३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘मलाई नेपाली सहनशील र धैर्यवान् लाग्छन्’

नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सदस्य बनेको थियो । त्यसको झन्डै तीन दशकपछि सन् १९९४ मा नेपालमा आईएलओको कार्यालय खुल्यो । त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम क्षेत्रका मुद्दामा नेपाल सरकारसँग यसले सहकार्य गर्दै आइरहेको छ । अहिले आईएलओ नेपाल–निर्देशकमा टर्कीका नुमन ओज्कान कार्यरत छन् ।

‘मलाई नेपाली सहनशील र धैर्यवान् लाग्छन्’

यसअघि उनी आईएलओ टर्की–निर्देशकका रूपमा कार्यरत थिए । ओज्कानसँग सामाजिक नीति, सामाजिक संवाद, श्रम अधिकारको क्षेत्रको कार्यक्रम कार्यान्वयन र नीति पैरवी गरेको अनुभव छ । अन्तर्राष्ट्रिय श्रम क्षेत्रमा काम गरिसकेका आईएलओ नेपाल–निर्देशक ओज्कानसँग नेपाल, यहाँको परिवेश, भेषभूषा, संस्कृति, मौसम, भाषा, गीत–संगीतलगायत विविध विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक नेपाल कहिले आउनुभयो र यसको भूगोलबारे तपाईंको धारणा के छ ?

म पहिलो पटक सन् २०२३ को अप्रिल १ मा नेपाल आएको हुँ । त्यो दिन मेरो जन्मदिन पनि हो । उक्त विशेष दिनमा नेपाल आएर मैले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेको थिएँ । यो मेरा लागि नयाँ वर्ष र नयाँ साहसिक कार्यको सुरुवात थियो । कुनै कारणले म नेपाल आएजस्तो लाग्छ । जन्मदिनमा म यहाँ आएको संयोग मात्र नहोस् । म सधैं नेपालमा व्याप्त आध्यात्मिकताबाट आकर्षित भएको छु । र, यहाँ आउनुले मेरो भित्री हेराइ र जीवनको यात्रामा मद्दत गर्नेछ भन्ने विश्वास गर्छु । जब पश्चिमा मुलुकहरूबाट नेपाल आउनुहुन्छ, हिमालयसँगै उड्नुहुन्छ ।

हवाईजहाजले एउटा उचाइ पार गर्दा अग्लो हिमालले पहिलो हेराइमै मोहित बनाउँछ । हिमालहरूबाहेक देशभरि यात्रा गर्दा तपाईंले यहाँको भूगोल छिट्टै परिवर्तन भएको देख्नुहुन्छ । पहाड, नदी, ताल, जंगल, समतल भूमिलगायत विभिन्न दृश्य यहाँ देख्न पाइन्छ । जमेका ताल र हिउँहरूपछि केही सय किलोमिटरकै दूरीमा गर्मी क्षेत्रका घना जंगलमा पुगिन्छ । त्यो अचम्मको छ । हिमाल र समुद्रले मलाई सधैं मोहित बनाएको छ । हिमालहरू सामान्य रूपमै अचम्मित तुल्याउने खालका नै हुन्छन् । हरेक अवसरमा जहिले र जहाँ पनि जब म सेता हिमालको दृश्य देख्छु, म आफैंलाई मद्दत गर्न सक्दिनँ । तर केही मिनेटका लागि हिमाललाई हेरिरहन्छु । त्यसरी नै म दिनभरि नै हिमाललाई हेरिरहन सक्छु ।

नेपालमा काम गर्दा तपाईंले धेरै मानिससँग भेटवार्ता गर्नुभयो । नेपालीहरू कस्ता पाउनुभयो त ?

नेपालीहरू धेरै दयालु, सजिलैसँग सम्पर्क र कुराकानी गर्ने स्वभावका छन् । यदि तपाईंको भाषाबारे जानकारी छैन भने पनि सजिलै मुस्कानसँग जोडिन सक्नुहुन्छ । नेपालीहरू अति सहयोगी, भेटवार्ता गर्नलाई सहज र संवाद गर्न सहज छन् । मलाई पनि नेपालीहरू शान्त र खुसी लाग्छन् । रिसाउने र कर्कश स्वर भएका मानिसहरू यहाँ भेट्न धेरै दुर्लभ छ । यसले मलाई विशेष गरी सडक यात्राका दौरान ट्राफिकमा आकर्षित गर्छ, जहाँ मानिसहरू सहनशील र धैर्यवान् देखिन्छन् । म ट्राफिकमा धेरै द्वन्द्व हुने अवस्थाहरू देख्छु । र, भन्छु– अब उनीहरू लड्न जाँदैछन् । तर उनीहरू सामान्य रूपमा एकअर्कालाई छाड्छन् र आ–आफ्नो बाटो लाग्छन् ।

नेपालको मौसमबारे तपाईंको धारणा के छ ?

मलाई यहाँको मौसम मन पर्छ । यहाँ मौसम प्राय: सामान्य रहन्छ । धेरै तातो तथा चिसो हुँदैन । मलाई मनसुनको मौसम पनि मन पर्छ । विशेष गरी जब वर्षापछि घाम लाग्छ र त्यस अवस्थामा सफा हावा पाउन सक्नुहुन्छ । हरेक सिजन राम्रा हुन्छन् र यसका आ–आफ्नै विशेषता हुन्छन् । मलाई सामान्यतया जाडोयाम मन पर्दैन । तर काठमाडौंबाट समेत देखिने सफा आकाश र हिमालका दृश्यले मनलाई रमाइलो बनाउँछ । मलाई अप्ठ्यारो लाग्ने कुरा भनेको घरमा तताउने प्रणाली र उचित इन्सुलेसनको अभाव हो । जसले जाडोमा विशेष गरी रातमा चिसो महसुस गराउँछ । मेरो गृहनगर (टर्की) मा जाडोका रातहरू २० डिग्री सेल्सियससम्म चिसो हुन सक्छन् । तर घरहरू न्याना हुन्छन् ।

नेपाली खानाको स्वाद कत्तिको लिनुभएको छ र तपाईंलाई मन पर्ने नेपाली खाना ?

नेपाली खानाले आफ्नो संस्कृति र विविधतालाई झल्काउँछन् । विभिन्न प्रकारका व्यञ्जनहरू यहाँको बहुसांस्कृतिक सम्पदा, विविध भूभाग र घरेलु सामग्रीबाट प्रेरित छन् । यी सामग्रीले खानालाई मीठो, स्वादिलो र सुगन्धको मिश्रणका रूपमा प्रस्तुत गर्छन् । साँच्चै भन्नुपर्दा धेरैजसो नेपाली खाना मेरा लागि धेरै मसलेदार हुन्छन् । जब म पहिलो पटक नेपाल आएको थिएँ, खानाका कारण स्वास्थ्य केही गडबड भएको थियो । त्यसकारण स्वास्थ्यका हिसाबमा म सुरक्षित पक्षमा रहन रुचाउँछु र धेरै मसला प्रयोग गरेको वा धेरै सामग्री समावेश नगरिएका व्यञ्जनहरू रोज्छु । त्यस कारणले गर्दा मलाई दाल–भात र शाकाहारी म:म उपयुक्त लाग्छ ।

नेपाली चालचलनप्रति तपाईंको धारणा के छ ?

मौलिक चालचलनमा नेपाल निकै नै धनी छ । नेपालीहरू जताततै छन् । हरेक मानिसहरू अरूको दैनिकीमा पनि गहिरो रूपमा सम्मिलित हुन्छन् । मलाई नेपालीको सबैभन्दा मन पर्ने कुरा राम्रो मुस्कान र हातको इसाराका साथ ‘नमस्ते’ गर्ने चलन पनि हो । सचेत रूपमा उक्त कुराको अर्थ थाहा भएर यदि तपाईंले हृदयबाटै भन्नुभयो भने त्यो महत्त्वपूर्ण छ । यसको अर्थ ‘म तपाईंभित्रकै भगवान्लाई अभिवादन गर्छु’ भन्नु हो । तपाईंले देख्न सक्नु हुन्छ, त्यो कति शक्तिशाली छ भन्ने र कसरी यसले जनतालाई जोड्छ भन्ने कुरा ।

तपाईंले नेपाली चाडपर्व कत्तिको मनाउनुभएको छ ? तपाईंलाई सबैभन्दा बढी मन पर्ने यहाँका चाडपर्व ?

नेपालमा धेरै चाडपर्व छन् । यो निकै अचम्मको कुरा पनि हो । नेपालमा हरेक दिन कुनै न कुनै चाडपर्व मनाइन्छ । धेरै जातीय समूह र यहाँका विभिन्न संस्कृतिले गर्दा नेपालमा यति धेरै चाडपर्व मनाइएका हुन् । नेपालमा मनाइने हरेक चाडपर्वका फरक अर्थ, पृष्ठभूमि र अनुष्ठान छन् । म चाडपर्वका बारेमा पढ्छु र त्यसका वास्तविक अर्थ बुझेर मनाउने प्रयास गर्छु । म विदेशी भएर नभई स्थानीयसँग मिलेर नेपालका चाडपर्व मनाउने प्रयास गर्छु । मलाई सबैभन्दा मन परेको रङहरूको पर्व होली हो । यो खराबमाथि असलको विजयको उत्सव हो भन्ने लाग्छ । संसारमा यति धेरै खराबी हुँदाहुँदै पनि यसले अन्तत: असल हुने सन्देश दिन्छ । होलीले जाडोको अन्त्य र गर्मीको सुरुवातलाई पनि जनाउँछ । र, यी भन्दा बाहिर यो धेरै रमाइलो पर्व हो । वसन्तको आगमनलाई मनाउन मानिसहरू एकअर्कामा विभिन्न रङ छर्केर मनाउँछन् । रङहरू जीवनका प्रतीक हुन् । र, रङले हाम्रो इच्छा र उत्सवहरूलाई जीवन दिन्छ । होलीबाहेक यहाँको गाईजात्रा पनि मन पर्छ । आफन्तको मृत्युको सम्झनामा मनाइने गाईजात्रा पर्व र इन्द्रजात्रा मलाई धेरै रमाइलो लाग्छ । यी पर्व पनि मैले रमाइलो गरी मनाउने गरेको छु ।

तपाईं नेपाली भाषा कत्तिको बोल्न सक्नुहुन्छ ?

दैनिक रूपमा कुराकानी गर्न सक्षम हुनका लागि म नेपाली भाषा सिक्ने प्रयास गर्दैछु । म आफ्नो वरपरका मानिसहरूसँग केही आधारभूत नेपाली कुरा बोल्ने प्रयास गर्छु । यो स्थानीय जनताप्रति सम्मान देखाउने कुरा पनि हो । साथै, मेरो सार्वजनिक भाषणहरूमा म केही नेपाली वाक्यबाट सुरु गर्न चाहन्छु । यसले मानिसहरूसँग जोडिन मद्दत गर्छ । मलाई थाहा छ, नेपालमा १ सय २० भन्दा बढी भाषिका बोलिन्छ । म कम्तीमा मानक नेपाली भाषा बोल्न प्रयास गर्छु ।

नेपाली गीत–संगीत सुन्नुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै खास गीत ?

म नेपाली गीत–संगीत विभिन्न अवसर, कार्यक्रम र कन्सर्टमा सहभागी भएका बेला सुन्छु । म कहिलेकाहीँ गाडीमा नेपाली गीत बजाउन रेडियो च्यानल पनि खोल्छु । यद्यपि, म कुनै खास गीत वा गायकसँग परिचित भने छैन । मलाई नेपालको राष्ट्रिय गानको धुन एकदमै मन पर्छ । सरकारी बैठक/सेमिनारहरूमा जानुपर्ने भएकाले नेपालको राष्ट्रिय गान बारम्बार सुन्छु । मलाई लाग्छ, मैले गीतका शब्दहरू कण्ठ गर्न पनि थालेको छु । मैले अंग्रेजीमा राष्ट्रिय गानको अर्थ पनि अध्ययन गरें । जसमा नेपालको सार्वभौमसत्ता, एकता, साहस, गौरव, प्राकृतिक सौन्दर्य, प्रगति, शान्ति, सांस्कृतिक र संस्कृतिका साथै जैविक विविधता र सम्मानको प्रशंसा गरेको पनि बुझें ।

तपाईं नेपाली साहित्यबारे कत्तिको जानकार हुनुहुन्छ ? तपाईंलाई मन पर्ने कुनै साहित्यिक कृति ?

साँच्चै भन्नुपर्दा म नेपाली साहित्यसँग परिचित छैन । त्यसमा पनि खासगरी उपन्यास, कविता र कथाबारे त म जानकार नै छैन भन्दा पनि हुन्छ । तैपनि, नेपाली वा विदेशीले लेखेका नेपाल, यसको इतिहास, संस्कृति, राजनीति आदिबारे पढ्न भने मन लाग्छ । पछिल्लो समय सुजीव शाक्यको पुस्तक ‘अनलिसिङ द वज्र’ पढिरहेको छु । नेपालको भूत, वर्तमान र भविष्यलाई राजनीतिक अर्थतन्त्र र भूराजनीतिको सन्दर्भमा बुझ्न यो एउटा उत्कृष्ट पुस्तक हो भन्ने मलाई लाग्छ ।

तपाईंले नेपाली चलचित्र पनि हेर्नुभएको छ ?

मैले नेपाली चलचित्र हेरेको छैन । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्नका लागि थिएटर र सिंगो उद्योगले पहल गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यो गर्ने एउटा तरिका भनेको उचित डबिङ वा सबटाइटलहरूका साथ विभिन्न प्लेटफर्महरूमा पुग्नु हो ।

तपाईंले नेपालमा कति ठाउँको भ्रमण गर्नुभएको छ ? तपाईंलाई मन परेको गन्तव्यचाहिँ कुन हो ?

काठमाडौं उपत्यका वरपरबाहेक इलाम, झापा, धनगढी, पोखरा गएको छु । मलाई विशेष गरी इलाम मन पर्‍यो । किनभने, यो मेरो देशको उत्तरी कालासागर क्षेत्रजस्तै छ । त्यहाँको भूबनोट एकदम मिल्दोजुल्दो छ, सबै–हरिया उच्च पहाडहरू छन् । इलाममा जस्तै त्यहाँ पनि धेरै चिया बगान छन् । अहिलेसम्म काठमाडौं उपत्यकाबाहिर मेरा लागि मन पर्ने ठाउँ इलाम हो । तर, मैले नेपालका धेरै भूभाग अझै हेर्न बाँकी छ ।

नेपाल कला र संस्कृतिमा धनी छ भन्ने तपाईंलाई थाहा नै छ । नेपालको कला र संस्कृतिप्रति यहाँको धारणा ?

मैले नेपालका बारेमा पढेको पहिलो पुस्तक ‘कल्चरल सक’ थियो । नेपालको संस्कृति यति धेरै धनी र विविधतापूर्ण छ कि यसलाई बुझ्न एक वर्षभन्दा बढी समय लाग्छ । संस्कृतिलाई प्रभाव पार्ने धेरै आयाम छन् । सयौं जनजाति, जाति र भाषा, धर्मका आयाम र त्यसका विभिन्न व्याख्या र अभ्यासहरू छन् । साथै भूगोल (तराई, पहाड र हिमाल) द्वारा निर्धारण गरिएका आयाम पनि छन् । यी सबै संयोजन गर्नुहुन्छ भने यहाँ साँच्चै जटिल सांस्कृतिक मिश्रण देखिन्छ । म अझै पनि हरेक दिन नयाँ नयाँ कुराहरू थाहा पाउँदैछु । हरेक पटक नयाँ ठाउँमा जान्छु । र, त्यो ठाउँ प्याजजस्तै लाग्छ । जसरी तपाईंले प्याजको एउटा तह खोल्नुहुन्छ, अर्को तह त्यसको मुनि आउँछ । मलाई थाहा छैन, म कहिले मुख्य स्थानमा पुग्छु । तर एउटा कुरा प्रस्ट छ कि संस्कृति र धर्मसँगै त्यसबाट निस्कने विचार र संस्कार नेपाली समाजका केन्द्रबिन्दु हुन् ।

प्रकाशित : वैशाख १, २०८१ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?