३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए, एकीकृत कारोबार सुरु

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, चुक्ता पुँजी ३४ अर्ब १२ करोड र कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले मेगा बैंकलाई गाभेपछि बनेको ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ ले बुधबार एकीकृत कारोबार सुरु गरेको छ । इन्भेस्टमेन्ट बैंकको ९० कित्ता सेयर बराबर मेगा बैंकको १ सय कित्ताका दरले यी बैंक गाभिएका हुन् ।

इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए, एकीकृत कारोबार सुरु

गाभिएपछि बनेको नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी ज्योतिप्रकाश पाण्डेले पाए । यस्तै बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नै चुनिएका छन् । दुवै जना इन्भेस्टमेन्ट बैंकमा क्रमशः अध्यक्ष र सीईओ नै थिए ।

मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड र कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी छ । ग्राहक संख्या ३० लाख, बैंकको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ र कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । अब बैंकले २ सय ९६ शाखा, ५८ एक्सटेन्सन काउन्टर र २ सय ७९ एटीएममार्फत मुलुकभर वित्तीय सेवा प्रवाह गर्नेछ ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकहरूको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेस्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे चुनिएका छन् । साविक नेपाल इन्भेस्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेको बताइएको छ ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले अबको केही वर्षपछि वाणिज्य बैंकहरूको संख्या घटेर बढीमा ७ देखि ८ वटामा सीमित हुने दाबी गरे । अहिले पहिलो चरणको मर्जर भइरहेको र यो क्रम दोस्रो चरणसम्म पुग्दा बैंकको संख्या ७/८ वटामा सीमित हुने उनको तर्क छ । बैंक जति ठूलो भयो, त्यति नै बलियो हुने र सर्वसाधारणको निक्षेप पनि सुरक्षित हुने उनको भनाइ छ । ‘बैंक ठूलो भएपछि टु बिग टु फेल हुन्छ भन्ने भनाइ छ, म त्यसको पक्षमा छैन,’ उनले भने, ‘सबै सेयरधनी आर्थिक संकटमा परेको अवस्थामा मात्र बैंक फेल हुन्छ । नेपालमा त्यो सम्भव छैन ।’

यस मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने, अन्य बैंकहरूलाई समेत मर्जरमा प्रेरित गर्ने र नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गर्ने उनले बताए । यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको साविकको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको भनाइ छ ।

‘मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षलाई अंगीकार गरेर अघि बढिनेछ,’ उनले भने, ‘साथै सेयरधनीहरूको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने मेरो विश्वास छ ।’ ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिने पनि उनको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?