२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लगानी बोर्ड बल्ल पूर्ण

काठमाडौ — लगानी बोर्डको बिहीबार बसेको बैठकले नयाँ सदस्य थप्दै पूर्णता पाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले व्यवसायीका साथै बैंकरलाई पनि बोर्डमा नियुक्त गरेको हो ।


नयाँ सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष भवानी राणा र उद्योगी कृष्ण आचार्य छन् । स्थायी आमन्त्रित सदस्यमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकाल छन् ।
विकास निर्माणसँग जोडिएका प्रमुख मन्त्रालयका मन्त्रीलाई समेत स्थायी आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ । ऊर्जा, भौतिक योजना तथा निर्माण, सूचना तथा सञ्चार, पर्यटन तथा नागरिक उड्डयनमन्त्री यसमा छन् ।
प्रधानमन्त्री कार्यालयको अर्थ तथा पूर्वाधार महाशाखाका सचिवलाई पनि स्थायी आमन्त्रित सदस्य बनाइएको छ । सरकारले २०१२ र २०१३ लाई लगानी वर्षका रूपमा मनाउन गइरहेको अवस्थामा बोर्डले त्यसका लागि स्पष्ट कार्यक्रम बनाउने छ ।
बोर्डले विदेशी लगानीकर्ताले नेपालमा व्यवसाय गर्दा आवश्यक पर्ने सम्पूर्ण सेवा दिने गरी काम सुरु गरेको छ । मन्त्रालयका प्रतिनिधि पनि सदस्य भएपछि काममा सहज हुन्छ । यसअघि नै नियुक्त भएका बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त साना कुराले पनि नेपालप्रतिको अवधारणा बिग्रन सक्ने भएकाले एकद्वार नीतिमा जोड दिन खोजिएको बताउँदै आएका छन् ।
फास्टट्रयाक सडक, सुरुङ मार्ग, रेलमार्ग, रोपवे, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका विमानस्थल निर्मार्ण एवं व्यवस्थापनमा हुने लगानी प्राथमिकतामा रहेको छ । सहरी क्षेत्रमा खानेपानी उत्पादन र वितरण, रासायनिक मल उत्पादन कारखाना, पेट्रोलियम रिफाइनरी प्लान्टमा हुने लगानी पनि यस बोर्डको कार्य क्षेत्रमा राखिएको छ ।
जलविद्युत् तर्फ ५ सय मेगावाट भन्दा बढी क्षमताको आयोजनामा हुने लगानीलाई पनि यसले समेटेको छ । दुई वर्षअघिको बजेटमा घोषणा भई तयार भएको कानुनमा पूर्वाधार संरचना तथा स्थिर पुँजी १० अर्ब रुपैयाँभन्दा बढी भएको सेवा एवं उत्पादनशील उद्योगमा हुने लगानी बोर्ड सम्बन्धी ऐन अनुसार कार्यान्वयन हुने भनिएको छ ।
हालै संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास संस्था (अन्कटाड) ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल अन्तिम ७ देशमा छ । १ सय ४१ देशमध्ये नेपाल १ सय ३४ औं स्थानमा छ । अध्ययनले पछिल्लो २ वर्षमा लगानी नबढेको देखाएको छ ।
सन् २००९ मा विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालमा औद्योगिक वातावरण बन्न नसक्नुको ६२ प्रतिशत कारण श्रम समस्या सहितको राजनीतिक अस्थिरता रहेको देखाएको छ । यसैगरी २९ प्रतिशत हिस्सा लोडसेडिङको छ ।




प्रकाशित : पुस १५, २०६८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?