१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

सगरमाथा आरोहणमा अब चिप्स अनिवार्य 

सुरज कुँवर

काठमाडौं — हिमाल आरोहणको वसन्तकालीन सिजन सुरु भएसँगै अब सगरमाथालगायतका हिमचुचुरा आरोहणमा विद्युतीय चिप्स अनिवार्य गरिएको छ । आरोहीको सुरक्षाका लागि विद्युतीय चिप्स अनिवार्य गरिएको हो ।

सगरमाथा आरोहणमा अब चिप्स अनिवार्य 

‘यो सिजनदेखि पर्यटन विभागले सगरमाथा लगायतका हिमाल आरोहणमा जाने आरोहण दलका सदस्य, गाइड, भरियाले अनिवार्य विद्युतीय चिप्स प्रयोग गर्नुपर्ने नियम लागू गरेको छ,’ विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, ‘आरोहणमा जाने मानिसहरू हराउँदा खोज तथा उद्धारमा सहजता होस् भनेर पहिलोपटक यो व्यवस्था गरिएको हो ।’

विभागअन्तर्गतको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यसपटक करिब १५ सय वटा चिप्सको आवश्यकता पर्ने देखिएको छ । ‘लोकेसन देखाउने विद्युतीय चिप्सको लागत १० अमेरिकी डलरबराबर पर्ने बताइन्छ । आरोहण व्यवस्थापन गर्ने निजी कम्पनीले यसको व्यवस्थापन आफैं गर्नुपर्ने छ,’ निर्देशक गुरुङले भने । उनले खोज तथा उद्धारका लागि सगरमाथाबाहेक अरू हिमालमा पनि यो नियम अनिवार्य गरिएको बताए ।

पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीका अनुसार विभागले अनिवार्य गरेको चिप्स जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जस्तो सटीक हुँदैन तर यसले कुनै व्यक्ति हिमालमा हराइहालेमा तत्काल खोज्न मद्दत पुग्नेछ । ‘यसपटक व्यवसायी र विभागले खोज तथा उद्धारमा नयाँ प्रयोग गर्दै छौं, हेरौं कत्तिको सहयोगी हुन्छ यो डिभाइस,’ महासचिव भण्डारीले भने ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार युरोपका हिमालमा चिप्सको प्रयोग धेरै पहिलेदेखि हुँदै आएको छ । ‘खासगरी हिमपहिरो र खर्पासमा खसेर आरोहीहरू हराउने भएकाले खोजीका लागि चिप्स धेरै उपयोगी हुनसक्छ,’ शेर्पाले भने, ‘यो निर्णय ठूला हिमाल आरोहणका लागि यसैपटकबाट सुरु हुँदै छ तर संघले व्यवस्थापन गर्दै आएका २७ वटा साना हिमालमा भने यसपटक लागू हुने छैन ।’

पर्वतारोहण सञ्चालक संघका प्रथम उपाध्यक्ष ईश्वरी पौडेलका अनुसार विभागले अनिवार्य गरेको चिप्स अहिले आरोहणमा प्रयोग हुने ब्रान्डेड लुगा र जुत्तामा जडान गरिनेछ । ‘नेपाली व्यवसायीहरूले धेरै पहिलेदेखि आरोहण दलका सदस्यहरूको खोज तथा उद्धारका लागि स्याटलाइटमा आधारित जीपीएस उपकरण प्रयोग गर्दै आइरहेका थिए, विभागले चिप्स अनिवार्यको निर्णय गरेर खोज तथा उद्धारलाई थप सजिलो बनाएको छ,’ पौडेलले भने ।

सगरमाथामा सन् १९५३ मा भएको पहिलो सफल आरोहणयता नेपालबाट कम्तीमा नेपालीसहित विदेशी गरी ८ हजारले चुचुरोमा पाइला राखिसकेका छन् । समाचार एजेन्सीहरूका अनुसार तिब्बततर्फबाट समेत गरेर हालसम्म ११ हजार बढीले सगरमाथा आरोहण गरिसकेका छन् भने झन्डै ४ सय जनाले आरोहणका क्रममा ज्यान गुमाइसकेका छन् ।

विभागले वसन्तयामका लागि केही दिनअघि खुम्बु क्षेत्रमा पर्ने ६ हजार ८ सय १२ मिटर उचाइको आमा दब्लम, ७ हजार १ सय २६ मिटर उचाइको हिमलुङ हिमाल आरोहणका लागि भियतनाम, फ्रान्स, जर्मनी, स्पेनका आरोहीहरूलाई अनुमति प्रदान गरिसकेको छ । शुक्रबार मात्रै विभागले १४ जना विदेशीका लागि धौलागिरि हिमाल आरोहणको अनुमति जारी गर्दै छ । विभागले यसपटक गत वर्षकै हाराहारी हिमाल आरोहण हुने प्रक्षेपण पनि गरेको छ ।

नेपालले ५ हजारदेखि ८ हजार ८ सय ४८ मिटर उचाइसम्मका ४ सय १९ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । यी मध्ये ६८ वटा हिमालमा हालसम्म सफल आरोहण भएको छैन । नेपालले वर्षमा चार सिजन हिमाल आरोहणका लागि खुला गर्दै आएको छ । सगरमाथा आरोहणमा प्रति–विदेशी आरोहीले वसन्तकालीन याममा ११ हजार तथा हिउँदयाममा २७ सय ५० अमेरिकी डलर सलामी दस्तुर बुझाउनुपर्छ भने नेपाली नागरिकले वसन्तयाममा ७५ हजार तथा हिउँदयाममा १८ हजार २ सय ५० रुपैयाँ सलामी दस्तुर बुझाउनु पर्छ ।

प्रकाशित : चैत्र १, २०८० २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?