१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

विरहका भाका बोल्ने फिरन्ते गायक

बागलुङबाट काठमाडौं झरेपछि बिहान कलेज, दिउँसोदेखि मध्यरातसम्म दोहोरीमा वेटर भएर काम गरेको कालखण्ड देवेन्द्रको स्मृतिमा ताजै छन् । रेस्टुरेन्टको बेसिनमा धोएर किचनमा सुकाएका ड्रेसबाट आउने बास्नाको सम्झनाले उनको मनलाई अहिले पनि उद्वेलित बनाउँछ
स्वरूप आचार्य

काठमाडौँ — नीलो ट्रेकिङ ब्यागको साइड पाकेटमा उकुलेले अड्काइएको थियो । एक जोडी बुट त्यसैको तुनाले झोलामै बाँधिएको थियो । ढोरपाटनतिर जानका लागि देवेन्द्र बब्लु तयार थिए । ‘घाटु हुँदै छ । त्यही हेर्न जान लागेको,’ उनले अर्थ्याए, ‘मुड चल्यो भने ढोरपाटनतिरै घुम्न जान पनि सक्छु । अहिले तीन–चार दिनका लागि भनेको हो । तर, धेरै दिन पनि लाग्न सक्छ । मेरो ठेगान केही छैन ।’

विरहका भाका बोल्ने फिरन्ते गायक

बाग्लुङमै जन्मिए, हुर्किए पनि कहिल्यै ढोरपाटन नघुमेकाले उनलाई त्यो परिवेश हेर्न मन छ । ‘फिरन्ते भएर हिँड्न रमाइलो लाग्छ,’ उनले भने, ‘त्यसले मलाई नयाँ सिर्जनाका लागि प्रोत्साहित पनि गर्छ । जीवन भन्नु खोजी नै त हो ।’

फिरन्ते भएर ढोरपाटन ढुल्न निस्किएका देवेन्द्र बब्लु सांगीतिक क्षेत्रमा अगाडि बढ्न खोजिरहेका गायक हुन् । उनका गीतका शब्द सरल हुन्छन् र लबज मौलिक । त्यसैले पनि एक पटक उनलाई सुन्नेले दोहोर्‍याएर सुन्न छुटाउँदैनन् । गाउँले परिवेशमा हुर्किएका जोकोहीलाई पनि उनका गीतका लबजले त्यहाँको सम्झना दिलाइदिन्छ । बाग्लुङ, धम्जाका देवेन्द्र सांगीतिक क्षेत्रका स्थापित नाम प्रकाश सपुतका साइँला भाइ हुन् । ‘मैले निकै ढिला थाहा पाएँ जीवनमा के गर्ने भनेर । गाउँमा एसएलसी दिएर काठमाडौं आउँदा पढ्ने र नयाँ केही गर्ने भन्ने त थियो तर के गर्ने थाहै थिएन,’ आफूलाई अन्तर्मुखी दाबी गर्ने बब्लु खुल्दै गए, ‘काठमाडौं आएपछिका केही वर्ष त मेरो सम्झनामा पनि छैन भने पनि हुन्छ । जब मैले के गर्ने भनेर थाहा पाएँ, त्यसपछि पनि भौंतारिंदै हिँडिरहेको छु ।’

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

उनी टंगालस्थित बोधी बुक्समा आफ्नो सांगीतिक यात्राका उतारचढावबारे गफ गरिरहेको अवस्थामा कतै हराइरहेका थिए । छुस्स दारी, केही लामो र स्ट्रेट पारिएको कपाल, फुङ्ग उडेको अनुहार, मण्डलाको चित्र भएको टिसर्ट अनि अगाडि झुन्ड्याएको कालो चस्मा, ब्यागी पाइन्ट अनि चप्पल ।

‘केको खोजीमा ढोरपाटन जाँदै ?’ यस प्रश्नमा उनी एकैछिन अकमक्क परे । ‘खोइ, मेलामा नाचगान हुन्छ । रमाइलो हुन्छ । नयाँ मान्छे भेटिन्छन् । नयाँ कथा सुनिन्छ,’ उनले भने, ‘सायद, आफैंलाई पनि कतै त्यहाँ भेटिन्छ कि ?’ उनी मुसुक्क हाँसे । तर, उनको मुस्कानमा सन्तुष्टिको भाव भने थिएन ।

देवेन्द्रका प्रायः गीतमा माया गर्नेहरूको विरह छुट्दैन । पहिलो पटक उनका गीत सुन्ने जो कोहीलाई उनी सायद घायलप्रेमी हुन् या कुनै बिछोडको चोटबाट बौरिन हिँडिरहेका डुलुवा भन्ने लाग्न सक्छ । उनी भने त्यसमा सहमत छैनन् । ‘मैले प्रेम पनि गरेको छैन । त्यसैले बिछोड पनि भएको छैन,’ उनले हाँस्दै भने, ‘साथीभाइको अनुभव सुनेरै हो मैले गीत कोर्ने । म त्यस्तो अनुभवीचाहिँ होइन ।’ आफू प्रेममा नपरेको स्थापित गर्न खोजिरहँदा उनको मुखाकृतिले भने उनलाई साथ नदिइरहेको भान हुन्थ्यो ।

‘कहिल्यै, कोही मन परेन त ? अन्तर्मुखी भएकाले अभिव्यक्त गर्न नसकेको एकतर्फी प्रेमको पीडा पो छल्किएको हो कि ?’ यस प्रश्नमा उनी थोरै लजाए । अनि थोरै हौसिएर भने, ‘खोइ ? त्यो त हुन सक्छ है ।’

डेर गए कोइली चरी शून्य भयो वनैमा

हितैको माया आउला कि भनी पर्ख्या छु मनैमा...’

देवेन्द्रको पछिल्लो गीत ‘सेती दोभान’ का शब्द हुन् यी । यस गीतले युट्युबमा बिस्तारै दर्शक र श्रोता बटुल्दै गइरहेको छ । दुई साता अगाडि सार्वजनिक गरिएको उक्त गीत यो आलेख तयार पार्दासम्म २ लाख ५५ हजारले हेरिसकेका छन् । युट्युबको नेपाली संगीत क्याटेगोरीमा ११ नम्बरमा ट्रेन्डिङ छ ।

दुई लाख बढी सब्सक्राइबर रहेको देवेन्द्रको आफ्नै युट्युब च्यानलमा राखिएका उनका अन्य गीत पनि दर्शकले राम्रै रुचाएको भ्यु काउन्टले देखाउँछ । गीतमा आउने कमेन्टले पनि उनलाई दर्शक श्रोताले कुन रूपमा लिएका छन् भन्ने भेउ पाउन मद्दत गर्छ । तर, उनी फटाफट गीत सार्वजनिक गर्ने गायकमा भने पर्दैनन् । ‘मलाई गीत सार्वजनिक गर्न निकै कठिन हुन्छ । म नतिजामा भन्दा प्रक्रियामा रमाउँछु । त्यसैले जहिले पनि सार्वजनिक गर्ने कि नगर्ने भन्ने दोधारमा हुन्छु,’ उनले भने, ‘सेती दोभान सार्वजनिक गर्न नौ महिना बढी समय लाग्नुको कारण पनि त्यही हो । केही नयाँ गरुँ भन्ने लाग्छ । तर, मेरा आफ्नै सीमितता पनि छन् ।’

गाउँमा रोधी, मेलापात, भोज र जमघटमा बूढापाकाको पछि लागेरै मादल बजाउन सिकेको बताउने देवेन्द्रलाई आफ्नो कमजोरीका बारेमा पनि ज्ञान छ । उनी त्यसलाई नै आफ्नो शक्ति बनाउने कोसिसमा लागेको दाबी गर्छन् । ‘मलाई संगीतको औपचारिक ज्ञान छैन । जुन बेलामा सिक्नुपर्थ्यो, त्यस बेला बाँच्नकै लागि संघर्ष गरियो । अहिले सिक्नुपर्छ भन्ने थाहा छ । तर, भएकै सीप पनि हराउने हो कि भन्ने डर लाग्छ,’ उनले भने, ‘मेरा प्रायः गीत एकै प्रकारका हुने कारण पनि मेरो सीपको सीमितता हो । थाहा छैन, के गर्ने भनेर ।’

कुनै पनि विधामा महारथ हासिल गर्ने लालसा छ भने पहिला आफूले जानेका कुरा बिर्सिन पनि सक्नुपर्छ । नयाँ सिक्नु भनेको पुरानो बिर्सनु पनि हो । देवेन्द्रलाई नयाँ कुरा सिक्न मन नभएको होइन । तर, आफूले जानेको बिर्सन उनलाई कठिन छ । ‘मलाई संगीतमा सात सुर हुन्छ भन्नेबाहेक धेरै कुरा थाहै छैन । आफैंले कम्पोज गरेको गीत पनि कुन नोटबाट सुरु हुन्छ भन्ने थाहा छैन । स्टुडियोमा एरेन्जरले सोध्दा, सुनेर आफैं मिलाउनुस् भन्छु,’ उनले भने, ‘मैले केही नजानेरै बनाएको संगीत स्टुडियोमा रेकर्ड गर्दा राम्रै भइरहेको छ ।’ उनले गितार वा उकुलेले बजाउन सिक्न खोज्दै नखोजेको भने होइन ।

सिक्दै जाँदा फेरि आफ्नै ताल हावी भइरहँदा कठिन भएको उनको तर्क छ । ‘केही नजान्नु पनि कहिलेकाहीं त राम्रै हुँदो रहेछ । तर यसको सीमितता छ,’ उनले भने, ‘मनमा धेरै कुरा खेले पनि त्यसलाई सांगीतिक रूपमा नयाँपन दिन गाह्रो हुन्छ । यसमा पनि के गर्ने भन्ने दोधारमा छु ।’

काठमाडौं आउनेबित्तिकै संगीत सिक्न पाएको भए अवस्था अर्कै हुन्थ्यो भन्ने देवेन्द्रलाई लाग्छ । ‘त्यतिबेला बिहान कलेज, दिउँसोदेखि मध्यरातसम्म दोहोरीमा वेटर,’ उनले भने, ‘त्यो दुई–तीन वर्षको समय त मलाई सम्झनै छैन भने पनि हुन्छ । न कलेजमा कोही साथी बने, न त काममा ।’ उनका अनुसार त्यो उनका लागि कठिन कालखण्डसरह थियो । ‘कोठामा ड्रेस धुन नपाएर रेस्टुरेन्टको बेसिनमा लुगा धोएर सुकाउँथें । भोलिपल्ट त्यो लुगा लगाउँदा किचेनकै बास्ना आउँथ्यो,’ उनले भने, ‘त्यो बास्ना मलाई अहिले पनि मन पर्दैन ।’

देवेन्द्र भौंतारिँदै हिँड्दा केही समय शैली नाटक घरको अंग बने । त्यहाँ तीन वर्षजति बस्दा अभिनय कला सिके । आफूले जानेको गीत ब्याक स्टेजबाट गाए । त्यहाँ मिलेको प्रोत्साहनले उनलाई गन्तव्य देखायो । आफ्नो मनको बह निकाल्ने माध्यम दियो । अब आफूमा के गर्ने भन्ने अन्तरद्वन्द्व बाँकी नरहेको उनको तर्क छ । ‘अब मलाई जिन्दगीमा के गर्ने भन्ने दोधार छैन । कसरी अगाडि बढ्ने ? कसरी स्थापित हुने भन्ने हुटहुटी मात्रै छ,’ उनले भने, ‘मलाई अब सिक्नेभन्दा पनि कसरी अगाडि बढ्ने भन्ने हतारो छ ।’

देवेन्द्र नाटक घरमा बिताएको समय सबैभन्दा सुन्दर भएको बताउँछन् । ‘त्यतिबेला मैले नाटक मात्रै गर्न सिकिनँ, सँगै भिजुअल आर्ट भनेको के हो, कथा कसरी भनिन्छ भन्ने पनि जान्न पाएँ,’ उनले भने, ‘त्यहाँ रहँदा केही नाटकमा अभिनय पनि गरें । काठमाडौं उपत्यकाका चोकचोकमा गएर सडक नाटक पनि गरें । त्यसैले हो मलाई आफ्नो बाटो देखाएको ।’ उनको मनको अन्तरद्वन्द्व गीत र भिडियोमा पनि झल्कन्छ । अहिलेका प्रायः युवाको मनमा खेल्ने द्वन्द्व आफ्नो जस्तै रहेको उनको तर्क छ ।

‘आकाशै छुने मन, सागरै डुब्ने मन

अझै नि यहीँ छु काँ हो काँ पुग्ने मन

सत्तरी बाँचौंला आधी त गइसक्यो

साँझमा पुग्नु छ, मध्याह्न भइसक्यो

थाकेझैं देखिन्छु, हारेझैं देखिन्छु

दौडेको दौडै छु, पछाडि नै छेकिन्छु....’

देवेन्द्रको एक वर्ष अगाडि सार्वजनिक भएको गीत ‘हालखबर’ का यी शब्दले आफैंमा धेरै कुरा बोल्छन् । उनले आफूमाथि लागेको ‘विरही गायक’ को ट्यागलाई पन्छाउन रमाइलो पाराका गीत पनि नगाएका होइनन् । तर, त्यसमा ट्युन रमाइलो भए पनि शब्द भने विरहकै छन् । ‘खोइ के हो दुःखी गीत धेरै भयो भनेर अलमल गरें । तर, त्यसको शब्द पनि त्यस्तै छ,’ उनले हाँस्दै भने, ‘मेरो तरिकै यही हो भनेजस्तो भइसक्यो अब त ।’

अहिलेको राजनीतिक परिवेश र देशको स्थितिले सबैलाई निराश बनाएकाले त्यसैको झल्को आफ्नो सिर्जनामा पनि आएको हो कि भन्ने पनि देवेन्द्रलाई लाग्छ । ‘गाउँमा छँदा द्वन्द्व थियो । द्वन्द्व सकिएर शान्ति आयो । जे हुन्छ भनेर द्वन्द्वपछि शान्ति आयो, दूरदराजका मानिसले त्यो अझैसम्म अनुभूति गरेका छैनन्,’ उनले भने, ‘गाउँमा अहिले पनि अवस्था गाह्रो नै छ । त्यहीँ बस्दा त यस्तै हो भन्ने लाग्दो रहेछ । जब स्थान फेरिन्छ, ठाउँ देखिन्छ । अनि आफ्नो भोगाइ कति कठिन रैछ भन्ने थाहा हुन्छ ।’ देवेन्द्रको आफ्नै अनुभव पनि यस्तै छ ।

उनलाई गाउँमा हुँदा भएको छुवाछूत र भेदभाव ठूलो कुरा नलागे पनि सहर आएपछि भने अर्कै जीवन बाँचिएको रहेछ भन्ने महसुस भयो । ‘त्यहाँ छँदा त यस्तै होला दुनियाँ भन्ने लाग्थ्यो,’ उनले बालसुलभ तर्क गरे, ‘सहर आएपछि पो थाहा भयो, त्यो त ठीक होइन रहेछ । तर, त्यो परिवेश नै त्यस्तै थियो । एउटै जुनीमा धेरै जीवन बाँचेजस्तो लाग्छ अहिले सम्झिँदा ।’उनलाई आफूले बालापन बिताएको गाउँसँग कुनै गुनासो छैन । त्यसैले त आमाले दिएको नाम ‘बब्लु’ लाई उनले आफ्नो जरासँग जोडिने पुलेसो बनाएका छन् । ‘बब्लु मलाई असाध्यै प्रिय लाग्छ । यसले आमाको स्नेह र गाउँको याद दिलाउँछ,’ उनले भने, ‘त्यसैले पनि मैले नामका पछाडि बब्लु जोडेको हुँ ।’ यति भनेर उनले ब्यागमा अड्याइएको उकुलेले झिकेर जी कर्डमा आफ्ना औंला चलाउन थाले :

‘कोरेको केश उडायो बतास फरर फरर

यो मन त्यतै उडेर जान्छ सलल सलल

जता नि तिम्रो मुहार देख्छु झलल झलल

झलमल झलमल जुनतारा

अलमल अलमल नपार

बोल्छौ कुरा चपाएर

अलमल अलमल नपार... ।’

प्रकाशित : चैत्र २२, २०८० १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?