१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

कहिले बन्ला अस्ट्रेलियामा नेपाली दूतावास भवन ?

नारायण खड्का

अस्ट्रेलिया — योजनाअनुसार काम भएको भए अस्ट्रेलियाको राजधानी क्यानबेरामा झन्डै ३ वर्षअघि नै नेपालीको आफ्नै दूतावास भवन तयार भइसक्थ्यो । दूतावासले आफ्नै भवन निर्माणका लागि करिब ६ वर्षअघि नै जग्गा खरिद गरेको हो । तर जग्गा खरिद गरेको यतिका वर्ष बितिसक्दा भवन निर्माण हुन त सकेन नै, निर्माण प्रक्रियाले कुनै तदारुकता पाउन पनि सकेन । 

कहिले बन्ला अस्ट्रेलियामा नेपाली दूतावास भवन ?

सन् २०१८ को मार्चमा अस्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदूत लक्की शेर्पाको पालामा दूतावासले जग्गा खरिद गरेको हो । राजदूत शेर्पा कार्यकाल नसकिँदै नेपाल फर्किएपछि भवन निर्माण प्रक्रियासमेत अलमलिएको थियो । त्यसपछि सुस्त गतिमा डिजाइन, नक्सा पासलगायतका केही प्राविधिक कार्य सकिइसकेको भए पनि भवन निर्माणको कार्य भने सुरु भएन ।

दूतावासका अधिकारीहरूले नेपालको कानुन, बजेट निष्कासनलगायतलाई दोष दिँदै आएका छन् भने स्थानीय तहमा निर्माणका लागि केही प्राविधिक समस्याका कारण समेत भवन निर्माणमा ढिलाइ भएको उनीहरूको तर्क छ । तर अस्ट्रेलियामा पछिल्लो समय निर्माण व्यवसाय समस्याग्रस्त भएकाले तत्काल भवन बनाउने प्रक्रिया अगाडि नबढ्ने दूतावासका उच्च अधिकारी बताउँछन् ।

दूतावासको जग्गा राजधानी क्यानबेराको कूटनीतिक नियोगलाई उपलब्ध गराइने क्षेत्रमा पर्दछ । ६ हजार १ सय ९८ वर्गमिटर क्षेत्रफल रहेको उक्त जग्गा सन २०१८ को मार्चमा तत्कालीन राजदूत शेर्पा र चिफ अफ प्रोटोकल लिन्डा सरचल्कोको उपस्थितिमा खरिद सम्झौता गरिएको हो । १२ लाख अस्ट्रेलियन डलरमा खरिद गरिएको उक्त जग्गाको मूल्य अहिले धेरै बढेको छ । जग्गा खरिद गरेपछि करिब ३ वर्षमा भवन बनाएर दूतावासबाट सबै सेवा प्रवाह गर्ने योजना भए पनि निर्माण प्रक्रिया नै सुरु हुन नसकेको हो ।

कोभिड–१९ अघि र त्यसलगत्तै भवन निर्माणको लागि निर्माण कम्पनी छनोटका लागि बोलपत्र आह्वान गरिएपनि कुनै निर्माण कम्पनीले निर्माणको जिम्मेवारी पाएको छैन । प्रारम्भिक रूपमा १२ मिलियन अस्ट्रेलियन डलर लाग्ने अनुमान गरिएको भवनको लागतसमेत बजारभाउअनुसार धेरै बढिसकेकाले चाँडै निर्माण हुनेमा यहाँका नेपालीसमेत विश्वस्त छैनन् ।

समयमा निर्माण सुरु गर्न नसकेपछि यहाँस्थित सरकारी निकाय नेसनल क्यापिटल अथोरिटीबाट म्याद थप्नुपर्ने प्रावधान रहेको छ । नेपाल सरकारले भवन निर्माण प्रक्रियालाई तीव्रता दिनुको साटो उक्त निकायबाट हरेक वर्ष भवन निर्माणका लागि म्याद थप गर्दै आइरहेको छ ।

दूतावास भवन निर्माणका लागि करिब ४ वर्षअघि नै परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा सहरी विकास तथा भवन निर्माणका अधिकारीसहितको टोली आएको र करिब १२ मिलियन अस्ट्रेलियन डलर लागत लाग्ने अनुमान विभागलाई दिएको थियो । त्यसबाहेक उक्त टोलीले अन्य के प्रतिवेदन दियो अहिलेसम्म सार्वजनिक भएको छैन ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले दूतावासको आफ्नो भवन निर्माण उच्च प्राथमिकतामा रहे पनि विविध समस्याका कारण निर्माण प्रक्रिया सुरु हुन नसकेको बताए । ‘एकातिर अस्ट्रेलियामा भवन निर्माणको अहिले सकारात्मक वातावरण नभएको अर्कोतिर नेपाल सरकारले समेत अहिले बजेट विनियोजन नगरेकाले भवन निर्माणलाई अघि बढाउन नसकिएको हो,’ राजदूत पोखरेलले कान्तिपुरसँग भने, ‘तर पनि आफ्नो भवन निर्माणका लागि दूतावासले आन्तरिक तवरले काम गरिरहेको छ ।’ राजदूत पोखरेलले नेसनल क्यापिटल अथोरिटीसँग सन २०२६ सम्मका लागि म्याद थप गरिसकेको जानकारी गराए ।

दूतावासका अनुसार जम्मा ४ वटा भवन निर्माण गर्ने योजनाका साथस्केच समेत तयार गरिसकिएको छ । राजदूत र कर्मचारीको आवास, पाहुनाघरलगायतका अन्य पूर्वाधारसहितका ४ वटा भवन निर्माण हुने दूतावासले जनाएको छ । नेपाली परम्परागत कलासंस्कृतिलाई झल्काउने किसिमले भवनको निर्माण गरिने र भवन दुईतल्लाको हुनेछ । जम्मा जग्गा क्षेत्रफलको ३५ प्रतिशतमा मात्र भवन निर्माण गर्न पाइने प्रावधानअनुरुप भवन निर्माण हुने बताइएको छ ।

प्रकाशित : चैत्र २१, २०८० १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?