१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

सांस्कृतिक योद्धाको साङ्गोपाङ्ग इतिवृत्त

नेपाली जीवनी लेखन–परम्पराको पुरानो पोखरीमा व्याप्त बाक्लो सन्नाटा चिर्दै ‘एक बागी’ ले गतिलो ‘छप्लङ्ङ’ सहित नयाँ तरंग ल्याएको छ ।
गुरुङ सुशान्त

१० वर्षे ‘जनयुद्ध’ टुङ्ग्याएर माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले लेखक खगेन्द्र संग्रौलालाई एक भेटमा भनेछन्, ‘तपाईंले अनुवाद गरेका किताब पढेर माओवादको अभ्यास गरियो । तपाईंप्रति नेपाली क्रान्तिको इतिहास कृतज्ञ छ ।’

सांस्कृतिक योद्धाको साङ्गोपाङ्ग इतिवृत्त

प्रचण्डको यस टिप्पणीको गूढार्थ–सत्यापन इतिहासले गर्ला नै । तर, वैचारिक साहित्य–पठन परम्परामा संग्रौलाले लगाएको गुन अतुलनीय छ, भलै उनले आफ्नो आर्थिक गर्जो टार्नैका खातिर ती अनुवाद गरेका हुनन् । साहित्यका पाठक र पहिचान–आन्दोलनले खगेन्द्र संग्रौलालाई निकै आदरपूर्वक पढ्छन् र सन्दर्भवश उच्च सम्मान गर्छन् पनि । राज्य र राजनीतिक दलहरूको निम्छरोपन र अविवेकीपनविरुद्ध निरन्तर प्रश्न गरिरहेका संग्रौला कहिलेकाहीँ आफ्नो लेखनधनुबाट निकै तिखो शब्दवाण नै प्रहार गर्छन् । वैयक्तिक नाफाघाटा नसोचीकन सत्ताविरुद्ध बोलिरहनु हाम्रोजस्तो समाजमा चानचुने साहसले सम्भव छैन । यस्तै अथक साहसको स्थायी पर्यायवाची बनेका खगेन्द्र संग्रौलाको साङ्गोपाङ्ग जीवनी हो– ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’ ।

उज्ज्वल प्रसाईलिखित ‘एक बागी’ लाई एक व्यक्तिको जीवनी मात्रै सोच्नुचाहिँ पुस्तकले बोकेको महत्तालाई कम आँक्नु हुनेछ । यस पुस्तकले जीवनीको बहानामा महत्त्वपूर्ण ऐतिहासिक पाटोलाई प्राज्ञिक शैलीमा प्रकाशमा ल्याएको यथार्थ गम्भीर पाठकले भेउ पाउँछन् ।

सत्ता र राजनीतिक दलका अन्यायी हर्कतविरुद्ध प्रतिरोध बालिरहने खगेन्द्रको छविका कारण हामी उनलाई संगठनबाहिर मात्रै देख्छौँ । तर, कुनै बेला संगठन आबद्धताकै कारण उनी जेल चलानसमेत भएका थिए । भलै, बागी स्वभावका कारण उनी संगठनमा निरन्तर रहन सकेनन् । संगठनमा नरहे पनि वामपन्थी वैचारिकीमा भने सधैं प्रतिबद्ध रहे । राज्यले अविवेकी कदम उचालेका बेला मौनधारण गर्ने र सत्ताको जयगान गाउनेहरूले ऐनमौकामा ‘आकर्षक’ नियुक्ति पाइरहेका देखिन्छन्, हाम्रो विडम्बनापूर्ण परिदृश्यमा । साथीसंगातीले पटक–पटक सत्ताको निगाहमा ‘उच्चासन’ तिर खुट्टा हल्लाइरहेका बेला खगेन्द्र भने सडकबाट राज्यलाई खबरदारीको चोरऔंलो ठड्याइरहेका हुन्छन् ।

खगेन्द्र संग्रौलाका लेख–रचना पढेर आफूमा वामपन्थी रुझान हुर्काएका युवा पंक्ति अहिले लेखनदेखि आन्दोलनसम्मै सक्रिय छ । हामी धेरैलाई लाग्न सक्छ– कुनै वैचारिक अगुवा सर्वगुणसम्पन्न हुन्छन् र उनको सुझबुझ सुरुवातीदेखि नै परिपक्व हुनुपर्छ । तर, वैचारिकी निर्माण जादुको छडीजस्तो नभई यसको पनि आफ्नै यात्रा र प्रक्रिया हुन्छ । पूर्वी पहाडको ब्राह्मण परिवारमा जन्मिएका व्यक्ति सीमान्तकृत समुदायको पक्षमा खरो उभिन झिनामसिना संगत, साधना र साहसले मात्रै सम्भव थिएन, यो वैचारिकी–निर्मिति रातारात ठडिएको होइन । यसका लागि अनेक अप्ठ्यारा घुम्ती र संघर्षका जटिल भीरहरू छिचोलेका छन्, संग्रौलाले ।

आज महिला मुक्तिका मुद्दामा संग्रौला निकै मुखर ढंगले पितृसत्ताको विरुद्धमा बोल्दै र लेख्दै आएका छन् । तर, पहिलो पटक छोरी जन्मँदा उनी खङ्ग्रङ्ङ भएको प्रसंगमा उज्ज्वलले समीक्षा गरेका छन्– ‘खगेन्द्रको क्रान्तिकारी चेतनाको सतहमुनि त्यस बेलासम्म कतै लुकिबसेको नारीद्वेषी पुरुषको संस्कारलाई छोरी जन्मेको घटनाले फुत्तै सतहमाथि ल्याइदियो । त्यस पुरुषले आफ्नो पहिलो सन्तानका रूपमा अर्को एउटा पुरुषकै अपेक्षा गरेको थियो ।’ जीवनलाई सिकेर कहिल्यै नसकिने प्रयोगशील पाठशाला मान्ने संग्रौला उक्त घटनाबारे आत्मालोचना गर्छन्, ‘छोरीको जायजन्मको खबरले मेरो मनमा जगाएको पितृ–आग्रही र नारीद्वेषी भावको सम्झनाले मेरो चित्तमा अझै ग्लानि, खेद र पछुतोको भावना पैदा हुन्छ ।’

जनजाति, महिला, दलित र मधेसबारे जुन प्रगतिशील विचार आज संग्रौलाले बोकेका छन्, त्यो रातरात भएको कायाकल्प होइन भन्ने निष्कर्ष ‘एक बागी’ ले दिएको छ । यो अविराम यात्राको आकर्षक वर्णन गरेका छन्, उज्ज्वलले । उज्ज्वल स्वयं संग्रौलासँग बौद्धिक संगत गरिरहेका र निरन्तर सीमान्तकृत समुदायको पक्षमा लेखिरहेका अभियानकर्ता भएकै कारण मात्र यति गहकिलो पुस्तक पाठकसम्म आइपुग्न सकेको हो भन्न अनकनाउनु पर्दैन ।

भनिन्छ– ‘जीवनी लेख्न मुस्किल हुनुको प्रमुख कारण हो, जीवनी–नायकका वास्तविक प्रेम–सम्बन्धबारे हुबहु जानकार कोही हुन पनि नहुनु ।’ आफ्नो प्रेमका गुप्त पत्रहरूबारे उज्ज्वलसँग संग्रौला कति खुलस्त भए, यस्सै भन्न सकिन्न । तर, प्रेमलाई रुमानी कल्पनाको बेलुनजस्तो भावावेगको स्वरूपमा बुझ्नु हुन्न भन्ने कुरा संग्रौलाको प्रेमका अल्पकिस्साहरूले प्रमाणित गरेका छन् । उनका अनुभवलाई साक्षी राखेर निष्कर्ष निकाल्न सकिन्छ कि प्रेममा शक्ति–सम्बन्धको भूमिका हुन्छ, साथै प्रेम पनि समाजजस्तै वर्गीय हुन्छ ।

निकटवर्ती लेखकबाट लेखिएको जीवनीमा शोधनायकको सच्चा मूल्य–निरुपण हुन सक्नेमा आशंका गरिने भएकैले भनिएको हुन सक्छ कि जीवनी घोर दुस्मनद्वारा लेखिनुपर्छ । एकोहोरो प्रशंसामय जीवनी पढिरहेका पाठकले आकलन गर्न सक्छन्– ‘एक बागी’ मा पनि प्रसाईले संग्रौलामाथि एक चिम्टी आलोचनासमेत गरेका छैनन् कि ? तर, प्रसाईले वैयक्तिक सम्बन्ध बिर्सेर तटस्थ समीक्षालाई आफ्नो लेखनीको नजिक राखेका छन् । उनले लेखेका छन्– ‘राजनीतिक रूपमा सचेत भएर लेख्न थालेदेखि खगेन्द्रले धर्म माननेन्, जात व्यवस्थाको सधैं विरोध गरे । यद्यपि, जातलाई विम्बका रूपमा धेरै प्रयोग गरिरहे । पछि जात व्यवस्थाविरोधी उपन्यास ‘जूनकिरीको संगीत’ लेखे । पितृसत्ताका प्रभावबाट पूर्णतया मुक्त नभए पनि पितृसत्तावादको संवर्द्धनकै लागि उनले लेखेनन् । तथापि, राष्ट्रवादका मूलतः तीन विशेषता उनका साहित्यिक रचनाहरूमा प्रस्ट देखिन्छ– ‘पहाडी मानसिकता, नेपाली वीरताको रौस र खस भाषाको एकाधिकारप्रति लगभग मौन ।’

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएपछि नेपाली राष्ट्रियता र अस्मितामा खलल पुगेको भनेर विरोधका स्वरहरू सडकमा उठे । त्यतिबेला खगेन्द्र संग्रौलाले पनि त्यस प्रकरणमाथि लेख लेखे । सडकमा उर्लेको झाविरोधी राष्ट्रवादी नारा र खगेन्द्रको लेखको आशयमा कुनै भिन्नता नरहेको टिप्पणी गर्दै उज्ज्वल लेख्छन्– ‘मधेसी अभियन्तासँगको सङ्गत, मधेस आन्दोलनमा देखाएको ऐक्यबद्धता र मधेस नै पुगेर मधेसीका आकाङ्क्षा नियालेर फर्केका उनले नेपाली समाजलाई हेर्ने दृष्टि फराकिलो भएको सार्वजनिक जिकिर गरिसक्दा पनि हिन्दी भाषाप्रतिको सन्देह भने जब्बर रहेछ भन्ने प्रकट गरे । साथै, हिन्दी भाषाले उनको मनमा सुषुप्त हुँदै गएको पञ्चायती राष्ट्रवादको प्रभाव फेरि भुलुक्क भएर उम्ल्यो ।’

साहित्यको अध्येता हुनुको नाताले उज्ज्वल प्रसाईले संग्रौलाका साहित्यिक रचनाहरूको मूल्याङ्कन गर्दा प्रभावपरक शैली रोज्नुभन्दा वस्तुपरक हुने चेष्टा गरेका छन् । शोधनायकको निकटवर्ती सम्बन्धमा रहे पनि उनले मनोगढन्ते निष्कर्ष नदिई लिखित र अलिखित साक्ष्यका आधारमा मात्रै आफ्नो मूल्याङ्कनलाई अघि सारेका छन् ।

नेपालका विश्वविद्यालयहरूमा साहित्यकारको जीवनी, व्यक्तित्व र कृतित्वका नाममा अनेकौँ पृष्ठ चाङ लगाइएका छन् र ती विभाग र पुस्तकालयमा धूलोले पुरिएर अचेत लडेका छन् । अग्रजहरू, हाम्रो पुस्ता र अनुजहरू पनि यस्तै–यस्तै असिर्जनशील कर्मकाण्डको सिकार हुँदै हातमा डिग्रीको खोस्टो लिएर अभिमान बाँचिरहेका छौँ । ती जीवनीमूलक शोधमा जीवन छैन । छ त– फगत सपाट तिथिमिति, पारिवारिक सोपानक्रम, पुस्तकहरूको विवरण र नियोजित तक्मा/पुरस्कारहरूका सूची । जीवनी विधालाई अनेकौँ सन्दर्भ–सामग्रीका आधारमा लेखेर पनि कसरी स्वादिलो बनाउन सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेका छन्, प्रसाईले । यस किताबमा आख्यान र निबन्धको स्वाद मिसिएरै पनि इतिहास लेखिएको छ ।

कुनै न कुनै समय सत्ता सञ्चालक बनेका वा सत्तामा पहुँच भएकाहरूको स्तुति रचिएका छन्, नेपाली जीवनी लेखनमा । तर, ‘एक बागी’ ले सत्तासँग निस्वार्थ प्रश्न गरिरहने एक असली बागी हुर्किएको समय–चित्र खिचेर जीवनी लेखनमा प्रबल नमुना पस्केको छ । इतिहास र साहित्यका अध्येताका साथै दलित, महिला, मधेस, जनजाति र नागरिक आन्दोलनमा रुचि हुने जो–कसैलाई ‘एक बागी’ गतिलो सामग्री हुन सक्छ ।

एक लेखकले चल्दो व्यवस्थामाथि सामान्य सहमति, असहमति र ख्यालठट्टा लेख्न सक्छ । तर, आफू र आफ्नो परिवारको सिङ्गो जीवन नै धरापमा पारेर निरंकुश व्यवस्थाविरुद्ध लेख्न कोही कसैलाई कसरी आँट आउँछ ? यो प्रश्नलाई कमबेसी ‘एक बागी’ ले खोतलेको छ । खगेन्द्र संग्रौला पञ्चायती व्यवस्थाले गरेको दलहरूमाथिको प्रतिबन्धन र एक दलीय ‘राष्ट्रवाद’ सँग लडे, माओवादी नेतृत्वले हिँडेका कतिपय गलत बाटोविरुद्ध बोले, राजा ज्ञानेन्द्रको अधिनायकवादविरुद्ध निरन्तर जाइलागे र केपी ओलीको संसद् विघटनविरुद्ध पनि सडकबाट कुर्लिए । इतिहासका यी मोडहरूमा कुनै–कुनै यत्ति क्रूरतम घडी पनि थिए कि बोले/लेखेबापत यातना दिने, बेपत्ता पार्ने र सहिद बनाउनेसम्मका घटनाहरू हाम्रा स्मृतिमा ताजै छन् । तिनै कठिन समयका एक सांस्कृतिक योद्धा संग्रौलाको जीवनीगत ऊहापोहका साथै पञ्चायतलाई आलोचनात्मक दृष्टिले प्रस्तुत गरेको छ, यस पुस्तकले ।

निर्दलीय व्यवस्था र त्यसका पक्षपाती लेखकमाथि टिप्पणी गर्दै प्रसाई लेख्छन्– ‘पञ्चायतमा शासकहरूको अर्थहीन स्तुति सुनिन्थ्यो, गीत गाउनेलाई पुरस्कृत गरिन्थ्यो । प्रजातन्त्र भनिएको व्यवस्थामा पनि शब्दका भेल बगाएर खास केही नभन्ने उपक्रमलाई साहित्य र दर्शन भनियो, विद्वत् प्रवचन र सारगर्भित मन्तव्य भनियो ।’ प्रसाईले खगेन्द्रको बहानामा पूर्वेली भूगोल, पश्चिमेली परिवेश, पञ्चायती व्यवस्था, शैक्षिक अवस्था, राजनीतिक इतिहास, दलित आन्दोलन, मधेस आन्दोलन, छापा/म्यागेजिनको अवस्था, कम्युनिस्ट आन्दोलन, जनजाति जागरण, माओवादी ‘जनयुद्ध’ र नागरिक आन्दोलनबारे ससाना रेखाचित्र कोरेका छन् । यी रेखाचित्रहरूको गहिरो अर्थ छ, पुस्तकमा । पुस्तकको आशय छ, तत्तत् घटनाकै उत्तरदानको समग्र नै खगेन्द्रको विचार र व्यक्तित्व हो । खगेन्द्रको विचार संरचित र परिशोधन हुँदै गएको साक्ष्यका रूपमा यी घटनावलीहरू ‘एक बागी’ का संसक्ति र संयुक्ति हुन् ।

दुई दर्जनभन्दा धेरै पृष्ठ सन्दर्भ सामग्री र टिप्पणीसहितको अनुसन्धनात्मक पुस्तक भए पनि आख्यानात्मक भाषाका कारण पाठकलाई पुस्तकले आफूसँगै बाँधेर हिँडाउँछ । कतिपय सूचना र सन्दर्भ स्वयं ‘जीवनी–नायक’ सँग लिइएकाले हुनुपर्छ, उज्ज्वलको भाषामा कहीँ–कहीँ संग्रौलाको प्रभाव प्रस्टै देखिन्छ । हुन सक्छ, दुवै लेखकीय भाषाको भाषिका पूर्वेली भएकाले त्यस्तो भान या संयोग पर्‍यो । कतिपय प्राज्ञिक–प्राविधिक शैलीले औपन्यासिक मिठासको पठन–प्रवाहलाई रोकिदिएको अनुभव हुन्छ भने संग्रौलालाई वर्षौंदेखि अध्ययन गरिरहेकालाई लाग्न सक्छ– नागरिक आन्दोलन र साहित्यिक योगदानबारे उज्ज्वलको कलमले कन्जुस्याइँ गर्‍यो । परिवर्तनकामी लेखकहरूले शब्दचयनमा धेरै सावधानी अपनाउनुपर्ने रहेछ भन्ने सिकाइ यस पुस्तक–अध्ययनले पनि सिकाउँछ ।

यस पुस्तकमा प्रयोग भएको एउटा शब्दलाई लिएर सार्वजनिक आलोचना भएको प्रसंग मननीय छ । पुस्तकको दोस्रो खण्ड ‘सुभाङका शासक खलक’ मा प्रसाई लेख्छन्– ‘लक्ष्मीप्रसादको घरभन्दा अलि मास्तिर ढाँड भन्ने एउटा सानो बस्ती थियो, जहाँ लिम्बूका आठदस परिवार बस्थे । त्यहाँका सबै लिम्बू परिवार अत्यन्तै गरिब थिए । तिनका खेत हुने त कुरै भएन, बारी पनि गतिला थिएनन् । उनीहरू उनै संग्रौला मुखियाका खेतबारीमा काम गर्थे । उनकोमा मरेका भेडाबाख्रा, गाईगोरु र भैंसी लगेर खान्थे । सिनो खाएबापत उनको खटनबमोजिम खेतबारीमा काम गरिदिनुपर्ने थिति बसालिएको थियो । त्यो ढाँड मुखिया लक्ष्मीप्रासादको उपनिवेशझैं थियो । ती दस लिम्बू परिवारमा उनको लगभग ठाडो हुकुम चल्थ्यो ।’

प्रसाईले यो प्रसंग संग्रौलाको पुस्तक ‘बाल्यकालका पदचापहरू’ बाट लिएर आफ्नै संकथनमा ढालेर वर्णन गरेका छन् । प्रसाईले तत्कालीन समाजमा जातीय र आर्थिक रूपमा पछि पारिएका समुदायमाथि कथित उच्च जातीय समुदायले कसरी शोषण गर्थे भन्ने चित्रण गर्न उक्त प्रसंगलाई पुस्तकमा जोडेका छन् । यही चित्रणमा परेको ‘सिनो’ शब्दलाई लिएर लिम्बू समुदायका लेखक, अभियन्ता र संस्थाहरूले आफ्नो समुदायको मानमर्दन गरेको भनी विभिन्न माध्यमबाट सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । लिम्बूलाई ‘सिनो’ खाने समुदायका रूपमा चित्रण गरेर लेखकले अपमान गरेको ठहर गर्दै कतिपयले किताब जलाउने र लेखकविरुद्ध अदालत जानेसम्मका आक्रोश पोखे । संवाद/छलफलपछि संग्रौलाको ‘स्पष्टीकरण’ लेख र प्रसाईलिखित वक्तव्य प्रकाशमा आए, जसमा दोस्रो संस्करणमा परिमार्जन गरिने जानकारी समेटिएको छ । विवादको घेरोलाई साँघुर्‍याउँदै हेर्दा दुई कुरा केन्द्रमा देखिन्छन्– शब्दार्थ र नियत । शब्दकोशले ‘सिनो’ शब्दको दुई अर्थ बताउँछ– ‘मरेको पशु र कुहिन लागेको प्राणीको लास ।’ तर, जनजाति समुदायको प्रचलनमा ‘सिनो’ शब्दले कुहिन लागेको या कुहिएको लासलाई जनाउने गर्छ । पहाडी–हिमाली जनजातिहरूमा मरेको चौपाया खाने चलन भए पनि कुहिएको नखाने भएकाले सिनो शब्दलाई घृणित अर्थमै प्रयोग गरिन्छ । आफूले मांसाहारको रूपमा खाने कतिपय चौपाया मार्नुलाई राज्यले कानुनी रूपमा अपराध करार गरी दण्डनीय बनाएकाले जनजातिहरू मरेको चौपाया खान बाध्य भएको इतिहासलाई पनि हामीले सम्झनुपर्छ । हुन सक्छ, शब्दकोश सम्पादक र लेखकको समुदायमा मरेको पशु खाने प्रचलन नभएकाले काटमार गरेको बाहेकका सबै मृत प्राणीलाई सिनोको रूपमा बुझियो ।

खगेन्द्र र उज्ज्वल दुवै लेखक लामो समयदेखि उत्पीडित समुदायका पक्षमा मुखर ढंगले लेख्दै/बोल्दै आएको इतिहास रहेको र ‘एक बागी’ सिङ्गो किताबको गूढार्थ पनि पहिचान पक्षधर रहेकाले लेखकीय नियतमाथि शंका गर्नुचाहिँ उचित देखिँदैन । भनिन्छ, उत्पीडित समुदायको विशेषता आक्रोशित हुनु पनि हो । तर, आगो ऊर्जा भए पनि सही ठाउँ प्रयोग गरिएन भने परिणाम सही निस्किँदैन । त्यसैले कुनै लिखित सामग्रीको खण्डन लिखित रूपमै गर्नु बौद्धिक बुद्धिमानी हुनेछ । ‘वाद–प्रतिवाद–संवाद’ को प्रक्रियाबाट नै ज्ञान–विज्ञानका निचोडहरू निस्कने हुनाले परस्परमा सिक्ने–सिकाउने नै विमर्शबाट हो । यस प्रकरणले हामी सबैलाई कुनै समुदायमाथि लेख्दा शब्दचयनमा बढी संवेदनशील हुनुपर्ने पाठ सिकाएको छ । सम्पादनको चरणमा सावधानीपूर्वक एक पटक राम्रो रन्दा लगाइएको भए यस्ता कसरमसर न्यून हुने थियो ।

नेपाली जीवनी लेखन–परम्पराको पुरानो पोखरीमा व्याप्त बाक्लो सन्नाटा चिर्दै ‘एक बागी’ ले गतिलो ‘छप्लङ्ङ’ सहित नयाँ तरंग ल्याएको छ । यत्ति गहकिलो पुस्तकले अर्को संस्करणमा आफूलाई अझै परिष्कृत गर्दै थप बौद्धिक तागत दिनेछ भन्ने आशा गर्नु नै हितकर होला ।

प्रकाशित : पुस २३, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?