विप्लवकी ऊर्जा

सहर–बजारमा नेत्रविक्रमको छवि ‘विद्रोही’ भए पनि बोलीमा नरमपन छ । त्यो उनले आफ्नी आमाबाट सिकेको बताउँछन् । ‘जनयुद्ध’, फेरि प्रतिबन्धित राजनीति हुँदै खुला राजनीतिसम्म आइपुग्दा उनको जीवन–रेखाले अनौठा कुइनेटो पार गरिसकेको छ । जीवनको यो उतारचढावमा उनकी आमाको प्रमुख स्थान छ ।

चैत्र २७, २०८०

दीपक सापकोटा

The energy of revolution

काठमाडौँ — नेत्रविक्रम चन्द ‘विप्लव’ को आमा–सम्झनाले रफ्तार लिँदै थियो । ती स्मृति प्रवेगशील थिए । अन्तर्वार्ताको अन्त्यतिर उनका आँखा रसाए, आँसुका थोप्ला अनुहार हुँदै भुईंतिर टप्किए । उनको मन आमाले बाँचेका जिन्दगीका लेक–बेसीमा अल्झिएको थियो । 

एकोहोरिएर उनी आमामै घोत्लिरहेका थिए । उनकी आमाको जीवनमा थिए– थोरै सुख र धेरै आदिम दुःखहरू । अनि दुःख र दुःखहरूले लत्पतिएका कलिला साँझहरू । जस्तो धेरै वर्ष पहिले (२०३४ सालतिर) को एक साँझ सम्झेर उनी कमलो बन्छन् । बालक छोरालाई आफूबाट टाढा पठाउनुपर्दा भक्कानिएकी थिइन् आसिकादेवी घर्तीमगर चन्द (१९८६–२०७९) । रूकुम रुघामा जन्मिएकी उनको मातृवंश घर्ती हो ।

अग्लो डाँडामाथि ढडेको आकाशमुनि उभिएर निकै परसम्म हेरिरहेकी थिइन्, छोरो हिँडेको बाटो । कवि रमेश क्षितिजको कविताले भनेजस्तै आसिकादेवी डाँडामा थचक्कै बसेकी थिइन्– ‘अर्को साँझ पर्खेर साँझमा’ । मानौं उनी छोरा फर्किने साँझको पर्खाइमा टोल्हाइरहेकी थिइन् । छोरासँग त सपनाहरू हुर्किसकेका थिएनन्, तर आमासँग थिए केही सपना– छोराले खुब पढोस्, ठूलो मान्छे बनोस्, संसारै बदलोस् ।

नेत्रविक्रमको जन्मस्थान रोल्पा इरिवाङ, केउरीमा स्कुल थिएन । त्यसैले छोरा ९/१० वर्षको छँदै पढ्न पठाइन्– लिवाङ । दुई दिनको बाटो हिँडेर नेत्रविक्रम एक्लै केउरीबाट लिवाङ झरे । छोराको पिँठ्यू–झोलामा आमाले हालिदिएकी थिइन्– २/४ वटा रोटी, एक पोको गुन्द्रुक र एक बट्टा घ्यु । नेत्रविक्रमका दुई दाइ लिवाङमै पढ्थे । आसिकादेवीले नेत्रविक्रमलाई घरबाट ३ घन्टा तलको बाटोसम्म छोडिदिइन् र डाँडामा उभिएर तलतिर एकोहोरो घोरिइरहिन् । 

The energy of revolution‘आमा गाउँमा, म लिवाङमा । त्यसबेला आमा दुःखी हुनुभयो । सायद छोरो काखबाट टाढा जाँदै छ भन्ने चिन्ता र दुःख पनि थियो, अनि खुब पढोस् भन्ने चाहना पनि,’ चैतको एक बिहान, चर्किंदै गएको घामतिर हेर्दै नेत्रविक्रम  आमाका विगतमा छिर्दै थिए, ‘त्यसबेला आमाको अवस्था कस्तो थियो भने सुख पनि सँगै कतै दुःख पनि मिसिएको थियो । सुख र दुःखको एक मिश्रित अनुभूति ।’ 

नेत्रविक्रमले लिवाङको बालकल्याण माविबाटै १९ वर्षको छँदा एसएलसी उत्तीर्ण गरे । क्याम्पस पढ्न काठमाडौं पुगे र नेपाल ल क्याम्पसमा भर्ना भए । ‘आमाको सपना हामी छोराछोरी नै थियौं । हामीलाई पढाउनु नै उहाँको जिन्दगीको खास चाहना थियो, म अहिले जहाँ उभिएको छु, त्यो आमाकै कारण सम्भव भएको हो । शिक्षाको महत्त्व बुझ्नुभएको थियो आमाले,’ थप्छन्, ‘जसरी पनि पढाउन खोज्नु नै आमाको हामीप्रतिको ठूलो योगदान हो ।’ 

***

हेर्दाहेर्दै ४६ वर्षहरू बितेछन्– उनी इरिवाङबाट पढ्न लिवाङ झरेको । त्यही भेगबाट उनले प्रचण्ड नेतृत्वको ‘जनयुद्ध’ मा विशेष भूमिका खेले । २०५२ फागुन १ मा सुरु  माओवादी ‘जनयुद्ध’ मा भूमिगत भएपछि उनले उपनाम राखे– ‘विप्लव’ । आजकल उनी शान्त साँझहरूमा पहाडका थुम्कामाथि हिँडिरहेको चन्द्रमा हेर्दै लिवाङका अँध्यारा दिनतिर फर्किन्छन् । एउटा मृदुल चेतनाले डोर्‍याएको थियो उनलाई ‘जनयुद्ध’ मा । मनमा थियो, केवल परिर्वतनको आकांक्षा । बन्दुक बोकेर अँध्यारा जंगलमा दौडिरहेको, भागिरहेको असिनपसिन आफ्नै अनुहारको सम्झनाले उनी बेलाबेला एकोहोरिन्छन् । अनि सोध्छन् आफैंलाई– कहाँबाट कहाँ आइपुगिएछ ? ती संघर्षका रापिला दिनहरूमा घोरिँदा उनलाई लाग्छ– त्यो समय कविताजत्तिकै प्रिय थियो । 

उनलाई ‘जनयुद्ध’ का ती दिनहरू एक क्रान्तिकारीको ‘ध्यान’ जस्तो लाग्छ । ‘मस्तिष्क हल्लाएर गए ती संर्षघका दिनले,’ भन्छन्, ‘एउटा ऊर्जाले जीवनको बाटो बदलिदिन सक्छ । हामीसँग उसबेला आन्तरिक शक्ति र ऊर्जा अथाह थियो ।’ त्यो ‘आन्तरिक शक्ति र ऊर्जा’ आमाले नै भरिदिएकी थिइन्, उनीभित्र । आमा सन्तानका जीवनको सर्वोत्कृष्ट साक्षी हुन्, जो सधैं सत्य, इमान र साहसको भाषा बोल्छिन् । संसारका दुःखहरूको बोझ सबै आफ्नै टाउकोमा बोक्छिन् र सन्तानको सुख खोज्छिन् । आमा नै नेत्रविक्रमका लागि परिवर्तनको वाहक हुन् । आमा नै उनको मुक्तिको पक्षधर । ‘आमासँग परिवर्तनकामी सोच थियो,’ उनी घोरिन्छन् ।

The energy of revolutionनेत्रविक्रम हाइस्कुल पढ्दापढ्दै राजनीतिमा लागे । पञ्चायतका ती काला दिनमा ६ कक्षा पढ्दा विद्यार्थी आन्दोलनसँग परिचित भए । ९ कक्षामा त संगठित नै भए । १० कक्षामा पुग्दा उनी रोल्पाको विद्यार्थी संगठनको अध्यक्ष भए । आमा चासो दिन्थिन्, छोराको राजनीतिक–यात्राबारे । खतरा देखेरै पनि उनी कहिल्यै अवरोध बनिनन् । 

‘म भूमिगत भएपछि पनि मेरो राजनीतिमाथि आमा सकारात्मक हुनुभयो, चिन्ता लिएरै भए पनि,’ नेत्रविक्रम भन्छन्, ‘बुबालाई कैयौं कुरा थाहै नदिई आमाले मलाई सधैं सहयोग गर्नुभयो राजनीतिमा लाग्न । पञ्चायत भोगिसकेकी आमा सोधिरहनुहुन्थ्यो– बाबु यो परिर्वतन सम्भव छ र ? तिमीहरू हिँडेको बाटो के सम्भव छ ?’ नेत्रविक्रमका बुबा चित्रबहादुरले भने छोराको राजनीतिबारे खासै चासो दिएनन् । ‘त्यो बाटो ठीक होइन’ भनिरहे । तर, भावनात्मक ढंगले उनको राजनीतिक यात्राको प्रेरणा बनिरहिन्, उनकी आमा । आसिकादेवीका तीन छोरा र तीन छोरी भए । नेत्रविक्रम कान्छा हुन् । ‘बाहरू छोराछोरी आफ्नो ट्र्याकमा हिँडोस् भन्ने चाहन्छन्, आमाहरूचाहिँ छोराछोरीकै ट्र्याकमा आउँछन्’, उनको निष्कर्ष छ ।

The energy of revolutionआमाको उनीप्रतिको विश्वास, सद्भाव र प्रेमको तुलना संसारको कुनै पनि विषयसँग हुन सक्दैन भन्छन् नेत्रविक्रम । ‘आमाको प्रेम र आशिषको पनि कुनै मूल्य हुन्छ र ?,’ भन्छन्, ‘आमाको सम्झना मात्रैले पनि मेरो हृदयका नशाहरू झंकृत पार्छ ।’ जीवनको दर्शन र संस्कृति निर्माणको सबै जश उनी आमालाई दिन्छन् । ‘आमाले नै मेरो जीवन सिर्जनशील र गतिशील बनाउन योगदान गर्नुभयो,’ भन्छन्, ‘यो राजनीतिक न्यायको बाटोमा हिँड्न आमाले नै अभिप्रेरित गर्नुभयो ।’

***

वर्तमानमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्– नेत्रविक्रम । माओवादी ‘जनयुद्ध’ सुरु हुँदा उनी अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष थिए । त्यसपछि ललितपुर पार्टी सेक्रेटरी, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै रुकुम–रोल्पा आधार इलाका ब्युरो इन्चार्ज भए । २०७४ को निर्वाचन बहिष्कार, एनसेलको प्रधान कार्यालयमा विस्फोटजस्ता क्रियाकलापपछि उनी नेतृत्वको पार्टीलाई २०७५ मा सरकारले प्रतिबन्ध लगायो । २०७७ मा शान्तिप्रक्रियामा आउने प्रतिबद्धतापछि प्रतिबन्ध हटाइयो । सहर–गाउँमा उनको छवि ‘विद्रोही नेता’ को छ । माओवादीबाट २०७१ सालमा अलग भएपछि उनको फरक छवि बन्यो । लामो समय सरकारविरुद्ध सशस्त्र संघर्ष गरेकोउनको पार्टी अहिले खुला राजनीतिमा छ ।

नेत्रविक्रमको छवि ‘विद्रोही’ भए पनि बोलीमा नरमपन छ । त्यो उनले आमाबाट सिकेको बताउँछन् । मौनतालाई तोड्दै संवादमा बेलाबेला ‘हो नि’ भनिरहनु उनको शैली हो । ‘जनयुद्ध’ हुँदै खुला राजनीतिसम्म आइपुग्दा उनको जीवन–रेखाले अनौठा कुइनेटो पार गरिसकेको छ । उनलाई बुझ्नु देशको एक सचेत युवाको जीवन र उसले बाँचेको समयमा आए–गएका थुप्रै उतारचढाव सँगसँगै बुझ्नु हो । जीवनको त्यो उतारचढावमा उनकी आमाको प्रमुख स्थान छ । 

The energy of revolutionनेत्रविक्रमको मस्तिष्कमा प्रायः ओहोरदोहोर गरिरहने केही दृश्य छन् । कलेजपछिका दिनहरूमा उनी इरिवाङका अन्धकार रातहरूमा बाक्लो धुँवा फाल्ने टुकीको उज्यालोमा पढिरहेका हुन्थे । आमा छोरालाई ध्यानपूर्वक सुनिरहेकी हुन्थिन् । समाजवादी सभ्यता, जीवनजगत, संस्कृतिका किताबहरू पढेर सुनाउँथे बा–आमालाई । उनकी आमालाई लेखपढ गर्न आउँदैनथ्यो, बुबाचाहिँ अक्षरसम्म ठम्याउँथे । नेत्रविक्रम चिनियाँ साहित्य, कृष्णसेन ईच्छुक र केवलपुरे किसानका कविता, रुसी कथाहरू पढेर सुनाउँथे । सबै सुनेपछि आमा भन्थिन्– तँ त निकै जान्नेसुन्ने भइछस् । 

नेत्रविक्रम भूमिगत हुँदा उनको परिवार रोल्पाबाट कपिलवस्तु–शिवगढी झरिसकेको थियो । छोरो भूमिगत भएपछि आमाले बढी नै चिन्ता लिएकी थिइन् । घरमा पुलिस आइरहन्थे, खानतलासी गर्थे । त्यसले दुःखी बनाउँथ्यो उनलाई । २०५४ मा उनका बुबा चित्रबहादुरको निधन भयो, कलेजोको समस्याले । शव जलाउन दिएन राज्यले । ललितपुरको सेक्रेटरी रहेका नेत्रविक्रम घर जान सक्ने अवस्थामा थिएनन् । ‘बाबुको शव हेर्न छोरा पक्कै आउला’ सोचेर जलाउन ठिक्क पारिएको लास घेर्‍यो पुलिसले । त्यो समय पनि उनकी आमा पहाडझैं अटल उभिइरहिन् । 

बुबा बितेपछि विप्लव कर्णाली गए, पछि ०५८ मा राप्ती । आमा छोरा भेट्न राप्ती पुगिन्, सँगै बसिन् ६ महिना । उनले त्यसबेला सरकारी सेना र विद्रोही सेनाबीचका भयंकर ठुल्ठूला लडाइँ देखिन् । आँखैअघि थुप्रै छोराहरू ढलेको देखिन्, दुःखी भइन्, सम्हालिइन् । ‘क्षति हुन्छ, तर परिर्वतन पनि अवश्य हुन्छ’ भन्ने सोच्थिन् । नेत्रविक्रम भूमिगत भएपछि उनको घरको धेरै सम्पत्ति नष्ट भयो । उनको परिवारै लाहुरे हो (बन्दुक पनि थियो घरमा, त्यो क्रान्तिमै प्रयोग भयो) । घरमा राम्रो पुँजी जम्मा भएको थियो । उनकी आमा घरमा एक्लै हुन्थिन् । भन्छन्, ‘सरकारी सेना, पुलिसले सुन–गरहगहना लुटपाट गर्थ्यो । पुलिसले आमालाई हातपात त गरेन, तर कागजपत्र च्यातिदियो, घर फोरिदियो ।’ नडराई प्रतिवाद गरिरहिन् उनकी आमाले । तर, त्यसबेला उनी निकै दुःखी भइन् । 

The energy of revolutionगाउँमा जाँड–रक्सी खानेहरूभन्दा संगठनमा लागेका युवा अनुशासित, समाजप्रति उत्तरदायी थिए । नेत्रविक्रमहरू श्रम गर्थे । त्यसैले उनकी आमालाई लाग्थ्यो– छोरो राम्रै बाटोमा छ, परिवर्तनको बाटोमा । तर, अर्को पक्ष थियो, लडाइँ । उनमा तनाव थपिन्थ्यो । भूमिगतकालमा छोरालाई आमाले भनिरहन्थिन्– सुरक्षित रहनु, म त जसोतसो बसिहाल्छु । ‘बुबा बित्दा पनि लास जलाउन जान नपाएकोमा आमा दुःखी हुनुभएन किनभने उहाँलाई थाहा थियो– मलाई सुरक्षाको खतरा छ । बरू तनाव नलिनु हामी मिलाउँछौं भन्नुभएको थियो,’ नेत्रविक्रम सम्झन्छन् । 

नेत्रविक्रम आमाका केही बानीव्यहोरा सम्झिन्छन्, ‘सामाजिक ढंगले आमा सबैलाई मिलाउनुहुन्थ्यो, खुवाउने–पियाउने काममा खुसी हुनुहुन्थ्यो । कसैसँग नरिसाउने बानी थियो । पार्टीका साथीहरूलाई पनि सम्मान गर्नुहुन्थ्यो । कुशल सामाजिक व्यवहार थियो ।’ इरिवाङमा पुरुषहरू एक सिजन विदेश जानैपर्थ्यो, महिलाले नै घर व्यवस्थापन गर्थे । लाहुरेहरू लाहुर जान्थे । जो लाहुरे थिएनन्, ती कालापहाड जान्थे रोजगारी गर्न– सिम्ला र गढवालतिर । गाउँमा ५/६ महिना त महिला मात्रै हुन्थे, त्यो पुरुषविहीन गाउँमा फेरिन्थ्यो । 

ती ग्रामीण आमाहरू बर्खामा लेकतिर उक्लिन्थे– गाईगोरु लिएर । असारदेखि असोजसम्म लेकको गोठमै बस्थे । र, चिसोमा गाउँ झर्थे । आमाको पछिपछि स्याँस्याँ गर्दै लेकतिर उकालो लागेका ती दिन नेत्रविक्रमको दिमागी–कोषागारमा थपक्क बसेकै छ । उनी पनि लेकमा ग्वाला भएका छन् । गाउँको आर्थिक जीवन अडिएको थियो– कृषिमा । भैंसी पाल्नु, घ्यू बनाउनु र मधेस पुर्‍याएर बेच्नु अनि मधेसबाट नुन र कपडा लिएर फर्कनु आमाहरूको दिनचर्या थियो । दसैंदेखि गाउँमा जात्राहरू सुरु हुन्थे । त्यहीबेला प्रवासमा गएका श्रीमान्हरू गाउँ फर्किन्थे, माघ लागेपछि फेरि प्रवासै फिर्थे । नेत्रविक्रम बिदामा गाउँ पुगेका बेला बेस्सरी काम गर्थे– खेतबारी जोत्थे, घाँस काट्थे । आमा जाँतोमै अन्न पिस्थिन् ।

नेत्रविक्रमका बुबा पनि अन्य अन्य गाउँलेझैं ८/१० वर्ष लाहुर बसेर गाउँ फर्केका थिए, लाहुरबाट नाम काटेर । पछि गाउँकै खेतीपातीमा रमाए । नेत्रविक्रमको विचारमा दुर्गम गाउँका ग्रामिण आमाहरू जीवनलाई परसम्म सोच्दैनथे । त्यो परिवेशै विकास भएको थिएन । तिनीहरू सोच्थे– सन्तान असल बाटोमा लागुन्, खुसी–सुखी हुन् । अलि सचेत आमाहरू चाहिँ ‘छोराछोरीलाई पढाउन पाए हुन्थ्यो’ सम्म सोच्थे । 

श्रीमानहरू लाहुर वा कालापहाडतिर जाँदा ग्रामिण आमाहरूले भन्ने कथा र गाउने गीतले नेत्रविक्रमलाई समाज र महिलाको जिन्दगी बुझ्न सघायो । ती कथा–गीत उनीहरूले बाँचेकै जीवनसँग सम्बन्धित हुन्थे । ती दुःख, पीडा र विरहकै गीत गाउँथे– जीवनलाई प्रतिबिम्बित गर्ने गीत, अक्सर माइती सम्झेर ।  

नेत्रविक्रमलाई लाग्छ, ‘जनयुद्ध’ मा सबैभन्दा दुःखी नै आमाहरू थिए । युद्धभूमिमा भकाभक छोरा–छोरीहरू ढलिरहेका दृश्यले आमाहरूको भक्कानो फुट्थ्यो । तिनका आँखाबाट बलिन्द्र धारा आँसु झरिरहन्थे, पीडाको भयंकर समुद्रमा डुब्थे र मनमा हिउँ झरिरहन्थ्यो । ‘विद्रोही र राज्यपक्षका जो मरे पनि सन्तान वियोगको पीडा सबै आमालाई उस्तै हुन्थ्यो,’ नेत्रविक्रम भन्छन्, ‘तर, त्यसलाई व्यक्त गर्ने क्रममा जनयुद्धमा लागेका छोराछोरीका आमाहरूमा पीडाबोध कम हुन्थ्यो ।’ सायद, देशका लागि बलिदान भयो भन्ने सोच्थे उनीहरू । ‘हामी ती आमाहरूका घर पुग्दा उहाँहरू भन्नुहुन्थ्यो– अब मेरो छोराछोरीको सपना तपाईंहरू साकार पार्नुस् । तर, पुलिस आर्मीका आमाहरूलाई राज्यतिर लागेर छोराछोरीले ठीक गर्‍यो कि गरेन भन्ने दुविधा थियो ।’ 

आसिकादेवी पनि ‘जनयुद्ध’ मा अनौपचारिक रूपले सामेल थिइन् । उनले गाउँका मान्छेहरूलाई बुझाइन्– ‘जनयुद्ध ठीक हो’ । ‘जनयुद्ध’ को उत्कर्षमा उनी नेत्रविक्रमसँगै बसिन्, नजिकैबाट लडाइँ बोध गरिन् । नेत्रविक्रम भूमिगत छँदा आमालाई बरोबर चिठी पठाउँथे, ‘म ठीक छु, जित्छु, पक्कै सफल हुन्छु, मलाई केही भए पनि पीर नमान्नुस् आमा ! साथीहरू घरमा आएइहाल्नु हुनेछ ।’ नेत्रविक्रमले उनकी आमाको जिन्दगीबाट के सिके ? ‘सामाजिक व्यवहार,’ भन्छन्, ‘जस्तोसुकै अप्ठेरोमा पनि खुसी भएर सामाजिक व्यवहार गर्ने ।’ 

The energy of revolutionआसिकादेवी घर्तीमगर चन्दको निधन भयो ९३ वर्षको उमेरमा । २०७९ मंसिर १७ मा । नेत्रविक्रम किरिया बसेनन् । उनको पार्टीको नयाँ किरिया–प्रक्रिया छ । त्यो प्रक्रियाअनुसार, पहिलो दिन आमाको शोकसभा आयोजना गरियो, दोस्रो दिन वृक्षरोपण । तेस्रो दिन दुःखी–गरिबलाई सहयोग वितरण गरियो । चौथो दिन स्मृति–कोष खडा गरियो र पाँचौं दिन श्रद्धाञ्जलीसभा । 

‘बुबाको किरिया नगरेकोमा आमाको मन दुखेको थिएन,’ नेत्रविक्रम भन्छन्, ‘आमालाई भन्थें– म तपाईं बाँचुन्जेल सेवा गर्छु, मरेपछि किरिया गर्दिनँ । आमा पनि भन्नुहुन्थ्यो, मरेपछि गिद्धले खाए पनि, कौवाले खाए पनि केही छैन, बाँचुन्जेल सुख हुनुपर्‍यो ।’ आमालाई बारबार सपनामा देख्ने बताउँछन् नेत्रविक्रम । ‘सपनामा पनि यसो गर उसो गर, समयमा खाना खा भनिरहनुहुन्छ,’ विप्लव भन्छन्, ‘आमा–स्मरण झन् ताजा भएर आउँछ । अभाव भएपछि, सास टुटेपछि त्यसको झन् महत्त्व हुने रहेछ । आमा भन्ने शब्दसँग मेरो जीवन जोडिन्छ । आमा हामीलाई जीवन दिने स्रोत हो– सबैभन्दा संवेदनशील सिर्जना र रचना हो ।’ 

नेत्रविक्रमको विचारमा बच्चाको अनुभूति, भावना, व्यवहार सबै आमासँग जोडिन्छ, ‘सन्तानको पहिलो शिक्षक र निर्देशक नै आमा हुन् । यदि आमाले मलाई पढ्न प्रेरित नगरेको भए म कि लाहुरे हुन्थेँ कि कालापहाडे हुन्थेँ ।’ ‘जनयुद्ध’ ले आमाहरूको जीवन परिवर्तन भएको दाबी गर्छन् नेत्रविक्रम । ‘उनीहरूले संसार फराकिलो देख्न थालेका छन्, तर अवस्थामा परिवर्तन भएको छैन । उनीहरूको जीवनमा परिवर्तन गर्नुपर्ने थुप्र्रै विषय छन् । ग्रामीण आमाहरूमा पवित्र भावना र मन छ,’ उनी भन्छन् । 

The energy of revolutionनेत्रविक्रमका अनुसार ‘जनयुद्ध’ मा नेपाली आमाहरूको भयानक योगदान छ । ‘हामी घर–घर पुग्दा आमाहरू आफ्ना लड्न गएका छोरा याद गर्थे । आफ्नै छोरा आएसरी माया र भावना व्यक्त गर्थे । सायद मेरो छोरा पनि यसरी कोही आमासँग पुगे होलान् सोच्थे । त्यो सहयोग अद्भुत थियो,’ उनी भन्छन् । होलटाइमर छोराछोरीलाई आमाहरूले टीका लगाएर रुँदै बिदा गरेका ती दिनको सम्झनाले उनी बेलाबेला विह्वल हुन्छन् ।

आमा आसिकादेवी सम्झँदा उनको मस्तिष्कमा मसिना धर्काजस्ता दुरुस्त उही दृश्य दोहोरिन्छन्– इरिवाङको कुनै अग्लो डाँडामा अस्ताउँदै गरेको घाममुनि उभिएर लिवाङ झरिरहेको बालक छोरालाई हेरिरहेकी आमा । रसाएका आँखा पुछ्दै नेत्रविक्रम भन्छन्, ‘कहिलेकाहीँ फेरि बालक हुन मन लाग्छ, स्कुले जीवनमै फिर्न मन लाग्छ, आमाकै न्यानो काखको गाढा याद आउँछ ।’

आमा-फिचर श्रृंखला

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully