२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

छाडा चौपाया व्यवस्थापनको पाटो

केदार कार्की

गाईवस्तु सडकमा हिँडिरहेको र फोहोरको थुप्रोबाट पेट भरिरहेको दृश्य नेपालमा सर्वत्र देख्न सकिन्छ । मुलुक एक प्रकारले छाडा चौपायाको त्रासमा परेको छ । छाडा गाईवस्तुको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ ।

छाडा चौपाया व्यवस्थापनको पाटो

छाडा गाईवस्तु ती हुन्, जसको स्वामित्व कसैले दाबी गर्दैन, जो घरको बाटो नभेटेर हराएका हुन्छन्, जसलाई अब नचाहिने भएर परित्याग गरिएको हुन्छ । हेरचाह गर्ने समयको अभावले पनि घरपालुवाहरूलाई सडकमा छाड्ने गरिएको छ । यस्ता गाईवस्तुमा अनियन्त्रित प्रजनन हुन्छ । परिणामस्वरूप दोस्रो, तेस्रो पुस्तासमेत सडकमै हुन्छन् । छाडा चौपायाका रूपमा गाईहरूको चुनौती धेरै छ । यस्ता गाईमध्ये अधिकांश अवैध वा दर्ता नगरिएका सडकछेउका डेरी र गोठहरूबाट आउँछन् । दूध नदिने गाईलाई दाना बचाउन परित्याग गरिन्छ । दूध दिन बन्द गरेका चौपायाको दाना र हेरचाह किसानलाई आर्थिक भार पर्न जान्छ । किनकि अनुत्पादक गाईवस्तु पाल्न निकै स्रोतसाधन चाहिन्छ ।

सडकमा गाईवस्तु बढ्नुको अर्को कारक हो— बढ्दो यान्त्रिकीकरणले कृषि क्षेत्रमा गोरुको प्रयोग घट्दै जानु र तिनलाई परित्याग गरिनु । अर्कातिर, कडा कानुन र भारतमा गोरक्षकहरूद्वारा उत्पीडन र लिन्चिङको डरले गाईवस्तुको व्यापार घटेको छ ।

विकासोन्मुख राष्ट्रहरूमा सडक ट्राफिक दुर्घटना (आरटीए) का घटनाहरू हरेक दिन बढ्दै गएका छन् । त्यसको एउटा प्रमुख कारक छाडा चौपाया नै हो । पशु र वाहनको टक्कर सामान्य बन्दै गएको छ । छाडा चौपायाले बारम्बार ट्राफिक प्रवाह रोक्छन्, जसका कारण ठूला सडक दुर्घटना हुन पुग्छन् । रातको समयमा अवस्था झन् बिग्रन्छ, जब चालकहरूले अन्धकारका कारण गाईवस्तुलाई ठम्याउन सक्दैनन् ।

छाडा चौपाया प्रायः अस्वस्थ हुन्छन् । तिनीहरूले घाँस वा अन्य स्वच्छ कुरा खान पाएका हुँदैनन् । धेरैजसोले फोहोर र अवशेषबाट पेट भरिरहेका हुन्छन् । यस्ता चौपायाले मानिसमा समेत स्वास्थ्य सम्बन्धी चिन्ता बढाउँछन् । यस्ता चौपायाले फोहोर जलाशयबाट तिर्खा मेट्छन्, जसले गर्दा झन् अस्वस्थ हुन्छन् । चौपायाको मल लगायतका माध्यमले वातावरणमा प्रदूषकहरू प्रवेश गर्छन् । त्यस्ता एजेन्टमध्ये केहीले मात्र अस्थायी स्वास्थ्य समस्या निम्त्याउँछन्, धेरैजसोले गम्भीर संकट ।

यसको समाधान भनेको अनधिकृत डेरी फार्महरू बन्द गर्नु हो । हेलचेक्य्राइँ गर्ने डेरीहरूको इजाजतपत्र खारेज गर्नुपर्छ । सहरभित्र डेरी खोल्न नदिनु पनि एउटा उपाय हुन सक्छ । यसपछि ठूलो संख्यामा छाडा गाईवस्तुको हेरचाह गर्न सक्ने गरी उपयुक्त स्थानमा ठूला गौशालाहरूको स्थापनालाई प्रवर्द्धन गर्नुपर्छ ।

सडकमा गाईवस्तु छाड्ने मालिकहरूलाई कडा जरिवाना गर्नुपर्छ । छाडा जनावरले मानिस र वातावरणमा प्रत्यक्ष र नकारात्मक असर पार्ने भएकाले पशु स्वास्थ्य कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ । ठूला पशुजन्म नियन्त्रण कार्यक्रमहरू ल्याउनुपर्छ । त्यस्तै, कुकुरजस्ता छाडा जनावर समात्न पालिकाले पशु पक्रने टोली राख्नुपर्छ । घरपालुवा जनावरको स्वामित्व, व्यापार, फोहोर व्यवस्थापन, आवारा जनावरको जनसंख्या नियन्त्रण गर्न कडा नियमन हुनुपर्छ ।

छाडा चौपायाको अत्यधिक जनसंख्या विश्वव्यापी चुनौती बनेको छ । आवारा जनावरहरूको संख्या नियन्त्रण गर्ने उपाय र तिनले समुदाय वा वातावरणमा निम्त्याउने समस्याहरूका लागि सम्बन्धित अधिकारीहरूले पशु अधिकार कानुनहरू तर्जुमा र लागू गर्नुपर्छ । कानुनले खाना, आश्रय, चिकित्सा हेरचाह (उपचार र खोप), व्यवस्थापन, कल्याण र छाडा चौपायाको कानुनी अधिकारलाई सम्बोधन गर्न आवश्यक छ । छाडा जनावरको जनसंख्याको अनुगमन र व्यवस्थापनको भरपर्दो प्रणाली स्थापना गर्नु, जनावरहरूले स्वतन्त्र घुमफिर गर्दा निम्त्याउन सक्ने समस्याहरूबारे समुदायलाई शिक्षित गर्नु जरुरी छ । यसो हुन सके सार्वजनिक स्वास्थ्य र वातावरणीय एजेन्सीहरूले छाडा चौपायाबाट सार्वजनिक र अन्य पशुधनमा सर्ने जुनोटिक र सर्न सक्ने रोगहरूको रोकथाम, नियन्त्रण, व्यक्तिगत र वातावरणीय सरसफाइको नियमन गरेर सेवाहरू सुधार्न सक्छन् ।

कार्की वरिष्ठ पशु चिकित्सक हुन् ।

प्रकाशित : कार्तिक १४, २०८० ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?