कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

डिमेन्सिया : विस्मृतिको रोग

अकस्मात् कडा, बारम्बार वा क्रमिक रुपमा स्नायुप्रणालीको एकाइ स्नायुकोष र रेशा सुक्दै जानु नै डिमेन्सियाको कारण हो ।

मस्तिस्क, यसका स्नायूकोष, स्नायूरेशा लगायतको क्षय भई यसका कामहरु, विशेष गरी स्मृति वा स्मरण शक्ति, पहिले सिकेका शारिरीक क्रियाकलापहरु सम्पादन, चिनेका व्यक्तिहरूको पहिचान र परिस्थिति अनुरुप सोचीविचारी नियोजित रुपमा योजना गर्न असमर्थ भई क्रमिक रुपमा व्यक्तित्व र दैनिकीमा समस्या पर्दै जाने जिर्ण व्यापक अवस्थालाई विस्मृति वा डिमेन्सिया भनिन्छ । 

डिमेन्सिया : विस्मृतिको रोग

यो अवस्था भनेको उमेर अनुसार व्यक्तिको मानसिक र शारिरीक क्षमतामा सामान्य रुपमा आउने गिरावट वा ह्रास मात्र नभई अत्याधिक मात्रामा गडबडी भएको रोगको अवस्था हो ।

प्रकार र लक्षण

मस्तिष्कको कोर्टिकल र त्यसभित्रको भागमा मूलरुपमा असर पर्ने हिसाबले यसको वर्गीकरण गरिएको छ । त्यसै अनुसार, कोर्टिकल कोटिमा संज्ञानात्मक क्रियाकलापहरु (जस्तैः स्मरण शक्ति, चिन्तन, वरिपरि भैरहेका गतिविधिहरुप्रतिको जागरुकता, मनन, हिसाबकिताब, नयाँ कुरा सिक्ने क्षमता, बात–चित, सोचबिचार तथा स्वविवेक, संवेग, व्यवहार तथा आत्मोत्साह) मा सुरुका अवस्थाबाटै ह्रास हुँदै जान्छ भने सब–कोर्टिकल कोटिमा स्मरण शक्ति पछि मात्र प्रभावित हुन्छ । विशेष गरी हातगोडा काम्ने तथा पहिले सिकेका शारिरीक क्रियाकलापहरुको सम्पादन गर्नमा समस्या हाबी हुन्छ ।

डिमेन्सियामा देखिने १० मुख्य लक्षणहरु

१. स्मरण शक्तिको ह्रासले साह्रै भुलक्कड भई दैनिक जीवनयापनमा कठिनाइ हुनु; विशेष गरी भर्खरैका घटनाहरु र व्यक्तिका नामहरु समेत बिर्सनु ।

२. तर्क गर्ने क्षमता हराउनु तथा सामान्य समस्याहरु पनि समाधान गर्न नसक्नु ।

३. सधैं गर्ने गरेका घरायसी, व्यावसायिक अथवा सामान्य काम गर्न पनि असमर्थ हुनु ।

४. समय तथा स्थानको ज्ञान हराउनु र बाटो हराउनु ।

५. आँखाले देखेका कुराहरु नचिन्नु तथा नजिक–टाढाको दूरी अथवा सम्बन्ध छुट्ट्याउन नसक्नु ।

६. कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेट्टिनु ।

७. सामानहरु अलपत्र पारी चाहिएको बेलामा भेट्टाउन नसक्नु ।

८. स्वविवेक र निर्णय शक्ति क्षीण हुनु ।

९. घरायसी तथा व्यावसायिक क्रियाकलापबाट टाढिँदै जानु ।

१०. व्यक्तिको मूड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

विश्वमा हर ३ सेकेण्डमा १ जना मानिस अल्जाइमर रोगबाट ग्रसित भईरहेका छन् । र ५०० लाखभन्दा बढी मानिस यसबाट पिडित छन् । यसमा बहुसंख्यक अल्पविकसित देशका छन् । यो ६५ वर्षभन्दा माथिको उमेरमा मृत्यको कारणमा पाँचौ स्थानमा रहेको छ । नेपालमा सन् २०१५ मा ७८, हजार र हाल करीब १ लाख २५ हजार बढी मानिसहरु यसबाट पिडित भएको र यो संख्या प्रतिवर्ष बढ्दै गएको देखिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मनोचिकित्सा सेवामा आउने उल्लेख्य ज्येष्ठ नागरिकहरुमा यो समस्या देखिएको प्रतिवेदन प्रकाशित भएकोछ ।

कारक तत्वहरू

अकस्मात् कडा, बारम्बार वा क्रमिक रुपमा स्नायूप्रणालीको एकाई स्नायूकोष र रेशा सुक्दै जानु नै डिमेन्सियाको कारण हो । डिमेन्सिया हुने अन्तरनिहित स्वास्थ्य समस्याका हिसाबले पनि यसलाई वर्गीकरण गरिएको छ । उमेरसँगै अत्याधिक चाँडो स्मृति र संज्ञानात्मक क्षमता क्षय हुने अल्जाइमर्स रोग डिमेन्सियाको मुख्य कारण हो । यसमा दिमागका कोषिकामा आउने ३ खालका परिवर्तनसँगै अल्माइमर रोगका लक्षणहरु उत्पन्न हुन्छन् जुन लक्षण देखा पर्न धेरै अगाडि नै सुरु हुन्छन् । अमाइल्वाइड नामक प्रोटिन निर्मित खट्, न्युरोफिब्रिलरी रेसाहरु र स्नायु कोषिका खिइनु ३ परिवर्तनहरु हुन् ।

उच्च रक्तचाप र रक्तसञ्चार सम्बन्धी रोगसँग जोडिने भास्कुलर डिमेन्सिया उच्च कोलेस्ट्रोल र कुपोषण तथा मोटोपनसँग पनि जोडिएको हुन्छ ।

शारिरिक कसरतको कमिले मोटोपन र शरीरका अरु भागहरुलाई असर गर्दछ । टाउकोमा चोट र म्यधल कथलमचयmभको कारण पछि गएर डिमेंन्सिया हुने संभावना बढी हुन्छ । ल्यूईबडि रोग फ्रोन्टोटेम्पोरल डिमेन्सिया, जिर्ण विष वा मद्यसेवन, एड्स लगायत्का संक्रमणमा देखिने विस्मृति आदि विविध डिमेन्सियाका प्रकारहरु हुन् ।

उपचार व्यवस्थापन

यस्ता लक्षणहरु देखा परेमा वा यसको शंका लागेमा शीघ्र निदान (डायग्नोसिस)को लागि नजिकको स्वास्थ्य सेवामा जानुपर्छ । कारण पत्ता लगाएर त्यसै अनुसार उपचार व्यवस्थापन गर्न जरुरी हुन्छ । यसले विस्मृतिपिडित व्यक्तिको बौद्धिक, भावनात्मक र व्यावहारिक क्षमता प्रवर्धन गरेर जीवनको गुणस्तर र कार्यक्षमतामा सुधार ल्याउनमा ठूलो बल मिल्छ । अल्जाइमर रोगको उपचार व्यवस्थापनमा मनोसामाजिक र अरु उपायहरु, औषधि उपचार, निर्दिष्ट लक्षणहरुको व्यवस्थापन, साधनस्रोतको जानकारी तथा परिचालन र हेरचाह गर्ने परिवारजनको हेरविचार र सहयोग जस्ता महत्वपूर्ण पाटाहरु अभिन्न हुन्छन् ।

यथासम्भव यस्ता व्यक्तिलाई दैनिकी, व्यक्तिगत हेरचाह, सरसफाई, सामाजिक अन्तर्क्रिया लगायत मानसिक रुपमा सक्रिय राख्ने उपाय र माहोल कायम राख्न जरुरी हुन्छ । नियमित शारिरीक व्यायाम र सक्रियता, मन मस्तिष्कलाई उत्तेजना र चुनौती दिने अभ्यास वा क्रियाकलाप, सन्तुलित तथा पोषिलो खाना र पर्याप्त पानी, सामाजिक क्रियाकलापमा सहभागिता, मुटुको हेरविचार र उच्च रक्तचाप, मधुमेह भएमा रोगको निरन्तर उपचार, नियमित र पर्याप्त निद्रा, तनाव व्यवस्थापन र बहन जस्ता स्थापित विधिहरुले विस्मृति रोकथाम गर्ने मात्र होइन, रोग सुरु भैसकेका मानिसहरुलाई पनि फाइदा पुग्छ ।

डिमेन्सियाबाट पीडित व्यक्ति वा परिवारजनको स्याहार सुसार गर्नु परिवार, स्याहारकर्ताको लागि चुनौतीपूर्ण कार्य हो । यस्तो अवस्थामा पीडित व्यक्तिको सहयोगार्थ विशेष गरेर उनको परिवर्तित मानसिक अवस्था, विचार, व्यवहार तथा संचारमा कठिनाई जस्ता समस्याहरु कम गर्न अपनाउन सकिने तरिका तथा उपलब्ध सेवा सुविधाहरुको जानकारी महत्वपूर्ण हुन्छ ।

(लेखक प्राध्यापक डाक्टर धनरत्न शाक्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोरोग विभाग प्रमुख हुन्)

प्रकाशित : आश्विन १८, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?