२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४
अतिथिको नजर

‘नेपालमा जनसंख्याको ठूलो हिस्सा आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित छ’

‘यहाँको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न, एचआईभी/एड्स, क्यान्सर, मलेरिया, क्षयरोग, मधुमेह, हृदयरोगजस्ता दीर्घकालीन रोग, सरुवा रोगहरूको निरन्तरको खतरालाई सम्बोधन गर्ने गरी डब्लूएचओले काम गरिरहेको छ ।’

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना सन् १९४८ मा भएको थियो । त्यसयता यसका नेपालसहित १ सय ९४ सदस्य राष्ट्र पुगिसकेका छन् । संयुक्त राष्ट्रसंघ (यूएन) भित्र रहेर डब्लूएचओले विश्वको जनस्वास्थ्यमा निर्देशित गर्ने र संयोजन गर्ने कार्य गरिरहेको छ ।

‘नेपालमा जनसंख्याको ठूलो हिस्सा आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित छ’


नेपालमा ६४ वर्षदेखि डब्लूएचओले नेपाल सरकारसँग सहकार्य गरेर जनस्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ । नेपालको जनस्वास्थ्य क्षेत्रमा काम गर्न अहिले छिमेकी मुलुक भारतका नागरिक डा. राजेश सम्भाजीराव पाण्डव डब्लूएचओका नेपाल प्रतिनिधिका रुपमा कार्यरत छन् । उनै पाण्डवसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो ? र, नेपालको भूगोल कस्तो लाग्यो ?

म सन् २०२० सेप्टेम्बरमा पहिलो पटक नेपाल आएको हुँ । त्यसबेला नेपालमा कोभिड–१९ को संक्रमण उच्च थियो । त्यसपछि आफ्नो कामका दौरान मैले सातै प्रदेशको भ्रमण गरिसकेको छु । व्यक्तिगत रूपमा पनि मैले विभिन्न स्थान घुमेको छु । नेपालको भौगोलिक र सांस्कृतिक विविधताबाट म प्रभावित छु ।

तपाईंले कामका दौरान थुप्रै नेपालीसँग भेटवार्ता गर्नुभएको छ । कस्तो पाउनुभयो त नेपालीहरू ?

मलाई नेपालीहरू आत्मीय र मिलनसार लाग्छन् ।

नेपालको हावापानी कस्तो पाउनुभयो त ?

भौगोलिक विविधताका कारण नेपालको मौसमलाई जोड्न गाह्रो छ । काठमाडौंमा चारै मौसमको अनुभव लिन सकिन्छ । तर, पोखरा र काठमाडौंमा गर्मी चलिरहेका बेला माथिल्लो मनाङमा निकै चिसो हुन्छ भन्ने मलाई थाहा छ । तर, त्यो माथिल्लो मनाङको गर्मी थियो । मेरो नेपाल बसाइका क्रममा नै यहाँ जलवायु परिवर्तनको प्रभाव देखेको छु भनी थप्न चाहन्छु । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगका बिरामी बढ्दै गएका छन् । डब्लूएचओले जलवायु परिवर्तनको स्वास्थ्यसम्बन्धी प्रभावलाई सम्बोधन गर्न साझेदारहरूसँग मिलेर काम गरिरहेको छ ।

अनि नेपाली खानाको स्वाद लिनुभएको छ ? तपाईंलाई मन पर्ने खानाचाहिँ कुन हो ?

म यात्रा गर्दा विभिन्न स्थानीय खानाको स्वाद चाख्न मन पराउँछु । मलाई नेवारी बारा खुबै मन पर्छ । मलाई पहाडमा पाइने लसुनको सुप पनि मन पर्छ । बिदामा माथिल्लो मुस्ताङ घुम्न जाँदा मार्फामा खाएको थकाली खाना म बिर्सनै सक्दिनँ ।

तपाईंलाई नेपालका चाडपर्व कस्ता लाग्छन् ? नेपाली चाडपर्व मनाउनुभएको छ ?

मलाई यहाँ मनाइने विभिन्न चाडपर्व हेर्न रमाइलो लाग्छ । केही समयअघि सम्यक महादानको अवसरमा म पाटन पुगेको थिएँ । यो देख्दा सुन्दर लाग्यो । त्यस अतिरिक्त मैले यहाँ मनाइने दसैं र तिहारलगायतका मुख्य चाडपर्व पनि देखेको छु । मलाई विभिन्न जात्रा र चाडपर्व हेर्न मन पर्छ । काठमाडौंजस्ता सहरमा पनि परम्परा जोगाइरहेकामा जनतालाई धन्यवाद दिनुपर्छ । चाडपर्व मात्र नभएर नेपालीको दैनिक जीवनमा यी परम्पराका साक्षी रहेको अनुभव गर्न पाइन्छ ।

के तपाईं नेपाली भाषा बोल्नुहुन्छ ?

म आफ्नो जिम्मेवारी सम्हालेको मुलुकको भाषा सिक्ने प्रयास गरिरहेको छु । यसले अवरोधहरू तोड्न मद्दत गर्छ । यहाँ आइपुगेपछि मैले आधारभूत रूपमा संवाद गर्न सक्ने गरी भाषा सिक्ने काम गरें । हिन्दी, मराठी र नेपाली लिपि समान छन् । यसले मलाई नेपाली पढ्न सजिलो बनाउँछ । मलाई लाग्छ कि अरुले बोलेको कुराको सार म बुझ्न सक्छु । म फरर्र नेपाली भाषा बोल्न सक्दिनँ तर आधारभूत कुराकानीचाहिँ गर्न सक्छु ।

नेपाली गीत–संगीत कत्तिको सुन्नुहुन्छ ?

म वाद्यवादन र लोकसंगीत सुन्न मन पराउँछु ।

नेपाली साहित्यबारे पनि जानकार हुनुहुन्छ ?

नेपाली साहित्य प्रभावशाली छ भन्ने मलाई थाहा छ । तर, समयको सीमितताका कारण मैले अहिलेसम्म धेरै कुरा पढ्न पाएको छैन ।

तपाईंले नेपाली चलचित्र हेर्नुभएको छ ?

मैले कुनै पनि नेपाली चलचित्र हेरेको छैन । तर, मलाई हेर्नमा रुचिचाहिँ छ ।

तपाईंले नेपालमा कति ठाउँको भ्रमण गर्नुभएको छ ? तपाईंलाई मनपर्ने नेपाली गन्तव्य कुन हो र किन ?

काम र फुर्सदका क्रममा नेपालभित्रका धेरै स्थान घुमेको छु । मेरो कामले मलाई रुकुम पश्चिमको सानीभेरीजस्तो दुर्गम स्थानदेखि दक्षिणमा जनकपुर र विराटनगरजस्ता सहरको केन्द्रसम्म पुर्‍याएको छ । माथिल्लो मनाङ, माथिल्लो मुस्ताङ, रारा ताल र जुम्लाको सौन्दर्य वर्णन गर्ने शब्द मसँग छैन । हरेक पटक लुम्बिनी जाँदा मलाई शान्ति मिल्छ । काठमाडौं उपत्यकामा मलाई पाटन दरबार स्क्वायर र बौद्धनाथ स्तूपा जान मन पर्छ ।

नेपाललाई कला र संस्कृतिको धनी देश भनिन्छ । यहाँको कला–संस्कृतिप्रति तपाईंको धारणा ?

म नेपालमा रहेको परम्परागत विविधताबाट आकर्षित छु । मैले नेपालमा पित्तल, काठ, ढुंगा र चाँदीबाट निर्मित कला देखेको छु ।

तपाईं नेपाली क्रिकेट टिमबाट कत्तिको आशावादी हुनुहुन्छ ?

हो, अवश्य पनि मलाई नेपाली क्रिकेटबारे जानकारी छ । नेपालका युवा प्रतिभाले अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम भएको देख्न पाउनु ठूलो कुरा हो । म नियमित रूपमा नेपाली क्रिकेटलाई पछ्याइरहेको छु । गत वर्षको एसिया कपमा भारतसँगको नेपालको खेल हेर्न पाएको थिएँ । नेपाली टोलीको समर्थनमा सम्पूर्ण देश एकजुट भएको थियो । र, उनीहरूका लागि सबैको साथ देख्दा खुसी पनि लागेको थियो । मलाई लाग्छ कि यो खेलकुदको सुन्दर पक्ष हो । यसले मानिसहरूलाई एकआपसमा नजिक पनि बनाउँछ ।

नेपालमा डब्लूएचओका जिम्मेवारी के–के छन् ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) संयुक्त राष्ट्रसंघको स्वास्थ्य क्षेत्रका लागि विशेष एजेन्सी हो । डब्लूएचओले सबैका लागि राम्रो स्वास्थ्य प्राप्त गर्न विश्वव्यापी प्रयासको नेतृत्व र सहयोग गर्छ । देश, मानिस र साझेदारहरूलाई जोडेर डब्लूएचओले सबैलाई सबै ठाउँमा सुरक्षित र स्वस्थ जीवनको समान अवसर दिन प्रयास गर्छ । डब्लूएचओका १ सय ९४ मुलुक सदस्य राष्ट्र छन् । र, यो संस्था हाम्रो समयको सबैभन्दा ठूला स्वास्थ्य चुनौतीको सामना गर्न र विश्वका मानिसको हितलाई मापन गरेर अगाडि बढाउन नेपालसहित १ सय ५० भन्दा बढी स्थानमा अग्रपंक्तिमा काम गरिरहेको छ ।

प्रत्येक वर्ष विश्व स्वास्थ्य सम्मेलनमा नेपाललगायत सबै सदस्य राष्ट्रहरूका प्रतिनिधि प्राथमिकता निर्धारण गर्न र विश्वव्यापी स्वास्थ्य प्रगतिका लागि पाठ्यक्रम तयार गर्नका लागि भेला हुन्छन् । त्यहीअनुसार हाम्रो काम देशहरूले निर्धारण गरेको आवश्यकता र प्राथमिकता कार्यान्वयन गर्नु हो । नेपालमा डब्लूएचओ प्राथमिक स्वास्थ्य सेवा र विश्वव्यापी स्वास्थ्य प्रचार–प्रसार गर्न संस्थागत क्षमता निर्माणमा केन्द्रित छ । त्यसका साथै यहाँको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न, एचआईभी/एड्स, क्यान्सर, मलेरिया, क्षयरोग, मधुमेह, हृदयरोगजस्ता दीर्घकालीन रोग, सरुवा रोगहरूको निरन्तरको खतरालाई सम्बोधन गर्ने गरी डब्लूएचओले काम गरिरहेको छ । रोग र क्यान्सरका साथै कोभिड–१९ र अन्य महामारीजस्ता आपत्कालीन समयमा सरकारको कामलाई यसले सघाउने काम पनि गर्छ ।

नेपालमा डब्लूएचओ प्रमुखको हैसियतमा यहाँका स्वास्थ्य समस्याका चुनौती के कस्ता पाउनुभयो त ?

नेपालमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न चुनौती छन् । पहिलो, हामीले विश्वव्यापी स्वास्थ्य प्रचार–प्रसार हासिल गर्न सकेका छैनौं । जसको अर्थ जनसंख्याको ठूलो हिस्सा अझै पनि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन असमर्थ छ । र, पहुँच भएकाहरूमध्येमा पनि हामीले सेवाहरू उपलब्ध, किफायती र स्वीकार्य छन् भनी सुनिश्चित गर्ने काम गर्नुपर्छ । दोस्रो, रोगको बोझ नसर्ने रोगहरूमा सरेको छ । जसले आफ्नै किसिमका चुनौती ल्याएको छ । त्यसपछि जलवायु परिवर्तनको असर स्वास्थ्यमा परेको छ । यी चुनौतीलाई सम्बोधन गर्न स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक छ ।

डब्लूएचओ नेपालले यहाँको स्वास्थ्य समस्याबाट बच्नका लागि के गर्न सक्छ ?

नेपालमा हाम्रो काम डब्लूएचओ–नेपालको रणनीतिद्वारा निर्देशित छ । उक्त रणनीति पाँच वर्षको अवधारणा दस्ताबेज हो । जसले देशका लागि रणनीतिक प्राथमिकता रेखांकित गर्छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र साझेदारहरूसँगको नजिकको सहकार्य र समन्वयमा तयार गरिएको हो । विश्वव्यापी स्वास्थ्य प्रचार–प्रसार प्राप्त गर्न प्राथमिक स्वास्थ्य सेवा र संस्थागत क्षमता निर्माणमा केन्द्रित हुनुपर्छ ।

त्यसका साथै संघीय स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै स्वास्थ्य सुरक्षा खतरा व्यवस्थापन गर्न राष्ट्रिय क्षमता अभिवृद्धि, संघीय, प्रादेशिक र स्थानीय तहमा स्वास्थ्य योजनालाई सेवा प्रवाहमा प्रभावकारी वितरण गर्नुपर्छ । प्रभावकारी सेवा प्रवाहमा अनुगमनका लागि मार्गदर्शन गर्न तथ्यांक, अनुसन्धान र डिजिटल प्रविधिको प्रयोग गर्नुपर्छ । बहुक्षेत्रीय प्लेटफर्म र प्रभावकारी साझेदारहरूमार्फत राम्रो स्वास्थ्य परिणाम ल्याउन सन् २०२३ देखि २०२७ का लागि हामीले केही प्राथमिकता तोकेका छौं ।

डब्लूएचओले नेपालमा कुनै नयाँ कार्यक्रम पनि ल्याउँदै छ कि ?

नेपाल विश्व स्वास्थ्य संगठनको बाल्यकाल क्यान्सरका लागि ग्लोबल इनिसिएटिभ (जीआईसीसी) केन्द्रित देश हो । जीआईसीसी सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पताललगायतका साझेदारहरूसँग मिलेर डब्लूएचओले गरेको पहल पनि हो यो । जीआईसीसीको उद्देश्य बाल्यकालको क्यान्सरबाट बच्ने दर बढाउनु हो ।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालले विश्व स्वास्थ्य संगठनसँग ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्ड हुड क्यान्सर मेडिसिनबाट औषधि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस पहलबाट नेपालले सन् २०२४ मा चार वर्षसम्म निरन्तर सहयोग गर्दै ३५ वटा निःशुल्क क्यान्सरसम्बन्धी औषधि पाउने अपेक्षा गरिएको छ । यो सहयोगी पहलले बाल्यकालको क्यान्सरविरुद्धको नेपालको लडाइँमा एक महत्त्वपूर्ण कदमलाई जनाउँछ । जीवन बचाउने उपचारहरूमा सुधारिएको पहुँचको प्रतिज्ञा गर्दै अन्ततः प्रभावित बालबालिका र उनीहरूका परिवारहरूका लागि उज्यालो सम्भावना छन् ।

आमजनतालाई स्वास्थ्यसम्बन्धी सचेतना जगाउनका लागि तपाईंहरूले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहनुभएको छ ?

कोभिड–१९ महामारीले हामी सबैलाई जनस्वास्थ्यसम्बन्धी जानकारी फैलाउने सन्दर्भमा सोसल मिडिया कत्तिको प्रभावशाली हुन सक्छ भनेर देखाएको छ । डब्लूएचओले आम जनतालाई विभिन्न स्वास्थ्य विषयमा सही, प्रमाणमा आधारित जानकारी प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्छ । ताकि जनता आफ्नो स्वास्थ्यका बारेमा सुसूचित भई सही जानकारी प्राप्त गर्न सकून् ।

हामी विशिष्ट स्वास्थ्य समस्याका बारेमा सचेतना जगाउन, सामान्य मानिससँग प्रत्यक्ष रूपमा उनीहरूका सरोकार र भावना बुझ्न र रोगको प्रकोपजस्ता कुरामा वास्तविक जानकारी र स्वास्थ्य सल्लाह फैलाउन सामाजिक सञ्जाल प्रयोग गर्छौं । अनलाइनमार्फत फैलाइने स्वास्थ्यसम्बन्धी गलत सूचनाविरुद्ध लड्न पनि सामाजिक सञ्जालमा हाम्रो उपस्थित महत्त्वपूर्ण छ जस्तो लाग्छ ।

प्रकाशित : वैशाख ८, २०८१ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?