ । त्यही हो यसको आधार ।

तर, मन्दारको जरा मात्रै र सधैं नै चम्किन्छ भन्ने होइन । कालिदासले रघुवंशमा उज्यालो बिरुवाको प्रसंग दिएका छन् । कुमार सम्भवमा उनले नाम लिएको दीपजडी नेपालमा पाइन्छ भनेर मुरलीधर भट्टराई ‘नेपाल द बर्थ प्लेस अफ कालिदास’ ले भनेका छन् । यो कश्मीरको भ्यान्दर उपत्यकामा पाइन्छ भनेर पनि लेखिएको छ । (फ्लावर्स अफ द कश्मीर भ्याली – गिरिराज शाह र मनमोहन शर्मा) । नेपालमा पनि पाइँदो होला अहिले चिन्न सकिएन ।

घोरड्या नामको चम्किने बिरुवाको उल्लेख डोट्याली बृहद् शब्दकोशमा पनि छ । दमौलीका वनस्पतिशास्त्री केबी गुरुङसँग सिमलको जरा महिनौंसम्म उज्यालो देखेको अनुभव नै छ ।

अर्थात् हामीले वृक्षमा उज्यालो (दैवीशक्ति) देखेर त्यसलाई पूजा गरेको हो । त्यो वृक्षको होइन, उज्यालोको आराधना हो । अब कुन संस्कृत परम्परामा द्रुह्युहरू स्थापित भएका हुन् र आयरल्यान्डका २००० वर्ष अगाडिका रूखविज्ञ डुरिडहरू स्थापित भएका हुन् भन्ने कुराको रहस्य खुल्छ । डुरिडलाई केल्टिक सभ्यताको मानिन्छ । केल्टिक एसियायी सभ्यताको हाँगा ठानिन्छ । कैलाशबाट आएको हो केल्टिक लेख्दा धेरैको चित्त बुझ्नेछैन । तर, सन्थालको टरियाँ र केल्टिक टर्क गहना एउटै हो । अफ्रिकाको किलिमान्जारो कैलाशको अनुकरण हो भन्दा टाउकै दुख्ला, तर दक्षिण अफ्रिकाको जुलु भाषा एसियाटिक हो भनेर भाषाशास्त्रले पहिल्याइसकेको छ ।

भन्न खोजेको हामी न ढुंगापूजक हौं, न मूर्तिपूजक, न वृक्षपूजक । हामी ऊर्जा–उज्यालो, दिव्यज्योतिका मात्र अनुयायी हौं । ती उज्यालोका माध्यम मात्र हुन् । गंगाको मैदानमा उठान रहेको कर्मकाण्डले हामीलाई अद्भुत होइन, भूत बनाइदिएको छ । समस्या यहीँनेर छ ।

प्रकाशित : माघ १४, २०७९ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×