१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

दिवंगतहरुको सम्झनामा ललितपुरको मौलिक पर्व : न्यकूजात्रा-मतयाः 

शिशिर वैद्य

काठमाडौँ — ललितपुरको सौगः टोलमा विगत केही महिनादेखि संगीतका विभिन्न धुनहरु गुन्जिरहेको सुनिन्छ । धाः र छ्यालिँको चर्को आवाजका बीचमा प्रशिक्षार्थीहरु एकै स्वरमा गाउन थाल्दछन्– 
आनन्दधारी लोकेश्वर दरशण याय्
कछपाल पर्व चोस सुन्दर विहारस बिज्याकः देवल दथुस पासा...

दिवंगतहरुको सम्झनामा ललितपुरको मौलिक पर्व : न्यकूजात्रा-मतयाः 

साँझको ६ बज्दा नबज्दै चोकचोकमा जम्मा भएका केटाकेटीहरु गुरुलाई प्रणाम गर्दै आ-आफ्नो बाजा बजाउन तयार भएका छन् । सौगः लमुगःको महाद्य चुक, नासद्य चुक, सुवर्णवर्ण महाविहारमा महिनौंदेखि नेवारी सांस्कृतिक बाजाहरु दम्वखिं, धाः र न्येकु बाजाहरुको प्रशिक्षण चलिरहेको छ । चो, जति, परताल, एकताल, पलिमा, अष्टरा, गन गरी सात तालको प्रशिक्षणमा गुरुहरु दत्तचित्तसँग लागेका छन् ।

धाः बाजामा राग, ताल र गीत गरी बत्तीसवटा धुन बजाइन्छ, जसलाई ग्वारा भनिन्छ । हरेक प्रशिक्षार्थीले सिक्नु र बजाउनुपर्ने हुँदा यो विधा सिक्न र सिकाउन निकै मिहिनेत लाग्ने गर्दछ । न्यकू अर्थात सिंग, यो फुकेर बजाउन बाजा हो । यो सानो बलले बज्दैन । फोक्सो दह्रै चाहिन्छ । न्यकू बाजाका मुल गुरु हुन् राजु शाक्य । नरेशमान शाक्य दम्वखिँका मूलगुरु हुन् । अमितगोपाल वैद्य धाः बाजाका मूल गुरु ।

श्रावण कृष्णपक्ष औंसीको दिन नास द्यः (नित्यनाथ भगवान)को पूजा गरी तीनै मूल गुरु र सहायक गुरुहरुले प्रशिक्षार्थीहरुलाई टिका र धागोको माला (कोखा) लगाइदिएर नव प्रशिक्षार्थीहरुको हातबाट गुरुलाई बेताली (फेटा) बाँधेपछि शुरु भएको थियो बाजा प्रशिक्षण । भाषा र संस्कृति बचाउन धौधौ परिरहेको वर्तमान समयमा सांस्कृतिक बाजाहरुको प्रशिक्षणमार्फत संस्कृति हस्तान्तरणका कार्यमा खटिएका छन् सहायक गुरुहरु मीमबहादुर श्रेष्ठ, मैत्रीबचन मान शाक्य, दिलेन्द्रगोविन्द वैद्य, अनिसगोपाल वैद्य लगायत सौगः टोलका अन्य स्वयंसेवकहरु ।

हरेक वर्ष भाद्रकृष्ण द्वितीयाका दिन, सापारु (गाई जात्रा)को भोलिपल्ट, काठमाडौं उपत्यकाको ललितपुरमा न्यकू जात्रा-मतयाः मनाइन्छ । न्यकू जात्रा-मतयाःलाई श्रृङ्गभेरी जात्रा पनि भनिन्छ । नकबहिः, मंगः, चक्रबहिः, इखाछें, बुबहाः, हौगः, वकुबहाः, इखालखु, कोबहाः र सौगः गरी ललितपुरका १० टोलले पाःचक्र (पालो) मिलाएर हरेक वर्ष जात्रा व्यवस्थापन र बाजा प्रशिक्षण दिने गर्दछन् । ललितपुरका राजा सिद्धिनरसिंह मल्लले यो पालो चक्र मिलाइदिएका हुन् भन्ने कथन छ । यी दश टोलले सयौं वर्षदेखि यो प्रशिक्षण कार्यलाई निरन्तरता दिइरहेका छन् ।

जात्रा सहज र सुचारु ढंगले संचालन गर्न १० टोलकै प्रतिनिधिहरु रहनेगरी न्यकू जात्रा-मतयाः केन्द्रीय व्यवस्थापन समिति गठन गरिएको छ । क्रमचक्र अनुसार हरेक शून्य सालमा जात्रा संचालन गर्ने जिम्मा सौगः टोलको हो । यसपटकको जात्रा व्यवस्थापनका लागि रवीन्द्रगोपाल वैद्यको अध्यक्षतामा न्यकू जात्रा-मतयाः व्यवस्थापन समिति गठन गरिएको छ ।

ललितपुरको मौलिक जात्राका रुपमा लिइने यो जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । करिब १४०० वर्षअघि, बालार्चन देव राजाको पालादेखि जात्रा मनाइँदै आइरहेको मान्यता छ । कसैकसैले राजा गुणकाम देवको पाला अर्थात् ११ औं शताब्दीमा नै यो जात्रा मनाउने गरिन्थ्यो भनेर पनि लेखेका छन् । संस्कृतिविद् हरिराम जोशीका अनुसार…– ‘श्रृंगभेरी अवदान कथालाई आधार मानेर ललितपुरमा न्येकू जात्रा प्रचलनमा आएको हो । एउटा मृत महिषको श्रृंगलाई वाद्ययन्त्रका रुपमा प्रयोग गरी एउटी पतिव्रता स्त्रीले आफ्नो मरिसकेको लोग्नेलाई पुनः प्राप्त गरेको लोककथामा आधारित यो पर्वमा मानिसहरुको विश्वास विद्यमान रहेको छ ।’ (प्रदीप अभिनव विश्वकोष) उपत्यकामा जात्रापर्व र संस्कृतिलाई चिनाउने यस्तै यस्तै अनेक किंवदन्ती र लोकोक्तिहरु भेटिन्छन् ।

श्रृंगभेरी, दिप यात्रा पनि भनिने यो जात्रामा हजारौं बौद्ध एवं हिन्दु धर्मावलम्बीहरुले ललितपत्तनका बहाः बहीः, चैत्य, स्तुप, थुर, चुकः, ननी, लाक्षी, गल्लीहरुमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्दछन् । यसरी परिक्रमा गर्दा झण्डै सोह्रसय धार्मिक तीर्थको परिक्रमा गरिन्छ । नेवारी भाषामा मतको अर्थ दीप अर्थात् बत्ती हो । त्यसैले मतयाःलाई दीपयात्रा पनि भनिन्छ । न्यकू जात्रा-मतयाःमा कतिपय मानिसहरु दिवंगत आत्माको नाममा महादीप बालेर पनि आउने गर्दछन् ।

मतयाः परिक्रमा गर्दा पहिले पहिले पारम्परिक रोटी चढाउने चलन थियो । चौमरि, शंखमरि, देवामरि, लोहंचामरि, सत्तुमरि, ग्वलमरि, गुलिमरि, निसलामरि आदि । त्यसै गरि मत्याः आउनेहरुहरुलाई विभिन्न चोकमा बसेकाहरुले रोटी बाँडथे, यसरी बाँडिने रोटीलाई पालंमरि भनिन्थ्यो ।

आजभोलि यी रोटी चढाउने र बाँड्ने चलन लोप भएको छ । मतयाः जानेहरुले मठमन्दिर, चैत्य, देवालयहरुमा अक्षेता, पैसा, कपूर, चकलेट, हर्रो, बौद्ध ग्रन्थहरु आदि चढाउने गर्दछन् । दिवंगत आफन्तहरुको सम्झनामा बिहान सूर्योदय अगावै सुरु हुने मतयाः यात्रा पूर्ण परिक्रमा गर्न दिनभरि जस्तो समय लाग्दछ । मतयाः परिक्रमा गरिने उल्लेखित परिधिको सीमा प्राचीन ललितपुर नगरको ठिक बाहिर अवस्थित त्यता थुर, पुच्व थुर, ईबहीः थुर, लगं थुर गरि चार थुरभित्र पर्दछन् ।

परम्परागत बाजा र संगित संरक्षणका हिसाबले न्यकूजात्रा-मतयाः निकै महत्त्वपूर्ण रहेको गूरु अनिसगोपाल वैद्य बताउँछन् । वास्तुकला, मूर्तिकला, काष्ठकला आदि उपत्यकाका पुरातात्विक एवं ऐतिहासिक धरोहर हुन् । मौलिक सम्पदा भनेर चिनाइने यी विविध कलाहरु मध्यबाट यहाँको संगीत, नृत्य र बाजाहरुलाई छुटाउने हो भने उपत्यकाको जीवन्त संस्कृति अपुरो हुनेछ । एउटै गीतमा दुईदेखि १२ वटासम्म तालहरु मिलाएर ग्वारा भनेर गाउने बजाउने चलन रहेको धाः, न्यकूको ताल विश्व संगीत जगतमा विरलै भेटिन्छ ।

सौगः टोलका रैथाने वरिष्ठ कलाकार वत्सगोपाल वैद्य भन्छन् ‘न्यकू जात्रा-मतयाः लाई मौलिक गीत संगीतको उत्सवभन्दा पनि फरक पर्दैन ।’ वैद्य आफू २०२० सालदेखि नै दम्वखिं बाजा बजाउने कार्यमा सहभागी भएको बताउँछन् । त्यो बेला उनी २३ वर्षका थिए । ८३ वर्षीय वैद्य सम्झनाका तरेलीहरु कोट्याउँदै भन्छन् ‘बीस सालमै यो बाजा प्रशिक्षण कार्य लगभग बन्द हुने अवस्थामा पुगेको थियो । खर्च धेरै लाग्ने, स्वयंसेवक धेरै लाग्ने, महिनौं समय दिनुपर्ने, प्रशिक्षार्थीहरुलाई भोज खुवाउनु पर्ने, आयस्ता केही नहुनुले जात्रा सञ्चालनमा आर्थिक अभावले सधैं समस्या पर्थ्यो । आयको एक मात्र स्रोत थियो गोदावरी नगरपालिका गोदामचौरस्थित नौ रोपनी खेत । १९६२ सालमा कायगु ननी निवासी स्व. धिर्जमान सिं श्रेष्ठले न्यकू जात्रा…–मतयाः अनन्त कालसम्म चलिरहोस् भन्ने मनसायले मतयाः गुठिका नाममा यो खेत राखिदिएका थिए । तर खेत जोत्ने मोहिसँग जहिल्यै कचकच, बाली ल्याउनै मुस्किल पर्थ्यो ।’

स्थानीय युवाहरुको अग्रसरता र अग्रजहरुको साथले तीस सालदेखि सौगःमा फेरि न्यकू जात्रा-मतयाःको रौनक बढेको सम्झना साट्दा वैद्यको मुहारमा सन्तुष्टिको चमक देखिन्थ्यो । २०६० सालसम्म सौगः टोलमा धाः बाजा बजाउनेहरु थिएनन् । धाः बाजाका लागि सधैं वकु बहाःको सहयोग लिनु पर्दथ्यो । सौगःमा दम्वखिंको मात्रै प्रशिक्षण हुन्थ्यो । २०५० सालमा न्यकू जात्रा………–मतयाः सञ्चालन गर्न सौगः टोलकै अगुवाईमा दसै टोलका प्रतिनिधि सम्मिलित एक व्यवस्थापन समिति गठन गरियो । वत्सगोपाल वैद्य त्यसको पहिलो निर्वाचित अध्यक्ष हुन् ।

न्यकू जात्रा–मतयाः चार चरणमा सम्पन्न हुने गर्दछ । प्रथम चरणमा ब्वगीँ जाने, दोस्रोमा मतयाः, तेस्रो चरणमा नौ बाजाको प्रस्तुति र चौथो चरणमा गणेश पूजा । नेपाल संवतको दसौँ महिना अर्थात् गुँलाको पहिलो दिन गुँलाथ्व, श्रावण शुक्ल प्रतिपदाको दिन आधारातमा नै ब्वगीँ जाने गरिन्छ । दाफा, दम्वखिँ, न्यकू आदि बाजाहरु बजाउँदै, बुद्ध स्तोत्र पाठ गर्दै न्यकू जात्रा–मतयाःका सबै बहाः, बही, चुक, ननी रहेका टोलहरु परिक्रमा गर्ने परम्परालाई ब्वगीँ जाने भनिन्छ ।

न्यकूः जात्रा पालो परेकै टोलको आयोजनामा सोहि टोलबाट ब्वगीँ सुरु गरिन्छ । रात्रिको समयमा सुरु हुने ब्वगीँ यात्रा सूर्योदय नहुँदै मिर्मिरेमा जहाँ पुग्यो त्यही टोलमा रोकिने गर्दछ । रोकिएकै ठाउँबाट भोलिपल्ट फेरि यसरी नै मध्यरातमा ब्वगीँ सुरु हुन्छ । यो क्रम निरन्तर सम्पूर्ण बहाः बहिः परिक्रमा नसकिएसम्म चल्ने गर्दछ । यो क्रम नागपञ्चमीअघि नै सम्पन्न गरिन्छ । ब्वगीँ जानुलाई चन्द्रमासमा बोधिसत्वको दर्शन गर्न जाने परम्पराको रुपमा पनि लिइन्छ । साथै यसलाई न्यकू जात्रा–मतयाः जाने बाटो निरीक्षण गर्ने र सम्भावित बाधा व्यवधान हटाउन राखिएको चलन पनि भन्ने गरिन्छ ।

श्रावण शुक्ल पूर्णिमा, अर्थात जनै पूर्णिमाको राति क्वन्ति महाद्यः (कुम्भेश्वर)को प्रांगणमा नौबाजा बजाइन्छ । यसरी बजाइने नौ बाजामा धिमे, नाय्खिं, मादल, ढोलक, दः, खञ्जरी, कान्ता डबडब, काशीबाजा, झाँक्रीबाजा, ज्वःनगडा, नगडा, मृदङ्ग, काँचाखिं, ब्याबाजा लगायत दम्वखिँ, पूधा, धाः बाजा, न्यकू पनि हुन्छ । कुम्भेश्वर महादेवलाई खटमा विराजमान गरि मन्दिर प्रांगण रहेको कुण्डमा राखिने उत्सव पारेर पनि नौबाजा बजाउने चलन चलेको हो भनिन्छ । न्यकू जात्रा–मतयाःको अवसरमा बजाइने नौ बाजा पाटन दरबार क्षेत्र, स्वयम्भू, बुङमति र नारायणहिटी दरबार अगाडि पनि बजाउने गरिन्छ । केही वर्षअघि देखि नारायणहिटी दरबार अगाडि नौबाजा बजाउने चलन बन्द भएको छ ।

ललितपुरको भित्री सहरमा न्यकू जात्रा…–मतयाः सम्पन्न भएको भोलिपल्ट बुंगमतिमा र तेस्रो दिन स्वयम्भूमा मतयाः गए जस्तैगरी ती क्षेत्रमा रहेका सम्पूर्ण चैत्यहरु परिक्रमा गरेर बुंगद्य (रातो मत्स्येन्द्रनाथ) र स्वयम्भू हारती माताको अघिल्तिर नौ बाजा बजाउने गरिन्छ । चौथो दिन बिना व्यवधान जात्रा सम्पन्न भएकोमा पाटन नगर क्षेत्रका लगभग पाँच दर्जन गणेशस्थानहरुको परिक्रमा गरिन्छ । यसलाई गणेश पूजा जाने भनिन्छ । गणेश पूजामा परिक्रमा गरिने स्थानहरु मतयाःको परिक्रमा परिधि भन्दा छोटो रहेको छ ।

जात्राको दिन दम्वखिँ बाजालाई भैरव, महालक्ष्मी र कौमारीका प्रतीकका रुपमा सजाइन्छ भने श्रृंगबाजालाई पनि आकर्षक देखिनेगरी सजाइन्छ । मिर्मिरेमै बज्राचार्यहरुले नासःद्य पूजा गरेर विभिन्न पूजा सामाग्री हातमा लिई मतयाः यात्रा सुरु हुन्छ । मतयाः यात्रा जुन टोलबाट सुरु गरिन्छ त्यही टोलमा पुगेर समापन पनि गर्नुपर्दछ । दम्वखिँ लगायतका बाजा भने ११-१२ बजेतिर मात्रै निस्कने गर्दछ । मतयाःको परिक्रमा परिधिभन्दा बाजाको परिक्रमा परिधि छोटो रहे पनि ठाउँ-ठाउँमा ग्वारा बजाउनु पर्दा परिक्रमा पुरा गर्न समय लगभग उत्तिनै लाग्ने गर्दछ ।

विविध झाँकी, प्रहसन, नृत्य, लोकसंगीत, लोकबाजा प्रदर्शन गरिने न्यकू जात्रा…–मतयाः निकै खर्चिलो जात्रा हो । बाजा प्रशिक्षणदेखि जात्रा सञ्चालनसम्मको अवधिमा ४० लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ । जात्रा व्यवस्थापन र सञ्चालनका लागि केन्द्रीय समिति मातहत विभिन्न दाताहरुबाट प्राप्त अक्षयकोषबाट आउने ब्याजबाट केही रकम उपलब्ध गराए पनि लगभग ३० लाख रुपैंयाँको थप जोहो गर्नुपर्ने हुन्छ । यसका लागि स्थानीय निकाय, व्यापारी र संस्कृतिप्रेमीहरुबाट सहयोग लिन आर्थिक सहयोग कमिटी नै गठन गरिएको छ ।

प्रशिक्षार्थीहरुलाई हरेक बिहीबार भोज खुवाउने, लगायत स्वयम्भू, बुङमतीमा पनि भोजको आयोजना गर्नु पर्दछ । जात्रा सहज रुपमा सम्पन्न गर्न झण्डै एक दर्जन समिति र उपसमितिहरु गठन गरिएका छन् । स्वयंसेवकहरुको स्वस्फूर्त श्रमदान जात्रा सञ्चालन सफलताको मूल रहस्य हो । त्यसैगरी दम्वँखिं, धाः, न्यकू बजाउने प्रशिक्षार्थीहरुको उत्साहपूर्ण सहभागिताले जात्रा सञ्चालनमा निकै सहजता ल्याएको गुरुहरुको भनाइ छ । बिहान ४ बजेदेखि सुरु हुने जात्रामा दिनभरि बाजा बजाउनु सजिलो काम पक्कै होइन । सहर परिक्रमाका क्रममा विभिन्न डबलीमा धाः बाजाको ग्वारा बजाउनु पर्ने हुन्छ । यसका साथै विभिन्न समुदायका तर्फबाट बाँसुरी लगायतका विभिन्न बाजा बजाएर, थरिथरिका वेशभूषा पहिरिएर जात्रामा सहभागी हुने पनि प्रशस्तै हुन्छन् ।

ललितपुर क्षेत्रमा भव्य तयारीका साथ मनाइने यो जात्राको पर्यटकीय महत्त्वलाई पनि हामीले बिर्सनु हुँदैन । उपत्यकाका मठमन्दिर, संस्कृति, जात्रा र पर्वहरुको आकर्षणमा यहाँ घुम्न आउने पर्यटकको संख्या निकै छ । परापूर्वकालदेखि चलिआएको धार्मिक सहिष्णुताको प्रतीक न्यकू जात्रा–मतयाः संरक्षणमा लागि परेका ललितपुरका स्वयंसेवी युवाहरुको प्रयास सराहनीय छ ।

तस्बिर स्रोत : न्यकू जात्रा-मतयाः व्यवस्थापन समिति


प्रकाशित : भाद्र १०, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?