'फुर्सदमा घुम्न मन पर्ने देश नेपाल'

काठमाडौँ — नेपाल र इन्डोनेसियाबीच सन् १९६० डिसेम्बर २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहँदै आएको छ । द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु एच. सुबोलो दुई वर्षदेखि क्रियाशील छन् ।

'फुर्सदमा घुम्न मन पर्ने देश नेपाल'

उनी दक्षिण एसियाको अर्को मुलुक बंगलादेशका लागि आवासीय राजदूत हुन् । उनले ढाकाबाट ओहोरदोहोर गर्दै नेपालसँगको द्विपक्षीय सम्बन्ध निर्माणमा काम गरिरहेका छन् । साथै, उनले नेपालमा आफ्नो अवैतनिक वाणिज्यदूतमार्फत पनि काम गरिरहेका छन् । राजदूत सुबोलो कुनै महिना त दुई पटकसमेत ढाकाबाट काठमाडौं आउजाउ गर्छन् । राजदूत सुबोलो गत साता इन्डोनेसियाको एक टोली लिएर नेपाल भ्रमणमा आएका थिए । काठमाडौंमा लोकतन्त्रसम्बन्धी कार्यक्रममा छलफल गर्नुका साथै उनी गौतम बुद्धको जन्मथलो लुम्बिनी पुगेर बंगलादेश फर्किए । ढाका फर्कनुअघि नेपाल र यहाँको परिवेश तथा दुई मुलुकबीचको सम्बन्धबारे राजदूत हेरु एच. सुबोलोसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

पहिलो पटक नेपाल कहिले आउनुभयो र नेपाल कस्तो पाउनुभयो ?

म पहिलो पटक सन् २०२२ को जुनमा नेपाल आएको थिएँ । त्यतिबेला म नेपालकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्न आएको थिएँ । त्यो नै मेरो नेपालको पहिलो आधिकारिक भ्रमण थियो । त्यही अवधिमा मैले नेपालमा रहेका इन्डोनेसियाली समुदायसँग परिचयात्मक कार्यक्रम गर्न पाएको थिएँ । बंगलादेश र नेपालका लागि इन्डोनेसिया गणतन्त्रको राजदूत भएर आएको हुँ । र, मेरो आफ्नो कार्यकालको पहिलो वर्षको आधा अवधिमा ओहदाको प्रमाणपत्र पेस गर्ने अवसर पाएँ । त्यो मेरा लागि एकदमै सुन्दर क्षण रह्यो । जुन मलाई सम्झना आइरहन्छ । पहिलो पटक नेपाल यात्राका लागि उड्दा मैले हवाईजहाजबाट हिमालय शृंखला र केही पहाडी क्षेत्रहरू देखें । मैले नेपालको भूगोलको सुन्दरता सुरुआतबाटै देखें । फुर्सदको समयमा घुम्नका लागि पनि नेपाल मेरो मनपर्ने ठाउँहरूमध्ये एक हुनेछ । विशेष गरी यसको प्राकृतिक आकर्षण र यसको सांस्कृतिक पक्षहरू मलाई निकै राम्रो लाग्यो ।

कामका दौरान र घुमघामका क्रममा नेपालीहरूसँग भेटघाट भयो, नेपालीहरू कस्तो पाउनुभयो ?

नेपाली जनता मिलनसार, आतिथ्यता दिने र धेरै सहयोगी छन् । नेपाली जनता आफ्नो परम्परा र धार्मिक आस्थामा गर्व गर्छन् । साथै, उनीहरू विश्व समुदायलाई सहिष्णु व्यवहार गर्छन् ।

नेपालको हावापानी कस्तो पाउनुभयो ?

हिमालयले घेरिएको हुनाले नेपालको मौसम एकदमै राम्रो छ । हरेक मौसममा म छुट्टै अनुभव महसुस गरिरहेको छु । मौसमसँगै आउने मन्द हावा, त्यो न्यानोपन र चिसोले मलाई नेपालका विभिन्न कुनामा गएर अनुभव दिन उत्सुक हुन्छु ।

नेपाली खाना खानुभएको छ ? नेपाली खानामा कुन मन पर्‍यो ?

मैले नेपालका राजसी खाना भनेर परिचित ‘रोयल थाली’ खाएको छु । यसमा १३ वटा विभिन्न परिकारहरू समावेश थिए, जुन धेरै अनौठो प्रकारको थालमा पाइन्छ । धेरै नेपाली व्यञ्जनहरू शाकाहारी मैत्री छन्, त्यसैले उक्त खानाले हामीलाई स्वस्थ आहार दिन्छ । र, पक्कै पनि नेपाल आएपछि मोमो खान छुटाउँदिनँ । परम्परागत खानेकुराबाहेक मैले नेपालका लोकप्रिय रेस्टुरेन्टमा पाइने केही परिकारहरूको पनि स्वाद लिएको छु । मैले ट्राउट माछाबाट बनेको एउटा परिकार फेला पारें । ट्राउट माछा सबैभन्दा सफा माछाका रूपमा चिनिन्छ, जुन मलाई एकदमै मनपर्छ । म नेपाल भ्रमणमा आउँदा ट्राउट माछाबाट बनेको परिकारको स्वाद लिन छुटाउँदिनँ ।

नेपालको भेषभूषा र चालचलन कस्तो पाउनुभयो ?

नेपालको रीतिरिवाजहरू अविश्वसनीय रूपमा विविध र समृद्ध छन् । जसले नेपालको बहुसांस्कृतिक र बहुजातीय समाजलाई झल्काउँछ । काठमाडौं उपत्यकाका नेवार समुदायदेखि हिमालयका शेर्पाहरूसम्म, प्रत्येक समूहको आ–आफ्नै रीतिरिवाज र परम्पराहरू छन् । त्यसले नेपाललाई सांस्कृतिक रूपमा धनी र गतिशील देश बनाएको छ । मैले नेपालमा केही सबैभन्दा रोचक चलनहरू देखें । उदाहरणका लागि नमस्ते अभिवादन हो । मेरो विचारमा मानिसहरूलाई नमस्ते भन्दै अभिवादन गर्नु, आफ्नो दुई हात जोडेर नमस्ते शब्दको साथमा अभिवादन गर्नु भनेको औपचारिकता मात्र होइन, अरूप्रति सम्मान र श्रद्धा झल्काउने चलन हो । यी रीतिरिवाजहरूले सम्मान, नम्रता र आतिथ्यताका मूल्यहरू झल्काउँछ । जुन नेपाली संस्कृतिमा उच्च मूल्यवान् छ । नेपाल आतिथ्य पनि मलाई मन पर्‍यो । मलाई लाग्छ नेपाली आतिथ्य पौराणिक छ । र, देशका आगन्तुकहरूले प्रायः नेपाली जनताको न्यानोपन र उदारतामा टिप्पणी गर्छन् । पाहुनाहरूलाई खाना, चिया र आश्रय दिने जस्ता परम्परागत अभ्यासहरूले नेपाली संस्कृतिमा गहिरो रूपमा निहित अतिथि सत्कारको उदाहरण दिन्छ ।

नेपालका चाडपर्व कस्तो लाग्छ ? कुन चाडपर्व मन पर्‍यो ?

यस वर्षको मार्चको सुरुमा म यहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा लोक महोत्सव नेपाल–२०२४ को उद्घाटन समारोहमा उपस्थित हुन आएको थिएँ । त्यहाँ ११ देशले आफ्ना उत्कृष्ट नृत्य तथा कला प्रदर्शन गर्ने कलाकारहरू पठाएका थिए । र, मलाई गर्व छ कि कार्यक्रमका लागि इन्डोनेसियाले २० कलाकार पठाएको थियो । लोक महोत्सव नेपाल–२०२४ मा मैले परम्परागत संगीत, लोकगीत र नृत्यहरूको माध्यमबाट नेपालको विविध संस्कृति हेर्ने मौका पाएँ ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ?

मलाई नेपाली बोल्न आउँदैन । तर मलाई केही कुराहरू थाहा छ । धेरै इन्डोनेसियाली शब्दहरू संस्कृतबाट आएको हुनाले केही नेपाली शब्दहरूसँग मिल्दाजुल्दा छन् । उदाहरणका लागि नेपाली भाषा र इन्डोनेसियाली भाषामा घामलाई सूर्य नै भनिन्छ । दुवै मुलुकमा भूमिलाई पृथ्वी नै मानिन्छ । दुवै देशमा सुख र दुःखको अर्थ एउटै हुन्छ । टोपीको अर्थ दुवै देशमा ह्याट नै हुन्छ । इन्डोनेसियाली भाषामा सम्पूर्णलाई पूर्ण भनिन्छ भने नेपालीमा सम्पूर्णको अर्थ सबै अथवा पूर्ण नै मानिन्छ । इन्डोनेसियाली र नेपाली दुवै भाषामा देवी नै भनिन्छ । यसबाहेक नेपाली शब्दहरू पनि बंगाली शब्दहरूसँग मिल्दाजुल्दा छन् । ‘थ्यांक यु’ लाई नेपालीमा धन्यवाद भनिन्छ भने बंगालीमा धोनोबाद भनिन्छ ।

नेपाली गीत–संगीत सुन्नुभएको छ ?

मैले धेरै नेपाली गीतहरू त सुनेको छैन, तर एउटा गीतले भने मलाई तानेको छ । त्यो गीतको शीर्षक हो, ‘यो मन त मेरो नेपाली हो ।’ यो नेपालको चर्चित ब्यान्ड १९७४ को हो । काठमाडौंको हार्डरक क्याफेमा इन्डोनेसियाको एउटा ब्यान्डले उक्त गीत गाएको पनि थियो । इन्डोनेसियाली ब्यान्डको नाम स्विट नाइटमेर हो । उनीहरूले इन्डोनेसियाको हरेक संगीत बजाउँछन् । एक दिन म उक्त क्याफेमा गएको थिएँ । उनीहरूले अन्त्यमा यो मन त मेरो नेपाली हो गीत गाए । त्यस दिनदेखि उक्त गीतलाई मैले आज पनि सम्झिरहेको छु ।

तपाईं नेपालका कति स्थानमा घुम्नुभएको छ ? र, सबैभन्दा मनपर्ने स्थान कुन हो ?

दुई देशबीचको द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएपछि म नेपाल बारम्बार घुम्दै आएको छु । काठमाडौं र लुम्बिनीका केही रमाइलो ठाउँहरू घुमिसकेको छु । मैले काठमाडौंका धेरै ऐतिहासिक स्थानहरू जस्तै स्वयम्भूनाथ, बौद्धनाथ, दरबार स्क्वायर घुम्ने अवसर पाएँ । यी पर्यटकीय स्थलहरूबाहेक मैले चन्द्रागिरिको पनि भ्रमण गरें । जुन काठमाडौंबाट हिमालय पर्वत शृंखला हेर्नका लागि उपयुक्त ठाउँ हो । मलाई शारीरिक गतिविधि मनपर्ने भएकाले मेरो मनपर्ने ठाउँ पदयात्रा वा पहाडी क्षेत्रमा हिँड्नु र काठमाडौंमा गल्फ खेल्नु हो ।

नेपालको कला र संस्कृतिबारे तपाईंको के बुझाइ छ ?

नेपाल सानो तर कला र संस्कृतिमा निकै धनी देश हो । नेपालले आफ्नो परम्परागत कला र संस्कृतिले पर्यटकीय संवेदनालाई सधैं जोड्न सफल छ । पुरातन मन्दिरहरू र ऐतिहासिक स्थलहरूबाट जीवन्त नृत्य र लोक गीतहरू सुरु हुन्छ । नेपालसँग धेरै उत्कृष्ट चित्रकारहरू छन्, जसले महत्त्वपूर्ण मण्डला कला र चित्रहरूको सिर्जना गर्छन् । मूर्तिकार/लोहारहरूले उत्कृष्ट मूर्तिकलाहरू तथा ध्यान र उपचारका लागि प्रसिद्ध ‘सिङ्गिङ बल’ को सिर्जना गरेका छन् ।

नेपाल र इन्डोनेसियाबीचको सम्बन्ध कस्तो पाउनुभएको छ ?

अन्य द्विपक्षीय सम्बन्धहरूको तुलनामा इन्डोनेसिया–नेपाल सम्बन्धको व्यापक रूपमा छलफल नहुन सक्छ, तर दुई देशले पारस्परिक सम्मान, साझा मूल्यमान्यता र दुवै राष्ट्रको पारस्परिक हितका लागि विभिन्न पक्षहरूमा सहकार्य गर्ने चाहनाको आधार साझा गर्छन् । इन्डोनेसिया–नेपाल भौगोलिक रूपमा टाढा तर सांस्कृतिक रूपमा विविधतापूर्ण छन् । दुई मुलुकबीच केही समानताहरू छन् । दुवै देशहरूमा विभिन्न धार्मिक समुदायहरू बसोबास गर्ने ठाउँहरू छन् । जसमा नेपालमा हिन्दु र बौद्ध धर्म प्रमुख छन्, जबकि इन्डोनेसियामा महत्त्वपूर्ण हिन्दु, बौद्ध र इसाई अल्पसंख्यकहरूको साथमा बहुसंख्यक मुस्लिम जनसंख्या छ । यो विविधताले सहिष्णुता र सहअस्तित्वको संस्कृतिलाई बढावा दिन्छ, जहाँ धार्मिक रीतिरिवाज र परम्पराहरूलाई समान रूपमा मनाइन्छन् । तसर्थ, इन्डोनेसियाबीचको सम्बन्धलाई यस पक्षमा अझ सुदृढ बनाउन सकिन्छ । उदाहरणका लागि सहिष्णुता र सहअस्तित्वको संस्कृतिलाई बढावा दिन जनता–जनताबीच आदानप्रदान गर्न सकिन्छ । इन्डोनेसिया र नेपाल दुवै आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रख्यात छन् । पर्यटन सहयोगलाई प्रवर्द्धन गर्ने र सांस्कृतिक समानताहरू प्रचारप्रचार गर्दै जोड दिने प्रयासले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सकिन्छ । यसले पारस्परिक समझदारी र प्रशंसालाई बढावा दिन्छ । समग्रमा धेरै पक्षमा हाम्रा समानता र पारस्परिक प्रतिबद्धताका कारण ६० वर्षको द्विपक्षीय सम्बन्धमा इन्डोनेसिया–नेपालबीच राम्रो सम्बन्ध निर्माण भएको छ ।

इन्डोनेसियाले नेपालबाट के चाहन्छ ?

इन्डोनेसियाले नेपाल र नेपाली जनताबाट विभिन्न क्षेत्रमा पारस्परिक हितकारी सहयोगको अपेक्षा गर्न सक्छ । उदाहरणका लागि कूटनीतिक सहयोग, व्यापार र आर्थिक सहयोग, सांस्कृतिक र शैक्षिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, विश्वव्यापी मुद्दाहरूमा पारस्परिक सहयोग, सांस्कृतिक र धार्मिक सम्बन्ध, दुई देशबीच सद्भावना, मित्रता र समझदारीलाई बढावा दिने विषयमा सहकार्य गर्न इन्डोनेसिया चाहन्छ । यी अपेक्षाहरूको निर्माणले इन्डोनेसिया र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन रूपमा प्रगाढ र विस्तार गर्न योगदान पुर्‍याउन सक्छ ।

प्रकाशित : चैत्र १७, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?