१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

वन्यजन्तु उद्धारमा रचना

चितवनको सौराहास्थित जैविक विविधता केन्द्रकी प्रमुख हुन् रचना शाह । नेपालको जैविक विविधता अध्ययन तथा अनुसन्धानमा अग्रणी मानिएको केन्द्र स्थापना भएको चार दशकमा प्रमुख हुने उनी पहिलो महिला हुन् ।
दीपक केसी

सौराहा, चितवन — चितवनको सौराहास्थित जैविक विविधता केन्द्रकी प्रमुख हुन रचना शाह । नेपालको जैविक विविधता अध्ययन तथा अनुसन्धानमा अग्रणी मानिएको केन्द्र स्थापना भएको चार दशकमा प्रमुख हुने उनी पहिलो महिला पनि हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको यो कार्यालयले वन्यजन्तुको उद्धार एवं व्यवस्थापनसहित अनुसन्धान गर्छ । त्यसका साथै केन्द्रले कोषमार्फत सरकारलाई मार्गदर्शन एवं सुझावहरू दिँदै आएको छ ।

वन्यजन्तु उद्धारमा रचना

जावलाखेलको सदर चिडियाखाना क्षेत्रफलको हिसाबले सानो भए पनि त्यहाँ हजारभन्दा बढी वन्यजन्तु तथा चारचुरुंगी छन् । चितवन आउनुअघि उनी सदर चिडियाखानामा लामो समयसम्म वन्यजन्तु संरक्षण शिक्षासम्बन्धी कार्यक्रम र वन्यजन्तु व्यवस्थापनमा सक्रिय थिइन् । पहिलो महिला प्रमुख भएर आउँदा उनलाई महिला भएकाले कार्यालय आउने र हाजिर गर्नेलगायतका आरोप खेप्नुपर्‍यो । तर आलोचकका यस्ता आरोप उनले गलत सावित गर्दै संरक्षणको क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकका रूपमा उभ्याएकी छन् ।

हालै उनको नेतृत्वमा पहिलो पटक चितवनबाट कोसीमा गैंडा स्थानान्तरण गर्न पठाइयो । ‘वन्यजन्तुको स्थानान्तरणको काम निकै नै कठिन हुन्छ । भने जस्तो सजिलो कहाँ छ र ?,’ शाह भन्छिन्, ‘टिमलाई राम्रोसँग मोबिलाइज गर्न सकिएन भने सफल हुन सक्दैन । यसमा गैंडा पक्रने, खोर तयार गर्ने, खोरमा बस्न योग्य बनाउनेदेखि लिएर सुरक्षित स्थानसम्म पुर्‍याउने काम हुन्छ ।’ यसमा समय र बजेट दुवैको खर्च हुन्छ । गैंडा स्थानान्तरणमा कुनै पनि किसिमका प्राविधिक समस्या नआईकन सफल भएकोमा उनी दंग छिन् । भन्छिन्, ‘मैले सफलतापूर्वक रूपमा गैंडा स्थानान्तरणको सम्पूर्ण प्राविधिक कामको नेतृत्व गर्ने मौका पाएँ ।’ उनको भनाइ पनि यही पुष्टि गर्छ ।

चितवनदेखि कोसीसम्म लैजाँदा कुनै पनि किसिमको प्राविधिक समस्या आएनन् । शाहले गैंडा स्थानान्तरण गर्दा प्राविधिक पक्षको नेतृत्व गर्ने पहिलो महिलाका रूपमा नेपालको संरक्षणमा इतिहास रचेकी छन् । त्यस्तै, उनैको नेतृत्वमा हालै केन्द्रका भेटनेरियन चिकित्सकले एउटा जंगली हात्तीको रेडियो कलर जडान गर्न सफल भए । शाह भन्छिन्, ‘सबै स्टाफ र भेटनेरियनको संयुक्त प्रयासमा जंगली हात्तीको रेडियो कलर गर्न सफल भयौं ।’

७ महिनादेखि चितवनमा रहेकी उनको नेतृत्वमा केही समयअघि ध्वाँसे चितुवाको उद्धार भएको थियो । ‘सबैले माया मारेर मर्छ नै होला भन्ने अवस्थामा हामीले उद्धार गरेर ल्याएका थियौं । अहिले स्वस्थ भएको छ,’ उनले भनिन् । यसमा उनी निकै नै खुसी देखिन्छन् । सदर चिडियाखानामा वन्यजन्तुको उद्धार हुँदा चितुवालगायतका जीवहरू हुने भए पनि चितवनमा बाघ, गैंडा, जंगली हात्तीलगायत जीवको उद्धारसँगै समुदायमा काम गर्दाको अनुभव छुट्टै भएको उनले सुनाइन् ।

ठाउँ अभाव भए पनि जावलाखेलको पहिचान बनेको सदर चिडियाखानामा हजारभन्दा बढी जीव व्यवस्थापन गर्नु र एउटा सिंगो निकुञ्जमा आएर काम गर्दाको अनुभव कस्तो रह्यो भन्ने प्रश्नमा उनी समुदायमा आधरित भएर काम गर्ने पाटो महत्त्वपूर्ण भएको उनले सुनाइन् । सदर चिडियाखानाकी पूर्वप्रमुख शाहले गैंडा, बाघ, भालु, सर्प, चित्तल र अरू चराचुरुंगीहरूको व्यवस्थापन गरिरहँदा चितवनमा धेरै ठूला प्रजातिहरूको उद्धार गर्नुपरेको अनुभव सुनाइन् । उनले चितुवाको उद्धार र बाघको उद्धार फरक भएकाले व्यवस्थापन र कसरी ह्यान्डल गर्ने भन्ने विषयमा विविधता हुने गरेको बताइन् ।

केन्द्रको परिसरमै बस्ने उनी बिहान सबेरै राम–देव र पूजालाई खोज्छिन् । बाघको आक्रमणबाट बाँचेका दुई वटा भाले गैंडा हुन् राम–देव । पूजालाई पनि जंगलबाट उद्धार गरेर ल्याइएको उनले बताइन् । उनको क्वार्टरसँगै राम–देवका होल्डिङ एरिया छन् । सामान्यतः १८ देखि २० प्रतिशत गैंडाहरू प्रायः बाघ आक्रमण र बाढीले बगाउने गरेको उनले सुनाइन् ।

जंगलमा घाइते अवस्थामा एक्लै भेटिएको गैंडालाई उद्धार गरिने उनले सुनाइन् । २/३ दिनसम्म एक्लै हिँडिरहेको बच्चालाई माउले लगेन भने उद्धार गर्ने गरिएको उनले जानकारी दिइन् । देवलाई देवनगरबाट र रामलाई नवलपरासी क्षेत्रको जंगलबाट उद्धार गरेर जैविक विविधता केन्द्र परिसरमा उपचार गरेर राखिएको हो ।

वन्यजन्तुको स्याहारसुसार गर्न त्यति सजिलो छैन । संरक्षणकर्मी शाह भन्छिन्, ‘वन्यजन्तु राख्न ठूलो चुनौती छ । एउटा घरमा पालेको कुकुरको रेखदेख गर्न त यत्रो विघ्न समय चाहिन्छ झन् वन्यजन्तुको व्यवस्थापन गर्ने काम कठिन हो । ‘म बच्चा हुँदा घरमा पालेका गाईभैंसी र कुकुरहरूप्रति माया लाग्थ्यो । बिरामी हुँदा पनि म हेर्ने र स्याहार्ने गर्थें । डाक्टर हुने रहर पूरा नभएपछि वन्यजन्तुको क्षेत्रमा काम गर्छु भन्ने अठोटले यहाँसम्म आइपुगें,’ उनले भनिन् ।

संरक्षण शिक्षाको भूमिका वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण हुने उनले बुझाउँदै आएकी छन् । ‘निकुञ्ज र संरक्षण क्षेत्रमा लागेका मानिसलाई वन्यजन्तुबारे थाहा हुन्छ । तर सहरमा बस्ने विद्यार्थी र मानिसलाई वन्यजन्तुप्रति त्यति धेरै ज्ञान हुँदैन,’ संरक्षणकर्मी शाह भन्छिन्, ‘हामीले आफ्नो क्षेत्रबाट के गर्न सकिन्छ भनेर संरक्षण शिक्षामा लाग्यौं । सफल पनि भयौं । ‘वन्यजन्तु चिडियाखानामा राख्नु भनेको मनोरञ्जन मात्रै हैन, शिक्षाको स्रोत पनि रहेको उनको भनाइ छ । उद्धार गरेर चिडियाघरमा राखिने वन्यजन्तु भनेको जंगलमा बस्ने जीवको दूत पनि रहेको उनले उल्लेख गरिन् । वन्यजन्तुहरूलाई शिक्षामार्फत जोगाउन सकिएन भने भोलिका दिनहरूमा डाइनोसरहरूजसरी नै लोप हुन सक्ने खतरा बढेर जान्छ ।

वन्यजन्तुको संरक्षणको क्षेत्रमा काम गर्दा निकै नै चुनौती हुन्छ । नयाँ पुस्ताले धेरै काम गर्नुपर्ने उनले सुझाव दिइन् । प्राकृतिक रूपमा नै महिला र पुरुषलाई कुनै पनि क्षेत्रमा काम गर्दा केही फरकपना हुन्छ । उनी भन्छिन्, ‘मान्छेलाई पनि एउटा महिलाले चलाएको केन्द्र हो, मानिसहरू मोबिलाइज गर्न सक्दिन भन्थे । कोठामा बसेर के गर्ने भन्थे ।’ उनले भनिन् । तर त्यसलाई उनले गलत सावित गरिदिइन् । ६० जनाकोटिमको नेतृत्व गरेकी उनले प्राणीशास्त्र विभागसहित युरोपबाट पनि पनि डिग्री लिएकी छन् । लामो समयदेखि काम गर्दै आएकीउनी परस्थानीय संरक्षणमा दक्षता राख्छिन् । प्राकृतिक बासस्थानभन्दा बाहिर रहेका जीवजन्तुको संरक्षण गर्न परस्थानीय प्रजातिको संरक्षण महत्त्वपूर्ण हुन्छ ।

प्रकाशित : आश्विन २२, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?