१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

छोरीलाई बाआमाबाटै घरेलु हिंसा

विद्या राई

काठमाडौँ — बाआमाका लागि सन्तानप्रेम निःस्वार्थ अनि अगाध हुन्छ भनिन्छ । रञ्जु (परिवर्तित नाम) ले पनि आफ्ना बाआमालाई त्यही ठान्थिन् । बाआमाको इच्छाविपरीत १७ वर्षको उमेरमा प्रेम विवाह गरिन् । तर, उनको वैवाहिक सम्बन्ध लामो समय टिकेन । दुई सन्तानको आफैले पालनपोषण गर्नेगरी सम्बन्ध विच्छेद गरिन् ।

छोरीलाई बाआमाबाटै घरेलु हिंसा

उनले पढाइलाई निरन्तरता दिइन् । काठमाडौं बसेर जागिरबाट कमाएको तलब सिरहा बस्ने बाआमालाई पठाउँथिन् । ऋणको नियमित ब्याज तिर्थिन् । भाइहरुलाई आफूसितै राखेर पढाइन् । जेठो भाइको विवाह खर्च जुटाइदिइन् । पारिवारिक सम्बन्ध ठीकठाक चल्दै थियो । अहिले रञ्जु एक निजी बैंकमा ‘जुनियर असिस्टेनट’ तहमा कार्यरत छिन् । पुनः विवाहका लागि आफूलाई प्रस्ताव आएको कुरा बाआमासमक्ष जब राखिन्, परिवारमा खटपट सुरु भयो । ‘बिहे गरिस् भने मार्छु, काट्छु भनेर धम्की दिएका छन्, ‘डिभोर्स’ गरिसकेको घरमा घिसारेर पुर्‍याइदिन्छु भन्छन्,’ रञ्जुले भनिन्, ‘म काम गर्ने अफिसमा हाकिमलाई फोन गरेर सरुवा गराइदिन निकै दबाब आइरहेको छ ।’ आफ्नो खोलेको कन्सल्टेन्सीको आधा शेयर नामसारी गर्न पनि दबाब दिएको उनले सुनाइन् ।

बाआमा र भाइहरुलाई आफूलाई विवाहको प्रस्ताव आएको सुनाएपछि दुई महिनायता निरन्तर मानसिक र शारीरिक आक्रमण भइरहेको उनको भनाइ छ । ‘अहिलेसम्म उनीहरुले मागेको बेला पैसा पठाउने, ऋणको ब्याज तिरिदिने गरेको छु । बिहे गरेर गएँ भने आम्दानीको स्रोत बन्द हुन्छ भनेर यो सबै दु:ख दिइरहेको छन्,’ रञ्जुले भनिन्, ‘आमाले जहाँ गयो तँलाई त्यहीं लोग्ने चाहिने भन्नेसम्मको गाली गर्नुभएको छ ।’

पहिलो विवाहको सम्बन्ध विच्छेदपछि गाउँसमाजको लाञ्छना छल्न उनलाई आडभरोसा बनेको काठमाडौं अचेल असुरक्षित लाग्न थालेको छ । कार्यालय र डेरा आउजाउ गर्दा सडक, गल्लीहरुमा कोही आएर आक्रमण गर्ने हुन् कि भन्ने डरले घेर्छ । चरित्र हत्या गर्ने, मानसिक रोगीको आरोप लगाउनेदेखि होस्टलमा बसेर पढिरहेका छोराछोरीलाई समेत आमाविरुद्ध लाग्न उक्साइरहेपछि आफ्नै बाआमा र भाइविरुद्ध गत कात्तिक २३ मा उनले राष्ट्रिय महिला आयोगमा लिखित उजुरी हालिन् ।

रञ्जुका परिवार पढेलेखेका हुन् । शिक्षित परिवारभित्रै छोरीले असुरक्षित हुनुपर्ने घटनालाई लिएर मनोसामाजिक परामर्शकर्ता र सरकारी वकिलले रञ्जुका उजुरी विवरण केलाउँदै कानुनी उपचारको प्रक्रियाबारे छलफल थालेका छन् । रञ्जुले बाआमा र दुवै भाइविरुद्ध गालीबेइज्जती, आफू र छोराछोरीलाई पनि मानसिक यातना दिएको उल्लेख गर्दै घरेलु हिंसाको उजुरी दिएकी छन् । पीडित र पिडक दुवै पक्षलाई छलफल गराएर उजुरीमाथि कारबाही प्रक्रिया थाल्ने गरी महिला आयोगका कर्मचारीले मंसिर १५ गतेलाई मिति तय गरेका थिए । यसबारे रञ्जुका बुवालाई टेलिफोनमार्फत खबर गर्दा मंसिर २० पछि मात्रै छलफलमा आउन भ्याउने बताए । आयोग र रञ्जुबीच सहमति गरेर मंसिर १७ गते छलफल गर्ने मिति तोकियो । तर छलफल गर्ने दिन बुबाले व्यक्तिगत व्यस्तताका कारण सिरहाबाट काठमाडौं आउन नसक्ने जानकारी गराए । रञ्जुको उजुरी हेर्दै गरेका दुवै कर्मचारी आयोगकै कार्यक्रम परेर सुदूरपश्चिम प्रदेश गए ।

मंसिर १८ गते अचानक रञ्जुलाई महिला आयोगको फोन गयो । छलफलका लागि तुरुन्तै आयोगमा उपस्थित हुन भनियो । कार्यालयबाट जसोतसो समय निकालेर उनी आयोग पुगिन् । छलफलका लागि उनलाई महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हाको कार्यकक्षमा लगियो । उनका बुवा पनि त्यहीं थिए । आयोगका मनोसमाजिक परामर्शकर्ताहरु थिए । एक घण्टाको समयमा दुवै पक्षबीच छलफल भयो । आयोगका एक कर्मचारीका अनुसार बुबाले छोरीलाई लगातार चरित्रहत्या र गालीगलौज गरे । ‘विवाह गरेर गएपछि छोरीबाट आउने पैसा बन्द हुन्छ, उसको जागिर व्यवसायको हिस्सा पाउनुपर्छ भन्ने खालको आर्थिक लोभलालच देखिन्थ्यो,’ छलफलमा संलग्न कर्मचारीले भने ।

‘दुवै जनाले आफ्नो कुरा राखे, रञ्जुले बाआमाबाट सम्पत्ति लिन खोजेको छैन, आफ्नो जीवनको निर्णय गर्न पाउने अधिकार उनीसँग छ, छोरीले यो वा त्यो गर्न हुँदैन भन्ने परम्परागत प्रवृत्ति उनका बुवामा पाइयो,’ आयोग सदस्य सिन्हाले भनिन् । अर्को छलफल मंसिर २६ गतेलाई तोकियो र दुवै पक्षले एकअर्कालाई गालीगलौज, अपशब्द प्रयोग नगर्ने सर्त राखियो । रञ्जुका भाइ भोलिपल्ट फेरि महिला आयोग पुगे । रञ्जुलाई सम्झाइबुझाइ गरेर कानुनी रुपमा सम्बन्ध विच्छेद भएकै व्यक्तिसँग मिलाइदिन आग्रह गर्न थाले । ‘यसो भन्न आएपछि पीडक पक्षहरु गलत छन् भन्ने थप बल पुग्यो,’ आयोगका कर्मचारीले भने ।

रञ्जुका बाआमा र भाइहरुले उनी काम गर्दै गरेको बैंकमा टेलिफोन गरेर सिरहातिरै सरुवा गरिदिन दबाब दिन थाले । होस्टेल बसेर पढ्दै गरेका रञ्जुका छोराछोरीहरुलाई फोन गरेर आमाविरुद्ध कुरा लगाउने गतिविधि बढाए । छलफलको लागि तोकिएको मितिमा उपस्थित हुन बुबाले आलटाल गर्दै आएका छन् । पूर्वसहमतिअनुसार उनले मंसिर २६ गते उपस्थित हुन नसक्ने खबर पठाए । २८ गतेलाई सारियो । यसमा पनि आफन्त बितेको कारण देखाउँदै उपस्थित भएनन् । छलफलका लागि सात पटकभन्दा बढी प्रयास गर्दा पनि बहानाबाजी गरेर मुद्दा लम्ब्याउन खोजेको आयोग कर्मचारी बताउँछन् । ‘उहाँ पूर्वप्रहरी हुनुहुन्छ, कानुन नजानेको पक्कै हुनुहुन्न तर महिला आयोगको हाकिमलाई चिनेको छु, तपाईंले जे गर्नुहुन्छ गर्नु भन्ने गर्नुहुन्छ, पीडितलाई दु:ख दिने मनसाय नै देखिन्छ,’ उनीहरुले भने ।

रञ्जुका बुवाले छोरी मानसिक रोगी भएको आरोप लगाउँदै बाआमा, भाइ, आफन्तहरुसँग दुस्मनी साँधिरहेको आरोप लगाए । ‘पहिले आफै बिहे गर्‍यो, पछि डिभोर्स गराइदे भन्यो गराइदिएँ, अहिले झुटा आरोप लगाएर महिला आयोगदेखि कहाँसम्म पुगेछ,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो यादव परिवारमा एउटासँग बिहे गरेपछि अर्कोसँग जान मिल्दैन ।’ आफूले डरत्रास, धाकधम्की नदिएको उनले दाबी गरे ।

आयोगकी सदस्य सिन्हाले रञ्जुका बुबाले बहाना बनाएर छलफलमा उपस्थित हुन नचाहेको भए अन्य कानुनी प्रावधानअनुरुप कारबाही प्रक्रिया बढाउने बताइन् । ‘उपस्थित हुन मान्दै मानेनन् भने कानुनी प्रावधानहरु छन् । महिला आयोगले छलफल गराउने हो, नभए अदालत पठाइदिन्छौं,’ उनले भनिन् ।

प्रकाशित : पुस ५, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?