२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्न ३० मिटर मात्र बाँकी

मरिण (सिन्धुली) — सुनकोशी–मरिण डाइभर्सन अन्तर्गतको सुरुङ खन्ने काम १५ दिन भित्रै ब्रेक थ्रु हुने भएको छ । १३ दशमलव तीन किलोमिटर मध्ये १३ दशमलव २७० किलोमिटर सुरुङ निर्माणको काम सोमबारसम्ममा सकिएकाले १५ दिन भित्रै ब्रेक थ्रु हुने भएको हो ।

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्न ३० मिटर मात्र बाँकी

यो काम ९९ प्रतिशत भन्दा बढी हुन आउँछ । अब सुरुङ खन्न ३० मिटर बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको काम कमलामाइ नगरपालिका-२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका-७ को कानढुंग्रीसम्म हो । कानढुंग्रीमा पुगेपछि सुनकोशी नदी भेटिन्छ । ब्रेक थ्रु को लागि केही मिटर राखेर सोमबार आज नै सुरुङ खन्ने काम सकिने सुनकोसी मरिण डाइभर्सनका आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

२०७९ असोज २८ गतेबाट सुरु भएको सुरुङ खन्ने काम ६ पटक अवरोध भएको थियो । सुरुङ भित्र सुख्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि बढ्न सकेको थिएन । आयोजना प्रमुख बरालका अनुसार सुरुङ खन्ने काम २२ महिना भित्र सक्ने लक्ष्य लिइएकोमा ६ महिना अगावै सम्पन्न भएको छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना चुरे र महाभारत क्षेत्रमा परेकोले भौगोलिक कठिनाइ उत्पन्न भएको आयोजना प्रमुख बरालले जनाए । हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ रहेको छ । सुरुङ निर्माण, सुनकोसी नदीमा हेडवर्क्सको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा रकम खर्च भएको आयोजनाले जनाएको छ ।

आयोजनाको भौतिकतर्फ प्रगति ३० र वित्तीय २८ प्रतिशत रहेको छ । यो समग्र आयोजनाको हो । २०७७ साल फागुन २० गते कमलामाइ नगरपालिका-२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भइ आयोजना निर्माणको थालनी भएको थियो । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि सुनकोसीमा बाँध निर्माण, विद्युत गृह, सिँचाइ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ । सुनकोसी र तामाकोसीको संगमस्थल भन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सखारेको थियो ।

१५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोसीमा बाँध निर्माण लगायतका कामको १७ अर्ब ७५ करोड रुपैयाँको ठेक्का रमण–पटेल जेभी उपक्रमले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ । नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिणखोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधारहरु प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने रहेको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?