२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत : विश्व बैंक

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व बैंकको प्रक्षेपण छ । मंगलबार सार्वजनिक भएको 'नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना' ले आव २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । यसअघि आव २०२३ मा विश्व बैंकले १.९ प्रतिशतको वृद्धि अनुमान गरेको थियो ।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत : विश्व बैंक

बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्रको वृद्धिदर हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कँदो उत्साह र मौद्रिक नीतिमा क्रमश: बढाइएको खुकुलोपन लगायतका कारण सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुन सक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध, उपभोग्य वस्तुमा हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फितीका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुन सक्ने ढिलासुस्ती लगायतका जोखिमहरू विद्यमान रहेकोतर्फ पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।

उक्त प्रतिवेदनले नेपालको बाह्य प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुन सक्ने विभिन्न पक्षहरूको पनि खोजी गरेको छ । वर्ष २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत मात्रै कूल निर्यात रहेको थियो जुन दक्षिण एसियाका मध्यम आय भएका देशहरूको औसतको एक तिहाइ मात्रै हो । विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान निम्न श्रम उत्पादकता र विनिमय दरमा रहेको सही अभिमूल्यन लगायतका कारकहरू रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकताको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।

कसको कति वृद्धिदर ?

भारत: ६.३ प्रतिशत

माल्दिभ्स: ‍५.६ प्रतिशत

बंगलादेश: ५.६ प्रतिशत

भुटान: ४.० प्रतिशत

नेपाल: ३.९ प्रतिशत

श्रीलंका: १.७ प्रतिशत

पाकिस्तान: १.७ प्रतिशत

प्रकाशित : आश्विन १६, २०८० १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?