२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

परराष्ट्रमन्त्री साउद : देउवा संकटका सहयोगी

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा चुनाव लड्ने तयारीमा थिए, एनपी (नारायणप्रकाश) साउद । तर, गुट व्यवस्थापनमा सकस खेपिरहेका शेरबहादुर देउवाले साउदलाई फेरि एक पटक केन्द्रीय सदस्यमै रहेर सहयोग गर्न आग्रह गरे, साउदले पनि नकारेनन् । महाधिवेशनबाट पार्टीको सभापतिमा देउवा दोहोरिएर निर्वाचित हुँदा साउदले लोकप्रिय मतसहित केन्द्रीय सदस्य जिते ।

परराष्ट्रमन्त्री साउद : देउवा संकटका सहयोगी

कञ्चनपुरबाट छैटौँपटक चुनाव लड्दा तेस्रो पटक चुनाव जितेर प्रतिनिधिसभामा आएका उनै साउदलाई सभापति देउवाले यसपटक पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारको परराष्ट्रमन्त्री बनाएका छन् । कांग्रेसभित्रको आन्तरिक किचलो र विवादका कारण यसअघि मन्त्रीको शपथ लिनबाट बञ्चित भएका साउदले आइतबार एक्लै शपथ लिए ।

गठबन्धनमा कांग्रेसले ९ मन्त्रालय पाउने सहमति भएपनि कांग्रेसले चार मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन । दाहाल सरकारमा साउद कांग्रेसका तर्फबाट पाचौँ मन्त्री हुन् । यसअघि कांग्रेसबाट पूर्णबहादुर खड्का (उपप्रधान तथा रक्षा), प्रकाशशरण महत (अर्थ), रमेश रिजाल (उद्योग) र सीता गुरुङ (सहरी विकास) मन्त्री भइसकेका छन् ।

चारै जना सभापति देउवाकै गुटका हुन् । कांग्रेसमा नेता शेखर कोइराला समूहले मन्त्री छनौटमा असन्तुष्टी राखेर मन्त्रीको नाम दिएको छैन । सभापति देउवाले पार्टीभित्र मन्त्रीका आकांक्षीको लर्कोबाट परराष्ट्र मामिलाजस्तो महत्वपूर्ण जिम्मेवारीमा साउदलाई रोजेका छन् ।

नेताहरूका अनुसार साउद सभापति देउवालाई संकट पर्दा साथमा खडा हुने नजिकका विश्वासपात्र र सहयोगी हुन् । देउवा र साउद दुवैको जन्मथलो डडेल्धुरा नै हो । तर, डडेल्धुरामा जन्मिएका साउद कञ्चनपुर बसाइँ सरे, र कञ्चनपुरलाई नै राजनीतिक थलो बनाए ।

पञ्चायतकालमै कांग्रेसको संगठनमा आबद्ध भएका साउदलाई देउवाले नै नेविसंघको राजनीतिमा ल्याए । साउद २०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेविसंघको इकाइ सचिव भएका थिए । ०३६ सालमा विद्यार्थी संगठनमाथिको प्रतिबन्ध खुलेपछि सिद्धनाथ विज्ञान क्याम्पसमा भएको स्ववियु चुनावमा उनी सचिव चुनिएका थिए । २०४१ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य भए ।

देउवाको साथ र समर्थनमा साउद २०४८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए, २६ वर्षको उमेरमै । नेविसंघबाट रिटायर्ड भएपछि पार्टीमा क्रियाशील बनेका साउदलाई देउवाले नै पार्टीको केन्द्रीय समितिमा ल्याएका हुन् । पार्टीको केन्द्रीय राजनीतिमा अवसर पाइनसकेका साउद संसदीय निर्वाचनमा भने ०५१ देखि नै पार्टीका उम्मेदवार भए । तत्कालिन कञ्चनपुर–१ बाट उम्मेदवार रहेका उनी ०५१ मा पराजित भए, ०५६ मा भने त्यही क्षेत्रबाट जिते । त्यसबेला उनी शिक्षा राज्यमन्त्री समेत भए ।

०५९ सालमा पार्टी विभाजित हुँदा उनी देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा लागे, उनलाई देउवाले केन्द्रीय सदस्य बनाए । उनी ०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भए । ०६४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि पनि उनी पार्टीको केन्द्रीय सदस्य रहे ।

त्यसयता कांग्रेसको राजनीतिमा साउदले निरन्तर देउवालाई सहयोग गर्दै आएको नेताहरू बताउँछन् । साउदका समकालिन नेता एवम् कांग्रेसका केन्द्रीय सदस्य गोविन्द शाह भन्छन्, ‘एनपी साउद शेरबहादुर देउवाले ग्रुमिङ गरेको, अध्ययनशील र विश्व राजनीतिमा अपडेट नेता हो । जति बेला देउवालाई अफ्ठ्यारो हुन्छ, त्यो बेला उहाँको निरन्तर साथ छ । अहिले जुन भूमिका मिलेको छ, त्यसका लागि उहाँ उपयुक्त हुने नै पात्र हो ।’

कांग्रेस एकता भएपछि साउद निरन्तर केन्द्रीय सदस्य चुनाव जित्दै आएका छन् । तर, संसदीय राजनीतिमा भने साउदलाई आंशिक सफलतामात्रै छ । ०५१ मा चुनाव हारेका साउद ०५६ मा विजयी भए । ०६४ मा फेरि पराजित भए । तर, ०७० मा फेरि उनले चुनाव जिते । ०५६ मा चुनाव जित्दा शिक्षा राज्यमन्त्री बनेका साउद ०७० मा चुनाव जितेपछि सिंचाईमन्त्री भए ।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर–२ मा पराजित भएका साउदले यसपटक त्यही क्षेत्रबाट चुनाव जितेका हुन् । ‘१४ औं महाधिवेशनमा महामन्त्रीमा उहाँको दाबी थियो, तर सभापतिलाई जिताउनकै लागि उहाँ केन्द्रीय सदस्यमै लड्नुभयो,’ नेता शाह भन्छन्, ‘कांग्रेसमा देउवासँग मात्रै होइन, पार्टीभित्र अन्य गुट र नेताहरूले पनि स्वीकार्ने नेता हो उहाँ ।’

पञ्चायतदेखि नै राजनीतिक गतिविधि र आन्दोलनमा सक्रिय भएका साउद मुठभेडमा परेर पटक–पटक घाइते भएका भएका थिए भने एक वर्ष हिरासत बसेका थिए । संसद्का विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका साउदले अमेरिका, बेलायत, चीनसहित दर्जनभन्दा बढी देशहरू भ्रमण गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?