१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

ताल बन्यो चराको बासस्थान

विमल खतिवडा

चितवन — रत्ननगर नगरपालिका ७ मा रहेको टिकौली ताल छेउका रूख चराका गुँडले भरिएका छन् । पहिला ३/४ वटा गुँड थिए । ताल बनाएपछि ३ सयभन्दा बढी छन् । ताल सञ्चालनमा आएको ८ वर्ष भयो ।

ताल बन्यो चराको बासस्थान
'पहिले कम चरा देखिन्थे,' टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष बुद्धिमान विकले भने, 'ताल बनाएपछि गुँड बनाएर बस्ने चराको संख्या बढेको छ ।'
उनका अनुसार जेठ महिनामा चरा आउँछन् । कात्तिक मध्यतिर बच्चा हुर्काएर फर्किन्छन् । चिल प्रजातिका चरा यसरी गुँड बनाएर बस्ने गरेका हुन् । यसरी बस्नेमा रैथाने चरा धेरै छन् । ताल वरपर दैनिक चराको आवाज गुन्जिन्छ । यसले निकुञ्ज घुम्ने पर्यटक लोभिन्छन् । बिसहजारी ताल जाने पर्यटक यहाँ नपसी अरू यात्रा तय गर्दैनन् । अघिल्लो वर्ष २७ हजार पर्यटकले यहाँका चरा अवलोकन गरे । 'चरालाई प्रत्यक्ष रूपमा हेर्न पाउँदा पर्यटक खुसी हुन्छन्,' विकले भने, 'त्यही भएर उनीहरूलाई फोटो खिच्नसमेत भ्याइनभ्याइ हुन्छ ।' यसले पर्यापर्यटन बढाउने काम गरेको उनी बताउँछन् । उनका अनुसार खेतबारीमा विषादीको प्रयोग जथाभावी गर्न थालेपछि चराको बासस्थान पनि संकटमा परेको हो । यहाँ विश्वका सबैभन्दा धेरै ६ सय २५ प्रजातिका चरा पाइन्छन् ।
नेपालमा ८ सय २५ प्रजातिका चरा छन् । १ सय ४९ लोप हुने अवस्थामा पुगेका छन् । त्यसमध्ये यहाँ २४ प्रजाति लोपोन्मुख अवस्थामा रहेको बर्ड एजुकेसन सोसाइटीले जनायो । जथाभावी विषादी प्रयोगले गर्दा चराको बासस्थान संकटमा पर्दै गएको हो ।
'विषादी प्रयोग बढेसँगै चराको बासस्थान संकटमा पर्दै गएको छ,' पन्छीविद् वासु बिडारीले भने, 'त्यसैले बासस्थान जोगाउन आवश्यक छ ।' उनका अनुसार पानी चराको बासस्थान संकटमा परेको हो ।
त्यस्तै तालहरू सुक्ने, आहाराको कमी र जथाभावी सिकारले पनि चरा लोप हुँदै गएका छन् । तथ्यांकअनुसार बर्सेनि २ प्रतिशत विदेशी पर्यटक चरा हेर्नकै लागि नेपाल आउँछन् ।
विश्वमा १ हजार २ सय १२ प्रजातिका चरा लोप हुने अवस्था छन् । विषादी प्रयोगले गर्दा अन्डा चाँडै फुट्ने र प्रजननमा समस्या हुने गरेको छ ।
संख्यात्मक रूपमा चराको संख्या बढे पनि प्रजातिका रूपमा घटै गएको बर्ड एजुकेसन सोसाइटीका अध्यक्षसमेत रहेका बिडारीले भने । उनका अनुसार बसाइँ सरेर आउने प्रजातिका चराको संख्या घटै गएको छ । सबैभन्दा बढी पानी चरा कोसी टप्पुमा पाइन्छन् । पर्यटक चरा हेर्नकै लागि समय छुट्याएर आउने गर्छन् । पानी चरा जाडोमा आउने भएकाले आउने क्रम सुरु भएको उनले बताए ।

 

प्रकाशित : आश्विन ३०, २०७१ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?