१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

झुपडीदेखि ग्वालियर दरबारसम्म

किशोरकी आमा दिव्यावती जीवनको मध्यान्तरमा दरबार पसिन्, झुपडीदेखि दरबारसम्मका सुखदुःखलाई नजिकैबाट देखिन्, जमिनदारसँग हक लिन साहसी भएर लडिरहिन् अनि विभिन्न तनावबीच पारिवारिक जिम्मेवारीको डुंगा पार गराइन्
दीपक सापकोटा

काठमाडौँ — एक साधारण मान्छे, तर असाधारण कथाजस्तै जीवन ! उनले जीवनलाई कथै सोचे, कथै बाँचे– जीवन बुझ्ने साधन नै कथा बनाए । जिन्दगीका सुख–दुःख, भाव–अभाव सबै कथामै लेखे । 

झुपडीदेखि ग्वालियर दरबारसम्म

किशोर नेपालका कथामा बाँचिरहेका छन्– उनको समय र आमाको युगीन सुक्ष्म समाज ।

किशोरले पत्रकार, कथाकार र निबन्धकारका रूपमा राम्रै हैसियत बनाए । उनको कलमले सिनेकर्मीका अदा, साहित्यकारका विचार–कलादेखि संसद् र सडकमा उरालिएको राजनीतिसम्म लेखेको छ । अरूकै कथा–व्यथा लेख्दालेख्दै कहिलेकाहीँ आफ्नै आमाको कथा झट्ट सम्झिन्छन् अनि लाग्छ– अब ती सबै प्राचीन भइसकेछन्, युनानी कथाजत्तिकै । उनकी आमाले बाँचेको जीवन–गाथा आफैंमा एक दन्त्यकथाजस्तो छ । केही सिधा र केही बांगाटिंगा रेखाले बनेको आमाको समयको फाटकमा किशोर दशकौंअघि ब्रिटिस कम्पनीले छोडेर हिँडेका ग्वालियरका दरबारका विशाल गेटभित्र पस्छन् । तर, २०३७ सालमा ५७ वर्षमै बनारसमा बितेकी आमा दिव्यावतीमाथि उनले भावुक कविता लेखेनन्, बरू आफ्नो समयको कथा कहने ‘मेरो समय’ मा संस्मरणका केही झिल्काहरू लेखिहेरे ।


दिव्यावती एक समय ग्वालियर–राजमाताकी आडभरोसा थिइन् । राजा महेन्द्रको निम्तोमा ग्वालियरको सिन्धिया राजपरिवारकी राजमाता विजयाराजे सिन्धिया नेपाल आएकी थिइन् । ग्वालियर महाराज जिवाजी राव सिन्धियाको निधन भइसकेको थियो । भारत सरकारले उनलाई महाराजा दर्जाबाट हटाए पनि त्यो मर्यादाबाट हटाएको थिएन । महेन्द्र युवराज वीरेन्द्रको विवाह विजयाराजेकी छोरीसँग गर्न इच्छुक थिए भन्ने हल्ला व्यापक थियो काठमाडौंमा । हालको शीतल निवासमा विजयाराजे पाहुनाका रूपमा उपस्थित थिइन् (त्यतिबेला त्यो दरबार शाही अतिथि भवन थियो) । विजयाराजेले दिव्यावतीलाई भेट्न बोलाइन् । श्रीमान् बितेपछि बरखी बारेकी हिमधरझैं किशोरकी आमा दरबारमा उपस्थित थिइन् । आमाको छाया पछ्याउँदै दरबार पुगेका थिए– बालक किशोर । भन्छन्, ‘मैले दरबारको सान र वैभव पहिलोपटक त्यहीँ देखेँ ।’

लामो भलाकुसारीपछि विजयाराजेले दिव्यावतीलाई भनेकी थिइन्, ‘तिमी त मेरो पुरानो सखी, मेरो विश्वास–पात्र हौ । ग्वालियर आऊ, मेरो सहयोगी भएर बस्नू ! छोरा पनि लिएर आउ, राम्रो स्कुल पढाइदिन्छु ।’ दिव्यावतीले ‘हस् सरकार’ मात्रै भनिन् । राजमाताले दिव्यावतीको हातमा एउटा खाम थमाइदिइन्, जहाँ थियो– भारु एक हजार । उनी ‘के गरौं, कसो गरौं’ को दोधारमा थिइन्, हजुरदिदी (किशोरकी फूपु) सँग सल्लाह मागिन् । उनले ‘नजाऊ’ भन्न सकिनन्, तर किशोरलाई ग्वालियर पठाउन पनि चाहिनन् । र, आमाले पनि लैजाने आँट गरिनन् । किशोर काठमाडौंमै छुटे, दिव्यावती भारत मध्यप्रदेशको ग्वालियर पुगिन् र जीवनैभर विजयाराजेको निजी सहायक बनिन् । त्यो एउटा यस्तो बिन्दु थियो, जहाँ आमा–छोरा ठ्याक्कै छुट्टिएका थिए ।

असलमा यो किशोरकी आमाको सुख–खोजको अजीव कहानी हो, जसले ग्वालियरको दरबारका दिवारभित्र जीवन बिताइन् । जो जीवनको मध्यान्तरमा एक्लै–एक्लै ‘समृद्धि’ खोज्दै दरबार पसिन् ।

मान्छेहरू यसो पनि भन्छन्– ‘आमालाई त्यसै महान् भनिदिनु हुँदैन, उनको कर्म हेरेर मात्रै भनिनुपर्छ ।’ तर, किशोरको बुझाइमा आमा यस्तो विम्ब हो, जसको व्यक्तित्व नै त्यो शब्दको ओजमा छ बरु आमाको जीवनको शून्यताचाहिँ स्विकार्नुपर्छ । दिव्यावती सांसारिक भौतिक अस्तित्वबाट अस्ताएर कहिल्यै नफर्किने ‘दूरको देश’ पुगेको दशकौं भयो । आमा नहुँदा उनीसँगको दूरी झन् तन्किन्छ ? किशोर भन्छन्, ‘आमासँगको सम्बन्ध कहिल्यै दूरीको नहुने रहेछ, जसबाट हामी उत्पन्न भयौं त्यो शरीरसँग जहिल्यै मोह कायम रहने रहेछ । हामीलाई जन्म दिने आमा महान् हुन्– निश्छल, भावुक, सहृदय र अत्यन्तै संवेदनशील पनि ।’


अन्य नेपाली आमाझैं किशोरकी आमाले पनि असाध्यै अप्ठ्यारो जीवन बाँचिन् । काठमाडौंमा दह्रो पाइला टेकेर उभिनलाई साह्रै गाह्रो भयो । श्रीमान् टङ्कनाथ नेपाल संसारको भौतिक उज्यालोबाट अँध्यारोको अनन्त यात्रामा गइसकेका थिए, जो थिए– बनारसबाट दीक्षित एक पण्डित ।

टङ्कनाथ ज्योतीषशास्त्री थिए । बनारसबाट नेपाल फिरेपछि उनको इच्छा थियो– दरबारमा काम गर्ने । तर, घरानियाँ पण्डितहरूको दबदबा थियो दरबारमा । बिन्ती चढाउँदा पनि जागिर पाएनन्– पण्डितहरूको घात–प्रतिघातले । अनि श्रीमती दिव्यावतीसहित भारत मध्यप्रदेशको सागरमा बसोबास गरिरहेका विद्रोही राणा खड्गशमशेरको दरबार पुगे, जो पाल्पाबाट निर्वासित भएका थिए । खड्गकी छोरीपट्टिकी नातिनी विजयाराजेसँग दिव्यावतीको गहिरो मित्रता त्यसैबेला भयो । विजयाराजे युवराज शमशेरकी छोरी (पछि पशुपतिशमशेरकी सासू) हुन् ।

तर, सागरमा टङ्कनाथको मन अडिएन । नुवाकोटको झिल्टुङ गाउँ फिर्ने मन पनि भएन । फर्केर खिचापोखरीमा बसोबास सुरु गरे । जेठी र माइली छोरी सागरमै जन्मेका थिए, कान्छीको जन्म खिचापोखरीमा भयो । तर, किशोरचाहिँ झिल्टुङमा जन्मिए– २००८ सालमा । ‘छोराको बाबु बन्ने’ चाहना भएका पिताको इच्छा थियो– छोरो पुर्ख्यौली घरमै जन्मोस् । त्यसैले गर्भवती दिव्यावतीलाई उलिनकाठमा बोकाएर झिल्टुङ पुर्‍याइयो । किशोर ‘तेल्याहा’ सन्तान भई जन्मिए– तीन छोरीपछिको एक छोरा । ऊबेला गाउँसहरमा भनिन्थ्यो– तेल्याहाले परिवारै पिर्छ । तर, परिवारमा ठूलो उत्सव बन्यो किशोरको जन्म ।

टङ्कनाथकी जेठी दिदी (जसलाई किशोर हजुरदिदी सम्बोधन गर्थे) थापाथलीको चन्द्रशमशेर महाराजका छोरा सिंहशमशेरको दरबारमा काम गर्थिन् । उनी थिइन्, सिंहमहलको धाइ सुसारेहरूकी प्रमुख अर्थात् अढाइनी बज्यै । किशोरको जन्मपछि एक्ली अढाइनी बज्यैलाई ‘अवकाशपछिको जीवनका लागि’ सिंहशमशेरले बत्तीसपुतलीमा घर किनिदिए । टङ्कनाथले आफूसँग भएको जम्मै पैसा थपेर जग्गा बढाए र दिदीसँगै बत्तीसपुतली बस्न थाले ।

किशोर ५ वर्षकै छँदा पिता टङ्कनाथको निधन भयो । किशोरको स्मृतिगारमा केवल पिताको एकदमै धमिलो तस्बिर सुरक्षित छ ।

टङ्कनाथ भारत–नेपाल ओहोरदोहोर गरिरहन्थे । घर फर्केको केही दिनमै उनका बुबा ‘महाप्रस्थान’ मा गए । किशोर भन्छन्, ‘मलाई बुबाले सोध्नुभएको सायद अन्तिम प्रश्न याद छ– भुन्टे, के छ त तेरो ?’


टङ्कनाथको निधनपछि घरको ऋण तिर्न हम्मे पर्‍यो दिव्यावतीलाई । झिल्टुङको खेतीपातीले ठिकै गुजारा त हुन्थ्यो, तर काठमाडौंको जिन्दगी साह्रै खर्चिलो थियो । काठमान्डुको धान्न नसकिने जीवन सजिलो बनाउन दिव्यावती ग्वालियर गइन् कामको खोजीमा । दरबारमा उनले गर्नुपर्ने काम थियो– राजमाताका लागि फूल टिप्नु, माला सिउनु, पूजा गर्नु ।

दरबारबाट दिव्यावती चिठी लेख्थिन्, चिठीमै पठाउँथिन् किशोरलाई, पाँच–दशको भारु नोट । लेखेकी हुन्थिन्, ‘हेर् तेरो पेट खराब छ, जेतेमेते नखानु नि !’ किशोर पनि चिठीको जवाफ फर्काउँथे, ‘यहाँ ठिकै छ आमा, हजुरदिदी पनि ठिकै हुनुहुन्छ । हजुरको गाथमा आराम होला, राम्रोसँग रहनुहोला ।’ हजुरदिदी किशोरको प्रथम शिक्षक थिइन् । उनलाई अक्षर चिनाइन्, ‘चण्डी’ पढाइन् । किशोर २०१४ सालमा बत्तिसपुतलीको आदर्श विद्याश्रममा भर्ना भए । हजुरदिदीको औंला समाएर वाग्मती नुहाउन जान्थे किशोर । ‘वाग्मती कञ्चन थियो उबेला । मलाई पानीदेखि डर लाग्थ्यो, तर हजुरदिदी मलाई पानीमा झ्वाम्मै ठेलिदिनुहुन्थ्यो । म नुहाएर निस्किन्थें,’ किशोर सहरका श्यामश्वेत पुराना दिनतिर बरालिन्छन् ।

बर्दियाको नौरंगामा १७ बिघा जग्गा थियो किशोर–परिवारको । भूमिसुधारको मारमा पर्‍यो त्यो । जमिनदारले जग्गा आफ्नो नाममा पारे । जग्गा गएपछि दिव्यावती खंग्रङ्गै भइन् । ‘त्यो पनि एक कारण बन्यो, आमा ग्वालियर पुग्नुमा,’ किशोर भन्छन्, ‘बुबाले कमाएको त्यो सम्पत्ति कहिल्यै फिर्ता भएन । आमालाई दरबारबाट राम्रै प्याकेज आउँथ्यो, तर त्यो पैसा परिवार पाल्नै ठिक्क हुन्थ्यो ।’ दिव्यावतीको वार्षिक तलब थियो– भारु २४ सय रुपैयाँ । दुःखका ती दिनमा किशोर हकर पनि भए– ‘स्वतन्त्र समाचार दैनिक’, ‘समीक्षा’ आदि पत्रिका बेच्थे सहरका गल्लीहरू घुमेर । डिल्लीबजारको एक होटलमा चियाको गिलास पनि माझे । भन्छन् ‘सुनको थालमा खाना पस्केर मलाई कसैले दिएको थिएन ।’


११ वर्षको छँदा आमा भेट्न ग्वालियर हिँडे किशोर । कसैको सहयोगमा गोरखपुर पुगेका उनी त्यसपछि एक्लै झाँसी पुगे र रेलबाटै ग्वालियर । त्यो ‘जयविलाश प्यालेस’ को सान–सौकत–वैभवको सम्झना उनको मस्तिष्कमा तस्बिर–फ्रेम भएर टाँगिएको छ । दरबारमा थियो– भव्य टेनिस कोर्ट, क्रिकेट ग्राउन्ड, ठुल्ठूला फलफूलका बगैंचा...। त्यहाँ घोडा–दौड हुन्थ्यो, मगमग बास्नादार अत्तर छर्केर हिँडिरहेका युवती हुन्थे । सुरक्षा प्रबन्ध कस्तो भने तीनवटा गेट पार गरेपछि मात्रै दरबार छिर्न पाइन्थ्यो । भारत स्वतन्त्र भएपछि पनि रियासतका महाराजको ठूलो इज्जत थियो त्यहाँ ।

दरबार वास्तवमै मनोहर, सुरम्य र सानदार थियो । ब्रिटिस र मुगल वास्तुकलाको सम्मिश्रणको प्रभाव भएको दरबारभित्र थियो– बकिङ्घम प्यालेसको शैली । त्यहाँ सिन्धिया वंशको गरगहना सजाइने छुट्टै संग्रहालय थियो । त्यो देखेर चकित–विस्मित थिए किशोर । उनको नजरमा त्यसबेला नेपालका सानदार दरबार थिए– केशरमहल, सिंहदरबार र थापाथलीको सिंहमहल । किशोर १५ दिन जयविलाश प्यालेस बसेर काठमाडौं फर्किए ।

डिल्लीबजार ओह्रालोमा नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालय थियो, अध्यक्ष थिए– कृष्णप्रसाद रिमाल (कवि गोपालप्रसाद रिमालका जेठा दाजु) । किशोर त्यहाँ जान्थे र नियमित पढ्थे– ‘सारिका’, ‘धर्मयुग’, ‘दिनमान’, ‘कादम्बिनी’, ‘ज्ञानोदय’ जस्ता पत्रपत्रिका । त्यसैबेला डा. राममनोहर लोहियाको विचारबाट प्रभावित भएर चिठी लेखे, तर चिठी प्राप्त भएकै दिन लोहियाको निधन भयो । लोहियाका पिए ओमप्रकाश दीपकले त्यो चिठी प्रदीप गिरिलाई पठाए । त्यसपछि किशोर प्रदीपका अनुयायी भए अनि होमिए प्रजातान्त्रिक आन्दोलनमा । ‘मेरो गतिविधिमाथि प्रहरीको निगरानी थियो । त्यही चिठी प्रहरीले जफत गर्‍यो र म पक्राउ परें,’ किशोर भन्छन् ।

‘अराष्ट्रिय तत्त्व’ को आरोपमा चिसो जेलमा पटक–पटक पुगेपछि आमासँग किशोरको सम्पर्कविच्छेद भयो । ‘जेलबाट छुटेको केही समयपछि आमा भेट्न गएँ, तर निकै रिसाउनुभएको रहेछ– मेरो जेल–यात्राको खबरले,’ किशोर भन्छन् । ग्वालियर पुगेको भोलिपल्ट विजयाराजेसँग किशोरको भेट भयो । दिव्यावतीले राजमातासँग भनेकी थिइन्– ‘बिग्रेको छोरालाई सम्झाइदिनु’ । ‘राजमाताले सम्झाएपछि छोरो कसो नमान्ला भन्ने आमालाई लागेको थियो,’ किशोर भन्छन् ।

राजमातालाई किशोरले भने, ‘म लोहियाको विचारबाट प्रभावित छु, प्रजातान्त्रिक आन्दोलनमा लागेको छु ।’ त्यसपछि त्यो भेटको कथाले अर्कै मोड लियो ।

त्यसबेला किशोर पत्रकारितामा पनि जमिसकेका थिए– नेपाल टाइम्स र अन्य दैनिक अखबारमा काम गर्थें । रुचि थियो– लेखन, पठन र पत्रकारिता ।

‘मेरो कुरा सुनिसकेपछि राजमाता मस्त हाँसिन् । उनी मसहुर राजनीतिज्ञ थिइन् र भारतीय जनसंघको संस्थापक पनि । राजमाताको त्यो शब्द अझै मेरो कानमा गुन्जिन्छ,’ किशोर सम्झिन्छन् । किशोरलाई सुनिसकेपछि विजयाराजेले दिव्यावतीसँग भनिन्, ‘पण्डितनी तिम्रो बुद्धि बिग्रिएछ ! भविष्यमा यो ठूलो मान्छे बन्छ । छोरा गलत लाइनमा लागेको छैन, तिमीहरू बुझ्दैनौ यस्तो ठूला कुरा । पीर नमान ।’

राजमाताले किशोरको हातमा बाटो–खर्चस्वरूप एक हजार भारु थमाइदिइन् । ‘त्यसपछि आमा खुसी हुनुभयो, उहाँको चिन्ता मेटियो । सायद लाग्यो– छोरोको जिन्दगी राम्रै चल्नेछ । त्यो दिन मैले आमाबाट अभयदान पाएँ,’ किशोर भन्छन् । किशोरको पत्रकारिताको ग्राफ बढ्दै गयो । ‘दिनमान’, ‘टाइम्स अफ इन्डिया’ मा काम गर्न थाले, जतिबेला उनी १६/१७ वर्षका थिए । ‘दिनमान’ का सम्पादक रघुवीर सहायले उनलाई नेपाल संवाददाता नियुक्त गरे । फेरि आमालाई भेट्न गए, राजमातासँग भने, ‘म टाइम्स अफ इन्डिया र दिनमानको नेपाल संवाददाता भएँ ।’ राजमाता असाध्यै दङ्ग भइन्, आमा झन् दंग !


दिव्यावतीको जीवनचक्र आफ्नै शैलीमा चलिरह्यो– किशोरसँग चिठी आदानप्रदान, भेटघाट भइरह्यो । अचानक एक दिन आमालाई क्यान्सर भएको खबर पाए किशोरले । ‘डाक्टरले निराशावादी कुरा गरे, भने– आमालाई क्यान्सर छ सेकेन्ड स्टेजको,’ किशोर सम्झिन्छन्, ‘राजमाताले भनेकी थिइन्– अवस्था जटिल छ, फस्ट स्टेजको भए उपचारका लागि बेलायत पठाउँथे ।’ त्यसपछिको तीन महिना किशोर र आमा अस्पताल आउजाउ गरिरहे ।

किशोरलाई राजमाताले भनिन्, ‘आमालाई एकपटक घर लिएर जाऊ । कति बस्न चाहन्छिन् राख, फेरि यतै ल्याऊ । जहाँ जान मन छ लैजाऊ, खर्च म प्रबन्ध गर्छु ।’ दिव्यावती काठमान्डू फर्किइन्, केही समयपछि भनिन्– बनारस जान्छु, शिवरात्रि आउँदै छ, विश्वनाथ बाबाको दर्शन पनि गर्छु । दिव्यावतीलाई बनारसको सिन्धिया घाटस्थित धर्मशाला पुर्‍याएको तेस्रो दिन शिवरात्रि परेको थियो । उनका गोडा बिहानैदेखि चिसा भएका थिए । तताउने अनेक प्रयत्न गर्दागर्दै त्यही मध्यरात किशोरको काखमा दिव्यावतीले अन्तिम सास फेरिन् । र, जीवनका वक्ररेखामा उनीएका सबै दुःखहरू विसर्जन गरिन् ।

बनारसको मणिकर्णिका घाटमा १३ दिन किरिया बसेपछि किशोर काठमान्डु फर्किए ।

दिव्यावती धार्मिक थिइन्– दत्तात्रय, चन्द्रमा र बृहस्पतिको पूजाअर्चना गर्थिन् । ‘छोराको पेट नदुखोस्’ भन्दै जीवनभरै चन्द्रमाको पूजा–आराधना गरिन् ।

दिव्यावती जमिनदारसँग हक लिन साहसी भएर लडिरहिन्, तनावका असरहरूबीच परिवारको डुंगा पार गराइन् । हिन्दुस्तानका सबै तीर्थ पुगिन् । राजमातासँगै बेलायत पुगिन् । किशोरको दाबी छ– ‘आमाले जत्ति हवाईजहाज र रेल मेरो कुल–खान्दनमा कसैले चढेका छैनन् ।’

किशोरकी आमाले बिताएको जीवन आम नेपाली महिलाको भन्दा निकै उतारचढावपूर्ण रह्यो । उनले झुपडीदेखि दरबारसम्मका सुखदुःखलाई नजिकैबाट देखिन् । विजयाराजेलाई इन्दिरा गान्धीले जेल हालिन्, त्यो संकटकालीन अवस्थामा उनी राजमातासँगै तिहाड जेलमा बसिन्– टेक केयर गर्न ।

दिव्यावती ध्यानस्त भएर स्तोत्र पाठ गर्थिन् । आमाले ‘गीता’, ‘महाभारत’ सुस्त–सुस्त पढिरहको दृश्य अहिले पनि किशोरको पाको सम्झनामा आइरहन्छ । हजुरदिदीचाहिँ ब्रह्मानन्दको हिन्दी भजन गुनगुनाउँथिन् साँझतिर । किशोरलाई आमा भनिरहन्थिन्– परम्परा धान्नुपर्छ है केटा ! कुलदेउताको पूजा, सासूससुराको श्राद्धको मिति उनलाई कण्ठै हुन्थ्यो । एकादशीको ब्रत बस्थिन्, निराहार । कृष्णले अर्जुनलाई सुनाएको गीताको श्लोकको अर्थ किशोरलाई सुनाउँथिन्– ‘यो पृथ्वीमा तिमीले जुन काम गर्‍यौ, म त्यो सबैबाट मोक्ष गरिदिन्छु । कर्तव्य गर, मोक्ष प्राप्त गर्नेछौ ।’

किशोर सोचिरहन्छन्– आमा त्यो श्लोकबाट प्रभावित थिइन् र सायद उनले मोक्ष पाइन् ।

आमाको जीवनको डायरीका पृष्ठहरू सम्झिँदा किशोरलाई लाग्छ– उनी कठोर समाजमा बाँचिन्, तर स्वतन्त्र र खुसी भएर । आफू निकै बिरामी भएका बेला आमाले सुन बन्धकी राखेर उपचार गराउँदाको संकटपूर्ण घडी याद गर्दा अहिले पनि किशोर एकतमास हुन्छन् । बुबा बितेपछि आमाको दुःख हेर्दै उनी कल्पिन्थे– मसँग रुपैयाँ हुन्थ्यो भने आमालाई एउटा साडी किनिदिन्थें ।

किशोरलाई स्मृतिहरूले असाध्यै घेर्छन् बेलाबेला । बुबा टङ्कनाथको संकलनमा थियो– कश्मीराको कोट, मफलर, केही एभरेडी ब्याट्री, रेडियो । श्रीमान्को यादस्वरूप ती सबैलाई संगालेर राख्न चाहन्थिन् दिव्यावती । बुबाले पिएको ५५५ चुरोट राखिने गेल्टिनका बट्टाहरू पनि थिए । किशोरले तिनलाई पांग्रा बनाएर खेले, आमाले चड्कन हानिन् । ‘मेरो समय’ मा किशोरले लेखेका छन्, ‘गोल्टिनमार चुरोट समाजमा स्टेटस सिम्बोल मानिन्थ्यो ।’

बालखैमा आमाको पछिपछि झिल्टुङ पुगेका केही सम्झना किशोरका मस्तिष्क–कोषमा टाँस्सिएकै छन्, ‘म हिँड्न नसक्ने, आमा बोक्न नसक्ने । एक दिनको बाटो हिँड्न दुई दिन लाग्थ्यो ।’

कहिलेकसो किशोर बनारस विश्वनाथको एउटा घटना याद गर्छन्– एक साधु आएर आमालाई हेर्छन्, ऋषिकेशको जल खुवाउँछन् र चन्दन लगाइदिँदै भन्छन्– ‘मलाई लाग्छ, ईश्वरले तपाईंको कल्याण गर्नुहुनेछ ।’ कल्याणको दुई अर्थ हुन्छ– तिमी स्वस्थ हुन्छौ वा तिम्रो मुक्ति हुनेछ । साधु आधा घण्टा त्यहीँ बसेर कतै अलप हुन्छन् । त्यो घटना आज पनि किशोरलाई रहस्यमय लाग्छ । भन्छन्– ‘आमाको अनुसार उहाँले मुक्ति पाउनुभयो ।’

अहिले पनि बिरामी भएका बेला किशोरलाई आमा सुदूरबाट बोलेको झल्को आउँछ– ‘बाबु जेतेमेते नखा है !’ तर, उनको सपनीमा आमा कहिल्यै आइनन् ।

‘आमाको मायाको न्यानो संसारका कुनै पनि वस्तुसँग तुलना हुँदैन । तुलना गर्नु नै आमाको अपमान हो,’ आँखाको आयातनमा टाँगिएकी आमा सम्झँदै किशोर भन्छन्, ‘उनी सधैं खुसी भएर सन्तानको उन्नतिका लागि कष्ट उठाउँछिन् ।’

प्रकाशित : चैत्र ६, २०८० १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?