१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

कतै पर्यटकीय गन्तव्य, कतै चर्चाविहीन

प्राकृतिक गुफा
लालप्रसाद शर्मा

पोखरा/तनहुँ/पर्वत — साथीसहित काठमाडौंबाट पोखरा घुम्न आएका शरद कार्कीले महेन्द्र, चमेरे र गुप्तेश्वर गुफा अवलोकन गरे । घुम्नु पनि अध्ययनकै एक हिस्सा मान्ने उनलाई चमेरे गुफाले बढी लोभ्यायो ।

कतै पर्यटकीय गन्तव्य, कतै चर्चाविहीन
कारण, उनले एकै ठाउँमा यति धेरै चमेरा यसअघि देखेका थिएनन् । काठमाडौंकै परोपकार आदर्श उच्चमाविकी शिक्षिका मदालसा सिंह पनि गुप्तेश्वर महादेव गुफामा विद्यार्थीसँग भेटिइन् । उनको समूहमा शिक्षक र विद्यार्थी गरी ४० जना थिए ।
'बर्सेनि विद्यार्थीलाई घुमाउन ल्याउँछौं,' सिंहले भनिन्, 'उनीहरूमा खुसीको सीमा हुँदैन ।' पोखराका ३ वटा गुफा वर्षौंदेखि आन्तरिक र बाह्य पर्यटकको केन्द्र बन्दै आएका छन्, जहाँ सधैं भीडभाड हुन्छ । शिक्षिका सिंहकै भनाइमा पोखराका गुफा आकर्षक र लोभलाग्दा छन् । यस्ता गुफाले अध्ययन/अनुसन्धानकर्मीलाई पनि तान्दै आएका छन् । फेवा, बेगनास, रूपालगायत आठ वटा ताल मात्र होइन, माछापुच्छ्रे
धौलागिरि, मनास्लु र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यले पोखरा पुग्ने पर्यटक लठ्ठिन्छन् । त्यसमा अझै आकर्षण थपेका छन्, रहस्यमय लाग्ने प्राकृतिक गुफाले ।
यहाँ आउने सबै पर्यटकलाई गुफासम्म पुर्‍याउने वातावरण अझै बनिनसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल बताउँछन् । त्यस्तो वातावरण बने पर्यटकको बसाइ लम्बिने उनको भनाइ छ ।
आम्दानी जति शिक्षामा
पोखराका ३ वटै गुफाको आम्दानी शिक्षण संस्था सञ्चालनमा खर्च हुँदै आएको छ । महेन्द्र र चमेरे गुफाको व्यवस्थापन स्थानीय विन्ध्यवासिनी उच्चमाविले गर्दै आएको छ भने गुप्तेश्वरको आम्दानीबाट गुप्तेश्वर बहुमुखी क्याम्पस सञ्चालित छ ।
महेन्द्र गुफामा ०७०/७१ मा नेपाली १ लाख २९ हजार १ सय ५३, विद्यार्थी ९५ हजार १ सय ७६ र विदेशी ५६ हजार १ सय ३६ जना पुगेका थिए । त्यसबाट करिब ५६ लाख रुपैयाँ आम्दानी भएको थियो । दुवै गुफाको आम्दानीले स्कुल बस खरिद, भवन, भौतिक निर्माण र निजी स्रोतका शिक्षकलाई तलब भत्ता तथा गुफा व्यवस्थापन र मर्मतमा खर्च हुने गरेको छ । सोही आम्दानीले निजी स्रोतका ४६ शिक्षकलाई तलब दिइने गरेको छ । विद्यालयमा १२ सयभन्दा बढी विद्यार्थी छन् । ०३४ सालदेखि विन्ध्यवासिनी उच्चमाविले महेन्द्र गुफाको व्यवस्थापन गर्दै आएको छ । 'अझै जति आउनुपर्ने हो त्यति पर्यटक नआएजस्तो लाग्छ,' प्राचार्य खिमलाल अधिकारी भन्छन् ।
चमेरे गुफा स्थानीय एक व्यक्तिबाट ०५५ सालमा २ लाख ४० हजार रुपैयाँमा विद्यालयले किनेको थियो । दुई वर्षअघि १६ लाख मात्र रहेको आम्दानी अहिले बढेर वाषिर्क ३३ लाख ६४ हजार पुगेको छ । सञ्चालक गोविन्द अधिकारीका अनुसार उक्त गुफामा वाषिर्क डेढ लाख पर्यटक पुग्छन्, जसमा ७५ प्रतिशत नेपाली र बाँकी विदेशी हुन्छन् ।
गुप्तेश्वर महादेव गुफाको आम्दानी व्यवस्थापन समितिले स्थानीय गुप्तेश्वर बहुमुखी क्याम्पसलाई दिन्छ । यस गुफाबाट फेवातालको पानी निकास हुने पातले छाँगो देखिने भएकाले बढी पर्यटक आउँछन् । समितिका अध्यक्ष खगराज शर्मा आचार्यका अनुसार भारतदेखि भाकल गरेर पूजा गर्न आउनेसमेत भेटिएका छन् । व्यवस्थापनका लागि १२ जनाले रोजगारी पाएका छन् ।
क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायमा स्नातक तहको पढाइ हुन्छ । करिब चार सय विद्यार्थी छन् । दुई करोड ३६ लाखमा साढे ६ रोपनी जग्गा खरिद गरेर क्याम्पसलाई दिएको गुफा समितिले नै भवन पनि बनाइदिएको हो । गुफाले पाँच रोपनी १५ आना जग्गा किनेर आफ्नो नाममा बनाएको छ । आम्दानीले पाँच कर्मचारी र २० प्राध्यापकको तलब खर्च चलेको छ । आव ०७०/७१ मा नेपाली १ लाख ८५ हजार १ सय ७१, विद्यार्थी ८३ हजार ५ सय ९३ र विदेशी १ लाख ३३ हजार ७३ जना पुगेका थिए । 'गुफाको सहयोगबाट ४० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका छौं,' क्याम्पस प्रमुख घनश्याम तिवारीले भने । गुफाले पार्किङस्थल खरिद, वेदविज्ञान पाठशाला, दैनिक यज्ञ सञ्चालन, एम्बुलेन्स खरिद, रेडक्रसलाई वाषिर्क एक लाख रुपैयाँ सहयोगसहित विभिन्न क्षेत्रमा योगदान दिँदै आएको छ ।
एकै ठाउँमा ५० हजार चमेरा पोखराको चमेरे गुफाभित्र ५० हजारभन्दा बढी चमेरा छन् । आगामी डेढ महिनाभित्र बढेर ८० हजार पुग्ने अनुमान छ । तीन वर्षदेखि गुफा प्रवेश गर्दा फोकसलाइट र गेटभित्र छिरेपछि धूमपान निषेध गरिएकाले चमेराको संख्या बढेको हो । धूवाँ र रंगीन फोकस लाइटले चमेरालाई असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको हो । अहिले गुफा अवलोकन गर्न जानेलाई सामान्य ट्युबलाइट दिने गरिएको छ । सञ्चालक गोविन्द अधिकारीका अनुसार चमेरा विशेषज्ञको सुझावमा यस्तो व्यवस्था मिलाइएको हो । गुफाभित्र किराफट्यांग्रा र फलफूलमात्रै खाने दुई प्रजातिका चमेरा छन् ।
बन्दीपुरको आकर्षण
तनहुँको बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सिद्ध गुफाले पनि योगदान दिन थालेको छ । गुफाभित्र भलिबल नै खेल्न मिल्छ । दुई वटा भर्‍याङ पार गरेर मात्र पुग्न सकिन्छ । दैनिक करिब एक सय पर्यटक पुग्छन्, जसमा ४० जति विदेशी हुन्छन् । बन्दीपुर आएका अधिकांश पर्यटक यसको अवलोकन गरेरमात्रै फर्किने गुफा सञ्चालन समितिका पूर्वअध्यक्ष लालकुमार श्रेष्ठले बताए । 'गुफाको आकृति र बनावट देखेर सबै छक्क पर्छन्,' उनले भने, 'कति त दोहोर्‍याएर पनि आउँछन् ।'
सरकार र समितिको पहलमा ४० लाख खर्चेर साढे तीन किलोमिटर सिंढी र फलामे बार लगाइएको छ । वनभोजस्थल निर्माणको तयारी भइरहेको छ । माथिल्लो भागबाट डोरीबाट झर्ने व्यवस्था छ । वाषिर्क करिब चार लाख रुपैयाँ संकलन हुन्छ । श्रेष्ठका अनुसार उक्त रकम व्यवस्थापन र पूर्वाधार विकासमा खर्च गर्ने गरिएको छ । गुफाको लम्बाइ करिब ४ सय ५०, उचाइ ९६ र चौडाइ करिब २० मिटर छ । गुफाभित्र झुन्डिएको चमेराको बथान र विभिन्न आकृतिले लोभ्याउने स्थानीय माया थापा मगरले बताइन् । त्यहाँ पुग्न विमलनगर बजारबाट ४५ मिनेट र बन्दीपुरबाट एक घन्टा लाग्छ । तनहुँकै भिमादनजिक मिलेनियम र सिद्ध गुफा रहे पनि प्रचारप्रसार भएको छैन ।
गन्तव्य बन्न सकेन
पर्वत सदरमुकाम कुश्मास्थित गुप्तेश्वर गुफाको पहिचान भएको ८० वर्ष नाघ्यो । पर्याप्त प्रचार नहुँदा पर्यटकीय गन्तन्य बन्न सकेको छैन । '०१५ सालमा तत्कालीन राजा महेन्द्रले एक हजार मुरी माटो दान दिएका थिए,' गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले भने, 'केही समय गुठी संस्थानले पुजारीलाई मासिक भत्ता पठाउँथ्यो, लोकतन्त्र आएपछि बन्द भयो ।'
संरक्षण र भौतिक पूर्वाधार विकासका लागि ०४४ सालमा उक्त संस्था गठन भएको हो । भगवान् शिवको पूजा हुने गुफामा साउनका सोमबार, बालाचतुर्दशी, शिवरात्रिलगायतमा भक्तजनको भीड लाग्छ । साउनमा मात्रै करिब दस हजारले दर्शन गर्ने र दैनिक ५० दर्शनार्थी आउने गरेको पुजारी खेमराज आचार्यले बताए । हरेक दुई वर्षमा आयव्यय सार्वजनिक गर्ने प्रावधान छ । तर, अघिल्ला कार्यसमितिले सन्तोषजनक रूपमा गर्न नसकेको समितिका कोषाध्यक्ष गणेश भण्डारीले बताए । गुफा हेर्न आउनेहरूबाट जनही २० रुपैयाँ शुल्क लिने गरिएको छ ।
स्थानीय डम्डारे खोलाले कटान गरिरहेको छ । जमिन फराकिलो पार्न करिब २० मिटर मेसिनरी पर्खाल र कटान रोक्न करिब दुई सय थान ग्याभियन तारजाली लगाउन आवश्यक रहेको समितिका सचिव अच्युत तिवारीले बताए । त्यसबाहेक पुजारी निवास, सत्तल, व्यवस्थित मन्दिरलगायत पूर्वाधार निर्माण अत्यावश्यक रहेको उनले बताए । 'व्यवस्थापन गुरुयोजना बनाएका छौं,' तिवारीले भने, 'पूरा गर्न करिब तीन करोड जुटाउन सकिएको छैन ।'
पर्वतकै कटुवाचौपारीस्थित अलपेश्वर गुफाको पनि प्रचारप्रसार हुन सकेको छैन । गुफा संरक्षण पर्यटकीय केन्द्रका अध्यक्ष नारायण अधिकारीका अनुसार महादेवका आकृति, शिवलिंगलगायत गुफाभित्र छन् । स्थानीय बासिन्दाले स्रोत जुटाएर एक सय आठ शिवलिंग, सत्तल, शिव मन्दिर, बाटो, बिजुलीलगायत पूर्वाधार निर्माण गरेका छन् । हरेक सोमबार भक्तजन आउँछन् । 'राज्यले यस्ता सम्पदाको संरक्षण र विकासमा चासो दिए पर्यटकीय गतिविधि फस्टाउने थियो,' तिवारी भन्छन् । पोखरा पर्यटन परिषद् अध्यक्ष भुजेलको भनाइमा यस्ता प्राकृतिक स्थलका लागि एकीकृत विकासको अवधारणा आवश्यक छ ।
 
 
 

प्रकाशित : मंसिर १४, २०७१ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?