कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिप उत्पादन क्षेत्रमा ४० अर्ब डलरको लगानी थप्दै चीन सरकार 

एजेन्सी

काठमाडौँ — अमेरिकाले आफ्नो सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गरी एकपछि अर्को प्रतिबन्ध घोषणा गरेपछि चीनले त्यसको सामना गर्न सरकार समर्थित लगानी कोष स्थापना गर्ने तयारी गरेको छ । कुल ४० अर्ब अमेरिकी डलर अर्थात ३०० अर्ब युआन बराबरको हुने सो कोषले अमेरिकी प्रतिबन्धका कारण मारमा परेका सेमिकन्डक्टर क्षेत्रलाई प्रतिस्पर्धी बन्न सघाउने उद्देश्य राखिएको छ । 

चिप उत्पादन क्षेत्रमा ४० अर्ब डलरको लगानी थप्दै चीन सरकार 

चिनियाँ सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले प्रकाशित गरेको एक समाचारका अनुसार यो रकम चीनले सेमिकन्डक्टर क्षेत्रमा राज्यकै तहबाट जुटाउने सबैभन्दा ठूलो लगानी हुनेछ । यसअघि पनि सन् २०१४ र २०१८ मा चीनले १९ अर्ब र २८ अर्ब अमेरिकी डलर बराबरका यस्तै प्रकृतिका कोष स्थापना गरिसकेको छ ।

बिग फन्ड भनिने सर्किट इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डमार्फत गरिने यो लगानीले अमेरिकी सरकारले गत केही वर्षयता कस्दै लगेको चिनियाँ सेमिकन्डक्टर प्रविधिसम्बन्धी निर्यात र लगानीले सिर्जना गर्नसक्ने समस्याको सम्बोधन गर्ने लक्ष्य राखेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले पछिल्ला केही वर्षका आफ्ना सम्बोधनहरूमा सेमिकन्डक्टर चिपमा आफ्नो देश आत्मनिर्भर बन्नुपर्ने र त्यस दिशामा आफूले काम गरिरहेको बताउने गरेका छन् ।

चीन सरकारले हालैका महिनामा सो कोषसम्बन्धी प्रस्ताव स्वीकृत गरेको र त्यहाँको अर्थ मन्त्रालयले सो कोषमा झन्डै आठ अर्ब अमेरिकी डलरको योगदान गर्ने अनुमान गरिएको छ । कोषका बाँकी लगानीकर्ताहरू को हुने भन्ने केही खुलेको छैन । गएको साता अमेरिकी वाणिज्य मन्त्री जिना रमान्डोको चीन भ्रमणका क्रममा चर्चित चिनियाँ कम्पनी हुवावेले सार्वजनिक गरेको नयाँ सेमीकन्डक्टर चिप प्रविधिले दुई देशबीचको चिप युद्ध अझै तीव्र बन्ने विश्लेषकहरूको अनुमान छ ।

मेट ६० प्रो स्मार्टफोन बजारमा ल्याउने क्रममा सो कम्पनीले आफूले उन्नत सेमिकन्डक्टर चिपको विकासको दिशामा उल्लेख्य सफलता हासिल गरेको बताएको थियो ।सो घोषणाले अमेरिकी प्रतिबन्धको सामना गर्ने चीनको दृढता र क्षमताको परिचय दिने संकेत दिएको छ ।

हुवावेको पछिल्लो मेट ६० प्रो फोनमा चीनकै सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन (एसएमआईसी)द्वारा उत्पादित ७ एनएम (नानोमिटर) चिप प्रयोग भएको कम्पनीले जनाएको छ । फोनका प्रयोगकर्ताहरूलाई उद्धृत गर्दै आएका समाचारहरूले अमेरिकी प्रतिबन्धका बाबजुद पनि चीनले सेमिकन्डक्टर क्षेत्रमा बढाएको प्राथमिकता र उपलब्धि दर्शाउने उल्लेख गरेका छन् । 'यो सेमिकन्डक्टर क्षेत्रमा चीनले गरेको प्रगतिको संकेत मात्र नभएर उनीहरूको उन्नत सेमिकन्डक्टर प्रविधिको पहुँचमा लगाउन खोजिएको प्रतिबन्धमाथिको भूराजनीतिक चुनौती पनि हो, 'प्रविधि विज्ञ ड्यान हचेन्सन भन्छन्, 'तर यसले चीनको सेमिकन्डक्टर क्षेत्रको प्रविधिको पहुँच र त्यसमा हुने लगानीमाथि थप प्रतिबन्ध ल्याउनेछ ।'

प्रकाशित : भाद्र २०, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?