१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

न्यु बिगिनिङ

शिव मुखिया

चिसो ठिहीले साम्राज्य जमाउँदै छ । कतै–कतै हिउँ फुस्फुसाउन थालिसक्यो । ओसिलो दिन र कठ्याङ्ग्रिँदो रातसँगै भित्तामा चालु अंग्रेजी वर्षको क्यालेन्डर फेरिँदै छ । हिजो क्रिसमस इभमा उन्मुक्त रमाएका तन्नेरीहरू साता दिन नबित्दै नयाँ वर्षलाई स्वागत गर्नेछन् ।

न्यु बिगिनिङ

घट्दो मौसमी तापमानलाई चुनौती दिँदै उनीहरू रातभर जाग्रम बस्ने छन्, नाच्ने छन्, गाउने छन् र रमाइलो गर्ने छन् । घडीको सुईले १२ घण्टा फन्को लगाइसकेपछि उमंगसाथ चिच्याउने छन्– ‘ह्याप्पी न्यु इयर ।’
स्वागत गरौं, अंग्रेजी नयाँ वर्षलाई । बिहानीको घामको किरणसँगै उदाउने नयाँ वर्षले जीवनमा नयाँ पालुवाहरू पलाउने छन् । नयाँ उत्साह, उमंग र ऊर्जाले जीवनलाई नयाँ गति दिनेछ । पुरानो पात्रो फेरिएजस्तै जीवनका आयामहरू बदलिने छन् ।
नयाँ वर्षलाई कसरी स्मरणीय बनाउने ? इभ पार्टी कसरी सेलिब्रेट गर्ने ? तन्नेरीहरू योजना बुन्न थालिसके । कोही नाइट स्टेको तयारीसहित भोटेकोसीको तिरमा पुग्लान् । कोही मस्त नाच्ने मुड बनाएर ठमेल वा दरबारमार्गको डान्स क्लबतिर लम्केलान् । कतिले घरमै साथीभाइलाई निम्तो गरेर मीठो–मसिनो खाँदै रमाउँलान् ।
नयाँ वर्षलाई धुमधामका साथ मनाउने मुडमा छन्, गायक सन्तोष गुरुङ । ‘परिवार र साथीहरूसँग एकदमै रमाइलो गर्ने तयारीमा छु,’ सन्तोष भन्छन् । नयाँ वर्षकै लागि उनले केही संकल्पसमेत गरेका छन् । जस्तो कि, नयाँ गीत कम्पोज गर्ने, नयाँ एल्बम सार्वजनिक गर्ने । आउँदो वर्षलाई आफ्नो निम्ति ‘उपलब्धिमूलक वर्ष’ बनाउने सोचमा छन्, सन्तोष ।
श्वेता अग्रवाल साथीहरूसँग रेस्टुराँ जाने योजनामा छिन् । ‘खाने, पिउने र मस्त नाच्ने हो,’ श्वेता भन्छिन् । यता स्टन्ट राइडर दिपेश श्रेष्ठको योजना अलि फरक छ । उनी नयाँ वर्षलाई स्वागत गर्न पोखरा पुग्नेछन् । त्यहाँ उनले बाइक स्टन्ट प्रदर्शन गर्ने र रोड सेफ्टीको सन्देश बाँड्ने छन् । यसै सिलसिलामा तनहुँ पुगेर तन्नेरीहरूलाई बाइक स्टन्ट सिकाउने छन् ।
तन्नेरीहरू चाहन्छन्– ‘जीवनलाई उत्सवमय बनाउनुपर्छ ।’ यसैले हुन सक्छ, उनीहरू कुनै पनि अवसरलाई हम्मेसी उम्कन दिँदैनन् । चाहे त्यो क्रिसमस होस् वा दसैं, नयाँ वर्ष होस् वा इद । जीवनलाई उन्मुक्त जिउन चाहने यो पुस्तालाई भूगोल र सम्प्रदायको संकीर्ण परिधिले कत्ति पनि छेक्दैन ।
‘जीवन काँडा कि फूल’ पुस्तकमा झमक घिमिरे लेख्छिन्– ‘म ती बैंसालु रहरहरू, ती बैंसालु उमंग र उत्साहहरू भरपुर भोग्न चाहन्थें ।’ उनको यो भनाइले आम तन्नेरीको मनोविज्ञानसँग मिल्छ । उनीहरू पनि जीवनका बैंसालु रहरहरू भरपुर भोग्न चाहन्छन् ।
नयाँ वर्ष त्यस्तो बाहना पनि हो, जसले जीवनलाई नयाँ ढंगबाट सोच्ने, व्यवहार गर्ने मेलोमेसो मिलाइदिन्छ । जीवनमा नयाँपन र ताजगी भर्न सकिन्छ । विगतका कमी, कमजोरीलाई सच्याएर अगाडि बढ्ने बाटो खुल्छ । त्यसैले त कति तन्नेरीले मनमनै प्रण गरिसकेका हुन सक्छन्, ‘म यो वर्षलाई एकदमै फलदायी, परिणाममुखी र सार्थक बनाउन प्रयास गर्नेछु ।’ यसका निम्ति उनीहरूले बुँदागत रूपमै आफूले अपनाउने कामको सूची तयार गरेका पनि होलान् ।
यदि सोचेजस्तै भयो भने आशा सुवालका निम्ति आगामी वर्ष जीवनकै स्मरणीय र विशेष हुनेछ । किनभने त्यो वर्ष उनी बिहे गर्ने योजनामा छिन् । तर, भावी जीवन साथीको भने निक्र्योल गरिसकेकी छैनन् । काठमाडौं क्लिनिक अफ कस्मेटिक्स सर्जरीमा कार्यरत आशा चाहन्छिन्, ‘हुनेवाला जीवन साथी परिपक्क र शिक्षित होस् ।’ त्यसो त लक्ष्यमा पुग्नका निम्ति पढाइलाई थप अगाडि बढाउने सोचाइ पनि राखेकी छन् ।
कान्तिपुर डेन्टल कलेजबाट स्नातक गरिरहेकी सम्पदा श्रेष्ठ भन्छिन्, ‘हरेक वर्ष केही न केही नयाँ काम गर्छु भन्ने कमिटमेन्ट गरिन्छ ।’ आफैंमाथि गरिने यस्ता प्रतिबद्धताले आफूलाई थप निखार्दै लाने उनको बुझाइ छ । यता प्रकाश रेग्मीचाहिँ आउँदो वर्ष वेभ डेभलोपमेन्टमा बढी समय खर्चने सोचमा छन् । ‘करिअरको हिसाबले पनि यो राम्रो क्षेत्र हो,’ काठमाडौं युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक प्रकाश भन्छन्, ‘त्यसैले यसलाई बढी समय दिनेछु ।’
आफूलाई निखार्दै थप व्यवस्थित र सफल बनाउने वाचा धेरैले गरेका होलान् । कसैले पढाइमा उत्कृष्टता हासिल गर्ने लक्ष्य राखेका होलान् भने कसैले आफ्नो पेसा/व्यवसायलाई नयाँ ढंगबाट अगाडि बढाउने सोचाइ बनाएका होलान् । काममा बढी समय दिने, लगाव बढाउने योजना पनि होलान् ।
करिअरको कुरा थाती राखौं । निजी जीवनलाई पनि कसरी सुन्दर र सार्थक बनाउने ? योजना तय गर्न सकिन्छ । आफ्नो पर्सनालिटी विकास गरौं । यसका लागि पहिरन शैलीदेखि बोली व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्छ । आगामी वर्षदेखि नियमित व्यायाम गरौं । स्वस्थ खानेकुरा सेवन गरौं । जीवनशैलीमा नै केही न केही नयाँपन ल्याउने प्रयास गरौं ।
पुरानो पात्रो पल्टिएसँगै कति तन्नेरीले आफ्नो नराम्रो आदत छाड्ने संकल्प गरेका हुन सक्छन् । जस्तो कि, चुरोट, रक्सी, खैनी छाड्ने, अल्छीपन त्याग्ने । यस्ता कुराले जीवनलाई नयाँ दिशातिर उन्मुख गराउन र फराकिलो आयाममा डोहोर्‍याउन सहयोग मिल्छ । यस्तै संकल्पका साथ स्वागत गरौं– वर्ष २०१६ लाई ।

प्रकाशित : पुस १०, २०७२ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?