२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

शिव शिखर सहकारीमा बचतकर्ताको ५३ करोड जोखिममा

सहकारी पीडित भन्छन्, ‘उपचार केले गर्ने ? बच्चा केले पढाउने ?’
अनिश भट्टराई

गण्डकी — श्रीमान् बितेपछि रामेछाप छाडेर पोखरा आएकी ५६ वर्षीया अम्बिका विक ५ वर्षयता फेवाताल किनारमा चटपटे बेच्छिन् । यसबाट ६ छोराछोरीको लालनपालन गर्दा बचेको केही पैसा सहकारीमा जम्मा गर्छिन् । दिनको ५ सय रुपैयाँ पोखराको शिव शिखर बहुउद्देश्यीय सहकारीमा बचत गर्दा झन्डै डेढ लाख पुगेको छ । तर त्यो रकम उनले पाउने टुंगो छैन ।

शिव शिखर सहकारीमा बचतकर्ताको ५३ करोड जोखिममा

आफूले बचत गरेको सहकारी डुबेको र सञ्चालक पनि फरार रहेको थाहा पाएपछि उनको चैन हराएको छ । आफ्ना अनेक रहर मारेर डेढ वर्षसम्म जम्मा गरेको रकम नपाउने चिन्ताले अनुहार मलिन छ । ‘अरूका लागि त्यो रकम सानो होला, मेरा लागि होइन,’ आइतबार पोखराको पर्स्याङमा भेटिएकी अम्बिकाको प्रश्न छ, ‘दाहिने हर पूरै दुख्छ, चटपट घोल्न पनि गाह्रो हुन्छ, अब उपचार केले गर्ने ? केले बच्चाबच्ची पढाउने ?’ माघमै सहकारी समस्यामा पर्न थालेको गाइँगुइँ सुनेकी हुन् उनले । तर रकम संकलन गर्ने कर्मचारीले सहकारी नडुब्नेमा आश्वस्त पारिरहे । उनैलाई पत्याएर बचत गरिरहिन् । विश्वासमा जम्मा गरेको रकम फिर्ता पाउनेमै उनको अब विश्वास छैन ।

धादिङकी विमला आले थापा पोखराको पर्स्याङमा चिया पसल चलाउँछिन् । उनको परिवारको गुजारा त्यही चिया पसलले नै धानेको छ । चिया पसलबाट हुने आम्दानीबाट विमलाले दिनको २ सय ६० रुपैयाँ शिव शिखर सहकारीमा जम्मा गरेकी थिइन् । एक वर्षयता उनले दैनिक बचतमा रकम जम्मा गरेकी हुन् । दुई छोराको शैक्षिक शुल्क र किताबकापी किन्ने ध्याउन्नमा उनले बचत गरिन् । एक वर्षमा उनको बचत रकम ७३ हजार ५ सय पुगेको छ । सहकारी समस्याग्रस्त भएपछि आफ्नो बचत रकम फिर्ता पाउने उनको आशा निभ्दो छ ।

बचत रकम संकट रहेको थाहा पाएपछि मालेपाटन चौरमा संगठित पोखराका बचतकर्ता । तस्बिर : अनिश/कान्तिपुर

‘सञ्चालक नै भागेको छ रे, अरूले भनेको सुन्दा त पैसा फिर्ता पाउन गाह्रै होला जस्तो छ,’ उनी अवाक् भइन् । भक्तपुर केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारीका देशभर ३५ सेवा केन्द्र छन् । पोखराको पर्स्याङमा ०७६ असोज १ बाट पहिलो सेवा केन्द्र सञ्चालनमा आएको हो । गत असोज १ बाट पोखराकै चाउथेमा सहकारीले अर्को सेवा केन्द्र विस्तार गरेको छ । पर्स्याङमा ५ हजार ५ सय र चाउँथेमा १ हजार ७ सय सेवाग्राही छन् ।

बचतकर्तालाई ‘फिक्स्ड डिपोजिट’ मा १६ प्रतिशतसम्म ब्याज दिने भनेपछि पोखरेली आकर्षित भए । अरू बैंकमा बचत गरेको रकम झिकेर सहकारीमा हाल्नेदेखि बैंकबाट कर्जा लिएरै भए पनि धेरै ब्याज पाउने लोभमा सहकारीमा बचत भित्रियो । पोखरामा शिक्षण पेसामा आबद्ध एक पुरुषले विकास बैंकमा राखेको ४५ लाख रुपैयाँ झिकेर सहकारीमा बचत गराएका थिए । ‘बैंकको भन्दा केही प्रतिशत बढी ब्याज पाउने लोभमा रकम सहकारीमा राखेको अहिले घरमा भन्न पनि सकेको छैन,’ नाम नखुलाउने सर्तमा ती पुरुषले भने ।

पोखरामै व्यवसाय गरिरहेकी एक महिलाले सहकारीको आकर्षक ब्याजदर देखेरै गरिमा विकास बैंकबाट कर्जा लिएरै रकम बचत गरिन् । १५ लाख रुपैयाँ गरिमा विकास बैंकबाट लिएर आफूले ४ लाख थपेर शिव शिखरमा उनले बचत गरिन् । आकर्षक ब्याजदरका कारण ५ वर्षमै बचत रकम दोब्बर हुने उनको आशामा अहिले पूर्णविराम लागेको छ । गरिमाबाट लिएको कर्जा पनि कसरी तिर्ने भन्ने अर्को चिन्ता थपिएको छ ।

‘गरिमालाई सबै गरेर १९ लाख तिर्नुपर्छ, सहकारीबाट ३८ लाख आउँछ भन्ने सोचेकी थिएँ । अब कर्जा कसरी तिर्ने भन्नेमै संकट छ,’ ती महिलाले भनिन् । शिव शिखर सहकारीमा आफूहरूको रकम जोखिममा परेको र सञ्चालक पनि फरार रहेको थाहा पाएपछि बचतकर्ता संगठित भएका छन् । बचतकर्ताले आइतबार पर्स्याङको मालेपाटन चौरमा सहकारीका पोखराका प्रमुखलाई राखेर संघर्ष समिति बनाएका छन् । यता, सहकारीका कर्मचारी पनि आफैं पीडित छन् । माघयता आफूहरूले तलब नपाएको चाउँथे शाखाकी लेखा प्रमुख विकल्प ढकालले बताइन् । कास्कीस्थित पर्स्याङ र चाउथेका सदस्य सेवा केन्द्रमा कुल ३२ कर्मचारी कार्यरत छन्, केहीलाई भने बेतलबी बिदा दिइएको छ ।

पोखराका २ सेवा केन्द्रमा ७ हजार २ सय बचतकर्ताले झन्डै ५४ करोड रुपैयाँ बचतमा राखेको सहकारीका कास्की प्रमुख रमेश न्यौपानेले जनाए । त्यही बचत रकमलाई सहकारीले विभिन्न ठाउँमा लगानी गरेको छ । पोखरामा पनि सहकारीले दुई ठाउँमा गार्डेन मार्टका नाममा स्टोर चलाएको छ । माघयता तरलतामा समस्या आएको र लगानी पनि ‘फ्रिज’ भएपछि सहकारी संकटमा आएको न्यौपानेको भनाइ छ । सहकारी केन्द्रीकृत भएको र सबै बचत रकम काठमाडौं पठाइने गरेकामा अहिले सञ्चालक नै फरार रहेको उनले जनाए ।

प्रकाशित : वैशाख ४, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?