कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धानभन्दा आँप खेतीमा आकर्षण

एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा आापको व्यावसायिक खेती गर्दै बलखुका किसान
कुम्भराज राई

ओखलढुंगा — सुनकोशी गाउँपालिका–१ बलखुमा पाँच वर्षअघि आँपका रूख फाट्टफुट्ट देखिन्थे । थोरै रूखमा मनग्गे आँप फल्दा पनि व्यावसायिक खेती गर्ने जमर्को कसैले गरेका थिएनन् ।

धानभन्दा आँप खेतीमा आकर्षण

कृषि प्राविधिक पढेर घर फर्किएका स्थानीय कुशल पहाडीले भने आफ्नो बारीमा आँपको व्यावसायिक खेती सुरु गरे । पहाडीले वर्षमा आठ क्विन्टलसम्म बिक्री गरेपछि स्थानीयले खेतबारीमा आँप रोप्ने लहर चल्यो । अहिले बलखु आँपका रूखले लटरम्म छ ।

अहिले यहाँ हरेक घरको मुख्य आम्दानी नै आँपबाट हात लाग्ने नगद भएको पूर्ववडाध्यक्ष दीपहरि राई बताउँछन् । राईको घरमा पनि एक बोट आँप थियो । ‘बुबाले रोपेको त्यो बोटबाट वर्षमा १० देखि १२ हजारको आँप उत्पादन हुन्थ्यो,’ उनले भने, ‘पहाडीको अभियानपछि गाउँपालिकाको कृषि शाखाले यस भेगलाई आँप क्षेत्रका रूपमा हेर्‍यो अनि धेरैले व्यावसायिक खेती सुरु गरे ।’

पहाडी अहिले गाउँपालिकाकै कृषि प्राविधिकसमेत हुन् । उनले २० रोपनी क्षेत्रफलमा १ सय ५० बोट आँप रोपेका छन् । फल्न थालेको दुई/तीन वर्षमात्र भयो । गत वर्ष ५० हजारको आँप बेचेका उनले यस वर्ष बारीमा झन्डै एक लाख रुपैयाँको आँप फलेको अनुमान गरेका छन् । ‘हाम्रो वडामा बेंसीतिर रोपिएका केही आँपबाहेक धेरैजसो समुद्री सतहदेखि एक हजार मिटर माथि छन्,’ उनले भने, ‘त्यसैले तराईको आँप फलिसकेपछि यहाँको पाक्ने भएकाले बजार मूल्य राम्रो पाउँछ । यहाँ मालदह, कलकत्ते, अम्रापालीलगायत सबै जातका आँपको उत्पादन राम्रो छ ।’

बलखुका तीन सय घरधुरीले आँपको व्यावसायिक खेती गरेका छन् । यहाँ एक सय हेक्टर क्षेत्रफलभन्दा बढीमा आँप रोपिएको छ । स्थानीयका अनुसार यहाँ पाँच वर्षयता वार्षिक ५० लाखसम्मको आँप बिक्री हुने गरेको छ । यहाँको आँपले खोटाङ र सोलुखुम्बुको मागलाई पनि धान्दै आएको उनीहरू बताउँछन् । स्थानीय मसिनीमाया मगरले ६ वर्षअघि मकैबारी मासेर आँप रोप्ने खाल्डो खन्दा गाउँलेले अचम्म माने । त्यतिखेर रोपेका ५० बोट आँपले उत्पादन दिन थालेपछि छिमेकीले समेत रोप्न थाले । ‘पोहोर साल ३० हजारको बिक्री भयो,’ मसिनीमायाले भनिन्, ‘यसपालि १० क्विन्टल जति फलेको छ । बोट हुर्किंदै छन् । अर्को साल झन् धेरै फल्छ होला ।’

सुनकोशी–१ मा ०७३ देखि आँप खेती पकेटका रूपमा सुरु गरिएको हो । ०७६ मा भने कृषि ज्ञान केन्द्रले दुई वर्ष ब्लकका रूपमा आँप खेती कार्यक्रम सञ्चालन गर्‍यो । ब्लक कार्यक्रम सञ्चालन अवधिमा मात्रै १२ देखि १५ हजार आँपका बिरुवा रोपिएको ज्ञान केन्द्र प्रमुख हेमबहादुर आलेले जनाए । ‘यस वर्षदेखि पाँच हजारभन्दा बढी बोटले उत्पादन दिन थालेको छ,’ आलेले भने, ‘हामीले कृषक समूह, कृषि सहकारीसँग बेर्ना अनुदान, आँप बगैंचाका लागि सिँचाइ पोखरी, रोग किरा व्यवस्थापनका लागि स्प्रे, तौलिने मेसिन उपकरणमा सहयोग गरेका छौं । एकै किसिमको फलफूल खेती यति ठूलो परिमाणमा गरिएको जिल्लाकै एक मात्र ठाउँ हो यो ।’

यस वर्ष पाँच हजार बोटबाट करिब एक सय २५ टन उत्पादन भए एक करोडभन्दा बढीको कारोबार हुने स्थानीयको अनुमान छ । तराईसँगै बेंसी क्षेत्रमा छिटो पाक्ने आँपका लागि भने बजारको समस्या छ । सुनकोशी नदी तार्न झोलुंगे पुल र संकलन गरेर राख्ने शीत भण्डार नभएको किसानको गुनासो छ । यसका लागि गाउँपालिकाले बजार व्यवस्थापन र व्यवसायीले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर सहयोग गरे सहज हुने ज्ञान केन्द्र प्रमुख आले बताउँछन् ।

आँप खेती गर्ने किसानलाई बजारको सहजताका लागि पहल गरिरहेको सुनकोशी–१ का वडाध्यक्ष प्रकाश सापकोटाले बताए । ‘भर्खरै सम्पन्न गाउँसभाको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश भएको छ,’ वडाध्यक्ष सापकोटाले भने, ‘संकलन केन्द्र, शीत भण्डार र ढुवानीका लागि यातायातमा अनुदान दिनेबारे पहल भइरहेको छ ।’

प्रकाशित : असार २७, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?